लोकसंवाद संवाददाता | समाज | कात्तिक २७, २०७७
कञ्चनपुर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको प्रशासनिक भवन निर्माण कार्य पूरा भएको छ । भीमदत्त नगरपालिका–१८ सालघारीमा विश्वविद्यालय स्थापना भएको एक दशकपछि प्रशासनिक भवन निर्माण गरिएको हो ।
बुधवार नवनिर्मित भवनमा पूजापाठपश्चात कार्यालय सञ्चालनमा ल्याइएको छ । विसं २०६७ मा स्थापना भएको विश्वविद्यालय भवनको अभावमा यसअघि भाडाका घरमा सञ्चालन हुँदै आएको थियो । नवनिर्मित भवनमा ३५ कोठा र दुई बैठक कक्ष रहेका छन् । भवन १३ करोडको लागतमा निर्माण गरिएको छ । विश्वविद्यालयका रजिष्ट्रार डा गोविन्द विष्टले प्रशासनिक भवन निर्माण भएपछि दैनिक कामकाज नयाँ भवनबाट शुरु गरिएको बताउनुभयो ।
'विश्वविद्यालय स्थापना भए पनि आफनै भवन थिएन', उहाँले भन्नुभयो, 'मासिकरूपमा ६५ हजार रुपैयाँ घरभाडा तिरेर प्रशासनिक कार्यसञ्चालन गर्दै आएका थियौँ । विश्वविद्यालयको आफ्नै भवन भएपछि कामकाज गर्न निकै सहज हुने भएको छ ।' विश्वविद्यालयका उपकुलपति अम्मरराज जोशीले प्रशासनिक भवन अहिले एक तलाको बनेको भए पनि निकट भविष्यमै तीनतले भवन निर्माण गरिने बताउनुभयो ।
'प्रशासनिक भवनसँगै आवासगृहसमेत बनाउने योजना छ', उहाँले भन्नुभयो, 'अन्य आवश्यक भौतिक पूर्वाधार विकासको कार्यसमेत शुरु गर्छौँ ।' तत्कालीन महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको १९ बिघा जग्गा विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माण गर्नका लागि उपलब्ध गराइएको थियो ।