उत्पादनशील उद्योगका लागि विदेशी श्रमिक ल्याउन अनुमति दिइने

उत्पादनशील उद्योगका लागि विदेशी श्रमिक ल्याउन अनुमति दिइने

लोकसंवाद संवाददाता  |  समाज  |  कात्तिक २७, २०७७

कञ्चनपुर । उत्पादनशील उद्योगका लागि विदेशी श्रमिक ल्याउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अनुमति दिने भएको छ । कोरोना भाइरसका कारण स्वदेशी तथा विदेशी लगानीमा स्थापित उत्पादनशील उद्योगमा श्रमिकको अभाव पूर्ति गर्नका लागि र उपभोग्य वस्तुको उत्पादन र आपूर्तिलाई सहज बनाउन भारत, चीनलगायत अन्य मुलुकबाट सुरक्षितरूपमा विदेशी श्रमिक ल्याउन अनुमति दिनका लागि कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ ।

विदेशी श्रमिक ल्याउने उद्योगले नियमानुसारको ढाँचामा निवेदन दिएमा अनुमति प्रदान गरिने भएको छ । उत्पादशील उद्योगका लागि विदेशी श्रमिक ल्याउनेसम्बन्धी कार्यविधि, २०७७ को अनुसूची १ बमोजिमको ढाँचामा निवेदन दिएमा श्रमिक ल्याउन पाउने प्रमुख जिल्ला अधिकारी रामकुमार महतोद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । श्रमिक ल्याउने उद्योगले निवदेनसाथ उद्योग दर्ताको प्रतिलिपि, स्वदेशी वा विदेशी लगानी खुल्ने कागजात, प्रचलित कानूनबमोजिम कर चुक्ता गरेको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्ने छ ।

साथै विदेशबाट श्रमिक ल्याउनुपर्ने औचित्यसहित श्रमिक ल्याउने मुलुक, नेपाल प्रवेश गर्ने विन्दु र उक्त श्रमिक बस्ने स्थानसहितको विवरण, श्रमिक ल्याउने मुलुकअनुसार श्रमिकको नाम र परिचय खुल्ने कागजातसमेत पेश गर्नुपर्ने छ ।