लोकसंवाद संवाददाता | अपराध | कात्तिक २०, २०७७
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले जुवा खेल्ने/खेलाउने सात जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर–७ इत्राममा बुधबार जुवा खेलाउने एक घरधनी महिलासहित ती व्यक्तिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट ५६ हजार ६१० रुपैयाँ नगदका साथै नौ पाकेट तास बरामद गरेको छ । जिल्ला प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा घरधनी वीरेन्द्रनगर–७ का निर्मला शाही, खगेन्द्र खत्री, चेतन आचार्य, वीरेन्द्रनगर–८ का जीवन सुनार, वीरेन्द्रनगर–९ का प्रवेश गुरुङ, वीरेन्द्रनगर–३ का खम्बबहादुर शाही र वीरेन्द्रनगर–६ का निराजन शाही रहेका छन् ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले चाडपर्वको समयमा जुवातासजस्ता अवैध गतिविधि बढी हुने भन्दै रोकथाम र नियन्त्रणका लागि प्रहरी परिचालन तीव्र पारेको जानकारी दिनुभयो । पक्राउ गरेका व्यक्तिहरुमाथि थप अनुसन्धान गरी मुद्दा प्रक्रिया अघि बढाउने उहाँले बताउनुभयो ।