आज मानवनिर्मित यान सूर्यको सबैभन्दा नजिक पुग्ने

आज मानवनिर्मित यान सूर्यको सबैभन्दा नजिक पुग्ने

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  चैत २५, २०७५

आज ८ अप्रिल २०१९ को दिन मानव निर्मित कुनै यान पहिलोपटक सूर्यको सबैभन्दा नजिक पुग्न गइरहेको छ । त्यहाँको तापमान झण्डै १३०० डिग्री सेल्सियस हुनेछ ।

मानव सभ्यता विकास क्रममा आज एउटा नया कीर्तिमान स्थापित हुन गइरहेको छ ।

 

अन्तरिक्ष एजेन्सी नासाले पठाएको पार्कर सोलर प्रोब इतिहासमै पहिलोपटक सूर्यको सबैभन्दा नजिक पुग्ने नासाले दावी गरेको छ ।

गत वर्षको १२ अगस्तमा प्रक्षेपण गरिएको पार्कर सोलर प्रोब आज पृथ्वीबाट सर्वाधिक टाढा झन्डै १२ करोड ५६ लाख किमि दुरीमा हुनेछ ।

पृथ्वी र सूर्य बीचको औसत दूरी १४ करोड ९६ लाख किमि हो । यस हिसावले आज पार्कर सोलर प्रोब र सूर्य बीचको दूरी जम्मा २ करोड ४० लाख किमि हुनेछ । 

यो भन्दा पहिला सूर्यको नजिक पुग्ने यान हेलिओस–२ थियो । १९७६ मा हेलिओस–२ ले ४ करोड ३२ लाख किमि परबाट सूर्यको परिक्रमा गरेको थियो । 

पार्कर सोलर प्रोबले सन् २०२४ सम्म सूर्यको परिक्रमा गरिरहने छ ।  आफ्नो यात्राको अन्तिम चरणमा यो यान सूर्यको झनै नजिक पुगी ( सूर्य सतहसँग झण्डै ६१ लाख किमि नजिक) जलेर नष्ट हुनेछ । 

आज सूर्यको नजिक पुग्ने बेला (२ करोड ४० लाख किमि टाढाबाट परिक्रमा गर्दा) यसले गर्दा १३०० डिग्री सेल्सियसको तापमानवाट गुज्रनु पर्ने हुन्छ । 

नासालाई आफ्नो यानले यतिको तापमान सहन गर्न सक्ने विश्वास छ । नासाका अनुसार १३०० डिग्री बाहिरी तापमान हुँदा पनि यान भित्रको तापमान २९ डिग्री सेल्सियस यथावत रहनेछ । मानवताको इतिहासमा यति उच्च तापक्रमसम्म कुनै पनि यान यो भन्दा पहिला पुगेको छैन । 

सोलर पार्कर प्रोबले १३०० डिग्री तापमानबाट गुज्रिदै त्यहाँको तापमान सम्बन्धी तथ्यांक पृथ्वीस्थित नासा केन्द्रलाई पठाउने छ ।

आजै अन्तरिक्ष विज्ञानको इतिहासमा अर्को रेकर्ड पनि बन्ने निश्चित छ । सूर्यको नजिक पुग्ने क्रममा यस यानको गति सूर्यको गुरुत्वाकर्षणका कारणले अप्रत्याशित रुपमा वृद्धि हुन्छ । सोलार प्रोब

आज ३ लाख ४५ हजार किमि प्रति घण्टाको गतिलाई छुन पुग्छ ।  यो गति भनेको झण्डै ५७५२ किमि प्रति मिनेट अथवा ९६ किमि प्रति सेकेण्ड हुन आउँछ । 

 यस भन्दा  पहिला गतिको रेकर्ड वृहस्पति ग्रहको परिक्रमामा पठाइएको ‘जूनो’ यानको नाममा रहेको थियो । ‘जूनो’ ले २ लाख ६६ हजार किमि प्रति घण्टाको गति छोएको थियो ।

पार्कर प्रोबले पठाएको जानकारीले बैज्ञानिकहरुलाई सूर्यको कोरोनाको तापक्रमबारे बुझ्न सहयोग मिल्ने छ ।