शिवपुरीमा गुणस्तरीय स्वास्थ्य सेवा, एकल पुरुषलाई मासिक भत्ता

शिवपुरीमा गुणस्तरीय स्वास्थ्य सेवा, एकल पुरुषलाई मासिक भत्ता

लोकसंवाद संवाददाता  |  समाज  |  कात्तिक २८, २०७७

त्रिशूली । नुवाकोटको शिवपुरी गाउँपालिकामा डाक्टर सहितको स्वास्थ्य सेवा शुरु भएको छ । कोरोना रोगबाट सङ्क्रमित भएका बिरामीलाई समेत सेवा दिने गरेर शिवपुरी गाउँपालिका–५ को शेराबगरमा रहेको स्वास्थ्य संस्थामा एमबिबिएस डाक्टरमार्फत गाउँपालिकाले स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको हो ।
  
गाउँपालिकाबासीको स्वास्थ्य जाँच तथा परीक्षणको लागि गुणस्तरीय सेवा उपलब्ध गराउने प्रयास स्वरुप सेवा सञ्चालनमा ल्याइएकाले त्यसको लाभ उठाउन गाउँपालिकाको अध्यक्ष रामकृष्ण थापाले आग्रह गनुभयो । उहाँका अनुसार चिकित्सा सेवाको लागि गाउँपालिकामार्फत दरबन्दी सिर्जना र बजेट सुनिश्चित गराई डाक्टरसहित सेवा अबदेखि निरन्तर उपलब्ध गराइने भएको छ ।
 
'कोरोना सङ्क्रमण भएका व्यक्तिलाई समयमै स्वास्थ्य परामर्श तथा उपचार सेवा दिन सकेमा उच्च मनोबलले रोग जित्न सक्षम हुनेछन् भन्ने विश्वास लिएका छौँ', अध्यक्ष थापाले भन्नुभयो,'लक्षण बिहिन सङ्क्रमितलाई घरकै एकान्तबासमा राखिएको र उनीहरुलाई डाक्टरसहित स्वास्थ्यकर्मीमार्फत परामर्श र निगरानी थालिएको छ ।'

गाउँपालिकाले कोरोना रोग लागेर घरकै एकान्तबास (होम आइसोलेसन) मा बस्ने सङ्क्रमितलाई पौष्टिकयुक्त खानाको लागि एकमुष्ठ तीन हजार उपलब्ध गराउने निर्णय गरेको छ । अध्यक्ष थापाका अनुसार लक्षण नभएका सङ्क्रमित घरकै एकान्तबासमा बस्न पाउने र त्यो समयमा सन्तुलित तथा पौष्टिकयुक्त खानाको आवश्यक पर्ने भएकाले त्यसका लागि पालिकाले तीन हजार उपलब्ध गराउने निर्णय गरेको हो । 

यसैबीच, अबदेखि गाउँपालिकाले एकल पुरुषलाई पनि मासिक भत्ता दिने भएको छ । ६० वर्षदेखि ७० वर्षसम्मका एकल पुरुषका लागि मासिक एक हजार भत्ता उपलब्ध गराउन बजेट बिनियोजन, कार्यक्रमको सुनिश्चिततासहित कार्यविधि निर्माण गरेर मङ्सिरदेखि भत्ता उपलब्ध गराउन लागेको गाउँपालिका अध्यक्ष थापाले जानकारी दिनुभयो ।

सामाजिक सुरक्षा भत्ता कार्यक्रमअन्तरगत हाल एकल महिला र जेष्ठ नागरिकको रुपमा ७० वर्ष पूरा भएकालाई मात्रै उपलब्ध गराएकोमा एकल पुरुषलाई समेत उपलब्ध गराउने निर्णय भएसँगै ६० वर्ष उमेर पूरा भएका एकसय भन्दाबढी एकल पुरुष लाभान्वित हुने भएका छन् ।