लोकसंवाद संवाददाता | समाज | कात्तिक २८, २०७७
मङ्गलबारे । कोरोना महामारीको असर चिज उद्योगमा समेत परेको छ । महामारीका कारण बाहिरी देश निर्यात हुने चिज निर्यात हुन नसक्दा यहाँका व्यापारी तथा व्यवसायी मारमा परेका छन् । विदेशी पर्यटकको मुख्य रोजाइमा पर्ने चिज निर्यात नहुँदा व्यवसायीहरु गोदाममा थन्क्याएर राख्न बाध्य भएको सूर्योदय नगरपालिकामा रहेको लक्की डेरी उद्योगका प्रोप्राइटर तुलु तामाङले बताउनुभयो । नेपालका मुख्य बजारहरुमा कोरोनाका सङ्क्रमितहरु बढ्दै जान थालेपछि इलाममा करोडौँ रुपैयाँ भित्र्याउने चिज उद्योगले असर भोगिरहेको छ ।
लकडाउन र महामारीको शुरुआती अवस्था अर्थात चार महिना खासै असर नभोगेका चिज उद्योगीहरुलाई पर्यटनको सिजन शुरु भएसँगै विक्रीमा समस्या भएको उहाँले बताउनुभयो । चिज विदेशी पर्यटकहरुले रुचाउने परिकार हो । मुख्य शहरमा सङ्क्रमण बढ्दै जानु र पर्यटकको आगमन शुन्य भएपछि गोदाममा थन्क्याउनुको विकल्प नभएको उद्योगीहरुको भनाइ छ ।
इलाममा वार्षिक २० करोड रुपैयाँ भन्दा बढीको चिज उत्पादन हुने गरेको छ । व्यावसायिकरूपमा दूध उत्पादन गर्दै आएका इलामका कृषक र दुग्धजन्य सामग्रीको उत्पादन गर्ने उद्योग प्रत्यक्ष समस्यामा परेका छन् । निजीस्तरबाट सञ्चालित डेरी, चिज, छुर्पीलगायत उद्योग बन्द भएका छन् । यी उद्योगमा दूधको खपत धेरै हुने गरेको थियो ।
कोरोनाका कारण देशकै ठूलो इलामको पशुपतिनगरमा रहेको चिज उत्पादन केन्द्र बन्द छ । तीन हजार लिटर क्षमताको पशुपतिनगर चीज उत्पादन केन्द्रमा कोरोनाअघि दूध सङ्कलन हुने गरेको थियो तर कोरोना शुरु भएसँगै जिल्लामा सञ्चालित अन्य सरकारी चिज उद्योगसमेत बन्द गरिएको छ । जिल्लामा एक दर्जनभन्दा बढी सरकारी र निजी चिज उद्योग सञ्चालनमा रहेका छन् । विशेष गरेर जिल्लामा माथिल्लो भेगमा चिज उत्पादन गर्ने गरिन्छ । जिल्लाको बाघखोर, देउराली, पशुपतिनगर, नयाँबजारलगायतका ठाउँमा व्यावसायिकरूपमा चिज उत्पादन हुने गरेको छ ।