खेलकुदमा म्याच फिक्सिङ्, उद्दीपक ओखती र रेफ्रीको निरङ्कुशता ठुलो समस्या !

फर्कलान् र ती दिनहरू

खेलकुदमा म्याच फिक्सिङ्, उद्दीपक ओखती र रेफ्रीको निरङ्कुशता ठुलो समस्या !

हरिविनोद अधिकारी  |  साहित्य  |  कात्तिक १५, २०७७

सम्झनाहरू दूर अतीत वा निकट अतीतका स्मृति अभिलेख हुन् । ती कति आफैँमा घटेका या आफैँ नै त्यसको पात्र भएको हुनसक्छ या कति त आफैँले नजिकैबाट भोगेको पनि हुनसक्छ । आखिर सम्झना त इतिहास नै त हो । तर कतिपय समयका मानिसहरूको नाम बिर्सने, समयको ठ्याक्क तोकिएको दिन, दिन नसक्दा आफैँलाई पनि राम्रो लाग्दैन । तर ती अतीतका कुरा हुन् अनि ती अनुभवले कुनै नयाँ कुरा दिन सक्दा हुन् कि भनेर भनिने या लेखिने हो ।

आजभोलि त अभिलेखका लागि लेख्नु पनि पर्दैन, श्रव्य दृश्य माध्यमबाट पनि जानकारी दिन सकिन्छ । एउटा कुराचाहिँ के रहेछ भने लेख्ने, भन्ने पात्र पक्कै नै इमानदार हुनुपर्छ अर्थात् जे भनिएको हो, लेखिएको हो, त्यो चाहिँ सत्य हुनुपर्छ अर्थात् सत्यको खोजी गर्नेहरूलाई पनि त्यसले बाटो देखाउन सक्नुपर्छ । 

सन् १९९०को सेप्टेम्बर- अक्टोबरमा भएको एघारौँ एसियाली खेलकुदले मेरोलागि सबैभन्दा पहिले नेपालभन्दा बाहिरको संसारलाई देखायो, त्यो त मेरो व्यक्तिगत कुरा भयो तर एसियाली खेलकुदमा हाम्रो अवस्था कस्तो छ भन्ने कुराको पनि त्यो भेलाले हामीलाई सचेत बनायो । भर्खर प्रजातन्त्र पुनर्बहाली भएको थियो, राजाको सक्रिय शासनबाट जनताका प्रतिनिधिहरूको हातमा सरकार आएको थियो ।

पञ्चायत कालमा पूर्वाधार सुरु भएको खेलकुदले अझैसम्म पनि अन्तर्राष्ट्रिय स्वरूप लिन सकेको छैन, हामीले एसियाली तथा ओलम्पिक खेलमा कहिले स्वर्ण पदक ल्याउन सक्ने भन्ने अनुमान अहिले पनि गर्न सकिएको छैन । भर्खरै मात्र दक्षिण  एसियाली खेलकुदमा स्थिति केही सुधारात्मक देखिएको छ । मौका पाउँदा र तालिमलाई लगानी गर्न सक्दा हालै सम्पन्न दक्षिण एसियाली खेलकुदमा आशातीत सफलता पाउन सकेका छौँ ।

जलपरीको उपनाम पाउन सफल छोरी गौरिका सिंहको कडा मिहिनेत र पाएको तालिमको सुविधाले हामीलाई अरु खेलाडीहरूलाई कसरी तयारी गर्नुपर्छ भन्ने  पाठपरेको छ । झन् आजभन्दा ३० वर्ष पहिले हाम्रो अवस्था कस्तो थियो भन्ने बारेमा त्यो बेलाको नतिजालाई लिन सकिन्छ । तर खेलकुद भनेको नतिजा पहिलो कुरा हो तर सहभागिताको कुराले पनि ठुलो महत्त्व राख्छ भन्ने कुरा एसियाली खेलकुदले हामीलाई सिकाएको थियो । अनि खेलकुदको प्रतिस्पर्धामा सक्षम खेलाडीको खेलले मात्र हुँदो रहेनछ, त्यहाँ आफ्नो देशले पाउने स्वर्ण पदक, रजत पदक र कांस्य पदकको पनि कुरो रहेछ ।

अनि त्यो पदकका लागि केही अदृश्य खेल पनि हुने रहेछन् । खास गरी बक्सिङ खेलमा त्यस्तो हुने रहेछ । रेफ्रीको भूमिकाले , खेलाडीकै पनि भूमिका रहस्यमा रहने रहेछ । आजभोलि म्याच फिक्सिङको कुरा बारम्बार आउँछ, त्यो पनि हुने रहेछ । कुनै खेलाडी आफ्नो पालामा अनुपस्थित हुने, खेलमा हारिदिने, या हराइने यस्ता पर्दाभित्रका खेलहरू व्यापक हुने रहेछन् । खास गरी बक्सिन् खेलमा त खेलाडी लडेर मूर्च्छा नै परेको अवस्थामा र १ देखि १० अङ्कसम्म गन्दा पनि नउठेको बेलाबाहेक कसले जितेको भन्ने कुरा रेफ्रीको हातमा रहने रहेछ ।

ए नेपाली पत्रकार, कम्युनिस्ट पनि कतै प्रजातन्त्रवादी हुन सक्छन् र ? यो चीन नै हेर न । ऊ अङ्ग्रेजीमा भनिरहेको थियो र पुलाकपुलक अरूलाई पनि हेर्दै थियो । अनि मैले पनि बिस्तारै भनेँ -हाम्रो देशमा त त्यस्तै भएको छ र अहिले सरकारमा पनि हामी मिलेर चलाइरहेका छौँ । उसले त्यसको भविष्य तर अनिश्चित हुने भनेर ठोकुवा गर्‍यो ।

त्यस्तै भयो सायद ७५ केजीको बक्सिङमा हो क्यारे, नेपाली खेलाडीले जितेको स्पष्टै थियो, ५ राउन्डमा नेपालीले पहिलो दुई राउन्ड जितेको थियो सायद पहिलो खेलमा । तर रेफ्रीले नेपाली खेलाडीलाई हारेको भने पछि हाम्रो नेपालका उप नेता बुरुक्क उफ्रेर रिङमा पुगे र विरोध जनाए । वास्तवमा तरिका त्यो होइन रहेछ, विरोधका लागि अनेक वैकल्पिक उपायहरू हुँदा रहेछन् ।

सायद उपनेतालाई लाग्यो होला, विरोधको निर्णय हुँदासम्म एसियाली खेलकुद नै सम्पन्न हुनेछ । त्यसपछि रेफ्रीले पो उल्टै विरोध गरेर उजुर गरेछन् । मैले के मात्र भन्न खोजेको हो भने देखिने गरी जितेको बाहेक मार्सल आर्टजस्ता खेलमा दिइने अङ्कमा तलमाथि गर्न सकिँदो रहेछ ।

भलिबल, फुटबल, बास्केटबल, टेबल टेनिस, ब्याडमिन्टन आदि खेलमा पनि पर्दाभित्रको अदृश्य खेलको डर हुने रहेछ । उद्दीपक ओखतीको पनि उस्तै समस्या हुने रहेछ । कति खेलाडीहरूको त उद्दीपक ओखतीको अवैध प्रयोगबाट खेलिने खेलबाट प्राप्त पदकहरू खोसिएको पनि इतिहास छँदै छ । डर रहेछ ड्रगको प्रयोग पनि उत्तिकै डरलाग्दो हुने रहेछ । 

जाँदा त हामी खेल पत्रकार, खेलाडी, प्रशिक्षक तथा खेल अधिकारीहरूसँगै एउटै हवाई जहाजमा गयौँ सिधै काठमाडौँबाट पेइचिङ्सम्म । कुरोचाहिँ के थियो भने सायद छेन्तुमा एक छिन बसेर अनि मात्र पेइचिङ जाने तर जुन प्लेनले हामीलाई लिएर जाँदै थियो, त्यो सेवाको अर्को कतै जानु जरुरी भएर होला, हामीलाई प्लेनमा नै जानकारी गराइयो , सिधै गन्तव्यमा पुग्नेछ । पहिलो पटक ठुलो प्लेन चढेको, त्यो पनि ऐतिहासिकरुपमा सिधै चीनको राजधानी पुगिएको थियो । हामीलाई एउटा बस लिन आएको थियो, सिधै खेल गाउँमा पुर्‍याएर हामीलाई तत्काल फोटो खिचेर परिचय पत्र दिइयो ।

रातो झोलामा आवश्यक सामग्री दिएर आफ्नो आफ्नो कोठामा पठाइयो । मेरो र कृष्ण केसीको एउटै कोठा परेको रहेछ । त्यो पनि मिलेकै हो । मैले कृष्णलाई भनेको थिएँ, कृष्ण सकेसम्म अल्कोहल नखाऊ है, अनि उसले भनेको थियो- म खाएर आए पनि चुपचाप सुत्छु, तिमीले पनि केही कुरा नगर है । हामी दुवैले राती खासै कुरा गर्दैनथ्यौँ किनभने कृष्ण चाहन्थ्यो उसले केही त्यस्तो नगरोस् जसले उसमा अल्कोहलको नसा देखियोस् । तर त्यस्तो थिएन कृष्ण । उसले सधैँ मेरो धेरै वास्ता किन गरेको थियो भने त्यो मेरो पहिलो पटकको विदेश यात्रा थियो र उसले विदेश भ्रमणमा गरिने व्यवहारको जानकारी उसलाई बढी थियो । मैले त जे पढेको थिएँ , त्यही मात्र जान्दथेँ । 

मलाई के लागेको थियो भने पञ्चायतको बेलामा पनि हामीले व्यवस्था विरोधी पत्रिका निकालेका थियौँ र पञ्चायतका विरोधमा लेखिएका पुस्तक तथा पत्रपत्रिकाहरू काठमाडौँका गल्लीमा, पुस्तक पसलमा पाइन्थे । सायद चीनमा पनि त्यस्तै सरकारका बारेमा विवेचना गरेका पुस्तक तथा पत्रिका पाइन्छ होला भन्ने धारणा थियो । तर चीनको सरकारी पत्रिका चिनियाँ भाषामा र अंग्रेजीमा द चाइना टाइम्स बाहेक कुनै देखिन ।

एउटा ठुलो पुस्तक पसलमा गइयो पुस्तक किन्न अनि मैले चाहेको थिएँ पोहोरको थ्यानमेन चोकको घटनाको विवरण कतै पाइएला । अनि एउटा पुस्तक पाएँ अङ्ग्रेजीमा पेइचिङ् टर्माइल । अनि मैले त्यो किनेर ल्याएँ र राती पढेको त सरकारको मुख पत्र पो रहेछ त्यो पुस्तक त । भन्ने बेलामा भनिएको थियो आँखाले देखेभन्दा पनि सत्य कुराहरू छन् यस पुस्तकमा । तर सरकारको विरोध गर्नेहरूको यस्तै हाल हुन्छ भन्ने सन्देश पो रहेछ त्यो पुस्तकमा ।

त्यसैले अहिले पनि अभिलेखी कृत नभएकाले थ्यानमेन चोकको विद्रोह कस्तो थियो त थाहा भयो ,परिणाम के भयो पनि थाहा भयो तर त्यो बेलाको आन्दोलन किन कसरी दमन भयो र फेरि किन प्रजातन्त्रका लागि कुनै त्यस्तो प्रयास भएन भन्ने कुरा अहिले पनि अँध्यारैमा छ । मानौँ कि चीनको प्रजातन्त्र आफ्नै खालको छ, मानव अधिकारको कुरा पनि आफ्ना आफ्ना देशको आफ्नै हुन्छन् तर आर्थिकरुपमा खुला समाजलाई किन राजनीतिक स्वतन्त्रता आवश्यक नभएको होला भन्ने कुरा साँच्चै रहस्यमय छ । 

मलाई के कुराले चाहिँ चीनको सकारात्मक प्रभाव परेको छ भने जापान, बेलायत, फ्रान्स आदि विदेशीहरूको लामो दमन, दबाब र थिचोमिचोमा परेका चिनियाँहरूले अरूको दमन र दबाबमा बाँच्नुभन्दा बरु आफ्नै देशका शासकहरूको कडा शासन नै खप्ने भन्ने मनोविज्ञान देखिन्छ । सन यातसेनलाई राजतन्त्र हटाउने नायकका रुपमा माने पनि उनको देन भनेको खुला समाज र प्रजातान्त्रिक शासन प्रणाली हो भन्ने कुराको इतिहास कतै पाइँदैन । सन् १९११देखि १९४८सम्मको सकारात्मक इतिहास चीनमा कतै पढ्न पाइँदो रहेनछ ।

अनि पुस्तक पसलमा गएर खोज्दा सकेसम्म त्यस्ता साहित्य कतै पाइँदैनन्, केही पाइए पनि ती चिनियाँ भाषामा मात्र पाइएलान् । अनि सधैँ एउटा प्रश्न मनमा उठ्ने रहेछ-राजतन्त्रको अन्त्यपछि एकिकृत चीनमा कस्तो शासन थियो र त्यसले कसरी शासन गरेको थियो ? अनि कसरी चिनियाँ कम्युनिस्ट पार्टीले सत्ता कब्जा गर्‍यो भन्दा पनि किन फर्म सालाई अझै पनि आफूमा समाहित गर्न सकेको छैन ? फर्म सा भनेको त्यही टापु हो जसलाई अहिले हामी ताइवान भन्छौँ । 

त्यो दिन थियो २०४७सालको दसैँको टीकाको दिन । हामीलाई ग्रेट वाल देखाउन लगिएको थियो । त्यहाँ पिटर चाङ नामका खेल पत्रकार पनि थिए ताइवानकी । त्यस्तै बेलामा बाहेक ताइवानीहरूले चीनमा आउन भिसा पाउने होइनन् । अनि उसले मलाई सोध्यो - साँच्चि तिम्रो देशमा त एकदलीय व्यवस्थाको विरोधमा सङ्घर्ष भएको थियो , तिमीलाई थाहा छ ?  मैले भनेँ -किन थाहा नहुनु, हामी त्यो बेलामा लेखेर आन्दोलन गर्ने, जेल गएर आन्दोलन गर्ने पत्रकारहरू पनि यहीँ छौँ ।

यसो भनेर मैले हरिहर विरहीजी, रघुजी पन्त तिर देखाएर उहाँहरू स्वतन्त्रता सेनानी पो हो, पत्रकार पनि हो । अनि मैले भनेँ -हाम्रो देशमा कम्युनिस्ट र प्रजातन्त्रवादीहरू मिलेर प्रजातन्त्र स्थापना गरेका हौँ । उसले मुख अमिलो लगाएर भन्यो- ए नेपाली पत्रकार, कम्युनिस्ट पनि कतै प्रजातन्त्रवादी हुन सक्छन् र ? यो चीन नै हेर न । ऊ अङ्ग्रेजीमा भनिरहेको थियो र पुलाकपुलक अरूलाई पनि हेर्दै थियो । अनि मैले पनि बिस्तारै भनेँ -हाम्रो देशमा त त्यस्तै भएको छ र अहिले सरकारमा पनि हामी मिलेर चलाइरहेका छौँ । उसले त्यसको भविष्य तर अनिश्चित हुने भनेर ठोकुवा गर्‍यो । हामी त्यो बसमा चीनको राजनीतिका बारेमा कुनै कुरा यस कारणले गर्न चाहेनौँ किनभने हामी ग्रेट वाल हेर्ने भनेर बसमा जाँदै थियौं जुन ग्रेट वाल चन्द्रमामा बाट पनि देखिन्छ भनिन्छ पृथ्वीमा बनेको कुराहरूमध्ये । 

आज पनि एउटा कुरामा म विश्वस्त रहेछु -मैले त्यस दिन पिटर चाङलाई देखाएको रघुजी पन्त अहिले पनि प्रजातन्त्रप्रति आस्था वान (तर कम्युनिस्ट भए पनि) हुनुहुन्छ । चीनसँग मिलेर खेलकुदमा भाग लिन्छ ताइवानले चाइनिज ताइपेइको रुपमा र आधिकारिकरुपमा चीनको पदक चाइनिज ताइपेइलाई समेत गणना गरिन्छ ।

अनि विश्वमा गणना हुँदा ताइवान चीन नै हो तर ताइवानले खेलकुदमा बाहेक आफूलाई बेग्लै राज्यको रुपमा ठान्छ, शासन प्रणाली बेग्लै छ, मुद्रा बेग्लै छ ,सँसद छ, राष्ट्रपति छ । लाग्छ , चीन ताइवानमा हस्तक्षेप गर्न चाहँदैन कि हस्तक्षेप गर्नै सक्दैन ? अनि एकातिर चीन आफ्नो भूमिलाई एक ठाउँमा गाभ्न सक्दैन अनि ताइवानसँग कसैले सम्बन्ध राख्न खोज्यो भने चीनको कोप भाजनमा पर्छ त्यो देश ।

कि भन्नुपर्‍यो हामी एकदेश, दुई शासन प्रणाली हौँ । तर हङकङसँगको व्यवहारले त्यस्तो पनि विश्वास गर्न ताइवानले सक्दैन जस्तो लाग्यो । हामी नेपालीहरु त चाहन्छौँ ताइवान बेग्लै राज्य होइन र चीनको एउटा अङ्ग हो । तर स्वयं चीन किन त्यसलाई आफूसँग गाभ्न सकिरहेको छैन ? के त्यस्तो बाध्यता होला र ? सबैलाई थाहै छ, मुख्य भूमि चीन १९७१मा संयुक्त राष्ट्र सङ्घको पूर्ण सदस्य हुन पाउँदा मात्र फर्मोसाले आफ्नो सदस्यता छोड्न बाध्य भयो किनभने भिटो पावरवाला देशको रुपमा चीनको नाममा ताइवान नै थियो ।

त्यो बेलामा पनि, ताइवानको भिटो पावर हुँदा पनि , अमेरिकाले ताइवानलाईँ मान्यता दिँदा पनि नेपालका तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाले राष्ट्रसङ्घीय रोस्ट रममा उभिएर चीनको उपस्थितिको माग गर्नु भएको थियो र मुख्य भूमि चीनको कमीले राष्ट्रसङ्घ अधुरो हुने बताउनु भएको थियो । 

हुन त म २०१४अर्थात् २०७१सालमा पनि चीन पुगेँ । नयाँ मिडियाको विकाससम्बन्धी दुई हप्ते सेमिनार तथा तालिम कार्यक्रममा । पहिलेको चीन थिएन, प्रविधि र विकासमा फड्को मारेको देशको रुपमा देखियो । म पोहोर युरोपका केही सहरहरू जाँदा विकासको त्यो पुरानो मात्रालाई चीन, जापान र कोरियाले संसारलाई उछिनेको पाएँ । चीन त झन् उदाउँदो विकासको नमुनामा छ । विकासलाई नयाँ नयाँ तरिकाले परिभाषित गरिरहेको छ । 

हामी एघारौँ खेलकुद सम्पन्न भएपछि जाँदाजस्तो एउटै प्लेनमा आउन सकेनौँ या त्यस्तो व्यवस्था हुन सकेनछ । त्यसको कारण हुनसक्छ, खेलाडीहरू आफ्ना आफ्ना खेल सम्पन्न भएपछि कोही हङकङ, कोही थाइल्यान्ड त कोही कताबाट फर्केका रहेछन् । हाम्रो व्यवस्था मिलाउने काम खेलकुद परिषद्को थियो र हामी हङकङको बाटो भएर फर्कियौँ । हङकङ त्यो बेला पनि बेलायतको अधीनमा थियो । खुला बजार । अलिकति अराजक जस्तो लाग्ने पेइचिङको तुलनामा ।

हाम्रो बस्ने व्यवस्था परिषद्को थियो तर खाने व्यवस्था आफैँ गर्ने सर्त थियो । प्लेनको व्यवस्था मिलिरहेको थिएन किनभने नेपाल घुम्न आउने पर्यटकहरूको नेपाल आउने बेला भएकाले हाम्रो राष्ट्रिय झन्डा बाहक जहाजमा सबैलाई सिट पाउन मुस्किल थियो तर हामी सबै एकै पटक जाने भनेपछि केही दिन हङकङमा नै बस्यौँ । हामीले चीनमा खासै केही किनेनौँ किनभने हाम्रो बास हङकङमा हुने कुरा करिब करिब थाहा थियो । अनि हङकङको चुङ्किङ् मेन्सनको होटेलमा बस्यौँ । त्यो ठाउँ त नेपालीहरूको एक प्रकारले भेटघाटको केन्द्रजस्तै रहेछ । पसलहरूमा काम गर्ने पनि नेपालीहरू पनि धेरै पाइए ।

म र कृष्ण जहाँ पनि एकै ठाउँमा बस्थ्यौँ । बेलुकाको खाना सडकमा गएर खान्थ्यौँ एकदम स्वादिलो । जे पनि पाइने । नेपाली भात पनि । भारतीय रोटी पनि । नेपालीहरू पनि खाना बनाएर बेच्ने पाइन्थे । राती सडक खाली गरेर बजार राखिएको हुन्थ्यो । करिब एक हप्ता जति बस्दा त्यो बेलामा त त्यो ठाउँ चिनेको जानेको जस्तो भएको थियो तर टाढा कता जानु र ? भूमिगत रेल चढ्यौँ ।

तर त्यति टाढा कतै गएनौँ किनभने महँगो पनि रहेछ । हङकङको आफ्नै मुद्रा डलर रहेछ । एउटा त्रास भने देखिन्थ्यो भारतीय व्यापारी र चिनियाँ मूलका व्यापारीहरूमा अब केही वर्षपछि चीनको अधीनमा जानेछ । चीन त्यो बेलामा हङकङलाई नडराउन मनोवैज्ञानिक प्राय गरिरहेको थियो भन्ने पश्चिमा प्रेसले बताउँथ्यो । भनिन्थ्यो- चीनले एक देश, दुई शासन प्रणालीमा प्रत्याभूति दिन थालेको छ।

चीनबाट फर्केर आउँदा हङकङ हुँदै आइयो । दसैँको लगत्तै पछि थियो । पहिलो पटक विदेश गएकाले आफूसँग भएका पैसाले घरमा सबैलाई दसैँमा जस्तै लुगा लिएर आइएको थियो । काठमाडौँमा आइपुग्ने बित्तिकै थाहा भयो, सानो छोरो बिरामी रहेछ जनकपुरमा । तत्कालै जनकपुर गएँ किनभने दसैँमा बा आमा केटा केटी सबैसँग टाढा भइएको थियो । खेलकुद परिषद्ले खेलाडीकै जस्तो ट्राकसुट दिएको थियो नेपाल लेखेको, त्यो मैले माहिलो भाइ हिमालयलाई दिएँ किनभने उसको ज्यान पनि खेलाडीको जस्तो थियो र आफ्नो बेलाको भलिबलको हाम्रो सिन्धुलीको त्यो भेगमा राम्रो खेलाडी र कोच मानिन्थ्यो । 

म अचानक जस्तो निर्णय भएर चीनको खेलकुद समारोहमा गएको थिएँ । कतिलाई किन दसैँमा नआएको होला भन्ने पनि लागेको थियो । चिनियाँ अन्तर्राष्ट्रिय रेडियोबाट  लि छिनले लिएको मेरो अन्तर्वार्ता बजेछ र र पो त्यो सुनेर साथीहरूले थाहा पाएछन्, यसपल्ट त हरि चीन पो पुगेको रहेछ र पो दसैँमा घर नआएको रहेछ । पहिलो पल्टको चीन भ्रमणमा त्यति धेरै घुम्ने कुरै भएन किनभने खेलकुद सबै पेइचिङमा नै भएका थिए । दोस्रो पटक जाँदा भने घुमियो पेइचिङसुचाउ, साङहाइका नयाँ मिडियाका केन्द्रहरू अनि नेपाल फर्कनेक्रममा  क्वाङ्चाउ पनि । क्रमशः