देवान राई : पढाइकाे लागि साठी हजारकाे जोहाेमा साठी दिनको जेलदेखि चारवटा डिग्रीसम्म

देवान राई : पढाइकाे लागि साठी हजारकाे जोहाेमा साठी दिनको जेलदेखि चारवटा डिग्रीसम्म

आशिष पौडेल  |  अन्तर्मन्थन  |  कात्तिक २९, २०७७

जन्मले होइन कर्मले मानिस बन्नुपर्छ । यो कुरा खाेटाङकाे दिक्तेलमा जन्मिएका देवान राईको हकमा लागु हुन्छ । बाल्यकालदेखि पढाई अनि रोजगारीमा समेत उहाँले निकै सङ्घर्ष गर्नुपर्‍यो । यही सङ्घर्षले नै उहाँलाई व्यवसाय तथा राजनीतिमा स्थापित गर्न मद्दत गरिरहेको छ । 

अभावले मानिसलाई सिकाउँछ, कर्म गर्न प्रेरित गराउँछ, अनि निरन्तर अगाडि बढ्न ऊर्जा प्रदान गर्छ भन्ने कुरा उहाँको जीवनले सिकाउँछ । 

कर्ममा नथाक्ने, दुःखमा हरेस नखाने चरित्रले उहाँलाई आज मेरिडियन हेल्थ केयर सेन्टर जस्तो व्यवसायकी रुपमा सफल अनि स्थापित स्वास्थ्य संस्थाको अध्यक्ष बनाएको छ । यो सानो कुरा अवश्य होइन । देवान राईको निरन्तरको सङ्घर्ष अनि सफलताको कथा हो यो आलेख । 

जन्म र बाल्यकाल 

उहाँको जन्म मध्यम स्तरको परिवारमा भएको हो । बाबुआमा खेती किसानी गर्ने । खेतीपातीमै रमाउने कृषक । कृषि नै उहाँको परिवार चलाउने पेसा पनि हो ।  उहाँको बाबुआमा चार भाइ अनि एक बहिनी सन्तानमा धने उहाँ भने साहिँलो छोरो । 

उहाँको जन्म २०३१ साल जेठ २८ गते । आधिकारिक दस्ताबेजले पनि यही मिति नै सावित गर्छ । स्थान भने खाेटाङ स्थित साबिक बाम्राङ्ग गाविस ४ कट्टी  हाल भने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, वडा नं ३ बाम्राङ्ग  । धुलो माटोमा खेलेर अनि धुलो माटोमै हुर्कियौँ हामी, उहाँ भन्नुहुन्छ ।  

प्रारम्भिक शिक्षा 

प्रारम्भिक शिक्षा भने खाल्डे राम्चे शितला निमावि खाल्लेबाट भयो उहाँको । एक कक्षा भने पढ्नुभएन । दुई कक्षादेखि पाँच कक्षासम्म राम्चेमा । घरबाट स्कूल पुग्न करिब दुई घण्टा पैदल हिँड्नु पर्थ्यो । 

पाँचदेखि सातसम्मको पढाइ भने बाम्राङ्ग साबित्रा निमाविमा भयो । यो स्कूल पनि घरबाट हिँडेर डेढ घण्टाको दूरीमा थियो । हरेक शुक्रवार आफ्नो कक्षा आफैँ सफा गर्नुपर्ने । कहिलेकाहीँ त कक्षा लिप्नलाई गोबर र पानी ओसार्न बाँसको ढुङ्ग्रो पनि घरबाटै लिएर जानुपर्थ्यो, उहाँ भन्नुहुन्छ ।

उहाँलाई फुटबल, भलिबल तथा अन्य खेलमा खासै रुचि रहेन । नाच्ने गाउने कुरामा भने अगाडि सर्नुहुन्थ्यो त्यस बेला । देउसी भैलो कार्यक्रम वा स्टेज बनाएर नाच्ने गर्नुहुन्थ्यो । स्कुल तथा गाउँका अग्रजहरूले आयोजना गर्ने यस्ता कार्यक्रममा सक्रिय सहभागिता रहन्थ्यो उहाँको । गाउँ गाउँमा पुग्नु हुन्थ्यो यस्ता कार्यक्रममा । 

पछि राजनीतिक पार्टीले गर्ने यस्ता सांस्कृतिक कार्यक्रममा पनि सहभागिता रह्यो । तर, उहाँलाई भने यसका आयोजनामा राजनीति रङ्ग मिसिएको छ भन्ने थाहा हुँदैनथ्यो ।   आठदेखि दश कक्षासम्मको पढाई भने सरस्वती मावि दिक्तेलमा भयो । मावि पनि करिब दुई घण्टाको पैदल दूरीमै । किसानको छोरो, बिहान उठेर काम गर्नैपर्‍यो, उहाँ भन्नुहुन्छ । 

अनि आठ बज्दा नबज्दै स्कुल हिँड्नु पर्थ्यो । हातमा घडी थिएन । कति बजे घरको सिक्वामा घामको ओझेल कहाँ पर्छ भनेर चिनो लगाइएको हुन्थ्यो । त्यसकै आधारमा यति बज्यो भनेर स्कुल गइन्थ्यो, उहाँ भन्नुहुन्छ ।  उहाँ २०४९ सालको एसएलसी ब्याच हो । उहाँको पढाई त्यति नराम्रो पनि होइन । रोल नं एकदेखि तीनसम्ममा हुन्थ्यो । तरपनि एसएलसीमा सोचे जस्तो नतिजा आएन । उहाँ पास हुनुभयो, बस । 

बस्नका लागि कक्षामा दुइटा बेन्चका लहर हुन्थ्यो । एउटा लहरमा केटीहरू हुन्थे भने अर्कोमा केटाहरू । केटा र केटी गरेर झन्डै झन्डै पचास साठी जना हुन्थे कक्षामा । महिलाहरू भने करिब बाह्र पन्ध्र जनासम्म हुन्थे । उहाँको रोल नं जस्तै बस्ने बेन्च पनि पहिलो देखि तेस्रोसम्म हुन्थ्यो । सधैँ सबै एउटै बेन्चमा बस्ने भन्ने हुँदैनथ्यो । जो पहिले पुग्यो उसले ठाउँ रोजेर बस्न पाउँथ्यो ।

उहाँलाई कक्षामा पढ्दा सरको अनुहार हेर्नैपर्याे । ‘आइ कन्ट्याक्ट’ हुनैपर्थ्यो । यसरी हेरेर सरले पढाएको सुनेपछि भने नोट गर्नै पर्दैनथ्यो । एक वर्षसम्मका लागि दिमागमा बस्थ्यो ।  यसबेलासम्म आउँदा उहाँको रुचि सितेरियो कराँतेमा पनि भयो । यसमा ब्ल्याक बेल्टसम्म लिनुभएको छ उहाँले । 

सरस्वती कलेजबाटै सोसियोलोजीमा मास्टर्स सकाउनु भयो । त्यस्तै त्रिभुवन विश्वविद्यालयबाट पोलिटिकल साइन्समा मास्टर्स सकाउनु भएको छ । अनि काठमाडौँ अफ स्कुलबाट भने एमपीए । उहाँले यी सबै मास्टर्स डिग्री समानान्तर हिसाबले सकाउनु भएको हो । एउटाको पहिलो वर्ष सकिएपछि अर्को सङ्कायमा भर्ना हुँदै । हाल भने उहाँ एलएलबी दोस्रो वर्षको विद्यार्थी पनि हुनुहुन्छ । दुई छोरी अनि उहाँ अहिले सबै ब्याचलेका विद्यार्थी । अब उहाँको इच्छा भने इन्टरनेशनल रिलेशनमा पिएचडी गर्ने रहेको छ । 

काठमाडौं आगमन 

उक्त समयमा एसएलसीको नतिजा आउन झन्डै छ महिनाको समय लाग्थ्यो । अनि उहाँ २०५० सालमा काठमाडौँ आउनु भयो । उदयपुरको गाईघाटसम्म हिँडेर आएर बस चढ्नु पर्थ्यो । गाईघाटसम्म आइपुग्न तीन दिन हिँडेर आउनुपर्थ्यो । चारौँ दिनमा मात्र काठमाडौँ आइपुगिन्थ्यो, उहाँ भन्नुहुन्छ । यो नै पहिलो काठमाडौँ यात्रा थियो उहाँको । 

उहाँले काठमाडौँको ठाउँको बारेमा किताबमा मात्र पढ्नु भएको थियो । उहाँको नातामा दाइ पर्ने तथा दिदीहरू नारायणस्थानको चपलीमा बस्नुहुन्थ्यो । उहाँलाई काठमाडौँको बारेमा खासै थाहा थिएन ।  उहाँ कलङ्कीमा झर्नुभएछ । अनि हिड्दै हिँड्दै पशुपति आइपुग्नु भएछ । अनि एक जना साथीलाई फोनमा सम्पर्क गरेपछि उहाँले चक्रपथ चोकसम्म ल्याइदिनु भयो । अनि त्यहाँबाट दाइले घर लिएर आउनुभयो, उहाँ भन्नुहुन्छ । 

उहाँलाई गणितमा रुचि थियो । करिब दुई सय जनाको कक्षामा त्यस बेला केवल नौ जना ऐच्छिक गणित लिने विद्यार्थीमा पर्नुहुन्थ्यो उहाँ । त्यस बेला एसएलसी पछि जिल्लाको कलेजमा गणित पढ्न पाइँदैन थियो । त्यस कारण गणित लिएर पढ्न पनि उहाँ काठमाडौँ आउनु भएको थियो ।

उहाँ नौ कक्षा पढ्दा किताब किन्न एक पटक धरान झर्नुभएको थियो । सहर देखेको भनेको त्यही थियो । एसएलसी दिनु अगाडि त्यति धेरै घुम्नु भएको थिएन । एकै पटक यति ठुलो सहरमा आइपुग्दा रनभुल्ल पर्नु स्वाभाविकै हो, उहाँ भन्नुहुन्छ । उहाँको उद्देश्य नै राम्रोसँग पढेर एसएलसी पास गर्नु थियो । त्यो अगाडि कतै बरालिएर हिँड्यो भने लक्ष्यमा पुगिँदैन भन्ने लाग्थ्यो उहाँलाई । त्यसैले पनि उहाँको एसएलसी अगाडि घुमफिर रहेन । 

अनि उहाँले बुवालाई एसएलसी दिएपछि मामाघर सिक्किम जान दिनुपर्छ भन्नु भएको थियो । एसएलसी दिएपछि भने उहाँ सिक्किम पनि जानुभयो बुवासँग । जब सिक्किम देख्नुभयो तब भने उहाँलाई म एक्लै पनि सहरमा हिँड्न सक्छु भन्ने लाग्यो । त्यसैले पनि उहाँ एक्लै काठमाडौँ आउनु भएको हो । 

सात हजार दुई सय  खर्चमा एसएलसी

उहाँ शायद गणितमा रुचि राख्ने हुँदा सानैदेखि हिसाब किताब र मोलतोल भने खुबै गर्नुहुँदो रहेछ । उहाँले आफ्नो एउटा डायरीमा एसएलसीसम्म घरका अन्य अभिभावक तथा बुवाको कति पैसा खर्च भएछ भनेर एउटा हिसाब राख्नु भएको रहेछ । त्यसमा दाइले कति दिनु भयो, दिदीले कति दिनुभयो र कसको पैसा के मा खर्च भयो त्यो सबै उहाँले टिपेर राख्नु भएको थियो । 

एसएलसी सकेपछि उहाँले त्यसलाई सबैका सामु सार्वजनिक गर्नुभयो । उहाँले दुई कक्षादेखि एसएलसीसम्म आइपुग्दा घरको सात हजार दुई सय खर्चनु भएको रहेछ । यसलाई उहाँले परिवारको ऋण सम्झनु हुँदो रहेछ ।  

एसएलसी पछि 

एसएलसी पछि उहाँ काठमाडौँ आएर आरआर कलेज र सरस्वती कलेजमा भर्ना हुनुभयो । सरस्वतीमा भने बिहानी सत्रमा वाणिज्यको पढाई हुन्थ्यो भने आरआरमा भने मानविकी । रात्रि सत्रमा हुन्थ्यो पढाई । 

आरआरमा पढ्नुको उद्देश्य भने ऐच्छिक गणित प्रतिको मोह थियो । उहाँले दुबै कलेजबाट पहिलो वर्षको परीक्षा दिनुभयो । पढ्ने भोक भने छँदै थियो । तर, पढाइलाई भने निरन्तरता दिन सक्नुभएन । त्यसबेला दोस्रो वर्षको परीक्षा असारमा हुन्थ्यो । उहाँ भने दोस्रो वर्षको परीक्षा अगावै वैशाखमा वैदेशिक रोजगारीमा जानु भयो । 

आफ्नै गणितको प्रयोग 

उहाँले फेरि आफ्नो गणितको प्रयोग गर्नुभयो । त्यस बेला उहाँलाई एक हजार भएको भए पढ्न पुग्थ्यो महिनाको । त्यस अर्थले वर्षको बाह्र हजारका दरले आइए पास गर्न चौबीस हजार । अनि बिए पनि त्यसै हिसाबले गर्दा तीन वर्षको हिसाबमा छत्तीस हजार । दुबै जोड्दा साठी हजार ।  अनि बिए पास भएपछि यदि जागिर पाइहाले भने उहाँले पाउने जागिर भनेको पच्चीस सयको त्यस बेला । 

पच्चीस सय कमाउँदा परिवार पनि जोडियो भने त्यो खर्च कसरी व्यवस्थापन गर्ने ? अनि यो साठी हजार फेरि बाउलाई ऋण लगाउँदा कि त गोरु बेच्नुपर्‍यो कि भैंसी वा खेत । अनि अब कसरी त्यसो गर्ने । अनि फेरि अरु दाजुभाइले पनि सबै उहाँमा नै खर्च गर्‍यो भनेर चित्त दुखाउला भन्ने लाग्यो । 

उहाँले काठमाडौँमा टिक्नका लागि के मात्र गर्नु भएन । काठमाडौँमा सितेरियो कराँतेमा ब्ल्याक बेल्ट पनि लिनुभयो । खेलकुद परिषद्ले रङ्गशालामा बस्नलाई एउटा कोठा पनि दिएको थियो । तर, त्यसले बस्न पुगे पनि खान र पढ्न भने पुगेन । घरबाट पैसा ल्याएर पढ्न सक्ने स्थिति झनै थिएन । 

उहाँले चालीस रुपैयाँ दैनिक ज्यालादारीमा गार्मेन्टमा पनि  काम गर्नुभयो । तर त्यसले पनि निरन्तरता पाएन । उहाँले काठमाडौँका ठुला घरले घरायसी काम दिए पनि पढाइमा निरन्तरता हुन्थ्यो भनेर ठुला घरका गेट पनि चियाउनु भयो । तर, सोध्ने हिम्मत भएन । 

काठमाडौँ बसाइ सोचे जस्तो भएन । काठमाडौँमा बसेर पढाइ जारी राख्न उहाँले धेरै प्रयासहरू गर्नुभयो । दर्जनौँ ठाउँमा कामका लागि प्रयत्न पनि गर्नुभयो । 

यी सबै प्रयत्न अनि आफैँले निकालेको साठी हजारको हिसाबले भने उहाँमा विदेश जाने सोच पलायो । अनि वैदेशिक रोजगारी बाध्यता पनि बन्यो । जाने कहाँ भन्नेबारेमा भने उहाँको मनका कुनामा केही स्मृतिहरू थिए ।  

मलेसियासँगको साइनो 

त्यस बेला लाहुर जाने अनि अरब जाने एकदमै प्रचलन थियो । तर, उहाँलाई भने यस्तो मन पर्दैन थियो । एक थोपा पसिना चुहाए पनि आफ्नै माटोमा चुहाऊँ, एक चपरी माटो पल्टाउनु परे पनि आफ्नै देशको पल्टाऊँ, भन्ने कुनै बेला पढेको कविताको अंशले उहाँलाई एकदमै छोएको थियो । यति हुँदाहुँदै पनि विदेश उहाँको बाध्यता बन्यो । 

बिनायो कनकन, घुमाउन लैजाउँला मलेसिया हङकङ, भन्ने गीत पनि उहाँले केटाकेटीमा खुब सुन्नुभएको थियो । शायद, त्यसले भने उहाँमा मलेसियाप्रतिको आकर्षण बढाएको हुनुपर्छ, उहाँ भन्नुहुन्छ । 

अर्को भनेको उहाँको बुवा मलेसियामा भर्तीमा लागेको । तालिम गर्दागर्दै फर्केर आउनु भयो अनि जानु भएन । बुवा त्यहाँ पुग्नु भएको अनि तालिम पनि गरेको ठाउँमा म पनि एक पटक पुगौँ न त भन्ने एउटा हुटहुटी पनि थियो शायद मनमा । त्यो अर्को कारण हुनसक्छ विदेश नजाने अडान लिएर बस्नुभएको उहाँलाई मलेसिया नै पुर्‍याउनुमा भने । 

फेरि अर्को कारण भनेको एक जना मलेसिया लैजाने एजेन्ट उहाँको फुपूको घरमै बस्थ्यो । उसले त्यहाँ आठ दश जना केटा भेला पार्थ्यो र लैजान्थ्यो । यसले पनि उहाँलाई मलेसियाप्रतिको आकर्षण बढाएको उहाँको निष्कर्ष छ ।  

मलेसियाको यात्रा  

तर, कहीँ केही उपाय नलागेपछि उहाँ वैदेशिक रोजगारीको लागि मलेसिया प्रस्थान गर्नुभयो । उहाँको दाइ कतारमा हुनुहुन्थ्यो उहाँसँग पचास हजार माग्नुभयो । म यहाँ केही योजना बनाउँदै छु भनेर । विना कुनै प्रश्न दाइले पैसा पनि पठाइदिनु भयो । यो कुरा थियाे २०५१ सालकाे  

मलेसिया पुगेर उहाँले बुवालाई म मलेसिया आइपुगेको छु भन्दा उहाँ अचम्मित हुनुभयो । कसैसँग केही सल्लाह नै नगरी उहाँ मलेसिया पुग्नु भएको थियो । उहाँको बुवाले नपत्याएर हङकङ हो भनेर सोध्नुभयो । तर, उहाँको त्यो मलेसिया यात्रा भने गैर कानुनी थियो । 

मलेसियामा उहाँले त्यस बेला रेकर्डिङका लागि प्रयोग हुने क्यासेट उत्पादन गर्ने फ्याक्ट्रीमा काम पाउनुभयो । काम गर्न थालेको पन्ध्र दिन भएको थियो । पन्ध्र दिनको तलब समेत थाप्नुभयो । चार सय पचास रिंगेट । उहाँले लगातार अठचालीस घण्टा मेशिनमा काम पनि गर्नुभयो । किनकि उहाँको उद्देश्य भनेकै पैसा कमाउनु थियो । उहाँ टिम लिडर हुनुहुन्थ्यो फ्याक्ट्रीमा । 

सबै ठिकठाक चल्दै थियो । दशा बाजा बजाएर आउँदैन भनेजस्तो भयो । शायद पच्चीसौं दिनको राति होला, आफूहरुसँगै सुतिरहेको साथी हर्ट अट्याक भएर अस्पताल लैजाँदा लैजाँदै बित्यो ।

भिसा थिएन । गैर कानुनी बसाई भएका कारण पुलिसले पक्रेर कारागारमा राख्यो । पैँतिस दिन कारागार बसाइ भयो । त्यसपछि पुलिसले थाइल्यान्ड डिर्पोट गर्‍यो । थाइल्याण्डमा फेरि त्यहाँको पुलिसले पक्रियो । कारण पासपोर्ट, भिसा केही थिएन । अनि त्यहाँ पनि पैँतिस दिन जेल बस्नुपर्‍यो । त्यसपछि थाई सरकारले नेपाल फिर्ता पठायो । यसरी ६० पैसा कमाएर पढ्ने उत्कट चाहना पुरा गर्न गएको देवान राई साठी दिनको जेल बसाई पछि रित्तो हात नेपाल फर्कनु पर्‍याे ।  

विवाह 

उहाँले २०५४ सालमा बिहे गर्नुभयो । घर नजिकै । करिब दश मिनेटको दूरीमा । प्रेम विवाह । करिब सात वर्षको प्रेम प्रसङ्ग पछि । स्कुल जाँदा आउँदा देख भेट हुने गर्थ्याे, उहाँ भन्नुहुन्छ । उहाँको मामाघर बुइपा । घरबाट चार घण्टाको पैदल दूरीमा । अनि मामाघर जाँदा बवुले काँधमा हालेर बोकेर लग्ने । 

बुझ्ने भएपछि आफैँलाई पनि हिँडेर जान गारो हुन थाल्यो । अनि बिहे त नजिकै पो गइनुपर्ने रहिछ भन्ने लाग्यो । अनि नजिकै झाँगिँदै गरेको प्रेमलाई उहाँले प्रस्ताव गरी वि हेमा रूपान्तरण गर्नुभयो । उहाँको दुई जना छोरीहरू हुनुहुन्छ । ठुलो छोरीले हेराल्ड कलेजबाट ब्याच लर सक्काउनु भएको छ । आइटीमा । सानो भने थमेस् कलेजमा ब्याच लर दोस्रो वर्ष । म्यानेजमेन्टमा । 

 व्यवसायीक यात्रा  

बिहे पछि थपिएको जिम्मेवारीले केही न केही गर्नै पर्ने भयो । व्यवसायमा पनि आखिर किन हात नहाल्ने त भनेर उहाँले रेस्टुरेन्ट व्यवसाय सुरु गर्नुभयो । आफन्तसँग सरसापट गर्नुभयो । त्यस बेलाको तारा हलको छेउमा । सिनामंगलमा । उहाँलाई लाग्यो सिनेमा हेरेर बाहिर निस्केपछि मेरै रेस्टुरेन्टमा खाजा खान आउँछ मान्छे । 

तर, रेस्टुरेन्टमा केही अनुभव नै थिएँ । न काट्न आउँछ न त पकाउन् । कुक खोजेर ल्यायो दुईचार दिनमा उ हिँड्छ । वेटर खोजेर ल्यायो उ पनि बटारिन्छ । भाँडा माझ्ने खोज्यो उ पनि टिक्दैन । छ महिना त जेनतेन टिकाउनु भयो । अनि उहाँलाई लाग्यो यसरी चल्दैन । त्यसपछि भने एक जना भाइलाई रेस्टुरेन्ट जिम्मा लगाएर हिँड्नु भयो । म बाट यो भएन । अब जागिर नै गर्नुपर्‍यो भनेर फेरी जागिर खोज्नतिर लाग्नुभयो । 

अब मेडिकलतिरकाे यात्रा 

एउटा व्यवसायमा घाटा व्यहोरे पनि उहाँले हार भने मान्नु भएको थिएन । अनि २०५८÷२०५९ सालतिर उहाँले मेडिकल व्यवसायमा हात हाल्नुभयो ।

महाराजगन्जको प्रहरी चौकीसँगै एकनाले पहिले नै गरिराखेको मेडिकल बेच्ने कुरा रहेछ । अनि उहाँ र एक जना साथी मिलेर उक्त मेडिकल किन्नुभयो । पिनपान गरेरै । दश लाखमा । पछि २०६३/ २०६४ सालमा भने उहाँहरूले यसलाई उक्त स्थानबाट सार्नुभयो । अहिले भने उहाँको यो मेरिडिएन हेल्थ केयर सेन्टर (अमेरिकी दुतावासको ठ्याक्कै सामुन्नेमा) सञ्चालनमा रहेको छ । 

यो व्यवसायमा लाग्नुका पछाडि पनि केही विगत जोडिएको छ उहाँको । त्यतिखेर गाउँमा कोही बिरामी भयो भने लाने भनेकै धामीझाँक्रीकोमा हो । भाले काट्यो । सुँगुर घोच्यो । यसले जाति भए भयो । अनि उहाँलाई सबैभन्दा ठूलो मान्छे भनेकै धामी रैछ भनेर धामी बन्ने चाह रैछ । 

आफू ठूलो धामी बनेर कसैको नाडी समात्ने बित्तिकै ठिक बनाइदिऔँ भन्ने लाग्थ्यो रे ! गाउँमा त्यतिखेर के पढ्दा के हुने भन्ने थाहा थिएन । बावुआमाले भन्न नजानेर छोराले आइयो बियो पढे भन्थे ! 

पछि बुझ्ने भएपछि रोग ठिक बनाउने त डाक्टरले भन्ने थाहा भो । अनि आफूले डाक्टर पढ्न नसके पनि यसैसँग सम्बन्धित व्यवसाय किन नगर्ने भन्ने लाग्यो ।

अनि पछि आमा बिरामी भएर काठमाडौँ लिएर आउनुभयो २०५५ सालमा । आमाको मुटुको भल्भ काम नलाग्ने भएको रहेछ । आमा २०५६ सालमा उमेर नै नभई ५६ वर्षकै उमेरमा बित्नुभयो । एउटा आमा बिते पनि अरु हजारौँ लाखौँ आमाको सेवा गर्ने व्यवसाय किन नगर्ने भनेर पनि यसमा मन बसेको रहेछ उहाँको । 

तीनै जना विद्यार्थी 

उहाँको त्यस बेलाको पढ्ने प्यास मेटिएको थिएँ । थिएन त त्यस बेला केवल मुद्रा राक्षस । अनि परिस्थिति सहज बन्ने बित्तिकै पढ्नुपर्छ भन्ने मनमा छँदै थियो । २०६३ सालमा आइपुग्दा उहाँको अवस्था सहज बनिसकेको थियो । केटाकेटी केही हुर्किसकेका थिए । पेसागत हिसाबमा ‘डिल’ गर्दा पनि पढाई आवश्यक प¥यो । अनि अगाडिको पढ्ने भोक यावत छँदै नै थियो । 

अब पढाइका लागि केही समय पनि दिन सकिने अवस्था थियो । व्यवसायी पार्टनरले पनि पढ्नुस् न त भन्नुभयो । साथै पढाइमा दुईचार हजार खर्च गर्दा बच्चा बच्ची भोका नाङ्गा अनि उनीहरूको पढाइमा असर पर्ने भएन । पढाईकन लागि परिस्थिति सबै अनुकूल हुनभयो । 

करिब तेह्र वर्ष पछि सरस्वती कलेजसँग जोडिएको पुरानो इतिहासलाई उहाँले त्यहीँबाट फेरि शुरुवात गर्नुभयो । आइए भर्ना भएर । २०६३ सालमा ।

उहाँले सरस्वती कलेजबाटै सोसियोलोजीमा मास्टर्स सकाउनु भयो । त्यस्तै त्रिभुवन विश्वविद्यालयबाट पोलिटिकल साइन्समा मास्टर्स सकाउनु भएको छ । अनि काठमाडौँ अफ स्कुलबाट भने एमपीए । उहाँले यी सबै मास्टर्स डिग्री समानान्तर हिसाबले सकाउनु भएको हो । एउटाको पहिलो वर्ष सकिएपछि अर्को सङ्कायमा भर्ना हुँदै । हाल भने उहाँ एलएलबी दोस्रो वर्षको विद्यार्थी पनि हुनुहुन्छ । दुई छोरी अनि उहाँ अहिले सबै ब्याचलेका विद्यार्थी । अब उहाँको इच्छा भने इन्टरनेशनल रिलेशनमा पिएचडी गर्ने रहेको छ । 

मानिस सामाजिक प्राणी हो त्यस कारण उसले आफ्नो समाज अनि परिवेश बुझ्नै पर्छ । अर्को भनेको जतिसुकै बेवास्ता गरे पनि मानिसको जीवनको हर क्षणमा राजनीतिले प्रभाव पारिरहेको हुन्छ । अनि आफ्नो पेसा, व्यवसाय र देशको प्रशासन कसरी चल्दो रहेछ बुझ्नका लागि यी तीन विषय उहाँको प्राथमिकतामा परेका हुन् । 

सङ्घसंस्थामा संलग्नता 

उहाँ किराँत राई यायोक्खाको काठमाडौँ जिल्लाको अध्यक्ष हुँदै केन्द्रीय सदस्यबाट हाल भने केन्द्रीय काेषाध्यक्ष हुनुहुन्छ । त्यस्तै जननायक रामप्रसाद राई स्मृति प्रतिष्ठानको महासचिव । उहाँ स्वास्थ्य व्यवसायी सङ्घको पूर्व अध्यक्ष । हाल भने स्वास्थ्य व्यवसायी महासङ्घको सल्लाहकार । 

पहिले नेकपा एमाले खोटाङ काठमाडौँ सम्पर्क मञ्चको अध्यक्ष । पार्टीको केन्द्रीय स्वास्थ्य विभागको जिम्मेवारीमा पनि हुनुहुन्थ्यो । अञ्चल कमिटीको जिम्मेवारीमा पनि हुनुहुन्थ्यो । त्यस्तै प्रदेश कमिटीको जिम्मेवारीमा पनि हुनुहुन्थ्यो । हाल पार्टी एकता पछि भने नेकपाको खोटाङ जिल्ला पार्टी कमिटीको सदस्य । 

अन्त्यमा 

हरेक सफल मान्छेको जीवन अभाव, समस्या र पीडाले गुज्रिएको हुन्छ । तर, अभाव अनि पीडालाई निरन्तरको ऊर्जा बनाएर जोत्न सके अन्तमा यी आफैँ सफलता बनेर आइलाग्छ भन्ने कुराको प्रेरणा लिन सकिन्छ यो जीवन सङ्घर्षको कथाबाट ।