लोकसंवाद संवाददाता | विदेश | कात्तिक २५, २०७७
अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पले बहालवाला राष्ट्रपतिका रुपमा सबैभन्दा बढी मत पाए । अमेरिकी राष्ट्रपति निर्वाचनमा उनले पाएको यो भोट अमेरिकाका कुनै पनि राष्ट्रपतिका उम्मेदवारले पाएको दोस्रो सर्वाधिक मत पनि हो ।
कुल खसेको मतमध्ये उनले ४७ प्रतिशतभन्दा बढी अर्थात ७ करोडभन्दा बढी मत प्राप्त गरेका छन् । ट्रम्पले रिपब्लिकनको गढ मानिने फ्लोरिडा र टेक्साससहित २४ राज्यमा जित हात पारेका छन् । तर ब्याटल ग्राउन्ड भनिने राज्यमा ट्रम्प पराजित भएपछि निर्वाचन परिणाम डेमोक्र्याटिक नेता जो बाइडेनलाई सुम्पिन बाध्य हुनु पर्यो । ट्रम्प यो निर्वाचनमा पराजित भएपनि केही राज्यमा ट्रम्पको असाधारण पकड भने कायम गरेका छन् ।
सन् १९९२ मा जर्ज एच डब्लु बुसपछि निर्वाचन हार्ने ट्रम्प पहिलो तथा अमेरिकाको आधुनिक इतिहासमा निर्वाचन हार्ने चौथो बहालवाला राष्ट्रपति बन्न पुगेका छन् । दोस्रो सर्वाधिक मत पाएर पनि उनी लगातार दुईवटा निर्वाचनमा लोकप्रिय मत प्राप्त गर्न असफल पहिलो राष्ट्रपति पनि भएका छन् ।
सन् २०१६ मा ट्रम्पले राष्ट्रपति निर्वाचन जितेपनि लोकप्रिय मतमा डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टन अघि थिइन् । उनले सन् २०१६ मा उग्र राष्ट्रवादी अभियान चलाए र गोरा अमेरिकीहरुमाझ यो मुद्दा जबरजस्त उठाएका थिए । राजनीतिक भन्दा फरक क्षेत्रबाट आएका र अमेरिकीका लागि राष्ट्रवादी नारा चर्काएका भरमा उनले निर्वाचनको परिणाम आफ्नो पक्षमा पारेका थिए ।
सन् २०१६ को निर्वाचनमा गैरराजनीतिक पृष्ठभूमिबाट आएर त्यसअघि धेरै नेताले नभनेका कुराहरु उनले भाषण गरे र अमेरिकी जनताको मन पगाले । निर्वाचनअघि यौन उत्पीडनसहित अन्य धेरै मुद्दाका बाबजुत पनि अमेरिकी जनताले उनलाई राष्ट्रपति बनाए । तर सन् २०२० मा उनी पराजित हुन पुगेका छन् । यो निर्वाचनमा उनलाई पराजित गराउने पनि यस्तै विषय बन्न पुगेका छन् ।
कोरोना भाइरस महामारी सुरु हुनभन्दा अघि ट्रम्प महाभियोगको सामना गर्न सफल भएका थिए र उनीसँग बलियो अर्थतन्त्र एवम् बहालवाला राष्ट्रपति हुनुको फाइदा थियो । के देश चार वर्ष अघिको तुलनामा राम्रो बनेको छ ? भन्ने प्रश्नको उत्तर अमेरिकामा यसपटक भेटिने अवस्था थिएन । कोभिड–१९ का कारण अर्थतन्त्रमा परेको असर र कोरोना नियन्त्रणमा उनको प्रशासनले चालेका कमदका कारण ट्रम्प असफल बने ।
सन् २०१६ को निर्वाचनमा ट्रम्पलाई भोट दिए पनि उनको आक्रामक शैलीसँग धेरै रिपब्लिकनहरु समेत रुष्ट हुन पुगे । यो निर्वाचनमा उनका विरुद्ध लागे । कतिपय उनले लिएका नीतिको आलोचकका रुपमा बाहिर देखिए । अमेरिकाका प्रमुख शहरहरूका बाहिरी भागमा ट्रम्पले नराम्रो धक्का खान पुगेका छन् भने डेमोक्र्याटिक पार्टीको अवस्थामा सुधार आएको छ । सिनेटमा आफ्नो अवस्थामा सुधार गरेको छ भने तल्लो सदनमा डेमोक्रेटिकहरु बहुमतमा छन् ।
जातीय मुद्दालाई बढवा दिनु, ट्विटरमा नस्लवादी भाषाको प्रयोग, अश्वेत अमेरिकीमाथि ट्रम्पको रुखो व्यवहार, कोरोना भाइरस नियन्त्रणमा कुनै प्रभावकारी कदम र स्पष्ट दृष्टिकोणको अभाव जस्ता कुराले ट्रम्पका समर्थकहरु नै यो निर्वाचनमा चिढिएका थिए ।
ट्रम्पले अमेरिकाका परम्परागत मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई बढावा दिनुको साटो उनीहरुको आलोचना गरे भने रुसी राष्टसँगको सम्बन्धलाई बढावा दिनुको साटो उनीहरुको आलोचना गरे भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनजस्ता नेताको समर्थकका रुपमा देखिए । संयुक्त राष्ट्रसंघ जस्तो विश्व संस्था, नेटो गठबन्धन, पेरिस सम्झौता, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई अमेरिकाले दिने रकम बन्द गर्ने तथा रुससँगको पमारणु सम्झौताको विरुद्धमा उभिएपछि सर्वसाधारणमा समेत ट्रम्पप्रति निराशा उत्पन्न भएको थियो ।
ट्रम्पलाई हराउँने सबैभन्दा प्रमुख अस्त्र भनेकै उनले निर्माण गरेको विभाजनकारी अमेरिकी समाज हो । उनले अमेरिकी जनताभित्र पनि जाति, धर्म, रंगजस्ता विषयमा तीव्र विभाजित गरिदिए ।
सन् २०१६ मा ट्रम्पलाई मत हालेका एक मतदाता चक होन्सटिन भन्छन्, ‘मानिसहरू थाकिसके । उनीहरू यो देश सामान्य अवस्थामा फर्किएको हेर्न चाहन्छन् । उनीहरू शालीनता देख्न चाहन्छन् ।’ यही शालिनता अमेरिकी जनताले बाइडेनमा खोजेका छन् ।
उनी भन्छन्, ‘अमेरिकी जनता यो घृणा रोक्न चाहन्छन्, उनीहरू यो देशमा एकता देख्न चाहन्छन् र यसैकारण जो बाइडनले चुनाव जित्नेछन् ।’ ट्रम्पले सन् २०१६ मा लाल किल्ला बनाएका क्षेत्र बनाएका भन्दा बाहिरी क्षेत्रमा प्रभाव र समर्थन विस्तार गर्न तथा विपक्षीलाई समेत हातमा लिएर सहानुभूति बटुल्न असफल मात्रै भएनन् अघिल्लो निर्वाचनमा जीत हात पारेका क्षेत्र जोगाउन पनि सकेनन् । जसले ट्रम्पलाई हारको दिशातिर पुर्याइदियो ।
सन् २०१६ मा उनले ३० वटा राज्य जितेका थिए । उनले चार वर्ष राष्ट्रपतिको कार्यभार सम्हाल्दा ती राज्यको मात्रै राष्ट्रपति भएजस्तो व्यवहार प्रदर्शन गरे । अघिल्लो निर्वाचनमा हिलारी क्लिन्टनले धेरै मत ल्याएका २० राज्यका जनतालाई आफूनिकट बनाउन उनले कुनै भूमिका खेल्न सकेनन् ।
उनका आलोचकले पछिल्लो १०० वर्षमा सबैभन्दा विभाजनकारी राष्ट्रपतिका रूपमा ट्रम्पको व्याख्या गर्छन् । ट्रम्पको चार वर्षे कार्यकाल नै अमेरिकी जनताका लागि निकै लामो र पट्ट्यारलाग्दो बन्न पुग्यो । त्यसैले अमेरिकी जनताले ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपतिका रूपमा परम्परागत व्यवहार गर्ने व्यक्तिलाई चुने ।
सन् २०१६ मा बाराक ओबामाको ८ वर्षे कार्यकालपछि डेमोक्रेटको बिकल्प खोजिरहेको अवस्था थियो । तर सन् २०२० को निर्वाचन सन् २०१६ को पुनरावृत्ति थिएन । यसपटक ट्रम्प विद्रोही विपक्षी नेता नभएर सत्ताधारी नेता थिए । उनका सामू एउटा सत्ताको गरिमा जोगाइराख्नुपर्ने र अर्को परम्परा कायम राख्ने चुनौती थियो । अघिल्लो चुनावमा हिलारी क्लिन्टनको छवि खराब बनाउन उनी सफल भएका भएपनि बाइडनसँग त्यस्तो हुन सकेन ।
कोरोना भाइरस महामारी सुरु हुनभन्दा अघि ट्रम्प महाभियोगको सामना गर्न सफल भएका थिए र उनीसँग बलियो अर्थतन्त्र एवम् बहालवाला राष्ट्रपति हुनुको फाइदा थियो । के देश चार वर्ष अघिको तुलनामा राम्रो बनेको छ ? भन्ने प्रश्नको उत्तर अमेरिकामा यसपटक भेटिने अवस्था थिएन । कोभिड–१९ का कारण अर्थतन्त्रमा परेको असर र कोरोना नियन्त्रणमा उनको प्रशासनले चालेका कमदका कारण ट्रम्प असफल बने । संकट पद गुमाउने मात्रै नभएर पुनः प्राप्ति गर्ने आधार पनि बन्छ भन्ने उदाहरण दक्षिण कोरियाका राष्ट्रपति मुन जाए–इन हुन् । उनले कोभिड–१९ नियन्त्रणमा खेलेको प्रभावकारी भूमिकाकै कारण पुनः राष्ट्रपतिमा निर्वाचित भए । तर ट्रम्प कोरोना भाइरसको महामारी व्यवस्थापनमा असफल भए । जसले गर्दा उनलाई चार वर्षमै ह्वाइट हाउसको जिम्मेवारीबाट जनताले मुक्त गरिदिएका छन् ।