लोकसंवाद संवाददाता | कारोबार | मंसिर १०, २०७७
काठमाडौँ । चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो चार महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा भने वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चार महिनाको तथ्याङ्कअनुसार १० प्रतिशत आयातमा कमी आउँदा १० प्रतिशतले नै निर्यातमा वृद्धि भएको हो ।
भन्सार विभागको तथ्याङ्कमध्ये चालू आवको पहिलो चार महिनाको अवधिमा चार खरब दुई अरबको विदेशी वस्तुको आयात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा १० दशमलव ६२ प्रतिशतले कमी हो । यसैगरी चार महिनाको अवधिमा ४० अरब २० करोड रुपैयाँको वस्तु निर्यात भएको छ । यो गत आवको यसै अवधिको तुलनामा १०.८१ प्रतिशतले बढी हो ।
तथ्याङ्कानुसार चार महिनाको अवधिमा चार खरब ४२ अरब ६९ करोड रुपैयाँ को वैदेशिक व्यापारबाट नेपालले तीन अरब ६२ करोड रुपैयाँ घाटा बेहोरेको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा १२.४९ प्रतिशत गिरावट हो । गत आवको सोही अवधिमा चार खरब ८६ अरब ५७ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार हुँदा चार खर्ब १४ अरब रुपैयाँ बराबरको व्यापार घाटा थियो । गत आर्थिक वर्षको चैतदेखि घट्दो क्रममा रहेको नेपालको आयात व्यापार असोजमा एकै महिनामा एक खरब १३ अरब रुपैयाँको वस्तु आयात भएकोमा कात्तिक महिनामा पुनः घटेको भन्सारले जनाएको छ ।