हरिविनोद अधिकारी | साहित्य | कात्तिक ०८, २०७७
त्यस्तो कुनै डायरी पनि राखिएन किनभने दिनहरू त्यसैगरी बित्लान् भन्ने लाग्दो रहेछ । त्यो बेलामा बा, आमा, परिवारका सबै सदस्यहरू सखल्ल भएका बेलामा सबै कुरा यस्तै होला जस्तो लाग्दो रहेछ । झन् म त अलि बेतालको पनि भएछु । खासै आफ्ना बारेमा वास्ता नगर्ने । यसबिचमा हजारौँ लेखहरू लेखेँ, सयौँ कथा, अझ लघुकथा, कविताहरू, निबन्धहरू लेखेँ तर पुस्तकाकारका रुपमा अहिलेसम्म कुनै प्रकाशित छैनन् । पाठ्यक्रम बनाउने, पाठ्यपुस्तक लेख्ने काम पनि गरियो तर त्यो संस्थागत हुनाले त्यसको अभिलेख पाठ्यक्रम विकास केन्द्रको जिम्मामा रह्यो । तर त्यहाँ पनि संस्थागत स्मृति कति छ, थाहा छैन । पुस्तकाकारभित्र अटाएका कुरामा अभिलेखीकृत छ, नत्र त्यस्तो के पो पाइएला र ?
म यस्तो बेफिक्रीको भएँ, किन होला, मलाई नै थाहा छैन । मलाई भविष्यको चिन्ता थिएन भन्ने पनि होइन तर योजनाबद्धरुपमा चल्ने बानी खोइ किन बसेन, बसेन । आजभन्दा करिब ७ वर्ष पहिले जस्तो लाग्छ, एक पटक सिन्धुलीका लेखकहरूको बारेमा बोल्दै समालोचक तथा विद्वान प्राध्यापक डाक्टर कुलप्रसाद कोइराला (जो केही समय पहिलेसम्म नेपाल संस्कृत विश्व विद्यालयका उपकुलपति हुनुहुन्थ्यो)ले भन्नुभएछ स्वर्गीय कुलचन्द्र कोइरालाको स्मृति सभामा- सिन्धुलीका यी लेखकरु, सबैजसो प्रत्येक हप्तामा लेखहरू आइरहने हरिहर विरही र हरिविनोद अधिकारीको अझसम्म कुनै पुस्तकाकार कृति छैन । म केही बेर पछि पुग्दा सबै मलाई देखेर हाँस्दै थिए किनभने कुलप्रसाद भाइले त्यसो भनेकोले होला । अनि हरिहरजी विरहजीले त त्यहीँ भन्नुभयो- मेरो एउटा पुस्तक अब केही दिनमा आउँदै छ, नभन्दै विरहजीको त आगो अझै निभेको छैन भन्ने नामक स्मृति सँगालो प्रकाशित भयो । मेरो त अझैसम्म प्रकाशित हुन सकेको छैन ।
कुन्ती नामक महाभारतकालीन पात्रको आत्मानुभूतिलाई मैले उपन्यासको रुपमा सङ्कलित गरेको छु । मेरो प्रिय विद्यार्थी हिमाल रेग्मी(जो अक्षराङ्क प्रकाशनका संस्थापक र व्यवस्थापक छन्)ले त्यो २०७६चैत्र मसान्तसम्ममा प्रकाशन गर्नका लागि भनेर तयारी गर्दै थिए, त्यही बेला चैत्र ११बाट मुलुकभरि लकडाउन सुरु भयो र अहिलेसम्म पनि त्यो प्रकाशनका आउन सकेको छैन । यो कुरा विद्वान भाइ डाक्टर नवराज लम्सालले लकडाउनमा परेका दुई कृति भनेर मेरो र विद्वान भाइ वरिष्ठ पत्रकार (जो गोरखापत्रको प्रधान सम्पादकबाट निवृत्त हुनुभएको छ )कमल रिजालको सत्यवतीका बारेमा लेखिएको सायद उपन्यास नै होला बारेमा सामाजिक सञ्जालमा लेखेको मैले पढ्न पाएको थिएँ ।
अहिले पनि मसँग छरिएर रहेका कथा, कविता, संस्मरणहरू थुप्रै छन् । समसामयिक लेखहरूको त कुरै भएन किनभने राष्ट्रपुकार छापिँदासम्म प्रत्येक हप्ताको लेख, अनि गोरखापत्र, कान्तिपुर, नागरिक, अन्नपूर्ण पोस्ट, राजधानी, साप्ताहिक नयाँ विकल्प, साप्ताहिक बाध्यता, साप्ताहिक नेपाल जागरण, लोकदृष्टि, अनि अनलाइनमध्ये पनि इमेज खबर, हरेकपल , लोकसंवाद, थाहा खबर, आजको न्युज, रातोपाटी जस्ता धेरैमा प्रकाशन भएका छन् । साहित्यिकमा मधुपर्क, गोरखापत्रको शनिवार,धेरै अन्य पत्रिकाहरुमा छरिएर रहेका छन् । पेसागत लेखहरुको त कुनै गणना नै गरेको छैन । शिक्षा पत्रिका, शिक्षक शिक्षा आदि पत्रिकाहरुमा छन् ।
कति त नेटमा पनि पाइन्छन् । ती सबै सँगालोका रुपमा तयार गर्नु छ । तर पनि आजसम्मको मितिमा कुनै प्रकाशित पुस्तकाकारमा सँगालो छैन । एकपटक मलाई वरिष्ठ साहित्यकार तथा अभिन्न मित्र प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईले भन्नु भएको याद आइरहेको छ- हरिजी, बल्लभमणि दाइ जस्तो नेपालको भाषाविद्को प्रकाशित कृति फेला पार्न गाह्रो भयो । त्यसैले आफ्ना संकलनहरुको ग्रन्थाकारमा प्रकाशित गर्नुस् । एकपटक मैले करिब १०० ओटा कविताहरुको संकलन तयार गरेँ तर प्राविधिक कारणले ती कसो कसो हराएछन् कम्प्युटरमा नै ।
विद्यालयहरूलाई वार्षिक कार्यक्रम तथा स्मारिकामा मागेको बेलामा उपलब्ध गराउने लेखहरू त यहाँ कुरै गरेको छैन । काठमाडौँ शिक्षा क्याम्पसको मुख पत्र शिक्षा शास्त्र सौरभ अनि लेबोरेटरी स्कुलको मुख पत्र स्मृतिमा पनि कति त छापिएका छन् । ती कविताहरू, कथाहरू हराउन त हराएका होइनन् होला, तर मेरो अल्छीपन र कम्प्युटरको प्राविधिक ज्ञानको कमीले ती फेला पारिन, अब त्यो कम्प्युटर पनि बिग्रियो । त्यसैले मलाई अचेल मेरा छोराछोरीले भन्ने गर्छन् जे छ त्यो इमेलमा वा गुगल ड्राइभमा सञ्चित गर्नुस् । ]
मेरो प्रकाशोन्मुख कृति कुन्ती त कति पाठकहरूले पढिसक्नु भएको छ । इमेज खबर डट कममा सुरुमा भाइ ठाकुर बेलबाँसेको प्रेरणा अनि त्यसपछि भाइहरू राजन कुइँकेल, युवराज गौतम, भतिज सुदर्शन आचार्यको प्रेरणामा करिब ३३ भागमा महाभारतकी कुन्ती शीर्षकमा क्रमशः प्रकाशित र प्रसारित भई रह्यो । त्यसैलाई एकै ठाउँमा जम्मा गरे कुन्ती नाम दिएर प्रकाशित गर्न लागिएको हो । त्यसमा आफ्ना समालोचनात्मक धारणा राखेका छन् मेरा भाइहरू युवा साहित्यकार डाक्टर नवराज लम्साल र युवा सामाजिक अभियन्ता वरिष्ठ पत्रकार तारानाथ दाहालले । साँच्चै उनीहरूको लेखाइ बेजोडको रहेछ समालोचनाका बारेमा । जब लोकार्पण होला, पक्कै बजारमा आउला भन्ने आशा गरौँ र अनि पढौँला फेरि । जजसले पहिले इमेज खबरमा पढ्नु भएको थियो,उहाँहरूलाई दोहरोर्याएर पढ्ने खुराक हुनेछ भन्ने आशा पनि लिएको छु । अब यही लोकसंवादमा पनि मैले सम्झेका केही कुराहरुको लामै स्मृतिको पुराना यादहरु आउँदैछ, सायद यी सम्झनाहरु पनि पछि संग्रहमा आउन सक्छन् पनि ।
मैले अघिल्लो स्मरणमा चीन र कोरिया जाँदाका केही कुरा सुरु गरेको थिएँ । चीन त पहिलो पटक पासपोर्ट प्रयोग गरेर गएको यात्रा थियो । सिन्ह्वाका अङ्ग्रेजी डेस्कका पत्रकारहरूबाहेक हामीसँग सम्पर्कमा अरु कोही पनि थिएनन् कम्तीमा पनि अंग्रजी बुझ्ने । हामीलाई पो त्यस्तो अङ्ग्रेजी के थाहा थियो र ? त्यो पनि खेलकुदसँग सम्बन्धित, तै पनि चिनियाँहरूभन्दा हामीले जानेकै जस्तो हुँदो रहेछ त्यो ताका । चीनका बारेमा जान्न या त चीनमा बसेर पढ्दै गरेका विद्यार्थीहरू वा चिनियाँ अन्तर्राष्ट्रिय रेडियोमा बसेर काम गर्ने साथीहरू हुनु पर्यो या त ती नेपाली बोल्ने चिनियाँ हुनु पर्यो या नेपालीहरू जो रेडियोमा काम गर्ने हुनुपर्यो ।
अहिले जस्तो त्यो बेलामा चीनमा विद्यार्थीहरू त्यति धेरै थिएनन् क्या रे पेइचिङमा । सायद मैले त्यहीबेलामा दिवाकर शर्मालाई पनि भेटेँ कि क्या हो चीनमा । त्यो बेलामा समालोचक तथा साहित्यकार गोविन्द भट्ट आफ्ना परिवारसहित पेइचिङमै हुुनुहुन्थ्यो । उहाँका परिवारमा श्रीमती सुशीला, छोरीहरु लुना र शिरीष । सायद गोविन्द दाइ चिनियाँ रेडियोको नेपाली कार्यक्रममा नै हुनुहुन्थ्यो जस्तो लाग्छ । लुनाको त्यसताका ( सन १९९०तिर) एमबीबीएस समाप्त भएर कुनै अस्पतालमा काम गर्दै थिइन् । शिरीष त्यहीँ चीनमा नै इन्जिनियरिङ( सायद आर्टिटेक्चर विषयमा हो कि ? )गर्दै थिइन् । गोविन्द दाइको घरमा जाँदा हामी नेपाली पत्रकारहरुले खासमा मुख्य मान्छेको रुपमा विनोद दीक्षित र रघुजी पन्तलाई मानेका थियौँ । तर मैले के कुरा कसैलाई पनि भनेको थिइन कि लुना मेरी विद्यार्थी हुन् जो गोविन्द दाइकी छोरी हुन् ।
जब हामी गोविन्द दाइको आवास गृहमा पुग्यौँ अनि लुनाले मलाई गरेको अति आदर भाव र गोविन्द दाइले पनि मलाई चिनेको कुरा गरेपछि सबैले पहिले किन नभनेको भनेर भन्नुभयो । मलाई पनि लुनालाई भेट्ने उत्कट इच्छा हुने नै भयो । लुना जब कक्षा १०मा भर्ना हुन धरानबाट काठमाडौँमा आइन् वहिनी शिरीषसँगै । शिरीष कक्षा ९मा अनि लुना कक्षा १०मा भर्ना भएकी रहिछन् जाडो विदामा नै । मलाई एकपटक सोधिएको थियो - कक्षा १०मा लेखा व्यावसायिक विषयमा भर्ना गरे के हुन्छ ? मैले भनेको थिएँ - हाम्रो काम भनेको सिकाउने हो, असम्भवलाई सम्भव बनाउने हो । हुन्छ । भर्ना गर्नुहोस् । लुनाका लागि धेरै नम्बर ल्याउनका लागि सचिवालय विज्ञानमा राख्नु पर्थ्यो जस्तो कि त्यस्तै गरिन्थ्यो । लेखामा सामान्यतया औसत उपलब्धिका केटा विद्यार्थीहरुलाई राखिन्थ्यो । तर त्यसपटक नयाँ विषयमा आउनु परेकाले छोरीहरुलाई सामान्यतया पढाइने गृहविज्ञानमा पठाइएन छ र मेरो विषय लेखामा पढाउन राखिएछ । यहाँ मैले किन मेरो विषय भनेको भने ४०० पूर्णाङ्कको हुन्थ्यो । यदि इच्छाधीन गणित लिएमा चौथोपत्रको लागि लेखा पढ्नु पर्दैनथ्यो । ३००को लेखा पढ्ने भनेको प्रत्येक विषयमा ५० नम्बरको प्रायोगिक अङ्क हुन्थ्यो । लुनाले तेस्रो पत्रमा १५ नम्बरको प्रश्न झुक्किएर छोड्दा पनि बोर्ड प्रथम भएकी थिइन् ।
मलाई उनलाई नभेट्दासम्म तिनै कुराहरु मनमा खेलिरहेको थियो । उनको सादगी, मिहिनेती अनि कति राम्रा अक्षर नेपाली पनि अंग्रेजी पनि । एकदम अनुशासित अनि सबै शिक्षकलाई अत्यन्त सम्मान गर्ने स्वभाव । जब उनले पहिलो त्रैमासिकमा कक्षामा राम्रो अंक ल्याइन् अनि उनलाई लेखाबाट हटाउने खेल पनि भएको थियो । तर लुनाले स्पष्ट भनिछन् अफिसमा- पहिले त्यही विषय नदिने भनेर झन्डै भर्ना नै नभएको, अहिले म किन लेखाबाट सचिवालय विज्ञानमा जाऊँ ? जवकि बहिनी शिरीषलाई सचिवालय विज्ञानमा नै राखिएको थियो । जब बोर्ड फस्र्ट भएर विद्यालयमा उनको वधाइ ज्ञापन गर्न हामी सबै भेला भएका थियौँ, मिठाइ बाँड्दै थियौँ ।, लुनाले मलाई कानमा फुसफुसाइन्- सर, लेखाले पनि बोर्ड फस्र्ट गर्यो नि !
कृष्ण र म बाहिर आउने बित्तिकै हामीले पाकिस्तानका तर्फबाट चीनका महामहिम राजदूतले नेपालीमा सोध्नु भयो- के छ हालखबर ? मैले नेपाली टोपी लगाएकोले उहाँले चिन्नु भयो । उहाँ त बीपी कोइरालाको बहिनी ज्वाइँ हुनुहुँदो रहेछ । उहाँले मलाई र कृष्णलाई कोइराला परिवारका वारेमा सोध्नुभयो नेपालीमा नै । अनि कृष्णले र मैले उहाँलाई भन्यौँ -तपाईँ बुनु दिदीको श्रीमान होइन र ? उहाँले हो भन्दै हुुनुहुन्थ्यो कि पाकिस्तानी पत्रकारहरुको टोली उहाँनिर आए पछि हामी पनि नमस्कार भिनाजु भन्दै हिँड्यौँ ।
मैले हाँसेर भनेँ -तिमीले मिहिनेत गरेकीले भयो, चीनको तिम्रो धरातलीय क्षमताले नेपालमा राम्रो परिणाम ल्यायो । कक्षा ८ सम्म उनले चीनमा नै पढेकी थिइन् । २०३८सालमा एसएलसीको नतिजा अलि ढिलो नै प्रकाशित भयो । सामान्यतया असारको अन्तमा या साउनको पहिलो हप्तामा हुने परिणाम प्रकाशन त्यस साल साउनको २६ गते भएको थियो । पछि थाहा भयो- हाम्रो विद्यालयले बारम्बार बोर्डमा राम्रो नतिजा ल्याउने भएकाले प्रतिस्पर्धी विद्यालय ठान्ने एउटा दरबारसँग राम्रो सम्बन्ध भएका र पञ्चहरुसँग साँठगाँठ भएका एकजना विद्वानले परिणाम नआउँदै लेबोरेटरी विद्यालयका विद्यार्थीहरुको कपी दोहोर्याएर हेर्नका लागि दरबारको जाहेरी विभागमा उजुर गरेका रहेछन् । अनि सम्भावित बोर्डमा आउने विद्यालयहरु (उजुरी गर्ने विद्यालयको बाहेक)को कपी सबै दोहोर्याएर हेरिएकोले त्यस साल नतिजा ढिलो आएको रहेछ । तर रमाइलो के भएछ भने लुनाको कपी एकदम राम्रो ठहरिएछ होला, अंग्रजीमा ८८ अनि नेपालीमा पनि ८८ आएको रहेछ । गणितको त कुरै भएन । उनमा कुनै घमण्ड पनि थिएन, आफ्ना साथीहरुलाई सिकाउँथिन् कक्षामा अनि अत्यन्त मिलनसार थिइन् ।
हामी कक्षामा उनीबाट चिनियाँ गीतहरु सुन्थ्यौँ । कति राम्रा अक्षर । त्यसै कसैले पनि इतिहास बनाउँदैन । उनले नेपाली शिक्षाको इतिहासमा पहिलो बोर्ड फस्र्ट छात्राले गरेको अभिलेख राखिन् । अचेल बोर्डको व्यवस्था राखिएको छैन । सायद पछि पछि गएर अस्वस्थ प्रतिस्पर्धा भयो भन्ने कुरा आयो क्यारे ! । त्यो उनको कक्षामा हेड सर भरतकुमार प्रधानको बढी नै चासो थियो किनभने कक्षा १०मा सामान्यतया भर्ना लिइँदैन थ्यो । भर्ना गरिएको थियो । पछि एसएससीको परिणाम किन ढिलो हुन लागेको होला भन्ने कुरामा उहाँले थाहा पाउनु भएको रहेछ दरबारले कपी दोहोर्याएर जँचायो भन्ने । नेपालको एउटा विशेषता के हो भन्ने गोप्यता जसरी पनि बाहिर आउँछ कुनै न कुनै तरिकाले ।
तर त्यो बेलामा पक्षपात भएन छ, उल्टै लुनाको नम्बर थपियो रे ! नेपालीमा भनिन्थ्यो पछि परीक्षा नियन्त्रण कार्यालयका मानिसहरुबाट । निष्पक्ष भयो भन्ने कुरामा हामी विश्वस्त भयौँ । अनि ती सबै कुराहरु सम्झँदै थिएँ लुनालाई भेट्न जाँदा ।
भेट्दा धेरै खुसी हुने नै भएँ । अनि अरु साथीहरुले बल्ल पो थाहा पाए गोविन्द दाइसँगको मेरो चिनजान अनि लुनाको गुरु हुँ भन्ने कुरा । लुनाले मलाई एउटा राम्रो चाइनिज पेन उपहारमा दिइन् । अनि मैले सोधेँ- नानी, चिनियाँहरुको परम्परागत ओखतीको रुपमा दमको ओखती अत्यन्त प्रभावकारी छ रे ! उनले पनि भनिन् , हो सर , त्यसै भन्छन् । अनि मलाई त्यही फ्रेन्डसिप स्टोरमा दुई स्याम्पल दमको ओखती किनेर दिइन् । त्यो ओखती मैले मेरो आमालाई एकमात्रा र हरिहर रिसाल दाजुलाई एकमात्रा दिएँ । त्यसले उहाँहरुलाई राम्रो परिणाम दियो । मेरो आमालाई त झन्डै ४वर्षसम्म दमको कुनै लक्षण नै देखिएन ।
एकदिन म र कृष्ण मिडिया सेन्टरमा बसेर चिया खान लाग्यौँ । हामीले सम्पर्क गर्ने भनेको सिन्ह्वाका अंग्रेजी डेस्कका मानिसहरुसँग हुन्थ्यो । मिडिया सेन्टरको कम्प्युटरमा खेलको नतिजा हेरेर हामी खाजा खान खोज्दा कृष्ण केसीलाई मैले सोधेँ - कृष्ण , यता बिफ जताततै जुनसुकै खानामा पनि मिसाएको हुन्छ भन्छन् । यी साथीहरुलाई सोधौँ र मात्र खाजाको अर्डर दिनुपर्छ । अनि कृष्णले एकजना पत्रकार बहिनीलाई सोध्यो- यहाँको मम के को बनेको हो ? ती पत्रकारले भनिन् - बिफको हो । अनि कृष्णले आफू बफको मात्र मम खाने तर बिफको नखाने भनेर भन्दा ती पत्रकारले अचम्भ मानेर सोधिन् - के कारणले हो ? अनि कृष्णले प्वाक्कै भन्यो- गाईको मासु हामी खाँदैनौँ , त्यसैले । अनि किन गाईको मासु नखाने भनेर सोध्ने बित्तिकै कृष्णले भन्यो–गाई आमा हुन् किनभने तिनले दूध दिन्छिन् , त्यसैले । अनि ती चलाख पत्रकारले कृष्णलाई सोधिन्- अनि भैँसीले पनि त दूध दिन्छ नि ? अनि कृष्णले मलाई भने- हरि दाइ, ल जबाफ मिलाएर दिनुस् । अनि मैले हिन्दू धर्म मान्ने हुनाले हामी गाईलाई पूजा गर्छैाँ र गाईको मासु खाँदै खाँदैनौँ । बल्ल उनीहरुले बुझेजस्तो गरे ।
चीनमा पनि शारदीय पूर्णिमा जसलाई हामी कोजाग्रत पूर्णिमा भन्छौँ धुमधामसँग मनाइँदो रहेछ । अघिल्लो वर्षमात्र थ्यानमेन स्क्वायरमा नरसंहार भएको भन्ने समाचारका कारणले होला, पश्चिमा प्रेसप्रति चीन बढी नै संवेदनशील देखिन्थ्यो । असहिष्णु देखिन्थ्यो । हामीलाई मात्र बोलाएर लन्च गराइएको थियो एउटा पोखरीका बिचको समर प्यालेसमा । त्यहाँ पश्चिमा पत्रकारलाई थ्यानमेन स्क्वायरको वरिपरि घुमेर फोटो लिइरहेको देखेपछि त्यही दिन बाहिर पठाएको सगर्व बताइएको थियो ।
मैले एउटा कुरा भने चिनियाँहरुको राम्रो पक्ष पाएँ- त्यो हो उनीहरु नेपाललाई समस्यारहित छिमेकीको रुपमा लिँदा रहेछन् । माया गर्छन् । कति चिनियाँहरुलाई त नेपाल कहाँ छ भन्ने नै थाहा नहोला तर जसलाई थाहा छ उनीहरुले अरनिकोको नामले चिन्ने रहेछन् । चीनले नेपालसँगको सम्बन्धलाई अति महत्व दिने रहेछन् ।
खेलकुद पत्रकारहरुका लागि भोजको व्यवस्था भइरहँदो रहेछ अन्तराष्ट्रिय खेलकुदका बेलामा । त्यस्तै भइरहेको हुन्थ्यो । कति त हामीलाई थाहै हुँदैनथ्यो । को कता, को कता ? विहानको खाजाको व्यवस्था होटलको तर्फबाट हुन्थ्यो अनि विहानका खाना र बेलुकाको खाना अनि दिउँसको खाजा आफैँले जोहो गर्नुपर्ने हुन्थ्यो । तर होटेलहरुमा कार्यक्रम हुँदा खाने पैसा बच्थ्यो भन्दा पनि हुन्छ । कहिले राजदूतावासले बोलायो, कहिले कसले त कहिले कसले गरेर बेलुका खाना बाहिर नै हुन्थ्यो तर टाढा टाढा खेलकुद परिसर हुँदा बसबाट आवत जावत गरेर फर्कँदा थकाइ पनि लाग्थ्यो । अनि त्यही होटलमा अर्डर गर्नुपर्थ्यो के खाने भनेर । हामी सामान्यतया चिकेन र भात नै खान्थ्यौँ । डर के थियो भने कतै बिफ नपरोस् भन्ने । चिकेनमा त्यसको डर हुन्थेन ।
एकदिन मेरो अन्तर्वार्ता लिन लि छिन भन्ने नेपाली कार्यक्रमका प्रस्तोता आए । उनले आधा घण्टा लाएर मेरो अन्तर्वार्ता लिए तर रेकर्ड गर्ने स्विच नै अन गरेका रहेनछन् । अनि मैले भनेँ, सुनौँ न त लि छिनजी, मेरो अन्तर्वार्ता कस्तो भएछ ? अनि पो थाहा भयो रेकर्ड नै भएको रहेनछ । किन मेरो नै अन्तर्वार्ता लिएका थिए भने रेडियो नेपालसँगको सम्बन्धका कारणले उनी कृष्ण केसीलाई भेट्न आएका थिए अनि कृष्णको सल्लाहबमोजिम उनले मेरो अन्तर्वार्ता लिएका थिए । फेरि अन्तर्वार्ता रेकर्ड गर्दा अरु साथीहरुसँग हामी जान पाएनौँ त्यो बेलामा ग्रेट हल अफ द पिपलमा । पत्रकार सम्मेलन थियो रे भन्थे । म र कृष्ण मेरो अन्तर्वार्ता सकेपछि भूमिगत रेलबाट थ्यानमेन चोक पुग्यौँ । एउटा चाइनिज भाषामा लेखिएको निमन्त्रणा पत्र हाम्रो कोठामा छिराइएको रहेछ । मैले देखेर कृष्णलाई भनेँ- कृष्ण यो कस्तो कार्यक्रम हो र कहाँ होला ? अनि लि छिनले हेरेर भने -यो कार्यक्रम साँझमा छ, थ्यानमेन चोकमा नै हो, ग्रेट हल अफ द पिपलमा । अनि भूमिगत रेलको स्टेसनसम्म लि छिनले पुर्याए र हामी विना टिकट जान पाउने कुरा पनि लि छिनले भने किनभने हाम्रो परिचय पत्रले बस, ट्रली, रेल, भूमिगत रेल सबैमा सित्तैमा यात्रा गर्न पाउने रहेछ ।
हामी भूमिगत रेलमा चढेर त्यहाँ पुग्दा साथीहरु नुडल्स चपाउँदै हुनुहुँदो रहेछ र हामीलाई आजको त्यो पत्रकार सम्मेलन छुटेकोमा खिसी गर्दै हुनुहुन्थ्यो । कृष्णले पनि भन्यो, हरिको अन्तर्वार्ता थियो, त्यसैले ढिलो भयो । अरुलाई पनि थियो होला त्यो निमन्त्रणा तर कसैले पनि बेलुकाको निमन्त्रणा छ भनेर भनेनन् तर हामीलाई लि छिनले भनेकाले पक्का थियो तर के थियो चाहिँ थाहा थिएन । वास्तवमा त्यो सानो निमन्त्रणा कार्ड त राजकीय भोजको निमन्त्रणा रहेछ । एघारौँ एसियाली खेलकुदको निमन्त्रणामा आउनु भएका राष्ट्र प्रमुख, सरकार प्रमुख तथा मन्त्रीहरुको सम्मानमा दिइएको चिनियाँ सरकारको तर्फबाट रात्रिभोज रहेछ राजकीय रात्रिभोज- ट ब्यांकेट ।
चिनियाँ राष्ट्रपति, चिनियाँ प्रधानमन्त्रीले दिएको रात्रिभोज । त्यसदिन पाकिस्तानका राष्ट्रपतिको सम्मानमा दिइएको स्टेट ब्याँकेट रहेछ । अरु देशका राष्ट्रपतिहरु या त फर्किसकेको रहेछन् या त आएका आउन बाँकी थियो होला । तर त्यो कार्यक्रम त पहिले साँस्कृतिक कार्यक्रम अनि त्यसपछि राजकीय रात्रिभोजको व्यवस्था पो रहेछ । म र कृष्ण सामान्यतया पासपोर्ट लिएर हिँड्थ्यौँ र खेल समारोहको परिचय पत्र त घाँटीमा झुन्डिएकै हुन्थ्यो । सुरक्षाको जाँच कडा थियो । साँस्कृतिक कार्यक्रम जुन त्यो दिन देखियो, मेरो जेहेनमा अहिले पनि त्यो नाचिरहेको छ । पछि नेपालमा पनि चिनियाँ साँस्कृतिक टोलीहरु आएका थिए तर त्यस्तो राम्रो कार्यक्रम मैले फेरि हेर्न पाएको छैन । हामीभन्दा दुई लहरमात्र अघि महामहिमहरु हुनुहुन्थ्यो । हामी भएकै ठाउँबाट चिनियाँ महामहिमहरु जानु भएको थियो त्यहाँ लाइनमा बसेका सबैसँग हात मिलाउँदै ।
साँस्कृतिक कार्यक्रम समाप्त भएपछि ग्रेट हलमा राजकीय भोज सुरु भयो । एउटा टेबुलमा १०जना हुन्थे । एकजना सिन्ह्वाको अंग्रेजी जान्ने मान्छे, अरु नाम सहितको टेबल । ३००ओटा मात्र टेबलको व्यवस्था थियो । अनि खाने कुरा बाँड्ने व्यक्तिहरु, सामान बोक्ने ट्रली तर हल्ला पटक्कै थिएन । कति शान्त । सबै टेबलमा मैन बत्ती राखिएको । खाने टेबलमा त्यस्तो व्यवस्था थियो कि आफूलाई चाहिने सामान सिसा घुमाएर लिनु पर्ने । अनि म र कृष्ण बेग्लै टेबलमा पर्यौँ नामका कारणले । अनि मैले कृष्णलाई भनेँ हराउँला है हामी । ऊ हाँस्यो र भन्यो कसैले पुर्याइदेला नि होटेलमा । अनि कार्यक्रम सुरु भयो टोस्ट प्रस्तावका लागि । शान्त भोज । रक्सीका साना बोतल राखिएका । मासुका परिकारहरु थिए, आफूलाई या त कुखुराको मासु या त भेडाको मासु परोस् भन्ने थियो । एउटा मासुको परिकार कुखुराको जस्तै थियो । अनि मैले सोधेँ - यो केको मासु हो ? सिन्ह्वाको साथीले भने - डग । म झन डराएँ । ऊ त चम्चा यसो गाड्छ, अनि क्वाप्प खान्छ । फेरि सोधेँ -साथी यहाँ चिकेन छैन ? उसले भन्यो छैन बिफ छ अनि यही डग छ अनि पोर्क छ । कुरो के रहेछ भने पछि थाहा भयो चाइनिजहरुले डग भनेको त डक पो रहेछ । हाँस । बल्ल उसले हाँसको जस्तो चुच्चो बनाएर फेरि भन्यो- डग । डकलाई मैले सुन्ने रहेँछु डग । जीको उच्चारण चाइनिजमा ग नभनेर क भन्दारहेछन् । मैले त्यसपछि कपाकप खाएँ । चुरोट पनि थरिथरिका थिए । रक्सी पनि साना साना बोतलमा थिए । एकजना भद्र महिलाले मलाई भन्न लगाउनु भयो सिन्ह्वाका साथीलाई-नेपाली मित्र, तपाई अल्कोहल नखाने भए र चुरोट नखाने भए मलाई सुटुक्क दिनुस् । मैले दिएँ अनि ती भद्र महिलाले आफ्नो ब्यागमा राखिन् ।
हामीले त दिउँसोको नुडल्स खान नपाएका अभागीले त राजकीय भोजमा पो भाग लिन पायौँ । म र कृष्णमात्र थियौँ नेपाली पत्रकारमा । अरु साथीहरु होटलतिर हिँड्ने बेलामा हामी त पुगेका मात्र थियौँ । नेपालीकोहरुको खेलका वारेमा खासै चर्चा किन पनि भएन भने नेपालको अवस्था त्यति राम्रो देखिएको थिएन । नेपालले नाम राख्ने भनेको मार्सल आर्टमा हो , चीन कोरिया र जापानका अघिल्तिर हाम्रो त्यस्तो के पो प्रयास चल्थ्यो र ? रात्रि भोज मात्र एकघण्टा र तीस मिनेटमा सम्पन्न भएको थियो । पहिले महामहिमहरुलाई बाहिर पठाए पछि बल्ल अरुको पालो बाहिर जाने आएको थियो । कृष्ण र म बाहिर आउने बित्तिकै हामीले पाकिस्तानका तर्फबाट चीनका महामहिम राजदूतले नेपालीमा सोध्नु भयो- के छ हालखबर ? मैले नेपाली टोपी लगाएकोले उहाँले चिन्नु भयो । उहाँ त बीपी कोइरालाको बहिनी ज्वाइँ हुनुहुँदो रहेछ । उहाँले मलाई र कृष्णलाई कोइराला परिवारका वारेमा सोध्नुभयो नेपालीमा नै । अनि कृष्णले र मैले उहाँलाई भन्यौँ -तपाईँ बुनु दिदीको श्रीमान होइन र ? उहाँले हो भन्दै हुुनुहुन्थ्यो कि पाकिस्तानी पत्रकारहरुको टोली उहाँनिर आए पछि हामी पनि नमस्कार भिनाजु भन्दै हिँड्यौँ ।
अनि खेलकुद गाउँमा हामीलाई एयर कन्डिसन बसले सुरक्षासहित ल्याइदियो र हाम्रो होटेलको आँगनमा हामीलाई ल्याएर होटेलको जिम्मा लगाएर मात्र चाइनिज प्रहरी नमस्कार गर्दै हिँड्यो किनभने उसलाई नेपालमा नमस्कार गर्छन् भन्ने थाहा रहेछ । क्रमशः