हरिविनोद अधिकारी | साहित्य | मंसिर ०६, २०७७
हामी अहिले सबै कुरामा सङ्क्रमणको सेरोफेरोमा छौँ । अझ भनौँ सङ्क्रमणकालको मध्य विन्दुमा छौँ । अर्थात् एउटा पुरानो चलन छोडेर नयाँ चलनको स्थापना गरिरहेका छौँ । समाजको हरेक पक्षमा । धार्मिक पक्षमा, सांस्कृतिक पक्षमा, पारिवारिक चलनमा र दैनिक खानपानदेखि सबै रहन सहनमा । पुरानो पक्षलाई न त चटक्क छोड्न सकिन्छ, न त यथावत रुपमा मानेर हिँड्न नै सकिएको छ । केही अपबाधबाहेक पुरानो चलनलाई या त अवैज्ञानिक ठानेर वा धान्न नसकेर वा त्यसको महत्त्व बुझ्न नसकेर वा नचाहेर पनि ती, खास गरी संस्कृतिहरूको क्षयीकरण भइरहेको अवस्था छ ।
मान्छे नै यो जीव जगतको मुख्य पात्र हो । मान्छेले नै ईश्वरको स्थापना गरेको मान्दा पनि मान्छेका बानीहरू ठाउँ र समयअनुसार बदलिन्छन् । हामी पनि बदलिएका छौँ । मैले थाहा पाउँदा आमाहरू जब भान्सामा पस्नु हुन्थ्यो एउटा चोखो फरिया लपेटेर शरीरमा, त्यसपछि उहाँहरू भान्साबाट बाहिर आउनका लागि या त कसैले पालो दिनुपर्थ्यो या त सबैले खाइसक्नु पर्दथ्यो । मैले किन आमाहरू भनेको भने, हामी संयुक्त परिवारमा थियौँ । मेरो आमा, माहिली आमा अनि कान्छी आमाहरू त्यो बेलामा घरमा हुनुहुन्थ्यो र भान्सामा पालैपालो जानुहुन्थ्यो ।
सायद भात पकाउने पनि कुनै पालो थियो होला । माहिली आमा सबैभन्दा पुरानो बुहारी हुनुहुन्थ्यो घरमा किनभने मेरो पिताजीको पनि पहिलो श्रीमतीको निधन भएर मेरो आमा बिहे गरेको अनि कान्छाबाको पनि कान्छी आमाको निधन भएर अर्की कान्छी आमाको विवाह भएकोले माहिली आमा नाताले मेरो आमाको बहिनी भए पनि उमेरमा धेरै जेठी हुनुहुन्थ्यो ।
मेरो आमालाई उहाँले दिदी भनेको सुन्दा हामी केटाकेटीहरूलाई अचम्म लाग्थ्यो किनभने आमाभन्दा माहिली आमा उमेरमा धेरै देखिनु हुन्थ्यो । पारिवारिक समाज शास्त्रीय गतिशीलतामा के बुझ्न सकिन्छ भने जेठाले बिहे गर्ने महिला जेठी उमेरकै हुन्छन् र त्यो भन्दा कान्छो उमेरका केटाले बिहे गर्ने सानै उमेरका हुन्छन् भनेर दाजुकी श्रीमती भाउजू जसलाई आमा सरह भनिन्छ, अनि देवरले विवाह गरेकी महिला बहिनी हुनु स्वाभाविकै हो ।
बिहान भात पकायौँ हामी बाहुन केटाहरूले धोती फेरेर । रामेछापको जाडोमा धोती फेरेर पकाइयो चामलको भात र गुन्द्रुकको दाल पनि तरकारी पनि । अर्थात् गुन्द्रुक र भातको व्यवस्था भयो । खाने बेलामा नुन कम भएछ अनि कृष्णबहादुर थापा साथीले मलाई कोट्याएर भन्यो -हरि नुन कम छ हगि । नुन थपौँ न गुन्द्रुकमा । म धोती फेरेर खान बसेको । खाँदा नबोल्ने अनि क्षेत्री काजीले छोयो । मैले त्यो खाना खाइन । आज तर त्यो अवस्थाबाट भने धेरै परिवर्तन भइयो ।
तर समाजले के नियम बनायो भने जेठाजुकी श्रीमती जतिसुकै कान्छी उमेरकी भए पनि दिदी नै भनिने भयो किनकि जेठाजुको उमेरसँग त्यसलाई समान बनाइयो । आमाहरू जब भान्सामा पस्नु हुन्थ्यो, उहाँहरूलाई सबैभन्दा समस्या हुने भनेको शौचको हो । लघु शौच वा दीर्घ शौच वा लघुशङ्का वा दीर्घ शङ्काको बेलामा समस्या पर्ने नै भयो । अनि खान पनि त्यो समस्या हुन्थ्यो किनभने चुलामा गएर खानेको पछिल्लो व्यक्तिको खाना नख्वाई भान्सेले खाने सम्भावना नै हुँदैनथ्यो । अनि पेटको बिरामी हुने कारण सायद त्यही थियो । हामीले देख्दादेख्दै त्यो चलन आफैँ मासिएर गयो ।
त्यो चलनमा वैज्ञानिकता थियो तर व्यावहारिकता थिएन सायद ! वैज्ञानिकता यस कारणले थियो कि चोखो लुगा, गाईको गोबरले लिपेर अनि पोतेर मात्र खाना बनाउने ठाउँ चोखो पारिन्थ्यो अनि मात्र पकाउन पाइन्थ्यो । भाँडाहरू पनि खरानीले माझेको हुनुपर्थ्यो । अरु लुगा त लाउन नपाउने बेलामा जुत्ता वा चप्पल लगाएर खाना पकाउने वा खाना खान जाने कुनै सम्भावना नै थिएन ।
त्यसैले त्यसरी खाना बनाउने र खाना खान जाने ठाउँ शुद्ध अनि खाना खान जानेले पनि शुद्ध लुगा लगाएर मात्र चुलामा जान पाउने व्यवस्था अत्यन्त वैज्ञानिक रहेछ तर त्यहाँ अपनाइने कडा व्यवहारलाई बिस्तारै छोड्ने विद्रोह सुरु भयो र अहिले के छ मैले यहाँ भन्नै परेन । त्यो बेलामा जात पातको कुरा थियो । कसले छोएको खान हुने, कसले छोएको खान नहुने भन्ने अवैज्ञानिक र विभेदकारी चलन थियो जुन अहिले पनि यदाकदा छँदै छ ।
खास गरी ब्राह्मण र क्षेत्रीका छोराहरूको ब्रतबन्ध भएपछि कम्तीमा छ महिनासम्म माछा मासु खान नहुने , खाँदा बोल्न नहुने र सधैँ धोती फेरेर खाने चलन थियो । धेरै जसो क्षेत्रीहरूले धोती पाटा फेर्ने भनेर धोती त फेर्थे आफ्नो घरमा तर परदेशमा चाहिँ टोपी मात्र फुकालेर खाने चलन थियो । यसको कारण बताइन्थ्यो-क्षेत्रीहरू सामान्यतया सेनामा वा प्रहरीमा जाने भएकाले उनीहरूले यो व्रतलाई सधैँ पालना गर्न सक्दैनन् तर ब्राह्मण परिवारमा भने यो छुट थिएन पछिसम्म । चलन न हो, बिस्तारै परिवर्तन हुँदै आयो ।
खाँदा नबोल्ने चलन त कस्तो भयो भने बढीमा १२वर्षसम्म नबोल्ने अनि सुनको जिभ्रो दान गरेर बोल्न हुने भनिएको हो । २०१९ साल चैत्र २८गते ब्रतबन्ध गरेको हो मेरो तर आजसम्म मैले भात खाँदा बोलेको छैन । तर त्यो पनि कस्तो भयो भने मुग्लिङको होटेलमा भात खान बस्यो, कहिले भात मात्र दिन्छन् त कहिले दाल या तरकारी नै छैन । मुग्लिङ त एउटा उदाहरण मात्र हो, नबोल्नेलाई पर्ने समस्या बोलेर गर्ने काम त नहुँदा समस्या पर्ने नै भयो । मेरो जेठो छोरो पनि खाँदा बोल्दैन । म ठाउँ हेरेर भोज भतेरमा नबोलेर मिल्दैन ।
अनि मलाई अहिले पनि सम्झना छ, हामी ग्वाल्टारका विद्यार्थीहरू पढ्न भनेर रामेछाप गयौँ २०२३ सालको फागुनमा । भँगेरीका कृष्णगोपाल श्रेष्ठ ठुलाबाको घरमा बस्यौँ हामी सबै ग्वाल्टारका विद्यार्थीहरू । बिहान भात पकायौँ हामी बाहुन केटाहरूले धोती फेरेर । रामेछापको जाडोमा धोती फेरेर पकाइयो चामलको भात र गुन्द्रुकको दाल पनि तरकारी पनि । अर्थात् गुन्द्रुक र भातको व्यवस्था भयो । खाने बेलामा नुन कम भएछ अनि कृष्णबहादुर थापा साथीले मलाई कोट्याएर भन्यो -हरि नुन कम छ हगि । नुन थपौँ न गुन्द्रुकमा । म धोती फेरेर खान बसेको । खाँदा नबोल्ने अनि क्षेत्री काजीले छोयो । मैले त्यो खाना खाइन । आज तर त्यो अवस्थाबाट भने धेरै परिवर्तन भइयो । साँस्कृतिकरुपमा पनि त्यो चलन चलाएर बस्न सक्ने अवस्था छैन र जातभातको रुपमा विभेद गर्नुपर्ने बेला पनि होइन ।
म धर्म मान्छु पनि मान्दिन पनि । म धार्मिक हुँ पनि होइन पनि । तर म नास्तिक होइन । धार्मिक हुनु र आस्तिक हुनुमा फरक छ जस्तो लाग्छ । नास्तिक हुनु र अधार्मिक हुनुमा पक्कै फरक छ जस्तो लाग्छ । यो समस्या हामी सबैको हो । म आफूलाई जन्मसिद्ध हिन्दु धर्मावलम्बी ठान्छु तर हिन्दु धर्मले तोकेका कुनै पनि मानकलाई मैले कति पालना गरेको छु भन्ने मलाई नै थाहा छैन । सायद यो सबैमा देखिन्छ यदि आफूलाई धर्म र अधर्मको बिचमा उभ्याइरहनेहरूका लागि ।
धर्म के हो भन्ने कुरामा पनि विवाद छ तर गर्नै पर्ने भनेर समाजले वा राज्यले तोकेका काम गर्नु नै धर्म हो भनेर भन्यो भने पनि ठिकै होला । पहिले पहिले पाप र धर्मको एउटा सीमा बनाइयो जसले मानिसहरूलाई नैतिकवान् हुने बाटो सहज बनेको थियो । धर्म मान्ने नैतिकवान् मानिन्थ्यो भने धर्म नमान्ने पापी मानिन्थ्यो । एउटा खुकुलो समाजको खुकुलो तर सामाजिक बन्धनमा राख्ने चलन थियो । त्यसैलाई धर्मको रुपमा राखियो ।
अठार पुराणको अन्तमा व्यासले भनेको कुरा यहाँ प्रासङ्गिक होला-परोपकार नै पुण्य वा धर्म हो र परपीडन नै पाप हो । बिस्तारै शासन चलाउनेहरूले समाजलाई आफ्नो अनुशासनमा राख्नका लागि र सजिलो हुने गरी जुन नियमहरू बनाउन थाले, त्यही नै अकाट्य कानुन बन्यो । यसको एउटा उदाहरण अहिले भारतमा देखिएको छ-इस्लाम कानुनमा गर्न लागिएको परिवर्तनका बारेमा कि श्रीमानले तीन पटक तलाक तलाक तलाक भनेपछि स्वतः तलाक वा सम्बन्ध विच्छेद हुनेमा अब त्यसको पनि पुनरावलोकन हुन सक्ने व्यवस्था हुनु ।
अर्थात् हिजो इस्लाम महिलाहरूले पढेका हुँदैनथे, बाहिरी जीवनमा गएका हुँदैनथे र पो जस्तोसुकै दबाबलाई पनि कानुनको रुपमा मान्थे, अब भारत, पाकिस्तान, बङ्गलादेश र अरु इस्लामहरू बाहुल्य भएका इन्डोनेसिया, मलेसियामा महिला निर्णायक ठाउँमा पुग्न थालेपछि बिस्तारै सरियत कानुनमा पनि महिला मैत्री प्रावधान राख्न थाल्नेछन् जसलाई परिवर्तनको रुपमा लिन सकिन्छ । संसारका सबै धर्ममा अहिले संक्रमणकालको बेला छ । सबै संस्कृतिका सङ्क्रमणको बेला छ । नेपालका मन्दिरहरूमा , भारतका मन्दिरहरूमा घाँस पलाएको देखिन्छ, सामान फालिएको देखिन्छ भनेजस्तै पश्चिमा देशहरूमा पनि चर्चको रेखदेख पहिलेको जस्तो पक्कै हुँदैन होला भन्ने अनुमान गर्न सकिन्छ ।
सांस्कृतिक क्रान्तिका बेलामा ध्वस्त पारिएका बौद्ध विहार र स्तूपहरूको चीनले अहिले पर्यटकका लागि भनेर मरम्मत सम्भार गरिरहेको छ । तिब्बतमा जाने मानिसहरूले हेर्ने भनेको नै बुद्ध धर्मको विकासको पक्ष हो जुन त्यहाँको जीवन संस्कृति बनेको छ । नेपालको त कुरै भएन, हामी झन् संक्रमणकालमा छौँ । जस्तो कि बाहुन तथा क्षेत्रीहरूका लागि ब्रतबन्ध एउटा फगत गर्नुपर्ने तर नगर पनि हुने जस्तो भएको छ । न त ब्रतबन्ध गर्न छोड्न सक्छन्, न त त्यसको जुन सांस्कृतिक महत्त्व हो ,त्यसको अर्थ नै राख्न सकेको अवस्था छ । पहिले ब्रतबन्ध शिक्षा आर्जनको पहिलो अत्यावश्यक आधार थियो ।
वेद पढ्नका लागि व्रतबन्धको जरुरत हुन्थ्यो । शिक्षाका लागि गुरुकुलमा जाने पहिले सर्त नै तोकिएको उमेरमा ब्रतबन्ध गरिनु आवश्यक थियो । त्यही अनुसारको व्यवस्था हुन्थ्यो । अहिले विद्यालय शिक्षामा कुनै जातीय विभेद पनि रहेन र बाल मनोविज्ञानका आधारमा शिक्षा दिने चलन आयो जसमा व्रतबन्धभन्दा आवश्यक उमेरको मात्र कुरा आयो । विवाहका लागि ब्रतबन्ध आवश्यक पर्ने संस्कृतिमा त्यो काम जरुरी पनि ठानियो र अनावश्यक बोझको रुपमा पनि मानिँदै छ किनभने व्रतबन्धले जुन सन्देश दिइएको हुन्थ्यो , त्यसमा आमूल परिवर्तन आयो ।
ब्राह्मणले के खाने के नखाने भन्ने हुन्थ्यो पहिले जुन कुरा अहिले उखानका रुपमा सुन्न पाइन्छ । जस्तो कि बाहुनले च्याउ खाओस् न, स्वाद थाहा पाओस् जस्ता । हामीले थाहा पाउँदा हाम्रा घरमा खसीको बाहेक मासु पाक्दैनथ्यो । कुखुराको मासु पाक्ने त कुरै भएन, कुखुराले छोए पनि नुहाउने चलन थियो । मैले पनि कुखुराको मासु खाएको थिइन पछिसम्म । कुखुराको फुल पनि खाएको थिइन । एक पटक काकाहरू (ब्यागबहादुर घिमिरे र सीताराम बराल) काठमाडौँमा आउनु भयो । त्यो ताक एउटा चलन के थियो भने भर्खर घरबाट आउनेले खाजा ख्वाउने ।
सामान्यतः मिठाइ या समोसा अनि भोटाहिटीको जेरी र हलुवा खाने ख्वाउने चलन थियो । सीताराम काका र ब्यागबहादुर काकाले पुतलीसडकमा मासु र चिउरा खाने प्रस्ताव गर्नुभयो । मैले पनि हुन्छ भनेँ सायद हामी अरु पनि थियौँ । काकाले के भन्नुभयो, पसलेले सेकुवा पहिले अनि मासु चिउरा ल्यायो । मलाई स्वाद खसीको भन्दा फरक लाग्यो तर काकाले दिएको अर्डर हुनाले मैले कुनै शङ्का गरिन र खाएँ । पछि थाहा भयो मैले पहिलो पटक कुखुराको मासु खाएछु थाहै नपाई । पछि काकाले थक्क थक्क मान्नु भयो ।
वास्तवमा काकालाई के लागेका रहेछ भने काठमाडौँमा बसेर पढ्नेले कुखुरा खाएकै होला भन्ने । तर मैले पहिलो पटक कुखुराको मासु थाहै नपाई खाएको थिएँ । खाँदा कता कता परेवा जस्तो त लागेको थियो तर काकाले मगाउनु भएकाले खसीकै होला भनेर पत्याएको थिएँ किनभने पहिले पहिले त्यही होटेलमा जाँदा हामी खसीको मासु है भनेर खान्थ्यौँ ।
अनि कुखुराको फुल खाँदा पनि त्यस्तै अनुभव छ बीएड पढ्दा । म पुस्तकालय समितिको सदस्य थिएँ जसमा शिक्षाका डिन अध्यक्ष र सहायक डिन उपाध्यक्ष थिए । मेरो आदरणीय गुरु माधवप्रसाद अधिकारी पनि सदस्य हुनुहुन्थ्यो । खाजा आयो बैठकको बिचमा नै । हरियो रङ्गको रोटीजस्तो, भनोैँ त बारा जस्तो रोटी आयो । मलाई लाग्यो के होला तर गुरुले कपाकप खानु भयो । मैले सम्झेँ गुरु पनि धार्मिक प्रवृत्तिको हुनुहुन्छ, पक्कै त्यस्तो कुरा होला जसलाई खान हुन्छ । तर मलाई नयाँ स्वाद आयो बाराको जस्तो तर फरक स्वाद । सानो ठिमी क्याम्पसको क्यान्टिनमा बनाएको कुरा थियो, खाएँ । नयाँ स्वादको रोटी । के होला भनेर सोध्न पनि भएन बैठकमा ।
अनि भोलिपल्ट क्यान्टिनमा त्यही परिकार देखेँ अनि सोधेँ- त्यो रोटी के हो , केको हो ? अनि ती क्यान्टिनकी दिदीले मलाई भनिन् - बडा अम्लेट खान्न भन्थे बाजे, हिजो त खाजा खाएछन् नि कुखुराको फुलको । म उसिनेको अन्डा, अम्लेट खान्थेँ क्यान्टिनमा, त्यो कुरा ती दिदीलाई थाहा थियो तर छक्क परेकी थिइन् दिदी कि कुनै पनि खाजाको भाग फर्केको थिएन क्यान्टिनमा । अनि उनले बुझिछन् -बाजेले बारा भनेर खाएछन् । वास्तवमा फुल स्पष्ट देखिने गरी बनाएको अम्लेट त्यो थिएन, धनियाँ फिटेर बनाएको , प्याज हालेर बनाएको रोटी जस्तै थियो । यसरी मैले कुखुराको फुल र मासु खान पुगेँ । त्यसपछि त खाइयो पछिसम्म ।
मैले यो सबै के भन्न खोजेको हो भने समयले गति लिने रहेछ र संस्कृतिमा परिवर्तन गर्ने रहेछ । अनि अहिलेको बेला भनेको संस्कृतिमा पनि परिवर्तन हुन थालेको बेला हो । तर मलाई के कुरामा चाहिँ विश्वास छ भने संस्कृतिलाई धर्मका रुपमा लिनु हुँदैन र संस्कृति पनि समयअनुसार गतिशील हुने गर्छ तर संस्कृतिको रुपमा परिवर्तन हुन्छ । संस्कृति त मर्दैन मर्दैन , रूप परिवर्तन हुन्छ । सधैँ पहिलेको अवस्थामा रहँदैन ।
मैले थाहा पाएको यी ६० वर्षमा धेरै परिवर्तन भए र अझ कति परिवर्तन अवश्यम्भावी छन् पनि तर संस्कृतिको बीजारोपण जुन समाजमा भएको थियो हजारौँ वर्ष पहिलेदेखि तर त्यो मर्दैन , रूप परिवर्तन भने भइरहने क्रम यथावत् रहनेछ । क्रमशः