लोकसंवाद संवाददाता | समाचार | चैत २१, २०७५
हर्दिया । सुवर्ण गाउँपालिका–४, हर्दिया गाउँ बारा सदरमुकाम कलैयाबाट १३ किलोमिटर टाढा छ। तर आइतबार रातिको हावाहुरीसँगै भग्नावशेषमा परिणत हर्दियाको दलित बस्तीलाई अझै उद्धार र राहतले छुन सकेको छैन। तीन रात खुला आकाशमुनि बिताएका स्थानीयले बुधबारसम्म नगरपालिकाले चलाएको मेस (सामूहिक भोजन) मा बिहान–बेलुकाको खानाबाहेक केही पाएका छैनन् भने अवस्था बुझ्न राजनीतिक दलका शीर्ष नेताहरू पनि त्यहाँ पुगेका छैनन्।
प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधवकुमार नेपालसहितका शीर्ष नेताहरू बारा÷पर्साको प्रभावित क्षेत्र निरीक्षणमा आउन–जाने क्रम चलिरहेको छ। हावाहुरीबाट सबैभन्दा बढी प्रभावित फेटा गाउँमा सबैको ध्यान केन्द्रित भए पनि हर्दियाका पीडितप्रति सरोकारवाला कुनै पक्षको पनि ध्यान पुगेको छैन। फेटा गाउँपालिका र कलैया उपमहानगरपालिकाको भलुही भरवलियामा शीर्ष नेताका साथै विभिन्न संघसंस्थाबाट आएको राहत केन्द्रित छ।
गाउँमा केही त्रिपाल आएको सुने पनि गाउँका मुखियाले नै राखेको गुनासो गर्दै हर्दियाका ३६ बर्से धनेश्वर रायले भने, ‘खुला ठाउँमा सुतिरहेका छौं, त्यही त्रिपाल पाए पनि हुन्थ्यो तर हामीलाई कसले दिने ?’ आइतबारको हावाहुरीले घर भत्काउँदा घरका आठ सदस्य खुला अकाशमुनि बस्न बाध्य भएको अर्का पीडित मसयी रामले बताए। ७० भन्दा बढी घर रहेको सो बस्तीमा सबैको पीडा एउटै छ। सबैको बास उठेको छ, घर ढलेका छन्। अन्नपात र लुगाफाटा असरल्ल छन्। भग्नावशेषमा परिणत भएकै भौतिक संरचनामा सबैले रात बिताइरहेका छन् भने बालबालिकाहरू त्यहीं खेलिरहेका छन्। आजको नागरिक दैनिकमा खबर छ ।