रूपक अलङ्कार | साहित्य | कात्तिक १५, २०७७
विषय
२०७६ मा शिखा बुक्सबाट प्रकाशित चन्द्रप्रकाश बानियाँको महारानी उपन्यासलाई यस वर्षको मदन पुरस्कार घोषणा गरिएपछि उपन्यासको अधिक चर्चा भएको छ । पुरस्कार निरपेक्ष भएर पढ्दा पनि उपन्यास रोमाञ्चक छ भन्न हिच्किचाउनु पर्दैन । उपन्यास अध्ययनका लागि विभिन्न सैद्धान्तिक आधारहरू हुनसक्छन् तर यो लेख महारानी उपन्यासको सरसरती पठनपश्चातको अनुभूतिलाई उत्तिकै हलुकासँग व्यक्त गर्ने प्रायास हो । यो कुनै सैद्धान्तिक समालोचना हैन, मात्र अलि विस्तृत पाठक प्रतिक्रिया हो ।
महारानीका लेखक चन्द्रप्रकाश बानियाँ सक्रिय राजनीतिक जीवनबाट पत्रकारिता हुँदै लेखनमा लागेका व्यक्ति हुनुहुन्छ । सामाजिक, साँस्कृतिक तथा राजनीतिक विषयप्रति उहाँको लगाव देखिन्छ । महारानी उपन्यास पनि राजनीतिकै आख्यानीकरण हो । राजनीतिमा समय, स्थान र पात्र परिवर्तन भए तापनि राजनीतिको मूलभूत विषेशता परिवर्तन नहुने यथार्थ यस उपन्यासमा पनि देखिन्छ ।
उपन्यासको आधरभूमि पर्वत राज्य हो । गोरखादेखि पश्चिम जुम्लादेखि पूर्वको नेपाल यस उपन्यासमा पाइन्छ तर कथा वर्तमान विशाल नेपाल निर्माण हुनुभन्दा पहिलेकै हो । तीन सय वर्षअघिको पर्वतराज्यको एउटा ऐतिहासिक कालखण्डलाई महारानी उपन्यासले उधिनेको छ । बाइसे चौबिसेराज्यहरूमा पर्वत राज्य शक्तिसम्पन्न र प्रभावशाली थियो भन्ने कुरा उपन्यासले अघि सारेको छ ।
कथा
निष्कण्टक पर्वत राज्यका राजा महाराज घनश्याम थिए । उनी प्रजापालक र न्यायमूर्ति त थिए नै गुनीज्ञानी अति चातुर पनि थिए । उनी अहिंसावादी र एक किसिमका अजातशत्रु नै थिए । किनभने उनको शासनकालमा पर्वतले न कतै आक्रमण गर्यो न कुनै राज्यबाट पर्वतमाथि धावा बोलियो । उनको धीर, गम्भीर स्वभावको उपन्यासभरि चर्चा छ । डिम्बबम र प्रतापीनारायणजस्ता उनका पूर्वजहरूको बारम्बार चर्चाले उनको जन्म चानेचुने कुलमा भएको हैन भन्ने पनि जनाउँछ । उनको समयमा पर्वतमा एक प्रकारको रामराज्य नै भयो । सकेसम्म प्रजाहरूलाई मार्न पर्ने गरी निर्णय गरेनन् ।
राज्यको हरेक निर्णयमा भाइभारदारहरूलाई पनि जबाफदेही बनाए । राम्रो काम गर्ने ( पुल बनाउने, बन्दुक बनाउने) लाई पुरस्कृत गरे । उपाय लागेसम्म सन्धिसुलहबाटै समस्या समाधान गरे । परेको बेलामा हिम्मतपूर्वक निर्णय गर्न नसकेका कारण भारदारहरूले उनलाई धेरै ओर्काइफर्काइ गरेका छ्न् । राजनीतिक दाउपेचमा उनलाई च्याँखे थापेका छन् तर भारदारहरूले राष्ट्रिय अखण्डतालाई अक्षुण्ण राख्न प्रयत्न गरेका छन् ।बरु राजपरिवार नै सत्ता टिकाउनका लागि राज्यको भागबन्डा गर्ने मनसायमा पुगेको देखिन्छ । देशको माया शासकलाईभन्दा जनतालाई हुने रहेछ क्यारे । धेरै हदसम्म महाराज घनश्यामको राज्यव्यवस्था उचित देखिन्छ ।
तिनै राजा घनश्यामका मलेबम र भद्रीबम नामका छोरा थिए । अरू छोराहरू भए तापनि उपन्यासमा तिनको प्रभाव न्यून छ । लम्जुङ्गे राजकुमारी गुलबदनाबाट सात महिनामा मलेबम जन्मिए । जुम्लाकी राजकुमारीबाट नौ महिनामा भद्रीबम जन्मिए । जन्मका आधारमा मलेबम जेठा र गर्भका आधारमा भद्रीबम जेठा भए । विवाद चर्कँदै जाँदा पर्वतको भारदारी सभाले मलेबम लाई जेष्ठतासहित उत्तराधिकार दियो । मलेबमलाई सत्ताभार सुम्पेर राजा घनश्याम कासीवासतिर लागे । कथा यतिमै सकिएन भद्रीबमको राजा हुने आकांक्षा, डिल्ली भुजेलको काजी बन्ने लालसा र जुम्लाको पर्वतलाई कमजोर बनाउने उद्देश्यले पर्वतको राजनीतिलाई कालीगण्डको भुमरीमा हुत्याइदियो ।
खासमा उपन्यासको आधा भागसम्म पुग्दा पनि गतिलो द्वन्द्वको अभाव खट्किरहन्छ । महाराज घनश्यामको ढोलठाना र म्याग्दीको बसाइँसराइ पाठकका लागि धेरै रुचिकर चाहिँ छैन । कहिले राजा ढोलठाना कहिले राजा म्याग्दी भन्ने उखानको गहिरो प्रभाव उपन्यासमा पनि छ । मूलकथामा आइपुग्नुभन्दा पहिले नै धेरै पाना खर्च भएको आभास चाहिँ हुनेरहेछ पढ्दा । सम्भावित अनिष्टहरूको संकेत गरिए तापनि उपन्यासको मझधारमा पुग्नका लागि किनारमै धेरैबेर पौडी खेल्न परेकोजस्तो लाग्न सक्छ । पहिलो भागबाट नै राजकुमार मलेबमको बिहेको लागि नरिबल आइसकेको प्रसंग छ तर डोला आएर बर्सौँ कुर्दा नि हुनुपर्ने बिहे भइदिँदैन । पाठक यही छटपटीमा दौडिरहन्छ ।
महाराज घनश्यामभन्दा नि उदार हृदय भएका उनका छोरा मलेबम पर्वतको उत्तराधिकारी निश्चित थिए । भएकी एउटी सौता र उसको छोरो जुम्लातिरै बतासिएकाले रानी गुलबदना लाई पनि निद्रा परेकै थियो । उनले आफ्ना छोरा राजकुमारका लागि देउपुर र अर्घाखाँचीकी राजकुमारीको डोला भित्र्याएर तिनका नाक नितम्ब जाँचिसकेकी थिइन् । राजकाजका दैनिक कार्यसम्पादन गरेरै राज परिवारको समय सुखमय बितेकै थियो ।
पर्वते समाजमा महारानीलाई धुप धुवाँर गर्ने र ध्वजा पताका चढाउने प्रचलनको ऐतिहासिकता महारानी उपन्यासको विषय हो । कसरी एउटा व्यक्ति देउती हुँदै भगवती देवीमा रूपान्तरित हुन्छ ? समाजले केका बदलामा के उपहार दिन्छ ? भन्ने कुराको रोमाञ्चक अभिव्यक्ति उपन्यासमा पाइन्छ ।
जब जुम्लाको मामाघरमा पलेबढेका राजकुमार भद्रीबम छेलो हान्दै पर्वत आइपुगे दरबारको जस्केलाबाट समस्या पनि छिर्यो । उसलाई नै छेलो बनाएर जुम्लाले कमल जैसी मार्फत हानेको थियो । पर्वत राजसभामा कमल जैसीले `आफ्नो भान्जो गर्भले जेठो भएका कारण राजा हुन पाउनु पर्छ ´ भन्ने जुम्लाको दाबी प्रस्तुत गरेपछि उपन्यासमा रौनक बढेको हो । भद्रीबमले पाए पर्वतको राज्य, नपाए सौतेनी भाग त्यो पनि नपाए भाइ अंश मागे तर पर्वत राज्य कुनै सर्तमा नि मन्जुर भएन ।
अन्ततोगत्वा भद्रीबमले डिल्ली भुजेलको सल्लाहमा मलेबमका लागि ल्याइएकी डोला राजकुमारी विश्वप्रभा मागेर तुरुप फ्याँके । यस्तो भयानक माग पुरागराउन बडाकाजी मकरध्वजले राजा घनश्यामलाई तयार गराए । मलेबमप्रति विश्वप्रभाको प्रेमलाई धरौटी राखेर राजकुमारीलाई पर्वत राज्य जोगाउनका लागि बली चढाइ दिए । महारानी उपन्यासको उत्कर्ष यही नै हो । बरु राजगद्दी त्याग्ने विश्वप्रभालाई नत्याग्ने मलेबमको चाहनाले मुख आँ गर्न नि पाएन । पर्वत राज्यको अखण्डताका लागि भारदारहरूले बुद्धि पुर्याए । राजारानीले मन मारे । मलेबम र विश्वप्रभाले त्याग गरे ।
विश्वप्रभालाई लिएर ज्यामरुकको जागिर थामेका भद्रीबमलाई पर्वत राज्यको मोहले छोडेन । कमल जैसीका माध्यमले जुम्ला उपस्थित भइरह्यो । पर्वतका आनन्द जैसी पनि कमका खुफिया थिएनन् । पर्वत विरुद्धको षड्यन्त्र चाल पाएका उनले कमल जैसीका सारा योजना तुहाइदिए । जैसी एउटा सेर अर्को सबासेर ।
महारानी उपन्यासका केही पात्रहरूलाई छुट्टाछुट्टै सम्झिनु पर्छ । जस मध्ये राजा घनश्यामका बारेमा निकै प्रस्ट पारियो पनि ।
१ मलेबम : मलेबम सातै महिनामा जन्मिएका कारण जेठा हुन पुगे । उनको प्रतिस्पर्धी भद्रीबम जुम्लामा हुर्केकाले बाल्यकाल बिना आहारिस नै बित्यो । उनका लागि दुईओटि राजकुमारीको डोला ल्याएर रानीवासमा भित्र्याए पनि यिनको गृहस्थी स्वादिलो बन्न सकेन । प्रारम्भमा सन्तुलित देखिए तापनि राजनीतिक छिनाझपटीले यिनको जीवन उबडखाबड बनाइदियो । गद्दी छोड्छु तर प्रेमिका छोड्दिनँ भन्दा पनि श्रीपेचको पासो यिनकै गलामा बेरियो । प्रेमिका बियोगले यिनी झन्डै बहुलाए । न यिनलाई पर्वतको अखण्डता प्यारो थियो न इतिहासको मोह तैपनि परिस्थितिले बाँधेको अभागी हुन् मलेबम । गद्दी बचाउनका लागि प्रेमिकालाई अचानो बनाउने लाचार पुरुषका रूपमा पनि उनलाई हेर्न सकिन्छ ।
२. भद्रीबम : आमाको गर्भमा पहिले आए पनि संसारमा आउँदा यिनी मलेबमभन्दा ढिलो भए । पर्वतले यिनलाई माहिलो भन्यो । मामाघर जुम्लाले भने जेठो भनेर राजा बन्ने सपना देखायो । राजाको छोराले राजा बन्ने सपना देख्नु अन्यथा नभए तापनि यिनलाई सहयोग गर्नेहरू चतुर मात्र नभएर धूर्त पनि थिए । राजनीतिका पापी प्राणी थिए । आफ्नो स्वार्थका लागि मलेबम र विश्वप्रभालाई छुटाउनेजस्तो घृणित कर्मका कारण यिनीप्रति पाठकको सहानुभूति छैन ।
३. विश्वप्रभा : पर्वत राज्यले सबै लुटेर महारानी बनाएको देउपुरे राजकुमारी हुन् यिनी । राजकुमार मलेबमका लागि यिनको डोला भित्र्याइएको थियो । कमजोर राज्यकी राजकुमारी बिहे गरेर बलियालाई नचिढ्याउने योजना अनुरूप देउपुरको नरिवल स्वीकार गरेको थियो पर्वतले । तहाँ उप्रान्त यिनको जीवन अरूको योजना सफल बनाउनका लागि मात्र प्रयोग भयो । यिनले जसलाई माया गरिन् त्योसित बिहे भएन । जोसित बिहे भयो त्यसको अन्त्यका लागि कारण बन्नु पर्यो । सबै लच्छिनले युक्त भए पनि यिनी अभागी नै रहिन् । सत्ताको खिचातानीमा यिनलाई मोलमोलाइको वस्तु बनाइयो । पर्वत राज्यले महारानी या राजमाताको सम्मान दिए तापनि या लेखकले कात्यायनीसित तुलना गरेपनि या यिनको सम्मान मानवबाट देवतामा पुगे पनि यिनी माथि घोर अन्याय भएकै हो । कतिपय निर्णयमा यिनी आफैं सामेल थिइन् तर समय चिप्लिसकेपछि मात्र । यिनको त्यागको त्यतिबेला मात्र हैन अहिले पनि सम्मान भएको छ । यो उपन्यास लेखिनु पनि उनकै सम्मान हो । उनको चरित्र पढेर हामी जो द्रवीभूत भएका छौँ त्यो पनि उनकै सम्मन हो । यस्ता महानुभावले नै समाजमा त्याग, समर्पण र प्रेमलाई नयाँ परिभाषा दिएर ताजा पार्छ्न् । बरु लेखकले यिनको चरित्रनिर्माणमा हतार गरेका छन् । मलेबमसित यिनको अनुरागलाई दौडाएका छ्न् ।घनश्यामको चरित्रमा खर्च भएको मिहिनेत यिनमा लगाएका भए अझै राम्रो हुन्थ्यो कि ?
३. सुमन्त बानियाँ : सुमन्त बानियाँ यस उपन्यासको सशक्त पात्र हो । कुटनैतिक चातुर्य, इतिहासको गहन जानकारी, कार्यसम्पादन क्षमता, प्रत्युत्पन्न बुद्धि यिनका विषेशता हुन् । राज्यबाट बानियाँहरूप्रति बेवास्ता भएकाले उनीहरू रिसाए बल्ल यिनी दरबारसित नजिक भएका छन् । बर्सौँपछि दरबारको विश्वासमा आएका सुमन्तमाथि लेखकले निकै पाइन लगाएका छन् । बानियाँहरूको यतिधेरै चर्चा भएको लेखक पनि उतैको बानियाँ भएर हो किजस्तो पनि लाग्छ कहिलेकाहीँ त । तर यो पाठकीय भ्रम मात्र होला । सुरुसुरुमा सुमन्तको व्यक्तित्वको चमक आँखा खाने खालकै छ । यसले केही गर्छ । यो केही बन्छ जस्तो लाग्छ पढ्दा । तर समयले बानियालाई नि पंगु बनाएर छोड्छ । सुरुमा जुन किसिमको सम्भावना यिनमा देखिन्छ अन्त्यतिर पुग्दा त्यस्तो लाग्दैन । तर स्वार्थका लागि आफूलाई नबेच्ने उनको दृढताको भने प्रशंसा गर्नैपर्छ ।
५. दुई जैसी : जुम्लाका एजेन्ट कमल जैसी र पर्वतका एजेन्ट आनन्द जैसीलाई दुई जैसी भनिएको हो । कमल जैसी र आनन्द जैसी दुबैको काम एउटै हो । चतुर्याइँ पनि उस्तै
छ । पर्वत राज्यको कहानी भएका कारण यसमा आनन्द जैसी एक कदमले अगाडि देखिएका छ्न् । भद्रीलाई डोर्याएर हिँड्ने कमल जैसीको चाललाई आनन्द निस्तेज पारिदिएका छन् । उपन्यास नै दुई जैसीका योजनाको टक्कर हो ।
ऐतिहासिक उपन्यास भएका कारण पात्रहरूको बाक्लो उपस्थिति स्वाभाविक हो । त्यसमा पनि उपन्यासको विशालकाय(३६८ पृष्ठ )ले धेरै जनाको माग पनि गर्छ । डिल्ली भुजेल, बडाकाजी मकर ध्वज, काजी अरिभन्जन, बाबा योगेस्वर, कालु थापा, महलवसन्ता, रम्भा, मंगलीजस्ता पात्रले निर्वाह गरेका भूमिका पनि उपन्यासको गारो मिलाउने टुक्रे इँट्टा हुन् ।
उपन्यासको कथा भन्ने काम लेखकले नै गर्नुभएको छ । लेकखले वर्तमानमा बसेर पर्वतको भूतलाई हेर्ने काम गर्नुभएको छ । त्यतिबेला यस्तो थिएन, उस्तो थिएन भन्ने प्रसंग आउँदा सयौँ वर्ष अघिको परिवेशमा यात्रारत पाठक ब्युँझेर वर्तमानमा आउनुपर्ने रहेछ । लेखक यसरी तुलनात्मक रूपमा प्रस्तुत नभइदिएको भए हामीलाई यताउता गरिरहनु पर्दैनथ्यो । कतिपय प्रसंगमा लेखक हावी हुनुभएको पनि छ । लेखकको प्रगतिवादी वैचारिकी उपन्यासमा प्रतिविम्बित भएको छ । नत्र पुल बनेको खुसीयालीमा राजाको तरबार समातेर ढल्के पुनले बली मार हान्न पाउँदैन थिए। सुमन्तले पूजा गरेर रोग निको हुन्छ र ? भनेर प्रश्न गर्दैन थिए । दारबारमा राजारानीको भन्दा भाइभारादारको राय प्रबल हुन पाउँदैन थियो ।
उपन्यासको भाषा अव्याजमनोहर छ । पात्रको संवादमा तत्कालीन समयको छाप देखाउन खोजिएको छ । गरेकोलाई गर्याको बनाउनेभन्दा अरू प्रयत्न गरिएको छैन । यतिले पनि भाषामा रसात्मकता भने बढेको छ । कथा वाचकको बोलीमा वर्तमान बोलेको छ । वर्णविन्यासमा हेलचेक्र्याइँ, पदसंगतिमा बेवास्ताजस्ता कुरालाई उपन्यासकारको दोष नमान्ने हो भने उपन्यासको भाषा शालीन र अनुशासित अनुभूत हुन्छ । हुन त उपन्यासका लागि पुग्दो ऐतिहासिक आधारहरूको कमी भएर पनि होला तत्कालीन सामाजका वास्तविकताहरूलाई जम्मा गर्न उपन्यासकारले आफ्नो कल्पनाशक्तिलाई सकेसम्म उपयोग गर्न खोजेको पक्ष पनि प्रशंसनीय छ ।
बाँकी कुरा
हामीले अहिलेसम्म गोरखा राज्यको मात्र कथा पढ्दै आएका छौँ । गोरखा राज्य काठमाडौँ सरेर नेपाल राज्य बनेपछि पनि यसैको केन्द्रीयतामा ऐतिहासिक साहित्य अलमलिएको छ । हाम्रा पाठ्यपुस्तकहरूले केन्द्रीय राजनीतिको इतिहास नै पढाएका छन् । नेपालको इतिहास भनेकै खाल्डोको इतिहास हो भन्ने पर्न गएको छ । महारानी उपन्यासले पर्वतको इतिहास कथेपछि काठमाडौँ बाहिरका भुरे टाकुरे राज्यका इतिहास पनि कम आकर्षक छैनन् भन्ने लागेको छ । जात, धर्म, संस्कृति मात्र किनारीकृत नहुँदा रहेछन् इतिहासमा पनि केन्द्रीय प्रभुत्व हाबी हुँदो रहेछ । सबै राज्यमा सत्तामाथि छिनाझपटी हुन्छन्, सौतेनी मामला हुन्छन्, राष्ट्रका नाममा निर्दोषले बली हुनुपर्छ । सबै राज्य एउटा हस्तिनापुर हो, एउटा कुरुक्षेत्र हो र त्यहाँ पनि महाभारत हुन्छ । अर्जुन, कृष्ण, कर्ण, कुन्ती, द्रौपदी, गान्धारीहरू हुँदारहेछन् । अभाव त व्यासको मात्र हो ।
पर्वते समाजमा महारानीलाई धुप धुवाँर गर्ने र ध्वजा पताका चढाउने प्रचलनको ऐतिहासिकता महारानी उपन्यासको विषय हो । कसरी एउटा व्यक्ति देउती हुँदै भगवती देवीमा रूपान्तरित हुन्छ ? समाजले केका बदलामा के उपहार दिन्छ ? भन्ने कुराको रोमाञ्चक अभिव्यक्ति उपन्यासमा पाइन्छ । पर्वत राज्यको सुदृढ र शान्त अवस्थाबाट उपन्यास आरम्भ भएको छ । तर अन्त्यसम्म आइपुग्दा कालीगण्डकीमा हजारौँ भुमरी परेका छन् कालीको पानी रातो भएको छ ।