शशी लुमुम्बू | साहित्य | मंसिर ०६, २०७७
ढलिरहेछन् गर्लम्म एकाएक
बूढो रूखझैँ यी प्राचीन पहराहरू
दोभान नपुगिँदै फनक्क फर्किएर
सालघारीको उकालो चढिरहेछन्
ढाँडैढाँड लालसेनाजस्ता नदीहरू
अन्धाधुन्ध आँधीबेहरी छ
म हुरीचराको गीत
बसेर भीरको थाप्लोमा
बजाइरहेछु हुरीकै बाँसुरी
सपनाजस्तो पहाडी गाउँ
हराएजस्तो छ तुवाँलोभित्र
र त्यही गाउँबाट निस्किएर
दुःखका दर्दनाद लोकगीतहरू
परदेश हिँडिरहेछन् झिसमिसेमै
ठीक यसैबेला
जङ्गलबाट हुँडारका बथानहरू
पसिरहेछन् मधौरू गाउँतिर
ए हावाका आत्माहरू !
ए पानीका आत्माहरू !
ए भड्किरहेका पुर्खाका देहहरू !
कालो बादलको सृष्टि गर
गर, समुद्रीआँधीको आविष्कार गर
चट्याङ हान... चट्याङ !