लोकसंवाद संवाददाता | समाज | मंसिर ०५, २०७७
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले सडक बालबालिकामुक्त राष्ट्र निर्माणमा सहयोग गर्न सबैसँग आग्रह गर्नुभएको छ ।
अन्तरराष्ट्रिय बाल अधिकार दिवसका अवसरमा मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषद्द्वारा यहाँ आज आयोजित कार्यक्रममा उहाँले संवैधानिकरुपमा सुनिश्चित बालबालिकासम्बन्धी अधिकारलाई व्यावहारिकरुपमै प्रभावकारी कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मन्त्रालयका सचिव यामकुमारी खतिवडाले बालबालिकाका लागि दशवर्षे रणनीति बनाउने तयारी भइरहेको जानकारी दिँदै प्रदेश र स्थानीय तहमा बालबालिकासम्बन्धी संरचना निर्माण गर्नुपर्ने बताउनुभयो ।
परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले बाल अधिकारसम्बन्धी महासन्धि १९८९ भइसकेपछि हालसम्म ३० वर्षका अवधिमा बालअधिकारको संवैधानिक सुनिश्चित हुनाका साथै कार्यान्वयनका लागि संरचनालगायत विकास भएको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षभित्र सडक बालबालिकामुक्त राष्ट्र घोषणा गर्ने योजना रहेको जानकारी दिँदै बालविवाह, बालश्रम शोषण तथा बालबालिका बेचबिखन मुख्य चुनौतीका रुपमा देखा पेरेको बताउनुभयो । विसं २०६८ को जनगणनानुसार १८ वर्षमुनिका बालबालिकाको जनसङ्ख्या ४२ प्रतिशत छ ।
यसैबीच न्यायका लागि मानव अधिकार नामक संस्थाले सम्पूर्ण द्वन्द्वपीडितलाई न्याय दिन र दोषीलाई कारवाही गर्न माग गरेको छ । सो संस्थाले द्वन्द्वपीडितलाई न्याय र दोषीलाई कारवाहीका लागि आवश्यक कानून, प्रभावकारी आयोग बनाउन र न्याय सुव्यवस्था कायम गरी दण्डहीनताको अन्त्य गर्न माग गरेको छ ।
पीडकमाथि कानूनी दण्ड तथा पीडितको परिपूरण, स्वास्थ्योपचार र जीवनयापनको सुनिश्चितताको जिम्मा सरकारको भए पनि शान्ति सम्झौता भएको १४ वर्षका अवधिमा सकारले पीडितलाई झुक्याउने र थकाउने कामबाहेक केही नगरेको संस्थाले आरोप लगाएको छ ।