हरिविनोद अधिकारी | साहित्य | कात्तिक २९, २०७७
मेरो मन उद्वेलित भइरहेको थियो । थाहा थिएन किन हो । जीवन न हो, कहिले विषाद हुन्छ त कहिले खुसीको बाढी नै लागेको हुन्छ । खुसी र सुखीको खासै देखिने परिभाषा त छैन तर सन्तुष्टिलाई खुसी र सुखी हुनुको मापन गरिन्छ । मानिसको मन हो, उसलाई कुन बेलामा खुसी महसुस हुन्छ त कुन बेलामा आफूलाई सुखी भएको महसुस गरिरहेको हुन्छ । मनै न हो ।
अरूलाई सुखी देखेको बेलामा आफू दुःखी र अरूले दुःखी सम्झेको बेलामा आफू सुखी भएको अनुभव कतिपय बेलामा हुन्छ । मलाई तर अचेल अर्थात् यो सम्झना लेखिरहेको बेला २०७७ कात्तिकको अन्तिम हप्तातिर केही असजिलो जस्तो महसुस भइरहेको थियो । किन हो थाहा हु नसकेको थिएन । मामाको देहावसानको खबर सुनेपछि लाग्यो, कता कता अदृश्यरुपमा जानकारी दिएको रहेछ कि मलाई , अत्यन्त आदरणीय व्यक्तिको कमी छिटै हुने कुराको ।
यो सम्झनाका कुराहरू पनि या पुराना यादहरू पनि हप्ताको एक पटक लेखिरहेकोले सायद त्यति क्रमबद्ध पनि भएको छैन होला किनभने सम्झेका कुराहरूको टुक्राटाक्रीमात्र लिपिबद्ध गरिएको छ । तर यही बिचमा अर्थात् २०७७ साल कात्तिक २४ गते बिहान पौन नौ बजेतिर मेरा ठुला मामाको देहावसान भयो महोत्तरीको पाटुमा । बर्दिबास नगरपालिकाको पाटुमा । मामा धीर प्रसाद उपाध्याय ढुङ्गेलको ८२ वर्ष पुगी ८३ मा हुनुहुन्थ्यो ।
उहाँसँग भेट भएको भनेको पोहोरको तिहार लगत्तै जस्तो हो । भाइ श्रीवत्स अमेरिकाबाट आएको थियो । हामी उहाँकी जेठी दिदी भुवनेश्वरी अधिकारीका जीवित ४भाइ छोराहरू मामालाई भेट्न पुगेका थियौँ । यस पटकको दसैँमा जानु पर्थ्याे तर कोरोना कहरले जान सकेनौँ । परार मसहित मेरा भाइ बुहारीहरू अन्जु, सुनिता , छोरो सिद्धि अनि बुहारी विजया,छोरीहरू करुणा, अरुणा, आस्रा नातिनीहरू विश्रुत, सुदेष्णा, आरुषि, प्रसिद्धि समेतलाई लिएर पाटु पुगेको थिएँ सबैलाई चिनाउन पनि । नभन्दै त्यो नै मेरालागि ठुला मामाको हातको अन्तिम टिको हुन गयो । यस पटक अलि गाह्रो भएको छ भनेर मामाको छोरो भाइ सीतारामले भन्दै त थियो तर कोरोना कहरले आवत जावतमा समस्या जस्तै भयो । नजिकै रहेकी बहिनी मुनासमेत कोरोनाको कारणले र मामाको उमेरका कारणले मन मिचेरै जान सकेकी थिइनन् ।
आमा पछिको मामा भन्छन् । नभन्दै मामा भने पछि मैले सम्झने नै ठुलो मामालाई नै हो पहिले पनि ।सानो मामा साथीजस्तै हुनुहुन्थ्यो । मामाको रुपमा अभिभावक र मायाको लागि ठुला मामा नै मेरो जेहनेमा रहनु भयो । उहाँले एक प्रकारले ५८ वर्षसम्मको जीवन कसरी बाँच्नु भयो भन्ने कुरा जो कोहीले पनि उहाँसँग कुरा गर्दा थाहा पाउँथ्यो । उहाँका आँखामा कहिल्यै पनि आँसु ओभाएनन् । आफ्ना पिताको हत्याका कारणले ।
जुन बेला हजुरबाको हत्या भयो, त्यही बेला नै उहाँमाथि पनि गोली हानिएको थियो र गोली गर्धननिरबाट बाहिर गएकोले उहाँ बाँच्नु भएको थियो । जिउँदो सहिद भन्दा पनि हुन्थ्यो । उहाँको एउटै गुनासो हुन्थ्यो- मेरा बालाई किन मारेका हुन् ? के गल्ती थियो र मेरा बाको ? त्यसको जबाफ सायद अब कहिले पनि कसैले के देला र ? अब मेरा मावलका हजुरबातर्फ बाँकी कान्छी सानीमा बिना कोइराला मात्र हुनुहुन्छ । मामाको देहावसानको खबर पनि मैले त सामाजिक सञ्जालमार्फत नै पाएको हुँ चालिसले भानिजले फेसबुकमा राखेछन् -हाम्रा अभिभावक हजुरबा धीरप्रसाद ढुङ्गेलको आज कात्तिक २४ गते बिहान ८ बजेर ५० मिनेट जाँदा देहावसान भयो । उहाँको स्वर्गवास होस् ।
अनि अरूले पनि लेख्न थालेका रहेछन् । म खाना खाएर बसेको थिएँ, मेरो ठुलो छोरो सिद्धिविनोदले पो देखायो, होइन पाटुको हजुरबाका बारेमा यस्तो पो लेखेको रहेछ । मैले तत्कालै भाइहरू सीताराम र विनोदलाई फोन गरेँ, फोन सम्पर्क हुन सकेन भन्दै रह्यो । अनि कान्छी सानीमालाई सोधेँ । उहाँलाई थाहै रहेनछ, झन् भन्ने बित्तिकै रुवाबासी सुरु भयो ।
मामाले कहिले पनि पिताजीको नाममा कुनै राहत माग्न चाहनु भएन । बरु उहाँलाई कता कता नेपाली काङ्ग्रेसप्रति रोष देखिन्थ्यो किनभने त्यस्ता आततायीहरूलाई कारबाही गर्नुभन्दा पदीय दायित्व दिएको देखिन्थ्यो । मेरा आमा र मामालाई नेपाली काँग्रेसलाई मत दिन मन थिएन तर उहाँका सन्तानहरू सबै काँग्रेसमा भएकाले र निर्वाचनमा सबैजसो काँग्रेसका लागि मत माग्ने भएकाले अनि कोही त उहाँले नै मत दिने क्षेत्रमा उठ्ने भएकाले काँग्रेसलाई मत दिनु भएको भनेर मलाई मेरो आमा र मामाले भन्नुहुन्थ्यो ।
मैले सानीमालाई स्पष्ट थाहा पाउनका लागि अनुरोध गरेँ । अनि त सामाजिक सञ्जालमा फटाफट आउन थालिहाल्यो । बहिनिलाई भिमानमा सम्पर्क गरेँ अनि उसले पनि मैले भनेपछिमात्र थाहा पाई । अनि ऊ पाटु गई । म मामासँग पगरबास क्षेत्र सानामा घुमेको छु । उहाँ हजुरबाको हत्या पछि त्यो क्षेत्रका कतिपय यजमानहरूको पुरोहित भएर काम गर्नु भयो । हजुरबा हुँदै देखि उहाँले पुरोहित भएर काम गर्दै हुनुहुन्थ्यो । एक पटक के भयो भने उहाँका कुनै जजमानको घरमा सायद रुद्री थियो, म पनि मामासँग गएको थिएँ । त्यो बेलामा त्यो लेखमा मकै पाकेको थिएन । दसैँको बेला पनि हुनसक्छ असोजको पहिलो पक्ष ।
टिम्मु भन्ने ठाउँ जस्तो लाग्छ जहाँ पुग्न दुर्गा नदी अर्थात् खाँडादेवीबाट बगेर आएको खोलो तरेर जानु पर्छ । ठुला ठुला कुकुर पालेका हुने गाउँमा । डरलाग्दा ठुला । तिनलाई ठुला ठुला साङ्लाले बाँध्नु पर्ने, अझ सानो गोठजस्तोमा थुनेर राख्नु पर्ने । साना साना गोरु जत्रै कुकुर । भेडी गोठबाट ल्याउने रहेछन् लेखबाट । डरलाग्दा कुकुर । मामालाई त चिन्दा पनि हुन् आउँदा जाँदा तर अचानक भेट्दा के गर्ने हुन् त मामालाई पनि थाहा थिएन ।
कुकुर बाँध्नु है भनेर मामाले के कराउनु भएको थियो, कुकुर त फुकै रहेछन् , जोर कुकुर झम्टेर आइहाले । मकै बारी थियो, पाक्न पाक्न लागेका तर सानातिना बाँस जत्रा मकै थिए । घोगा लागेका दुई तीनवटा । मामाले मलाई सम्झाउनु भयो, भान्जा वेदको मन्त्र भन- ओम् कुक्कुटोसि मधु जिह्वा......, म पनि मामासँग ठुलो आलीमा सेप लाग्दै मनमनै त्यो वेदको मन्त्र फलाक्न थालेँ । बोलेर फलाकौँ भने कुकुरले सुन्ने, नबोलेर भन्दा वेदको मन्त्र नलाग्ने रे भन्थे ! अनि घरपट्टिले थाहा पाएछन् बाहुन बाजेलाई जोर कुकुरहरूले झम्टेर गएका छन् भन्ने । माथि घरबाटै के भनेर कराए, ती अनुशासित कुकुरहरू लुरुक्क फर्केर आफ्नो खोपीमा पसेछन् र तत्कालै साङ्लाले बाँधेछन् । अरु रुद्री भन्ने पुरोहितहरू पनि पछि आए ।
पछि पो थाहा भयो, त्यो मन्त्र त शुक्ल यजुर्वेदमा भालेको महिमा गाएको रहेछ जसले एकाबिहानै उठाउँछ सखारै । मुखमा मह भरेर भनेको होला, हे कुखुरा तेरो मुख भित्रको जिभ्रोमा मह रहेछ ....आदि । मामाले सधैँ सत्यको विजय हुन्छ भनेर सिकाउनु हुन्थ्यो र सबैभन्दा कठिन नै सत्यको पक्ष हो भनेर मलाई सम्झाउनु हुन्थ्यो । अहिले मामाको देहावसानपछि ती दिनहरू झल्ली सम्झँदै छु । पकरबास वा पगरबास जे भने पनि त्यही ठाउँ हो जहाँ म मावल भनेर सानामा जाने गर्थेँ ।
सानामा मेरो टाढा जाने भनेको मावल मात्रै हो । पकरबाससम्म जान्थेँ आमासँग । केही दिनलाई मात्र । दसैँमा अनिवार्य जस्तै थियो । गइन्थ्यो । लेक वा लेख जे भने पनि चिसो ठाउँ हो, काठमाडौँ जस्तै हो । मावलको खोपाबाट हिमाल देखिन्थ्यो । चिसो नै हो पकरबास । पकरबास मावल जाने पनि धेरै वर्ष चलेन किनभने २०१८सालको चैत्रमा हजुरबाको हत्या भयो पकरबासमा नै पेस्तोलको गोलीले । नेपाली काँग्रेसको सशस्त्र सङ्घर्षमा निहत्था मेरा हजुरबालाई मारे आततायीले । त्यो राजनीतिक कारण किन पनि थिएन भने मेरा हजुरबा स्वयं काँग्रेसका मतदाता हुनुहुन्थ्यो रे !
२०१८सालमा काँग्रेसलाई अराष्ट्रिय तत्त्व भनेर प्रतिबन्ध लगाइएको थियो र काँग्रेसले राजाका विरुद्धमा सशस्त्र सङ्घर्ष चलाएको थियो रे ! पद्मशंकर अधिकारीको टोलीले त्यसो गरेको भनेर भनिएको थियो । त्यसलाई पछि पद्मशंकरजीले पनि स्वीकार गर्नु भएको थियो तर मेरा हजुरबालाई नै मार्ने नीति नभएको र हतियार लिएर गएका भक्तबहादुर, खड्ग प्रसादहरूले त्यो नचाहिने काम गरेको भन्नुहुन्थ्यो ।
त्यो बेलामा मैले सानैमा के अनुभूति गरेको थिएँ भने द्वन्द्वको मार कस्तो हुन्छ र कस्तो त्रासमा पीडितका परिवार बाँच्ने गर्छन् । त्यसपछि मेरो मावलीहरू छरिए, सानो मामा मधेस झर्नु भयो हजुरआमा, माइजूहरू सहित । ठुलोमामा पकरबासमा केही वर्ष बस्नुभयो र उहाँ पनि मधेस झर्नुभयो हजुरआमा, माइजू, भाइबहिनीसहित । उहाँको नै यही २०७७ साल कात्तिक २४ गते बिहान देहावसान भयो ।
सानो मामाको देहावसान २०२७ सालमा भयो जनकपुरमा । त्यो बेला सानो मामा आफ्नो परिवारसहित धनुषाको ब्याँगेडावरमा बस्नुहुन्थ्यो । उहाँकी एउटी छोरी थिई मामाको देहावसानको बेलामा सुषमा, पछि मामाको देहावसानको २७ दिनपछि सायद भाइ माधव जन्मियो ठुली माइजूको कोखबाट । सानी जानु माइजूको त कुनै सन्तान नै थिएनन् । माधवका पनि दुई ओटा छोरा छन् अहिले । ठुला मामाका पनि दुई ओटा छोरा छन् सीताराम र विनोद । सबै भाइहरू सज्जन छन् ।
मैले होस समालेपछि र कानेपछिका धेरै घटनामध्ये मावलका हजुरबा त्रैलोक्यनाथ उपाध्याय ढुङ्गेलको आततायीहरूबाट भएको हत्याले मेरो बाल मस्तिष्कमा एउटा झन्झावत महसुस भएको थियो । ती हत्यारा को थिए त्यस बेलामा मलाई के थाहा ? मेरा हजुरबालाई त्यस बेलामा त्यस क्षेत्रमा करिब करिब अजात शत्रुको रुपमा हेरिन्थ्यो रे तर उहाँकै हत्या भएको थियो आफ्नै घरमा, सुतेको ठाउँबाट बाहिर दलानमा बोलाएर र बाँधेर ।
उहाँलाई बोलाउन उहाँको विश्वासिलो सायद जजमान, सायद भक्तलाल श्रेष्ठ नाम हो क्यारे, उनलाई बोलाउन लगाएर राती ओछ्यानबाट बाहिर बोलाउन लगाएका रे ! अनि घरमा पसेर भएका सुन, चाँदी अनि लाखौँ नगद जसमा चाँदीका पुराना सिक्का, आधुनिक मोहर तथा डबल अनि सय, दश, पाँच र एकरुपैञाका नोटहरू थिए रे ! करिब ५लाख जत्ति ।
हजुरबा मधेसमा जग्गासहित घर पनि किन्न चाहने भएकाले रकम जम्मा गरेको बुझिन्छ । कान्छी सानीमाको बिहे गर्ने पनि उहाँको विचार थियो क्यारे त्यो बेलामा । लाखौँ रुपयाँको नगद तथा जिन्सीको परिमाणमा रहेको सम्पत्ति सबै चोरिएको रहेछ । हजुरआमा भन्नुहुन्थ्यो, उहाँहरूको टाउकामा डालाले छोपेको थियो । कसले हत्या गरेको हो भन्नुभन्दा पनि हत्या गरिनु भएका व्यक्ति मलाई जन्म दिने आमाका बा हुनुहुन्थ्यो । मेरा माता मह । अनि हजुरबाको हत्यापछि मेरो आमाको दैनिक जीवनमा परेका असर अहिले पनि मेरो मस्तिष्कमा ताजा छ । आमा रोइरहनु हुन्थ्यो । सामान्यतया सहज मृत्यु भन्दा दुर्घटनाको मृत्यु सहन गाह्रो हुने रहेछ । आज पनि त्यो घटना दोहोरिएको छ माओवादी जनयुद्धको घाउ अझै ।
मेरो घरमा त्यो विषादको क्षण थियो । केही दिन अघि मात्र हजुरबा ग्वाल्टार आउनु भएको थियो र चाँडै फेरि आएर मेरा बा अर्थात् उहाँका ज्वाईँलाई लिएर मधेस जाने र १० बिघा जति जमिन किन्ने सल्लाह भएको पनि म सम्झन्छु किनभने म हजुरबाको प्यारो अनि पहिलो नाति थिएँ । मेरो हजुरबा पकरबास क्षेत्रका लागि साहु हुनुहुन्थ्यो र प्रतिष्ठित पुरेत पनि हुनुहुन्थ्यो । त्यो बेलाको साहु पनि ।
अलि हक्की मिजासको, मानिसहरूलाई सहयोग गर्ने धनबलले, जनबलले र कानुनी सहयोग पनि । एक प्रकारले त्यस पकरबास क्षेत्रका लागि एउटा भरपर्दो अभिभावकको रुपमा उहाँ रहनु भएको कुरा पछि पनि जानकारी पाइन्थ्यो । उहाँका सन्तानचाहिँ अलि ढिलो मात्र जन्मेका, त्यसमा पनि पहिलो सन्तानको रुपमा मेरा आमा भएकाले बाबुको माया बढी नै देखिन्थ्यो रे आमालाई ।
मेरो ठुली हजुरआमाबाट सन्तान नभएपछि अर्को विवाह गरेर पनि ढिलै सन्तान भएको बुझिन्छ किनभने हजुरबाको उमेर उहाँको हत्या हुँदा ६२ वर्षको भनिन्छ र मेरो आमाको उमेर त्यस बेलामा २५ वर्ष पुग्दै थियो अनि ठुली हजुरआमाबाट मेरो आमा जन्मिएको एक वर्षपछि नै जन्मिनु भएका मेरा ठुलामामा धीरप्रसाद २४ वर्षको हुनुहुन्थ्यो । हजुरबालाई गोली हान्दै गर्दा मेरा बा भनेर अँगालो हाल्न जाँदा मामालाई पनि गोली हानियो तर त्यो गोली उहाँको छातीमाथिको गर्धनको हाड छेडेर बाहिर निस्किएको थियो रे र मामा रगतको आहालमा पर्नु भएको थियो । मामाको त्यो घटना भएको ५८वर्षपछि मामाको कालगतमा देहावसान भयो । मामा त्यही बेलादेखि नै कमजोर हुनुहुन्थ्यो ।
हजुरबा अलि बढी स्वाभिमानी । पहिलेको सरकारी जागिरे र अड्डा अदालतसम्मको पहुँच भएकाले पनि पक्कै त्यो क्षेत्रमा उहाँको प्रभाव बढी नै थियो भन्ने अनुमान गर्न सकिन्छ । २०१५ सालको पहिलो आम निर्वाचनमा त्यस क्षेत्रबाट उहाँहरूकै बन्धु सूर्यप्रसाद उपाध्याय ढुङ्गेल १४ नम्बर क्षेत्र (पूर्व २ नम्बर को पश्चिम भाग)बाट प्रतिनिधि सभामा उम्मेदवार हुनु भएकाले उहाँहरूले उपाध्यायजीलाई जिताउन लागेको स्पष्ट देखिन्छ । त्यस कारणले त्यो क्षेत्रको मत उपाध्यायजी अर्थात् नेपाली काँग्रेसलाई परेको थियो रे र सम्पूर्ण ढुङ्गेल तथा उहाँहरूका प्रभावमा रहेकाहरूले पनि नेपाली काँग्रेसलाई मत दिएको बुझिन्थ्यो । तर त्यो क्षेत्रबाट जित्नचाहिँ गोरखा परिषद्का बेनीबहादुर कार्कीले जित्नु भएको रहेछ ।
मैले यो कुरा किन पनि भन्नुपरेको हो भने काँग्रेसको त्यस बेलाको असङ्गठित सशस्त्र आन्दोलनको पहिलो सिकार मेरो हजुरबा पर्नु भएको देखिन्छ । २०१८साल चैत्र १० गते रातीको त्यो कायरतापूर्ण घटनाको प्रभाव आजसम्म पनि त्यो परिवारमा छ । जब जब म अहिले पनि बेपत्ता पारिएका परिवारका सदस्यहरूको भेलामा जान्छु , सरकारका सुरक्षा फौजका तर्फबाट या माओवादीका जनसेनाबाट मारिएकाहरूको परिवारका भेलामा जान्छु, अहिले पनि मलाई त्यही बेलाको मेरी आमा, मेरा सानीमाहरू, मामाहरूको क्रन्दन प्रतिध्वनि हुन्छ र मावलमा देखिएको त्रासदीपूर्ण मानसिकताको झल्ली सम्झना आउँछ ।
मेरा वृद्ध ठुलामामा त्यो त्रासदी अन्तिम दिनसम्म पनि नाचेको थियो , मेरी कान्छी सानीमा बिना कोइरालाको आँखामा अहिले पनि त्यो त्रासदी र विना कारण कसैको आवेशमा हत्या गरिएर पिताविहीन हुनु परेको त्यो अचानक सृजित दुःखद क्षणको क्रन्दन भेटिन्छ । पोहोर मात्र मेरा मामासँगको भेटमा उहाँले भन्नुभयो- भानिज, स्वर्ग र नर्क यही संसारमा रहेछ । हामीलाई पिताविहीन टुहुरा बनाउने हत्याराहरूको पनि भलो भएको देखिएन र उनीहरूको मृत्यु मेरा बाको जस्तो वीर गति हुन सकेनछ । दुखद चीत्कारका बिचमा उनीहरूको अन्त्य भएको सुनेँ । हामीले त न्याय पाएनौँ तर दैवले सायद न्याय गरे होलान् । दैव त छ नि !
उहाँले त्यसो भन्नुमा ती हत्यामा संलग्न भएकाहरू राजनीतिक माफीका नाममा पछि नेपाल फर्केका थिए र विभिन्न ओहोदामा पुगेका पनि थिए । न बहुदलभन्दा पहिले नै न्याय पाइयो, न बहुदल आए पछि नै न्याय पाइयो भन्ने मामा र आमाहरूको गुनासो रह्यो । यस्तो सामाजिक घाउ जहिले पनि अर्कालाई लागेको सानो जस्तो लाग्ने अनि आफ्ना घाउचाहिँ आलो र ठुलो लाग्ने रहेछ भन्ने हामीलाई पनि लागेको हो ।
तर मेरा मामाले कहिले पनि पिताजीको नाममा कुनै राहत माग्न चाहनु भएन । बरु उहाँलाई कता कता नेपाली काङ्ग्रेसप्रति रोष देखिन्थ्यो किनभने त्यस्ता आततायीहरूलाई कारबाही गर्नुभन्दा पदीय दायित्व दिएको देखिन्थ्यो । मेरा आमा र मामालाई नेपाली काँग्रेसलाई मत दिन मन थिएन तर उहाँका सन्तानहरू सबै काँग्रेसमा भएकाले र निर्वाचनमा सबैजसो काँग्रेसका लागि मत माग्ने भएकाले अनि कोही त उहाँले नै मत दिने क्षेत्रमा उठ्ने भएकाले काँग्रेसलाई मत दिनु भएको भनेर मलाई मेरो आमा र मामाले भन्नुहुन्थ्यो ।
अब आमा र मामा दुवै मेरालागि कहिल्यै नभेटिने गरी हामीलाई यही संसारमा छोडेर जानु भयो । उहाँहरूको आत्माले शान्ति पाओस् । हामीले कहिल्यै पनि गल्ती काम नगरौँ । पितृ हुनु भएका मेरा मामाबाट त्यही अदृश्य ठाउँबाट हामी सबैलाई आशीर्वाद दिनुहोस् । उहाँहरूको स्वर्गमा बास होस् । अब मलाई मावली जाँदा बोकी बोकी हिँड्ने, तर ख्वाउने, पार्दा पार्दैको नौनी धूप दिएपछि क्वाप्प खुवाउने अनि आमाले जत्तिकै माया गर्ने मामाको कमी कसरी पूरा होला र अब ? यही सम्झनु पर्ने भयो, अब फेरि कहिल्यै भौतिकरुपमा भेट नहुने गरी मामा जानु भयो । हामी पनि मामाका भौतिक छोरा छोरी जस्तै अभिभावक विहीन हुन पुगेका छौँ । मामा कुनै गल्ती जानेर त गरिएको थिएन, यदि जानेर वा नजानेर गल्ती गरिएको थियो भने माथिबाटै माफी दिनुहोला अनजान बच्चा सम्झेर ।