लोकसंवाद संवाददाता | विदेश | कात्तिक २४, २०७७
अमेरिकी राष्ट्रपतिको निर्वाचनको मत परिणाम घोषणा भएपछि अमेरिकी राजनीति नयाँ दिशातिर पदार्पण हुने अनुमान गरिएको छ । यो निर्वाचन परिणामलाई धेरैले उग्र राष्ट्रवादको पराजय र उदार लोकतन्त्र तथा सहकार्यको राजनीति संस्कारलाई प्रेरित गर्ने महत्त्वपूर्ण परिघटनाका रुपमा लिन पनि थालिएको छ ।
२०१६ को राष्ट्रपति निर्वाचनमा ट्रम्प विजयी भएसँगै विश्वभर उग्र राष्ट्रवाद हाबी भएकाले पनि यस पटक धेरैले ट्रम्पको पराजयपछि त्यो अवस्थामा परिवर्तनको सङ्केत देखा परेको रुपमा व्याख्या गर्न थालिएको छ । अमेरिकी राष्ट्रपतिमा जो बाइडेन सर्वाधिक पाको उमेरमा हालसम्मकै सबैभन्दा बढी मत पाएर निर्वाचित भएका छन् भने कमला ह्यारिस अमेरिकाको इतिहासमा नै पहिलो महिला उपराष्ट्रपति रेकर्ड बनाउने सफल भएकी छन् ।
अब जो बाइडेनले करिब साढे २ महिनाको सङ्क्रमणकालीन अवधिमा आफू नेतृत्वको सरकार सञ्चालनका लागि ह्वाइट हाउस प्रवेश गर्न टोली र नयाँ नीतिहरूको खाका तयार पार्नुपर्ने छ । ट्रम्प प्रशासनका हरेक महिना जसो नै पुराना अधिकारीहरू बिदा हुने र नयाँ ल्याउने क्रम कार्यकालभरि जारी रहो । बाइडेनसामू त्यस्तो अस्थिर अवस्थाको अन्त्य गरेर स्थायी प्रकारको नयाँ टोली बनाउने चुनौति रहेको छ ।
क्याबिनेट चयन गर्न, नीतिगत प्राथमिकताहरू निर्धारण गर्न तथा थुप्रै सङ्कट बेहोरिरहेको र पार्टीगत हिसाबले गहिरोसँग विभाजित देशमा शासन गर्ने तयारीका लागि उनीसँग लगभग ३ महिना समय छ । त्यसपछि उनले राष्ट्रपतिका रुपमा काम गर्न सुरु गर्नेछन् । उनले विभाजित अमेरिकी समाजलाई साँच्चै एकताबद्ध गराउन र ट्रम्प पक्षधरलाई समेत आश्वस्त पारेर एकसाथ अघि लैजान सक्छन् या सक्दैनन् भन्ने हेर्न केही समय कुर्नु पर्नेछ ।
अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि डेमोक्र्याटिक उम्मेदवार बाइडनले देशलाई विभाजित नभएर एकताबद्ध पार्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यद्यपि अझै पनि अमेरिकी समाज चरम विभाजित अवस्थामा रहेको छ । ट्रम्पले अझै पनि आफू पराजित भएको स्वीकार नगरी कानुनी चुनौती दिइरहेको अवस्था छ । यसले ट्रम्प समर्थकहरूमा एक प्रकारको उत्साह र बाइडेनप्रतिको आक्रोश बाँकी नै छ र अर्थात् परिणामलाई स्वीकार गरिरहेको अवस्था छ ।
बाइडनले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा अहिलेसम्म परेको सर्वाधिक ७ करोड ४० लाखभन्दा बढी मत पाएका छन् । निर्वाचित हुन आवश्यक २७० इलेक्टोरल भोट जितेपछि गरेको सम्बोधनमा उनले भने,‘म विभाजन गर्न खोज्ने हैन बरु एकताबद्ध गर्ने राष्ट्रपति बन्ने वाचा गर्छु । जसले राता र नीला राज्य हैन, केवल संयुक्त राज्य (अमेरिका) देख्छ ।’
अमेरिकामा डेमोक्रेटिक पार्टीले नीलो रङ र रिपब्लिकन पार्टीले रातो रङ प्रयोग गर्छन् । बाइडन बाराक ओबामाको कार्यकालमा उपराष्ट्रपति भएकाले उनको कार्यकालमा ओबामा प्रशासनमा सुरु भएका र ट्रम्पको कार्यकालमा आएर रोकिएका धेरै कार्यक्रमहरूले निरन्तरता पाउने सङ्केत गरिसकेका छन् ।
कुनै कानुनी अवरोध सिर्जना नगरिएको उनले आगामी २० जनवरी, २०२१ मा अमेरिकी राष्ट्रपतिको पदभार ग्रहण गर्नेछन् । उनीसँगै कमला ह्यारिस अमेरिकाको इतिहासमा प्रथम महिला उपराष्ट्रपति बन्नेछिन् । उनी यसअघि क्यालिफोर्नियाको पहिलो महिला अश्वेत महान्यायाधिवक्ता भएकी थिइन् ।
कडा प्रतिस्पर्धा देखिएको पेन्सिल्भेनिया राज्यमा बाइडेन विजयी भएपछि उनले निर्वाचित हुन आवश्यक २७० इलेक्टोरल भोट पाएका हुन् । अमेरिकामा विभिन्न राज्यलाई छुटाइएको निश्चित इलेक्टरल भोटको आधारमा राष्ट्रपति निर्वाचित हुन्छन् ।
उता राष्ट्रपति डोनल्ड ट्रम्पको चुनावी अभियानले भने अझै आशा नमारेको बताएका छन् । ट्रम्प र उनका पक्षधरहरूले निर्वाचनमा अनियमितता र धाँधली भएको आरोप लगाइरहेका छन् । तर उनीहरूको यो आरोप पुष्टि हुने कुनै पनि प्रमाण अहिलेसम्म देखाउन भने सकिरहेका छैनन् ।
सन् २०१३ मा रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बनेका मिट रोमनीले त ट्रम्पको आरोप आधारहीन भएको भन्दै यसले लोकतान्त्रिक व्यवस्थाको मर्ममाथि प्रहार गरेको बताएका छन् । ट्रम्प अभियानका एक वरिष्ठ अधिकारीले यस पटक लामो चुनावी सङ्घर्ष हुने आफूहरूलाई पहिला नै जानकारी दिएर परिणामलाई सहज स्वीकार नगर्ने सन्देश प्रवाह गरिएको छ ।
उनका अनुसार अगाडि बाटो भएसम्म थप चार वर्षका लागि आशा हुन्छ । ट्रम्पले महत्त्वपूर्ण राज्यहरूमा प्रस्तुत गरेको कानुनी चुनौती सफल नै हुने आधार भने अहिलेसम्म देखिएको छैन । आफूहरू सङ्घर्ष गर्न तयार तयार भएको र ‘भोटर फ्रड’ हटलाइनबाट काम थालिसकेको उनीहरूको दावी रहेको छ ।
बाइडनको जितपछि अब के हुन्छ ?
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा सामान्य अवस्थामा पराजित उम्मेदवारले हार स्वीकार गर्ने गर्छन् । तर डोनल्ड ट्रम्पले विभिन्न मोर्चामा निर्वाचनको परिणामलाई चुनौती दिने बताएका छन् र अर्थात परिणाम स्वीकर गर्न सकस परिरहेको छ । पेन्सिल्भेनियाको मतगणना परिणामप्रति प्रतिक्रिया जनाउँदै उनको चुनावी अभियान टोलीले एक विज्ञप्ति नै निकालेको छ ।
जसमा भनिएको छ, ‘यो निर्वाचन अझै समाप्त भएको छैन । जो बाइडन विजयी भए भन्ने गलत प्रक्षेपण चारवटा राज्यको मतगणनामा आधारित छ जुन अन्तिम भैसकेको छैन ।’ जर्जियामा पुनः मतगणना हुनेछ जहाँ दुई उम्मेदवार बिचको मतान्तर निकै कम छ । विस्कन्सिनमा पनि पुनः मतगणना हुनुपर्ने ट्रम्प पक्षधरहरूले माग गरेका छन् ।
उनले निर्वाचनमा धाँधली भएको भन्दै कानुनी चुनौतीलाई सर्वोच्च अदालतसम्म लैजाने बताएका छन् । तर धाँधलीबारे कुनै प्रमाण भने प्रस्तुत नगर्नुलाई सहज हार स्वीकार गर्न नसकेको रुपामा लिन थालिएको छ । निर्वाचन परिणामलाई कानुनी चुनौती दिने हो भने उम्मेदवारहरूका कानुनी टोलीले राज्यका अदालतहरूमा मुद्दा हाल्न सक्छन् ।
त्यस्तो मुद्दालाई राज्यका न्यायाधिशहरूले ग्रहण गरेर पुनः मतगणना गराउनु पर्छ । त्यसपछि मात्रै फैसलाका लागि सर्वोच्च अदालत समक्ष आग्रह गर्न सकिन्छ । अन्तिम प्रमाण पत्र हासिल नहुन्ज्यालसम्म मतगणना परिणामलाई आधिकारिक मानिँदैन । निर्वाचन सकिएको केही सातापछि मात्रै राज्यहरूले त्यस्तो प्रमाणपत्र जारी गर्ने गर्छन् ।
तर १४ डिसेम्बरमा प्रत्येक राज्यमा इलेक्टर कलेजका इलेक्टरहरूले राज्यको मत परिणाम अनुसार राष्ट्रपति चयन गर्ने कार्यमा मतदान गर्न भेला हुनु अघि नै त्यस्तो प्रक्रिया सम्पन्न भइसक्नु पर्छ । ५३८ जना इलेक्टरहरूले गर्ने मतदान तिनका सम्बन्धित राज्यमा भएको प्रत्यक्ष मतदानको नतिजा अनुसार नै हुन्छ । तर केही राज्यहरूमा मत परिणामअनुसार नै मत हाल्नुपर्छ भन्ने बाध्यता छैन । तर सामान्यतः मत परिणामलाई ख्याल गरेर नै मत हाल्ने गरेको पाइन्छ ।
सङ्क्रमणकालीन चरण पार गरेपछि २० जनवरीमा नयाँ राष्ट्रपतिले पदको शपथ ग्रहण गर्नेछन् । सङ्क्रमणकालीन समयमा राष्ट्रपति निर्वाचित व्यक्तिले क्याबिनेट मन्त्रीहरू नियुक्त गर्ने र आफ्ना भावी योजनाहरू बनाउने गर्छन् ।
क्याबिनेट चयन गर्न, नीतिगत प्राथमिकताहरू निर्धारण गर्न तथा थुप्रै सङ्कट बेहोरिरहेको र पार्टीगत हिसाबले गहिरोसँग विभाजित देशमा शासन गर्ने तयारीका लागि उनीसँग लगभग ३ महिना समय छ । त्यसपछि उनले राष्ट्रपतिका रुपमा काम गर्न सुरु गर्नेछन् । उनले विभाजित अमेरिकी समाजलाई साँच्चै एकताबद्ध गराउन र ट्रम्प पक्षधरलाई समेत आश्वस्त पारेर एकसाथ अघि लैजान सक्छन् या सक्दैनन् भन्ने हेर्न केही समय कुर्नु पर्नेछ ।