प्रदेशसभा सदस्य केसीलाई कोरोना सङ्क्रमण पुष्टि

प्रदेशसभा सदस्य केसीलाई कोरोना सङ्क्रमण पुष्टि

लोकसंवाद संवाददाता  |  समाचार  |  कात्तिक १९, २०७७

गण्डकी । गण्डकी प्रदेशका प्रदेशसभा सदस्य  विनोद केसीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  रुघाखोकी र ज्वरोसहित कोरोनाको लक्षण देखिएपछि पिसीआर परीक्षणका लागि स्वाब दिएकामा मङ्गलबार साँझ आएको रिपोर्टअनुसार आफूलाई कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेशसभा सदस्य केसीले बताउनुभयो ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठलाई समेत कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएका श्रेष्ठले आफूसहित आफ्नो परिवारका पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

म्याग्दी निर्वाचन क्षेत्र ९क० बाट निर्वाचित प्रदेशसभा सदस्य केसी र नेकपा सचिव श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूहरु कोरोना सङ्क्रमित भएको जानकारी दिँदै आफ्नो सम्पर्कमा रहेकाहरुलाई सजगता र सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ । केसी र श्रेष्ठसहित म्याग्दीमा थप १४ जनामा कोरोना पुष्टि भएको छ । सबै जना कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।

सोमबार सङ्क्रमितको सम्पर्कमा रहेका ४६ जनाको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो । म्याग्दीमा हालसम्म जिल्लाबाटै स्वाब सङ्कलन गरी पठाएकोमध्ये १०८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाको बेनी नगरपालिका–७ का एक पुरुष, धवलागिरि गाउँपालिका–७ का एक पुरुष र रघुगङ्गा गाउँपालिका–२ घर भई काठमाडौँ बसोबास गर्ने एक पुरुष गरी तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको छ ।
–––