डाँडाछापमा चितुवा आतङ्कले स्थानीयवासी त्रसित

डाँडाछापमा चितुवा आतङ्कले स्थानीयवासी त्रसित

लोकसंवाद संवाददाता  |  समाज  |  कात्तिक २४, २०७७


तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–६ डाँडाछापमा चितुवाको आतङ्कले स्थानीयवासी त्रसित भएका छन् । 

चितुवाले घरछेउमै आएर गोठमा बाँधिराखेको खसीबोकालाई आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित भएका हुन्  । शनिबार राति स्थानीयवासी गणेशबहादुर गुरुङको खोरमा चितुवाले पाँच वटा खसीबोकालाई आक्रमण गरेको छ । स्थानीयवासी सुरेन्द्र गुरुङका अनुसार चितुवाको आक्रमणबाट पाँच वटा खसीबोका मरेको छ । 'घरमै आएर चितुवाले आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित भएका छन्,' उहाँले भन्नुभयो 

वडाध्यक्ष सन्तबहादुर गुरुङले बन्दीपुरमा चितुवाको आतङ्क रहेकाले स्थानीयवासी त्रसित रहेको जानकारी दिनुभयो । 'शनिबार रातिको घटना विवरण चाँही मसँग आइपुगेको छैन,' उहाँले भन्नुभयो, 'चितुवाको आतङ्क भने छ ।' उहाँका अनुसार केही समय अगाडि भने स्थानीयवासीले पालेका खसीबोकालाई चितुवाले आक्रमण गरी मारेको थियो । 

जिल्लाका विभिन्न ठाउँमा चितुवाको आतङ्क छ । भानु नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, शुक्लागण्डकी नगरपालिकामा चितुवाको आक्रमणबाट बालबालिका समेत ज्यान गुमाएका छन् ।