लोकसंवाद संवाददाता | साहित्य | कात्तिक २८, २०७७
चितवन । जिल्लामा साहित्यिक व्यक्तित्वहरूलाई सम्मान गरिएको छ । विसं २०७६ सालमा प्रकाशित श्रष्टाहरूका कृतिका आधारमा बिहीबार सम्मानित गरिएको हो । चितवन साहित्य परिषद्ले हरेक वर्ष प्रदान गर्ने राजकृष्ण कँडेल साहित्य पुरस्कार, २०७७ बाट पत्रकार वसन्त पराजुली र लेखक गणेश लाठलाई सम्मानित गरेको छ । पराजुलीलाई उहाँको ‘कुमाता’ कथा सङ्ग्रहका लागि र लाठलाई ‘अघटित’ उपन्यासका लागि प्रदान गरिएको हो । पुरस्कारको राशि रु १५ हजार रहेको छ ।
यस्तै चिसाप प्रतिभा पुरस्कार, २०७७ बाट अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष प्रकाश पौडेल माइला, चिसाप खेमलाल लामिछाने साहित्य पुरस्कारबाट ‘केन्द्र र परिधि’ निबन्धका लागि निबन्धकार रामबाबु घिमिरेलाई र चिसाप लीलानर्मदा पुरस्कार ‘महोपथ’ कथा सङ्ग्रहका लागि कथाकार ललित विष्टलाई प्रदान गरिएको छ ।
हाल जापानमा रहेका कारण पुरस्कृत व्यक्तित्व पौडेलका बुबा चूडामणि पौडेलले उहाँको पुरस्कार ग्रहण गर्नुभयो भने अन्य स्रष्टाहरू स्वयं कार्यक्रममा उपस्थित भएर पुरस्कार ग्रहण गर्नुभएको थियो । कार्यक्रममा चितवन साहित्य परिषद्का अध्यक्ष सुरेन्द्र्र अस्तफल, पूर्वअध्यक्ष केदारनाथ खनाल, साहित्यकार श्यामजी अतिथि, पुरस्कारका संस्थापक मायादेवी कँडेलले पुरस्कृत व्यक्तित्वलाई सम्मान गर्नुभएको थियो ।