अज्ञात गुरुबाट सिकाइ: 'इम्प्रेशन एट फस्ट साइट इज नट लास्ट' !

अज्ञात गुरुबाट सिकाइ: 'इम्प्रेशन एट फस्ट साइट इज नट लास्ट' !

ज्ञानमित्र  |  साहित्य  |  कात्तिक १४, २०७७

२०४५ सालको दशैं  पछि बजार वितरणका क्षेत्रमा काम गर्दा मेरो  आर्थिक स्थिती राम्रै  थियो, महिनाको आठ दस हजार कमाइन्थ्यो । तर मेरो मनमा  सरकारी जागिरे हुने विपुल इच्छा रहेको थियो । बजार क्षेत्रमा राम्रो चिनचान पनि थियो, मैले तीनवटा कम्पनी फेरी सकेको थिंए । आठ दस जनालाई त्यस क्षेत्रमा जागीर पनि गराइसकेको थिएं । कामको बोझ पनि त्यति भारी थिएन, हिमाली र दुर्गम पहाड बाहेक कम्पनीको कामले प्रत्येक महिना घूमघाम  गर्न पनि उपलब्ध थियो । पोखरा घुम्न मनलाग्न साथ काम निकालेर पुगिन्थ्यो । सात वर्षको यस अवधिमा म सय भन्दा बढी पटक पोखरा पुगी सकेको थिंए, फेवाताल चहारी सकेको थिएं । तर पनि मनमा भने सरकारी जागीर प्रति गजबको आकर्षण कायम नै थियो । यही हो मनको खेल, जे  आफुसँग छ त्यसमा सन्तुष्ट नहुने ! नभएका वस्तुको चाहना गर्ने ! ! यसै चाहनाको भारीले आफ्नो मन आत्मा सन्तापित गरी रहने !!!

मेरा एक जनामित्रले बजार क्षेत्रमा आफैं पसल खोली वितरण कार्य प्रारम्भ गरे । उनले मसँग मेरो कम्पनीका उत्पादनहरु उधारोमा उपलब्ध गराइ दिन अनुरोध गरे।  मैले उनलाई यो सुविधा प्रदान गराई दिंए,  आखिर उनी मेरा जे कुराका पनि अनन्य मित्र थिए। कम्पनीको डिलरले मेरो प्रस्ताव न मान्ने  कुरै थिएन ।  दुई तीन पटक त उनले कम्पनी डिलरलाई  बिल भुक्तानी पठाए, कम्पनी डिलरले उनले मागे जतिको सामान दिन थाल्यो । तर अन्त्यतिर उनले बदमाशी गरे । अस्सी हजार जतिको बक्यौता उनले समयमा पठाएनन् । डिलरले दुई महिनापछि मलाई त्यो भुक्तानी ल्याइदिन अनुरोध गर्‍यो । उनले अर्को साता, अर्को साता भन्दै अझै दुई महीना कटाइदिए । कम्पनी डिलरले यो तपाईको जिम्माको पार्टी हो, तपाईँकै साथी हो, तपाईँले भनेर नै मैले उधारो दिएको हुँ यसको भुक्तानीको जिम्मा पनि तपाईँकै !

अझ दुई महिना पनि मेरा मित्रले आज र भोलि गर्दै कटाए, त्यस पछि त उनले पसल नै बेची दिए र उनी आफैं बेरोजगार भएर  काठमाण्डौबाट  बेपत्ता भए । डिलरले अब यो बिलको रकम तपाईँको खातामा जान्छ भन्ने निर्णय सुनाए । मैले एकवर्षसम्म जागिर गरेर मित्रताको मूल्य स्वरुप त्यो ऋण तिर्ने अवस्था थिएन र म पनि साथी झै भगौडा बने । राजीनामा नदिइ जागीर छाडेर घर बसे । यो मेरो जिन्दगीको पहिलो पलायन थियो ।

मुलुकमा भने त्यसबेला शेरबहादुरजीका दिन आएका थिए, उनको मन्त्री परिषद्मा बलबहादुर केसी युवा, खेलकुद मन्त्री  हुनु भएको थियो । उहाँकै अनुकम्पाले म खेलकूद परिषद्मा सुब्बाको पदमा शेभायमान भएको थिंए । आज सोच्छु ती मित्रले पैसा नतिरी  दिएर मेरो कुभलो गरेका थिए कि भलो ?!  उनकै कारणले मैले बजार क्षेत्रलाई अलविदा गरें  र यो घटना नघटेको भए म खेलकूद परिषद्को जागिरे हुने थिइन, मेरो सरकारी जागिरे हुने सुषुप्त मनोकाँक्षा पूरा हुने  थिएन । उनले मलाई भगौडा हुन सिकाए जसले पछि गएर मलाई संसारिक जीवनबाट भाग्ने दिशामा पनि सुगमता प्रदान गर्यो । उनको एउटा बदमाशीले मेरो सरकारी जागीरे हुने, पत्रकार बन्ने र क्रमशः सन्यासी हुने आकाँक्षाहरु फलीभूत भए । धन्यवाद मित्र तिलक  शर्मा ! तिमीलाई धन्यवाद,  तिमीले त्यो कृत्य जानेर गरेका रहेन्छौ  तिमी त  मेरो भाग्य र प्रारब्धका असीम सम्भावना खोली दिन निमित्त मात्र  भएका थियौ ।

राष्ट्रिय खेलकूद परिषद्  मेरो पहिलो ‘पोस्टिग’ भक्तपुर जिल्लामा भएको थियो । बजार क्षेत्रबाट पलायन गरे पनि त्यहाँको एउटा सौगात भने मैले छाडेको थिइन, त्यो थियो ‘टाई’ पहिरिनु,  मैले सन्यासमा नहिडिउन्जेल ‘टाई’ नितदिन नै गलामा कसे । प्रारम्भमा बडो जोशका साथ कार्यालय गइयो ।  तर कार्यालयमा भने काम केही थिएन, म बाहेक एक जना खरदार जिल्लामा नवनियुक्ति पाएर गएका थियौं।  एउटा अस्थाई सहायक जसको  काम कार्यालय खोल्नु र बन्द गर्नु हुन्थ्यो र विभिन्न खेलकूदसँग सम्बन्धित ६–७ जना प्रशिक्षक । प्रशिक्षकहरु हाजिर गर्न पनि १०–१५ दिनमा उपस्थित हुन्थे । पहिलो  साताभरी म नियमित कार्यालय गएँ, तर विस्तारै प्रतिदिन जानुको कुनै औचित्य रहेन र विस्तारै हामी नवनियुक्त दुईजना पनि साताको एक दिनमा सीमित भयौं ।

खेलकूद परिषद्को तलब सातामा एक दिन हाजिर गरेर  पाक्ने भए पछि मसँग प्रशस्त समय हुने नै भयो । त्यो समय बागबजारमा पत्रकारिता सिक्दै बितीरहेको थियो । यस्तैमा शेरबहादुरजी सरकार गयो,  आएको नयाँ सरकारमा खेलकूद मन्त्रालय एमालेको भागमा परेको थियो । मन्त्री विष्णु पौडेलले पूर्वमन्त्रीको निर्णय उल्टाउदै  खेलकूदका समस्त नव नियुक्त कर्मचारीलाई पदमुक्त गरी दिए । मेरो भने एमालेका तत्कालीन काठमाण्डौँका मेयर केशव स्थापितसँग राम्रै मित्रता रहेकाले बर्खास्तगी टर्‍यो । बर्खास्तगीमा  परेका सबै साथी आन्दोलन र धर्नामा ओर्ले, म कसरी सहभागी बनौ साथीहरुसँग ? म त जागिरमा नै थिँए  संस्थामा ।

नेपाल अधिराज्यमा त्यो कालखण्डमा ‘युवतीले फैशन फेरे झै’ सरकार फ़ेरिन्थ्ये,  केही महिनामै फेरी सरकार बदलियो, फेरी पूर्वमन्त्रीको निर्णय फेरियो, सबै साथीहरु बहाल भए । कुनै बेला शरदचन्द्र शाहले रंगशाला पछाडिको भवनमा रहेको जुन गोलकोठाले मुलुक नै ढाक्थे, त्यै गोल कोठामा बसेरसँगै जागीर खाएका एक जना अधिकृतले मलाई घुमाउन थाले । उनको नजरमा म काँग्रेसी खेमामा रहिन, सबै वर्खास्तगीमा पर्दा यो किन परेन ? यो पक्कै कम्युनिस्ट हो, उनको म प्रतिको रिसको दोश्रो कारण थियो, सातामा दुई तीनवटा प्रकाशित हुने मेरा लेख रचना ।   उनले पनि विगतमा काँग्रेसी कार्यकर्ता भइ केही समय पत्रकारिता गरेका रहेछन्  । उनले मलाई सरुवा गरी रसुवा पठाई दिए  । अब भने महिनामा एक पटक रसुवा पुग्नु पर्ने बाध्यता भयो, तर मेरो लेखन भने जारी नै रह्यो । पाँच छ महिना पछि उनले मेरो शक्ति केन्द्रको गुरुत्व सहन सकेनन् र म पुनः भक्तपुर आएँ ।

'भाइ, मैले खेलकुदमा जागिर खाएको बर्षौ भइसक्यो, यहाँका कर्मचारीले कति काम गर्छन, कस्तो काम गर्छन मलाई सबै राम्ररी थाहा छ । २-३ हजारको यो भीडमा तपाईँ एक्लो हुनुहुन्न, सबै उस्तै हुन । तपाईँ जस्तोलाई त हामीले जागीर खान अनुरोध गर्नुपर्ने, खेलकूद परिषद्ले खोजेर पनि तपाईँ जस्तो मानिस पाउन सक्दैन, यत्रो परिषद्ले एक जना विद्धान पाल्न सक्दैन र' ?

मेरो स्वलेखनको त्यो उर्वरकाल थियो,  प्रायः सबै साथी पत्रकार लेखक थिए । साहित्य र लेखन चर्चामै चियाका साथ दिन रमाइलो गरी बितिरहेका थिए । एक दिन कसैले मलाई ‘सिक्किमे डल्ले  रम’ उपलब्ध गरायो।  पदम्  गौतम, शशि लुमुम्बु र म त्यो लिएर ओशो तपोवन गयौं । दिन भरी घुमेर, हामीले फर्किदा गाड़ी  नचढ्ने, हिडेरै बालाजू आउने विचार बनायौं । डल्लो भाडोको बिर्कोमा रम खन्याउदै चुस्की लाउदै हामी हिड्यौ, बाटोमा हामीले पेन्ट शर्ट फुकालेर काधमा हाल्यौं, चुस्की लाउदै ,चुरोट तान्दै हामीले बाटो कटायौं । अर्को साता शशि लुमुम्बुले प्रकाश साप्ताहिकमा हाम्रो त्यस यात्राबारे लेखे ।  उनले हाम्रो त्यस  कृत्यलाई 'सिर्जनशील  अराजकता र शालीन विद्रोह' को उपमा दिए । हामीले त गर्यौ र बिर्सीदियौ‌ं तर राजन मुकारुङ र हांगयुग अज्ञातले त्यस 'सिर्जनशील  अराजकता'लाई स्थापित गरे ।

खेलकूदको जागीरमा पञ्चायतकालीन गोलकोठा भने एक पटक फेरी म माथी हावी भयो, मलाई सरुवा गरेर बाग्लुङ्ग पठाइयो । त्यो बेला सरुवाले  निकै पीडा भएको थियो तर बाग्लुङ्ग गएको केही महिना पछि थाहा भयो यो पनि मेरो नियतिकै खेल थियो । सरुवा भइ नयाँ जिल्ला  बाग्लुङ्ग  पनि म मिहनामा एक पटक गएर दुई तिन दिन बसेर काठमाण्डौ फर्किन्थे । बाग्लुङ्गमा पोस्टिंङ हुँदा  मेरो जीवनमा अनेको महत्वपूर्ण प्रसंग घटे, कैयन प्रेम प्रसंग, कैयन कविता, सरुभक्त र  कवि रमेशको संगत।  जागिर कै क्रममा बाग्लुङ जाने मेलोमेसो मा प्रसिद्द कार्टूनिष्ट र नियात्राकार निर्मोही व्यासका घरमा गई गफगाफ हुन्थ्यो। यस्तै एउटा महत्वपूर्ण  प्रसंग घटित भएको थियो  मेरो जीवनमा क्षेत्रीय खेलकूद कार्यालय पोखरामा ।

जागिरको नियुक्ति बाग्लुङ  भएपनि म प्रायः काठमाडौं नै हुन्थे । यस्तैमा राष्ट्रीय खेलकुदको आयोजना भयो, केन्द्रले जिल्ला जिल्लामा बजेट पठायो । बाग्लुङमा भने बजेट पुगेर पनि म जस्तो कर्मचारी भएर अलपत्र भइ रहेको थियो । प्रशिक्षकहरुले क्षेत्रिय कार्यालय पोखरालाई गुहारे र पोखराले बाग्लुङ कार्यालय निरिक्षण गर्न  कुनै कर्मचारीलाई  खटायो । यस कार्यका लागि खटिएको कर्मचारीले  जिल्ला पुगी अवस्था अवलोकन गरी कर्मचारीको लापरवाही बारे क्षेत्र र केन्द्रलाई रिपोर्ट पठाएछन्। केन्द्रमा रिपोर्ट आएपछि त्यहाँ रहेका साथीहरुले अविलम्व हाजिर हुन पुग भनी खबर गरे ।  मैले जिल्ला पुगी केन्द्रले सोधेको स्पष्टीकरणको जवाफ  पठाएँ ।

सबै कुरा मिल्यो तर यो मिल्ने क्रममा भने मेरो सञ्चिचत विदाको तथ्यांङ्कमा ह्रास आयो । कति  नम्बरको राष्ट्रिय खेलकूद आयोजना थियो त्यों अहिले स्मरण छैन तर यति स्मरण छ त्यस बेलाको आयोजनामा म बाग्लुङको बक्सिङ टोलीको नेतृत्व गरी (टीम म्यानेजर ) धरान  गएको थिए।

एक दिन काम विशेषले  बांग्लुङबाट क्षेत्रीय कार्यालय पोखरा आएँ, त्यहाँका हाकिम थिए राजेन्द्र बस्नेत । उनले मलाई त्यो दिन पोखरा नै बस्ने अनुरोध गरे । कारण थियो, हामीसंगै जागीर खाएकी काठमाडौँ केन्द्रमा कार्यरत एक जना महिलाको निधन । उहाँले ती महिलालाई श्रद्धाजली दिने कार्यक्रम बनाउनु भएको थियो  । भोलि पल्ट दस बजे पोखरा कार्यालय पुग्दा श्रद्धाजली सभा आयोजना हेतु सबै तैयारी भइसकेका थियो । राजेन्द्रले मसँग भन्नु भयो सभा त आयोजना गर्न मैले लगाएँ तर मैले सबै साथीहरुसँग सम्बोधन गर्न अनुरोध गर्दा प्रथम वक्ता हुन कोही  तैयार छैन,  म आफु पनि यस कार्यमा सक्षम छैन, यो जिम्मेदारी तपाईँले नै उठाउनु पर्‍यो।  

मैले हाँस्दै भने, ‘म जस्तो गैर जिम्मेवारलाई तपाईँ यस्तो संवेदनशील जिम्मेदारी दिंदै हुनुहुन्छ, म के बोल्छु मलाई नै थाहा हुन्न' ।

यस भन्दा पहिला पनि मैले मृत्युमाथि दुई पटक विवेचना गरी लेखी सकेको थिंए । इपीएस स्कूल बानेश्वरका संस्थापक एनके सिंहको निधन हुँदा , मैले लेखेको लेख पढेर उनकी पत्नी प्रमिला सिंहले मलाई तेह्र दिनको काम भित्रै भेट्न बोलाएर भनेकी थिइन ‘मलाई पतिको मृत्युमा सान्तवना र शक्ति सामर्थ्य  दिन सयौं जना आउनु भयो, तर तपाईँको लेखले जति मलाई ‘पिडामुक्त’ बनायौ अरु कसैका शब्दमा त्यो सामर्थ्य  थिएन, उनीहरु औपचारिकता पूरा गर्न आएका थिए । यस्तै अर्को लेख सविता अर्याल (मेरो बुवाको माईजु) को मृत्यु हुँदा लेखेको थिंए। तात्कालीन नवआवाज़ साप्ताहिकमा प्रकाशित त्यों लेख पढेर कमल कोइराला (सविता अर्यालका दाजु )ले बिराटनगरका  पत्रकार कृष्ण पोखरेलसँग नवआवाज़को फोन  नम्बर लिएर मलाई फोनमा भनेका थिए , ‘तिमी त म भन्दा पनि राम्रो लेख्दा रहेछौ'।

श्रन्दाजली सभाको पहिलो वक्ताका रूपमा  मैले भने,   हाम्रो एकजना  सहकर्मी हाम्रा बीच रहनु भएन । हामी उहाँको आत्माको चिरशान्तिका लागि प्रार्थना एवं शोक सभा गर्न भेला भएका छौ । आत्माबारे मलाई शास्त्रमा पढेको बाहेक कुनै अनुभूति छैन ।  आत्मा हुन्छ-हुन्न, पुनर्जन्म हुन्छ-हुन्न ? मलाई केही स्पष्ट ज्ञान छैन । मेरा लागि  जीवन र मृत्यु दुबै खेल हुन, खेलका विभिन्न चरण खेलिदै/ पार गर्दै  खेलको परिसमाप्ति मृत्युरुपी अन्तिम खेल  बाहेक म मृत्युलाई केही अरु हो भन्ने ठान्दिन  । हाम्रो सहकर्मीको  जीवनरुपी खेलको अन्त्य भयो, कसरी भयो ? किन भयो ? असमय भयो , दुखद भयो !  यी सब तपशीलका कुरा मेरा लागि बाहियात हुन । म यति मात्र सत्य स्वीकार्छु उहाँको जीवनरुपी खेलको समाप्ति भयो । उहाँ बारे सबै गुणैगुणको चर्चा गरेर म न त  आफुलाई  र न उनलाई नै महान बनाउन चाहान्छु । न मृत्यु माथि शास्त्रीय अवधारणा कोट्याएर आफ्नो विद्धता प्रदर्शन गर्न चाहन्छु।

 ‘वंशासि जीर्णानि  यथा बिहाय’ मेरा लागि कोरा शब्द मात्रै हो, आत्माले लुगा फेरे झै शरीर फेर्छ भनेर चिता दर्शनमा रुमलिने भावुकता मेरा लागि मूर्खता बाहेक केही होइन।   प्रत्येक मृत्यु मेरा लागि आफुलाई अध्ययन गर्ने अवसर हो, जीवन बाच्ने कला सिक्ने अवसर हो । आफ्नो पनि अन्तिम हविगत यही नै हुन्छ भन्ने सत्य दर्शन हो।  थाहा पाएको जो कोहीको मृत्युले पनि मभित्र बोध प्राप्त गर्ने  एउटा यस्तो अवसर उपलब्ध हुन्छ कि बाचुन्जेल  म केही यस्तो गरौं कि  मृत्युपर्यन्त  यदि मेरा साथी भाईले मेरा लागि पनि शोक सभाको औपचारिकता प्रदर्शित गर्छन भने त्यस सभाका वक्ताहरुलाई मबारे बोल्न अप्ठेरो नहोस्, झुटो नबोल्नु परोस, वक्तालाई औपचारिकताका शब्दवमन गर्नु नपरोस ।उनीहरु जे बोलुन मेरे गुण दोष बारे  टीका टिप्पणी होस। म बाँचुन्जेल अरुसँग सुमधुर सम्बन्धमा बाँचौ, पर्दा अरुलाई काम लाग्न सकौं । जीवनको खेल सुगमता पूर्वक  रमाएर खेल्न सकौं जसले  खेलको अन्त्य पनि रमाइलो बनोस् । प्रत्येक मृत्युले मलाई यही सिकाउँछ, एवम् रीतले मैले जीवन र मृत्युबारे ८- १० मिनेट बोलेर श्रन्दाजलि मन्तव्य टुंग्याए  । अन्य वक्ताहरुले  बोले पछि सभा विसर्जित भयो ।

सभा पछि म चौरमा कुर्सी हालेर बसेको थिंए, एकजना पुरुषले छेबैमा आएर बस्दै नमस्कार गर्दै क्षमायाचना गरे । मैले सोधे किन यसो गर्नु भएको तपाईँले ?तपाईसँग त मेरो चिनजान पनि छैन ।

'उहाँले भन्नु भयो, मैले तपाईँप्रति ठूलो अपराध गरेको रहेछु, आज तपाईँको अभिव्यक्ति सुनेर मलाई ग्लानि भइरहेको छ' ।

'मैले केही बुझ्न नसकेर उहाँसँग भने, ‘अपराध गर्नलाई पनि त हामी बिच  पूर्व परिचय र भेटघाट  हुनु आवश्यक छ नि !  जहाँसम्म म सम्झिन्छु यो  नै हाम्रो पहिलो भेट हो' ।

'तपाईले ठीक भन्नु भयो यो नै हाम्रो पहिलो प्रत्यक्ष भेट हो, तर मबाट तपाईँ प्रति अपराध भएकै हो'।

'होइन दाइ ! तपाईँले कस्तो कुरा गर्नु भएको ? भेटै नभइकन  पनि कसै विरुद्ध अपराध गर्न सकिन्छ र '?

'तपाईले दाइ सम्बोधन गरेर मलाई अलि कति  भए पनि सहज बनाईदिनु भयो।  हेर्नुस भाइ, म जीवन र जगतका गह्किला कुनै पनि कुरा बुझदिन।  न त मैले यी बुझाउने पुस्तक नै पढेको छु। जीवन नै खेल जगतमा बिताएको छु  आज तपाईले खेलको नौलो परिभाषा सिकाउनु भयो मलाई ।  मैले खेल्ने खेल के नै रहेछ ! तपाईले जीवन नै एउटा खेल हो भन्ने परिभाषित गरी दिनु भयो'।

'दाइ यो सब पनि बुद्धि विलास न हो।  क्षणिक भावनात्मक संवेग न हो'।  

'होला भाइ, तपाईँले भनेको यो कुरा पनि ठीक होला।  तर क्षणिक भावनात्मक संवेगले भए पनि मलाई आफ्नो अपराध बोध गरायो । मैले तपाईँ जस्तो मानिसका विरूद्ध अपराध गरेको रहेछु। आज तपाई समक्ष आफ्नो अपराध जसको अनुभूति मलाई आज मात्रै भएको हो त्यों ओकलेर निर्भार हुन चाहन्छु'।

'तपाईँको प्रकृति र प्रवृति हेर्दा  तपाईँबाट कसै विरुद्ध जानेर अपराध हुन सक्छ जस्तो लाग्दैन मलाई ! र , अनजानमा भएको अपराध अथवा गल्तीलाई अदालतले पनि रहम दृष्टिले हेर्छ,  होइन र दाइ' ?

'भाइ, जहाँ खेल हुन्छ त्यहा झेल पनि हुन्छ,  आज म  कुनै झेल गरेर विजेता हुन चाहन्न वरन स्वीकरोक्तिको बाटो अपनाएर  बोझरहित हुन चाहन्छु । ल सुन्नुस केही महिना पहिला तपाईँ कार्यरत जिल्ला बाग्लुङको  निरिक्षणमा म गएको थिंए र तपाईँ विरुद्ध कारवाही गर्ने सिफारिस गर्दै मैले नै क्षेत्र र केन्द्रलाई  रिपोर्ट पठाइको थिंए । आज मलाई लज्जबोध भइरहेको छ , तपाई जस्तो मान्छेका विरुद्ध मैले रिर्पोट गरें '!  

 मैले उहाँको  आशय बुझी सकेको थिंए।  मेरो अभिक्तिबाट उहाँ  द्रवित हुनु भएको थियो।  मानवीय संवेदनाले उहाँको  मन मस्तिष्कलाई उद्धेलित गरेको थियो ।

होइन, त्यो त तपाईँले कर्तव्य पालन गर्नुभयो, जागीर खाएर, तलब खाएर कार्यालयमा उपस्थित नहुनेलाई कारवाहीको सिफारिस नगरे के बढुवाको सिफारिस गर्ने त ? मैले सम्वेदनमय परिस्थितिलाई हास्यमय बनाउन खोजें ।

'भाइ, मैले खेलकुदमा जागिर खाएको बर्षौ भइसक्यो, यहाँका कर्मचारीले कति काम गर्छन, कस्तो काम गर्छन मलाई सबै राम्ररी थाहा छ । २-३ हजारको यो भीडमा तपाईँ एक्लो हुनुहुन्न, सबै उस्तै हुन । तपाईँ जस्तोलाई त हामीले जागीर खान अनुरोध गर्नुपर्ने, खेलकूद परिषद्ले खोजेर पनि तपाईँ जस्तो मानिस पाउन सक्दैन, यत्रो परिषद्ले एक जना विद्धान पाल्न सक्दैन र' ?

दाइ, त्यसो कहाँ हुन्छ र यो त खेलाडी  र खेलकूद सम्वर्धन  गर्ने संस्था हो, चिन्तक र विचारक पाल्ने संस्था होइन,  मैले उहाँको भावावेग शान्त गर्ने मनशायले भने ।

 तर उहाँले मान्नु भएन।  उहाँले भन्दै जानू भयो, हेर्नुस भाइ  खेलाडीलाई पनि समय समयमा ‘मोटिभेट’ गर्न ‘मेन्टर’ को पनि आवश्यकता हुन्छ, तपाईँ नजानिदो पाराको 'मेंन्टर' हुनु हुँदो रहेछ । अफिसियल काम गर्न एसएलसी पास गरेको जो कोहीले पनि सक्छ। तर मानिसलाई 'मोटिभेट' गर्ने कला सबैसँग हुँदैन।  तपाईसँग त्यो क्षमता छ।  तपाईँलाई त खेलकूदले जिल्लाको सट्टा केन्द्रमा राखेर पाल्नु पर्ने हो।

तपाईँले मलाई  मेरो अपराधका लागि क्षमा नगरेसम्म मेरो मनले शान्ति अनुभव गर्दैन।

 मैले भने ,‘दाइ तपाईँको म प्रतिको भाव नै साँचो अर्थमा क्षमा हो, तपाईँको यस भावनाले तपाईँभित्र रहेका समस्त नकारात्मक भावलाई पखाली सक्यो। तपाईँ साँचो अर्थमा पूर्ण ''रेजुभिनेट'' हुनु भएको छ ।

 र, दाइ तपाईँको आजको यस सहज स्वीकरोक्तिले  मलाई जीवनको महत्वपूर्ण पाठ सिकायो,  हुँदै  नभएको गल्तीमा पनि आफ्नो गल्ती स्वीकार गरी  आफ्नो मन मस्तिष्कलाई कुण्ठा मुक्त पार्ने,  मानिसको एउटा पाटोले मात्र सधै उसको मूल्याकन नगर्ने !  तपाईँले म प्रतिको धारणा यति छिटै परिवर्तित गर्नु भयो, मैले पनि आज तपाईँसँग यो कला सिकें, म जीवनभरी यसलाई अबलम्बन  गर्ने प्रयास गर्छु ।

जीवनमा सिक्नलाई तपाईले भने जस्तो 'मेन्टर' अथवा गुरु आवश्यक हुन्नन् । जीवन र जगत यति विहंगम छ जोसँग पनि केही न केही सिक्न सकिन्छ।  आज मैले तपाईँसँग सीके, 'फर्स्ट इम्प्रेसन इज नट लास्ट इम्प्रेसन'। मलाई जीवनको यो नौलो र महत्वपूर्ण पाठ सिकाउने व्यक्ति थिए -  क्षेत्रीय खेलकूद कार्यालय पोखराको  बक्सिङ प्रशिक्षण विद्या गुरु, जसले  अनजानमै मलाई एउटा विद्या सिकाएका थिए, 'इम्प्रेशन एट फस्ट साइट इज नट लास्ट' । यस घटनाको केही महिना पछि म खेलकूद परिषद्मा रहिन। विद्या गुरुसँग फेरी कहिल्यै पनि भेट हुन सकेन ।  तर आफुले जीवनमा भेटेका गुरुहरु सम्झिदा मैले उहाँलाई बिर्सन सकिन।

यो लेख पढ्नु हुने कुनै महानुभवले यदि विद्या गुरुलाई चिन्नु हुन्छ भने यो लेख उहाँसम्म पुर्‍याइ दिनु भए आभारी हुने थि‌ंए ।