लोकसंवाद संवाददाता | अन्तर्मन्थन | चैत २१, २०७५
राजकुमार श्रेष्ठ नेपालमा वृन्दावादन (वायलिन) को बरिष्ठ प्रशिक्षक हुनुहुन्छ । पश्चिमा देशले ‘बाजाकी रानी’का रूपमा परिभाषित वृन्दावादनको ३५ वर्षभन्दा लामोसम्म प्रशिक्षकको रूपमा काम गरिरहनुभएका श्रेष्ठ सोही समयदेखि नारायण गोपाल संगीत कोषमा कार्यरत हुनुहुन्छ । उहाँ संगीतकार अम्बर गुरुङको सिफारिसमा कोषमा आवद्ध हुनुभएको हो । वृन्दावादन भनेको हो ? संगीतमा यसको महत्व के छ ? यसको नेपालमा किन विकास हुन सकेन ? २०७६ वैशाख १ गते माटोको सङ्गीत वृन्दावादन समारोह किन गर्न लागिएको हो ? भन्ने विषयमा केन्द्रित रहेर लोकसंवाद डटकमले अन्तर्मन्थन गरेको थियो । प्रस्तुत छ उक्त अन्तर्मन्थनको मूल अंशः
वायलिन भनेको के हो ?
वायलिन एक प्रकारको बाजा हो, जो युरोपमा विकसित भयो । र, संसारभरी फैलियो । फैलने क्रममा नेपालमा पनि भित्रियो । यो बाजा पन्ध्रौं÷सोह्रौं शताब्दीतिर युरोपमा विकसित भएको हो । पहिले यो विभिन्न स्वरूपमा थियो । अहिलेको रूप भने पन्ध्रौं/सोह्रौं शताब्दीको हो ।
पश्चिमाहरूले यसलाई ‘बाजाकी रानी’कै उपमा दिएका छन्, यसलाई त्यो उपमा दिन मिल्छ ?
मेलोडी जति स्पष्ट रूपमा वायलिनमा बजाउन सकिन्छ, पियानोमा सकिँदैन । यसमा सानो सानो कुरा पनि निकाल्न मिल्छ । यसलाई फ्रेट लेस इन्स्ट्रुमेण्ट भन्छौं हामी । फ्रेट हुँदैन यसमा । फ्रेटलेस नभएकाले झण्डै झण्डै गीत गाएजस्तो हो यो । गीत गाउँदा गायकको भोकल कर्डमा न फ्रेट हुन्छ न त तार । हामी हाम्रो हिसाबले गर्छौं नि । यो तार वाद्य भए पनि फ्रेट तथा अरु कुरा नभएको हुनाले घिसारेर पनि बजाउन सकिने, औंलाहरू घिसारेर पनि बजाउन सकिने यसमा धेरै प्रकारका स्वर निकाल्न सकिने हुन्छ भनौं न यस बाजामा ।
विदेशी चिज चाडै ग्रहण गर्ने हाम्रो स्वभाव हो, तर वायलिन ग्रहण गरेर पनि त्यति विकास नहुनुको कारण के हो ?
यो अलि गाह्रो बाजा पनि हो । जसरी सबै मान्छे गायक हुन सक्दैन, त्यसरी नै सबै मान्छे योग्य भ्वाइलिनिस्ट हुन सक्दैन । गीत गाउनु र वयलिन बजाउनु भनेको लगभग लगभग एउटै कुरा हो । जसरी गीत गाउँदा ठीक छ कि छैन भनेर एउटा गायकले ठम्याउन सक्नुपर्छ, त्यसरी नै वायलिनमा पनि यो स्वर ठीक छ छैन भने ठम्याउनै सक्नु पर्छ । यदि सकिँदैन भने त्यो बजाएजस्तो मात्रै हो । किबोर्डमा कि थिचेपछि क्लियर टोन आउँछ नि, यो गलत छ कि सही छ भन्नै पर्दैन । वायलिनमा औंला राखेको सही छ कि गलत छुट्ट्याउने जिम्मा पनि आफ्नै हुन्छ । किनकि गलत ठाउँमा पनि औंला परिरहेको हुनसक्छ । किनकि रौं बराबर तलमाथि पर्यो भने पनि स्वर यताउता भइहाल्छ । यो गाह्रो भएर हो कि पपुलर थियो कुनै बखत । यो धेरै महँगो पर्ने जमाना पनि थियो त्यतिखेर र थोरै मान्छेको घरमा मात्र थियो यो बाजा । पछि राजा महेन्द्रको पालामा अर्केस्टाको विकास गर्ने भनेर अम्बर गुरुङलाई दार्जिलिङबाट बोलाइयो । अर्केस्टाको विकास लागि के चाहिन्छ भनेर राजा महेन्द्रले सोधेपछि अम्बर गुरुङले यसबारे आवश्यक कुराको बेलिविस्तार लगाएर व्यवस्था गर्न भन्नुभएको थियो । वायलिन, भिओला, चेलो र डबल पिस सबै आएको थियो, जुन यसको ‘परिवार’मा पर्छन् । जसलाई राज्यले आफ्नै तर्फबाट व्यवस्था गरेको थियो । मैले के सुनेको थिएँ भने राजा महेन्द्रले आफूले बजाउने पियानोसमेत प्रज्ञा प्रतिष्ठानलाई उपहार स्वरुप दिएका थिए । राजा महेन्द्रको देहान्तपछि त्यो कार्यक्रम स्वतः बन्द भयो । त्यसकारण पनि अर्केस्ट्राको पर्याप्त विकास हुन नसकेको हो । वायलिन बजाउन एक–दुई जना मात्र भएर पुग्दैन, धेरै जना चाहिन्छ ।
कति जनाको टिम चाहिन्छ वायलिन बजाउन ?
वायलिन बजाउन एउटा सेपको समूह चाहिन्छ । सेपमा यति जना नै भन्ने जरुरी त होइन । तर, अर्केस्ट्रा गर्ने भनेपछि संख्या अलि धेरै हुनुपर्छ । हुनत एक–चार जनाले बजाउन नमिल्ने त होइन । एकले बजाउनेलाई सोलो, दुईले बजाउनेलाई डोयट, तीनले बजाउनेलाई ट्रियो र चारले बजाउनेलाई क्वार्टेड भनिन्छ । तर, त्यहाँ फरक–फरक बाजा हुन्छ । डोयटमा वायलिनसँगै भिओला, चेलो अथवा डबलबेस हुन्छ । ट्रियो भनेको वायलिन, भिओला र चेलो हो । २५–३० जना भएको टिमलाई च्याम्बर म्युजिक भन्ने चलन छ । ३० भन्दा माथि लागेपछि मात्र अर्केस्ट्रा सुरु हुन्छ । ५० भन्दा माथि भएपछि सिम्फोनी हुन्छ । तर, सिम्फोनी हुनका लागि वायलिन मात्र भएर हुँदैन । सिम्फोनी भन्नेबित्तिकै मल्टिटोनको कुरा आउँछ । वायलिनको ‘परिवार’ आएपछि तारबाट जे–जे आवाज आउने हो, त्यति मात्रै आउँछ । फ्ल्युट, ड्रम र पियानोको आफ्नै टोन हुन्छ । ब्रास सेक्सन भन्छन्– ब्राससँग टम्पेट, क्लारिनेट अनि कहिलेकाहीँ सेक्सोफोन पनि चल्छ । जति पनि बाजागाजा छन् तिनीहरूलाई एकत्रित गर्न जान्नु भनेकै सिम्फोनी हो ।
यो इन्सट्रुमेण्टको प्रभाव विस्तार गर्न सहयोग आउञ्जेल चल्छ, त्यसपछि बन्द हुन्छ भन्यो भने सही हुन्छ कि गलत ?
वायलिनको हकमा त्यसो भएजस्तो लागेन । नेपालमा वायलिन नितान्त व्यक्तिगत रहरबाट भित्रिएको देखिन्छ । मलाई यो त्यसबेला बाहिर जाने राणाजीहरूबाट भित्रिएको बाजा जस्तो लाग्छ । सायद यसको आकार सारंगीसँग मिल्ने भएर पनि हो कि ? फेरि सारंगीजस्तो रेटेरै बजाइन्छ । त्यसैले एक–दुई वटा लैजाऊ न भनेर ल्याएजस्तो लाग्छ । बाजा र सहयोग आयो अनि बीचमा सहयोग नभएर छोडे जस्तो मलाई लाग्दैन ।
यसको निरन्तर प्रयोगमा हामीले कहिलेदेखि लिएर आयौं ?
आधुनिक गीतमा यसको प्रयोग रेडियो नेपाल स्थापना पछाडि नै भएको हो । त्यसबेलाका आधुनिक गीतमा यसको धेरै नै प्रयोग भएको देखिन्छ ।
तपाईंको जानकारीमा वायलिन बजाउने जनशक्ति नेपालमा कति छन् ?
यति नै छ भनेर त भन्न सकिँदैन । बिस्तारै बढ्दै छ । गुणस्तर वा भनौं रेकर्डिङको कुरा गर्दा १५/२०जना जति भएको अनुमान छ । बजाउन जान्ने सीप र बजाउने खुबी फरक कुरा हो । सीप भएका धेरै भए पनि खुबी भएका धेरै नै थोरै छन् । यसरी बजाउने भनेर बोक्न जान्ने, रेट्न जान्ने त भइहाल्छ । अक्षर त जसले पनि भन्न जानेको हुन्छ नि स्वर मिलाएर गीत धेरै कमले मात्र गाउँछन् नि त्यस्तै हो । त्यसकारण पनि यो संख्या १५/२० मात्रै भनेको हो मैले ।
संख्या कम भएका कारण वायलिनले विभिन्न सांगीतिक कार्यक्रममा आफ्नो पहिचान छोड्न नसकेको हो ?
होइन, त्यसको पछाडि पैसाको नै कुरो छ । गितार, किबोर्ड र पियानो बजाउने मान्छे एकजना भए पुग्यो । तर, वायलिन बजाउन एक जना भएर पुग्दैन । भोलुम पुग्दैन, धेरै जना भयो भने न भोलुम पुग्ने हो । दस जना राखे ठीकै होला । तर, दस जनाले एकजना गितार बजाउनेले जति पैसा पायो भने त जाँदैन नि । आकर्षणको विषय हुँदाहुँदै पनि आर्थिक कारणले यो फस्टाउन सकिराखेको छैन् । मान्छेले वायलिन राख्नुभन्दा नराख्नुमै आर्थिक लाभ देख्न थाल्यो । रेकर्डिङमा समेत यस्तो भइरहेको छ ।
महँगो भएका कारण आवश्यकता महसुस हुँदाहुँदै पनि पर्याप्त विकास नभएको हो ?
महँगो पनि समूहमा राख्नुपर्ने कारणले भएको हो । अरु बाजामा एकजना राखे हुन्थ्यो भने यसमा दस जना राख्नुपर्ने भयो । अब यसमा कम राखेर काम नहुने भएकाले यो महँगो पर्न गएको हो ।
तपाईं कहिलेदेखि वायलिन सुन्न थाल्नुभयो अथवा बजाउन थाल्नुभयो अनि पढ्न थाल्नुभयो ?
म २०३७/३८ सालदेखि वायलिनसँग सम्बन्धित छु र पछि गएर यो मोहजस्तै भयो । अहिले पनि यसमा नै आवद्ध छु, प्रशिक्षण दिने गर्छु ।
तपाईंको जीवन जिउने साधन नै वयलिन हो ?
हजुर, मेरो जीवन जिउने साधन नै वायलिन हो । मेरो पेशा नै यही हो ।
सम्भव छ ?
अहिलेसम्म त भइरहेको छ ।
कहाँ, स्कुलमा गएर वयलिन सिकाउनुहुन्छ ?
विभिन्न स्कुलमा गएर प्रशिक्षण दिने गरेको छु । मुख्य पेशा नै यही भएको छ ।
अरु कार्यक्रममा पनि बोलाउँछन् कि ?
यदाकदा, त्यो नगण्य नै हुन्छ ।
३७/३८ सालदेखिको यो लामो अनुभवको उपलब्धि के हो ?
म यो पेशामा पनि संयोगले आइपुगेको हो । खोज्दै खोज्दै यो नभई हुँदैन भनेर म आएको होइन् । ३७÷३८ सालदेखि मैले शौखको रूपमा सिक्न सुरु गरेको हुँ । शौखपछि पेशामा बदलियो, त्यो पनि चाहेर होइन । नचाहँदा नचाहँदै बनेको हो ।
३७/३८ सालदेखि होला मैले सिक्न थालेको । केवल एक–दुई वटा गीत बजाउन जान्ने भए हुन्थ्यो भन्ने लाग्थ्यो । मान्छेले गितार सिकेर यसो एक–दुई वटा गीत बजाउन पाए हुन्थ्यो भनेजस्तै थियो मेरो पनि । पछि ४१÷४२ सालतिर आएर मैले अम्बर गुरुङसँग संगत गर्न पाएँ । त्यसबेलासम्म म ‘कुहिरोको काग’ जस्तै थिएँ । संगीत त गरेको छु । तर, केही थाहा छैन । ४१/४२ सालपछि संगीत के हो भनेर बल्ल प्रष्ट भयो । एक–डेढ वर्षसम्म हप्ताको एक दिन शनिबार अम्बर गुरुङसँग सिकें ।
म कानुनको विद्यार्थी । बि.एल. सकिएपछि म गाउँ लागें । मेरो अध्ययन रोकियो । पाँच वर्ष गाउँ बसेर बहुदलीय चुनाव भएपछि म फेरि फर्केर काठमाडाै आएको हो । नारायण गोपाल संगीत कोषलाई एक जना वयलिन प्रशिक्षक आवश्यक छ भनेर कुरा हुँदै रहेछ । त्यो कोषमा अम्बर गुरुङ सल्लाहकार हुनुहुँदो रहेछ । पहिले गुरुङलाई नै यसको प्रस्ताव गरिएको थियो । तर, उहाँले आफू नभ्याउने बताएपछि उहाँमार्फत नै म जोडिन पुगेको हुँ । त्यसपछिको निरन्तरता अद्यावधि कायमै छ । अहिले पनि म त्यहि कोषमा कार्यरत छु ।
अहिलेसम्म कति ब्याचलाई सिकाउनु भो ?
त्यहाँ त्यस्तो ब्याच भन्ने हुँदैन । हामीकहाँ त्यो खालको कोर्स डिजाइन गरिएको हुँदैन । त्यहाँ औपचारिक शिक्षा हुँदैन । अनौपचारिक रूपले नै सिक्ने तथा सिकाउने हो । हामीकहाँ दुई महिना सिक्छन्, छोड्छन् । कोही एक–डेढ वर्ष सिक्छन्, छोड्छन् । मेरो समयमा औपचारिक रूपमा क्लास गर्ने भन्ने थिएन । कोही गुरुले सिकाइदिए धन्न । अहिले पनि त्यस्तै अवस्थामा छ ।
तपाईँले वायलिन बजाउने पेशामा लागेर ठ्याक्कै यो कुरा गुमाएँ भन्ने छ ?
त्यस्तो मैले अनुभव गरेको छैन ।
वैशाख १ गते जुन कार्यक्रम गर्दै हुनुहुन्छ, त्यो कस्तो खालको कार्यक्रम हो ?
धेरैभन्दा धेरै वायलिनिस्ट देखा परुन भनेर यो कार्यक्रम गर्न लागिएको हो । यस्तो कार्यक्रम गर्दा केटाकेटीलाई स्टेजको अनुभव हुन्छ । उनीहरू आकर्षित होलान् र हौसला होला तथा यस्तो कार्यक्रम गर्नुपर्दो रहेछ, कसरी गर्ने भन्ने अनुभव समेत होस् भनेर यस्तो कार्यक्रम गर्न लागिएको हो ।
कार्यक्रमलाई प्रभावकारी बनाउन के–के योजना बनाउनुभएको छ ?
हजुर, त्यसका लागि हामीले जुनियर तथा सिनियर टिम बनाएर सिकाइरहेका छौं । कार्यक्रमको उद्देश्य वायलिनप्रति मान्छेको आकर्षण बढोस् र यसको विकास होस् भन्ने हो । तर, यसप्रतिको आकर्षण पहिलेभन्दा त धेरै नै बढेको अवस्था छ ।
अहिलेसम्म कति स्कुल, कोष तथा प्रतिष्ठानमा वायलिन सिकाउनुभएको छ ?
प्रतिष्ठानहरू त छैनन् । स्कुलले भने मौका दिइरहेका छन् । बाजामा आकर्षक भएका कारण पनि हुनसक्छ वा स्कुलको बिजनेस पोलिसी पनि हुन सक्ला ।
वायलिनको तीन महत्वपूर्ण कुरा भन्नुपर्दा के–के हुन् ?
म सबैभन्दा पहिलो कुरा त वायलिनलाई जीवनसँग जोड्छु । संगीत जीवनभन्दा पर छँदै छैन । वायलिन बजाउँदा पैसा आउँदैन, गाली मात्रै खाइन्छ । तर पनि मान्छेले वायलिन बजाइरहेको हुन्छन् । त्यसको अर्थ रहस्यमय नै होला सायद । संगीतमा साँच्चै नै एउटा शक्ति छ । त्यसैले संगीतले मान्छेलाई तानेको होला ।
संगीतमा वायलिनको शक्ति कति छ ?
संगीतमा वायलिनको शक्ति पनि उति नै हुन्छ जति महत्व समाजमा एउटा व्यक्तिको हुन्छ । समाजमा एउटा व्यक्तिको महत्व कति नभएको पनि देख्न सकिन्छ, अत्यन्त महत्वपूर्ण पनि त्यही व्यक्ति हुनसक्छ । संगीतमा हामी टोन भन्छौं नि, त्यसको महत्व कति ? गितारको महत्व कति छ ? गितार नराखे पनि त हुन्थ्यो नि संगीतमा । बाध्यता त छैन नि । तर पनि गितार चाहियोे किन भनिन्छ त ? संस्कृतिको के महत्व छ हाम्रो जीवनमा, एकातिरबाट हेर्दा यसले नष्ट पो गरिराखेको छ कि हाम्रो जीवनलाई । तर अर्कोतिरबाट हेर्दा यो छ र पो हामी छौं भन्ने पनि छ । त्यसकारण संगीतमा हरेक बाजाको त्यत्तिकै महत्व हुन्छ जति वायलिनको हुन्छ । मान्छेलाई भ्रम छ संगीतमा वायलिन सबैभन्दा राम्रो होला किनकि यसलाई रानी भनिन्छ । समाजमा जसरी एउटा व्यक्तिको भूमिका हुन्छ त्यसैगरी संगीतमा अरु बाजाको पनि त्यतिनै महत्व छ जति वयलिनको । यसले संगीतलाई आफ्नै ढंगको मिठास दिन्छ भने अरु बाजाले आफ्नै ढंगले । यसलाई स्वीकार गरेर लिएर जानुपर्छ ।