सिकेर, जानेर, थाहा भएर पनि व्यवहारमा नल्याउनेहरूलाई गतिलो चाबुक 'सिकाइ र सहयोग'

सिकेर, जानेर, थाहा भएर पनि व्यवहारमा नल्याउनेहरूलाई गतिलो चाबुक 'सिकाइ र सहयोग'

उद्धव बिष्ट ‘चुम्लुङे'  |  साहित्य  |  कात्तिक १५, २०७७

साङ्ग्रीला प्रकाशनले २०७६ सालको अन्त्यतिर प्रकाशन गरेको पुस्तक 'सिकाइ र सहयोग'का लेखक खगराज बराल हुनुहुन्छ । यो पुस्तक देशमा कोराना–१९ को महामारी सुरु भए लगत्तै नेपाली पाठकमाझ साङ्ग्रीला प्रकाशनले बजारमा ल्याएको हो । शिक्षासँग सम्बन्धित नौओटा पुस्तक लेखिसक्नु भएका लेखक बरालको यो दशौं पुस्तक हो । कुल दुई सय एकचालीस पृष्ठमा समेटिएको यो पुस्तकमा विभिन्न पच्चीस शीर्षकमा लेखकाका अनुभव सँगालिएका छन् ।

पुस्तक अद्योपान्त अध्ययन गर्ने अवसर प्राप्त भयो । लेखकलाई नमन । प्रकाशकलाई आभार । सम्बन्धित पात्र, सहयोगी तथा श्रद्धेयहरूमा नमस्कार । आफ्ना नानीबाबुहरूलाई सिकाउनहोस् वा आफैंले सिक्नहोस्, कार्यक्रम आयोजकले होस् वा सञ्चालक उद्घोषकले किन नहोस्, शिक्षक, अभिभावक, विद्वतवर्ग वा कर्मचारी नै किन नहोस् स्वदेशदेखि विदेशसम्मको व्यवहारिक संस्कार सिकाउने हालसम्मकै उपलब्ध मध्ये चाखलाग्दो पुस्तक हो सिकाइ र सहयोग । 

बालकदेखि युवा, शिक्षक, अभिभावक सबैले एक पटक पढ्नै पर्ने पुस्तक हो सिकाइ र सहयोग । व्यवहार उपयोगी जुनसुकै विषयलाई सिक्न बाँकी रहेकाहरूले सजिलै सिक्ने गरी र सिकेर, जानेर, थाहा भएर पनि व्यवहारमा नल्याउनेहरूलाई गतिलो चाबुक हो यो पुस्तक । साना विषय भए पनि अत्यधिक महत्वपूर्ण, दैनिक जीवनका सामान्य तर अति मर्मज्ञ वाक्यहरू उल्लेख भएका छन्, यस पुस्तकमा । नमस्कारको आदन प्रदान, हात मिलाउने अवस्था, भेटघाटको सदुपयोग, चालक र मोबायल, मोबायल र चार्जर, बैठकमा मोबायल, कुरा गर्ने सीप, व्यक्ति र व्यक्तित्व, कुरा सुनाउने र सुन्ने तरिका, सुनौला नियम, होटलमा बस्ने र खाने तरिका, सबैले नोट बनाउनु पर्ने गरी उल्लेख भएका पाइन्छन् । हाम्रो समाजमा निम्ता गर्नै पर्ने, निम्ता मान्नै पर्ने जस्ता व्यावहारिक अप्ठयाराहरूको चित्त बुझ्दाे निष्कर्ष प्रस्तुत छ । औपचारिक कार्यक्रम सञ्चालन, व्यवस्थापनमा तयारी रहने र ध्यान पुर्‍याउन आवश्यक जानकारी यस पुस्तकमा पाइन्छ । 

सरदार भीमबहादुर पाँडे लिखित त्यस बखतको नेपाल पुस्तकमा पाइने जस्तै लाहुर जाने चलन र चिठी वाचन गर्ने आफ्नो अनुभव यहाँ रमाइलो पाराले प्रस्तुत गरिएको छ । खाना खाँदादेखि कहीं जाँदा, स्वदेशको अनुगमन होस् वा विदेशको भ्रमण, होटलको बसाइ वा आफ्ना भनाइ रखाइ जुनसुकै व्यावहारिक कुरालाई सिक्न जरुरी बुँदाहरू यस पुस्तकमा घट्ना र परिवेशसाथ सोदाहरण पाइन्छन् ।

छ कक्षा अध्ययनकै समयमा घरमा बा शिक्षक भएकाले साइला बाले ल्याएको बट्टाको अर्थ बा शिक्षकले शब्दकोश (अजन्ता इङ्लिस नेपाली डिक्सनरी) हेरेर पनि पत्ता  लगाउन नसकेको डब्बल बबल गमको बट्टाको चित्र हेरेर विद्यालयमा साथीहरूले खाएको देखेकाले अर्थ लगाउन सकेका लेखकको प्रतिभा सानै उमेरमा विलक्षणपूर्ण रहेको सङ्केत उल्लेख छ । बीएड पूरा गरेर आइएड् पढाउन थाल्दा केटो शिक्षक रहेछ भनिएको, विद्यालय निरीक्षक भएर काम गर्दा छ महिना मात्र अघिका साथीहरूले नयाँ भनेर तीन वर्षसम्म पनि भन्न नछाडेका, पहिलो पटक २०५१ को संसदीय निर्वाचनमा मतदान अधिकृत हुँदा केटौले, अनुभव नभएको हाकिम रहेछन् भनेर सहायक मतदान अधिकृतले केन्द्र नै परिवर्तन गरेका, विदेशी दातृ निकायलाई कार्यस्थलमा स्थानीय तथा नेपाली भनाइलाई अङ्ग्रेजीमा उल्था गरिदिन खोज्दा सरकारी कर्मचारीले मिलाएर भन्छन् भन्ने छाप परेका दाताले उल्था नगर्न भनेर अविश्वास गरेका जस्ता खल्ला अनुभव मात्र नभएर जिम्मेवारीलाई परिपक्वता साथ पूरा गरिएको घटना रमाइलो ढङ्गमा प्रस्तुत भएका छन् भने यथार्थता नलुकाइ स्पष्ट पार्न लुम्बिनी क्षेत्रका मर्चवार, बेतकुइयाका विद्यालयहरूमा दातालाई अवलोकनमा पुर्‍र्‍याको छ ।

लेखकले संस्कृत भाषाको ज्ञान लिएको मात्र होइन कि सूत्रबद्धरूपमा उल्लेख गरेको पाइन्छ । जर्मनीका १४ र संयुक्त अधिराज्यका ४ ओटा विश्वविद्यालयमा संस्कृत विषयको अध्ययन हुने गरेको उल्लेख गर्दै हालसम्मकै विश्वको जेठो साहित्य संस्कृत रहेको चर्चा छ । भाषण गर्दा होस् वा कुनै प्रसङ्ग उल्लेख गर्दा संस्कृतको श्लोक भनेर व्याख्या सुनाउँदा श्रोता उत्प्रेरित हुने गरेका अनुभवलाई समेटिएको छ ।

निम्तारुहरूलाई अस्तब्यस्त बनाउने हाम्रो चलनको उदाहरण भाइका साथीको विवाह भोजमा सात वर्षीय छोरालाई होटलमा लगेर चिकेन चाउमिनलाई भोज भन्दै खुवाउनु परेको सामाजिक यथार्थता यहाँ पाइन्छ । लाहुरेहरूले पठाएका चिठी जस्ताको तस्तै पढ्दा सुन्न बसेका मध्ये कसैकसैलाई सम्बोधन नहुँदा निरास भएका र पछि, पछि एक जना हजुरबाको सल्लाहमा वाचन गर्दा मानिस हेरेर सम्बोधन गर्न सिकेको, हाम्रा समाजका व्यक्तिगतदेखि सामाजिक आनीबानी र अव्यवस्थालाई डन्ट माइण्ड नभनी माइण्ड गरेरै सुधार गरून् भन्ने साहसिक लेखन हो यो पुस्तक । 

हाम्रा समाजका विकृति मात्र होइन राम्रा उदाहरणहरूलाई पनि तुलनात्मक रूपमा उल्लेख गरिएको पाइन्छ । तानसेन नगरपालिकाको सेन माध्यमिक विद्यालयको परीक्षा अनुगमनमा जाँदा बाख्राको पाठो दुर्घटनामा पर्दा त्यहाँको समाजले गरेको राम्रो उदाहरणीय व्यवस्थाको उल्लेख एकातिर छ भने एमएस नेपालका परामर्शदाता निल्सले चलाएको गाडीबाट कास्कीकोटको पामेमा बाछी दुर्घटनामा पर्दा वा यात्रु बाहक हायस गाडीले धादिङको गजुरीभन्दा पूर्वपट्टी दुर्घटनामा परेको घटना तिललाई पहाड बनाएर घटना घटाउनेलाई पतालै भसाउन खोज्नेहरूको यथार्थता पनि उल्लेख छ । 

'अनुभव नालायक गुरु सावित हुन सक्छ' भन्ने रवि प्रधानको लेखको प्रसङ्ग पटक, पटक दोहोरिएको र पुष्ट्याइ दिइएको पाइन्छ । नौली आमाको चर्चा बीस वर्षसम्मको एउटै सिकाइ र एक वर्षमा बीसओटा सिकाइको प्रसङ्ग रोचक लाग्दछ । 

पुस्तकमा राष्ट्रप्रतिको अगाध माया र विकासको सम्भावना उल्लेख गरिएको छ । इजिप्ट भ्रमणको समयमा एउटै नायल नदीले विकासमा पुर्‍याएको योगदान अवलोकन गर्न पाएका लेखक नेपालमा जल विहारको प्रचुर सम्भावना उल्लेख गर्दछन् । नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार गरेर पशुपालन विशेष गरेर बाख्रा पालन गर्न र आर्गानिक खेतीको ठूलो सम्भावना औल्याउँछन् । नश्ल सुधारको महत्व उल्लेख गर्दै बीऊ बोका छ महिनामा र बीऊ राँगा दुई वर्षमा फेर्न आवश्यक रहेको उल्लेख गर्नु हुन्छ । तराईमा रहेको दहेज प्रथालाई निर्मूल पार्न महिला शिक्षालाई अघि बढाउनै पर्ने राय व्यक्त गरिएको पाइन्छ ।

नकारात्मक सोच प्रगतिको बाधक हुन्छ । व्यवहार उपयोगी सीप, जीवनोपयोगी सीप, पेसागत सीप, सञ्चालन सीप मानिसमा नभई नहुने सीप हुन भन्ने सोदाहरण प्रस्तुत गरिएको छ । अरूको बानी राम्रो र नराम्रो भनेर छुट्याउने सामर्थ्य धेरै जनाले राख्ने तर राम्रो बानीको अनुकरण र अनुशरण नगर्ने प्रवृतिलाई चोटिलो प्रहार यस पुस्तकमा पाइन्छ । 

विद्यालय अनुगमन र सर्पको अनुभव, अनुभवजन्य सिकाइले नेपाली बृहत् शब्दकोश र अक्सफोर्ड एडभान्स लर्नर्स डिक्सनरी प्रत्येक कार्यालयमा व्यवस्थापन गर्न सिकाइएको छ । साङ्केतिक भाषाको सामान्य जानकारी सबैमा हुनुपर्ने र दूरसञ्चार सेवा प्रदायक संस्थाले यसको विशेष व्यवस्था मिलाउनु पर्ने धारणा राख्नु भएको देखिन्छ । 

नेपाली संस्कारको चर्चा गर्ने सन्दर्भमा घरबाट भागेर संस्कृत अध्ययन गरेर बाल ब्रह्मचारी बनेका चन्द्रकान्त पौडेललाई गृहस्थी बन्न बाध्य पारेर शैक्षिक योगदान पुर्‍याउन  लगाइएको छ । एकै ठाउँ जानुपर्ने भए पनि दाजुभाइले एउटै बसमा यात्रा नगरेको प्रसङ्ग, भान्सा, चुल्हो, खाँदा लगाउने लुगा, बिहान गह्रौ, बेलुका तातो र हलुका खाने चलन, हामी मानिस शारीरिक बनावटले नै शाकाहारी हौं भन्ने स्पष्ट उदाहरण साथ प्रस्तुत गरिएको छ ।

गोबरले घर लिप्नेजस्ता सांस्कारिक व्यवहारमा वैज्ञानिकता भएका प्रसङ्ग पुस्तकले स्पष्ट गर्दछ । बालबालिकाहरूमा घरमा, यात्रामा, सामाजिक कार्यमा गरिनुपर्ने व्यवहार, विभिन्न भाषाका शब्द प्रयोगले व्यवहारमा पर्‍याउने असर बारेको सप्रसङ्ग चर्चा गरिएका छन् । संस्कार नै कानुनभन्दा मर्यादित हुने परम्परा, स्यालको शिकारमा बाघको खजना बोक्नु भनेझैं यात्रा गर्दा बोक्नु पर्ने सामग्री, स्वावलम्बी बन्न हुनुपर्ने सीप स्विजरल्यान्ड र जापान भ्रमणको प्रसङ्ग वर्णनमा पाइन्छन् ।

सबइन्जिनियरहरूको डेरा बसाइको उदाहरण प्रस्तुत गर्दै सबैलाई स्वावलम्बी बन्ने प्रेरणा दिइएको छ । आधुनिकताका नाममा साइनो नै बिगार्ने प्रवृतिलाई तीक्ष्ण व्यङ्ग्य गरिएको छ । भ्रमणमा निस्कँदा जुन देश र समाजमा जानुपर्ने छ, त्यहाँको कानुन, संस्कार र परम्परा बुझ्न आवश्यक हुन्छ भन्ने भुटान भ्रमणको सन्दर्भमा स्पष्ट गरिएको छ ।

लेखकले संस्कृत भाषाको ज्ञान लिएको मात्र होइन कि सूत्रबद्धरूपमा उल्लेख गरेको पाइन्छ । जर्मनीका १४ र संयुक्त अधिराज्यका ४ ओटा विश्वविद्यालयमा संस्कृत विषयको अध्ययन हुने गरेको उल्लेख गर्दै हालसम्मकै विश्वको जेठो साहित्य संस्कृत रहेको चर्चा छ । भाषण गर्दा होस् वा कुनै प्रसङ्ग उल्लेख गर्दा संस्कृतको श्लोक भनेर व्याख्या सुनाउँदा श्रोता उत्प्रेरित हुने गरेका अनुभवलाई समेटिएको छ । शुभ कार्यको प्रारम्भ गर्दा, आशीष दिनु पर्दा, विद्याको होस् वा अन्य केहीको महिमा बताउनु पर्दा संस्कृत श्लोकको प्रभाव महत्वपूर्ण रहेको चर्चा गरिएको छ । रामायण र महाभारतको कथासारलाई चार, चार श्लोकको एक, एक पाउमै खिचिने श्लोक सहित पुस्तक टुङ्ग्याइएको देखिन्छ ।            

साना साना विषयका प्रसङ्ग पनि लेखनको महत्वपूर्ण विषयवस्तु हुन सक्छ भन्ने सन्देश सिकाइ र सहयोग पुस्तकले दिएको छ । 'लिटिल थिङ वी डु' भन्ने जापानी भनाइ जस्तै साना साना कुरालाई सुधार र संस्कारयुक्त बनाउन सके जीवन सहज र सङ्गतिपूर्ण हुन्छ भन्ने सन्देश पुस्तकका प्रत्येक विषय शीर्षकले दिएको छन् । यो पुस्तक कुनै कक्षा वा तह वा वर्गलाई लक्षित गरी लेखिएको होइन । यो पुस्तक बालबालिकादेखि युवा एवम् प्रौढ सबैका लागि पठनीय छ । हरेक विद्यालय र कलेजले आफ्नो  पुस्तकालयमा सङ्ग्रह गर्नुपर्ने पुस्तक हो यो । यति मात्र होइन, प्रत्येक घरघरमा यो पुस्तक सङ्ग्रह गरी हजुरबा,  हजुरआमादेखि आमाबा र छोराछोरीले पनि पढ्नुपर्ने पुस्तक हो यो ।  

निजामती सेवामा विद्यायल निरिक्षकबाट सेवा प्रवेश गर्नु भएका लेखक बराल तालिम प्रशिक्षक, क्षेत्रीय शिक्षा निर्देशक, शिक्षा विभागको निर्देशक, पठ्यक्रम विकास केन्द्रको कार्यकारी निर्देशक, परीक्षा नियन्त्रक, शैक्षिक जनशक्ति विकास केन्द्रको कार्यकारी निर्देशक, शिक्षा विभागको महानिर्देशक, क्षेत्रीय प्रशासक जस्ता पद सम्हाल्दै हाल विभिन्न मन्त्रालयमा रहेर नेपाल सरकारको सचिव पदको जिम्मेवारी बहन गरिरहेको पाइन्छ । धेरै क्षेत्रको अनुभव र ज्ञान संँगालिरहनु भएका लेखकबाट अन्य, अन्य कृतिहरू अध्ययनको अवसर प्राप्त भइरहोस्, शुभकामना व्यक्त गर्दछु ।

 झापा