लोकसंवाद संवाददाता | कारोबार | मंसिर १०, २०७७
काठमाडाैं । स्थानीय बजारमा आज पनि सुनको भाउ ओरालो लागेको छ । कोरोना भाइरसविरुद्धको खोपले क्रमशः सफलता हासिल गरेको समाचार अन्तरराष्ट्रिय रुपमा नै सार्वजनिक भएपछि विश्वव्यापी रुपमा नै सुनको भाउ क्रमशः ओरालो लागेको छ ।
प्रभावस्वरुप नेपाली बजारमा समेत पहेंलो धातुको भाउमा ह्रास आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले घटेको छ । महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोवार भएको छ । मङ्गलबार प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोवार भएको छापावाला सुन आज एक हजार रुपैयाँले घटेको हो ।
यस्तै मङ्गलबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको तेजाबी सुन पनि आज प्रतितोला एक हजार रुपैयाँले ओरालो लागेर ९१ हजार रुपैयाँमा कारोवार भएको छ ।
यस्तै चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ ले घटेको छ । मङ्गलबार प्रतितोला एक हजार १८० रुपैयाँमा कारोवार भएको चाँदी आज भने प्रतितोला एक हजार १७५ रुपैयाँमा कारोवार भएको छ । केही समय पहिले सुुनको भाउ प्रतितोला एक लाख दुई हजार रुपैयाँसम्म पुगेको थियो ।