बाबुहरि ज्ञवाली | जीवनदर्शन | चैत २५, २०७५
यस भौतिक संसारमा आत्मारुप परमात्मा हाम्रो यस नश्वर शरीर भित्र जीवन शक्तिको रुपमा रहेका छन् । यसको अस्तित्वलाई विचार नगरी मानिसले आफूलाई ‘म’ भन्ने गर्दछ । ऊ नाम, स्वरुप र मोहमा अल्झिएको छ । ‘म’ हात हौइन, म पाउ होइन, सिर होइन, यो सम्पूर्ण शरीर पनित ‘म’ होइन । नाम स्वरुप ममा यी सबै आरोपित छन् र मानिसले मेरो मेरो भन्ने गर्दछ । वास्तवमा म को यी नामधारीसँग मेरो कुनै सम्बन्ध छैन । यो आत्मा परमेश्वरकै अंश हो, उसको स्वरुप हो । जब सम्म आत्माको सम्बन्ध यस जड देहसँग रहन्छ ।, त्यस अवस्थामा यसलाई जीवाात्मा भनिन्छ । प्रकृतिका साथमा रहेको हुनाले यसले सुख दुःखको पनि अनुभव गर्दछ । प्रकृतिबाट म भन्ने कुरा हटाएर सुख दुःखरहित आनन्दमय स्थितिमा पुग्नका लागि ध्यानयोगको आवश्यकता पर्दछ । अतः मानिसले ध्यानयोगको सहायताले आफूलाई त्यस आध्यात्मिक व्यक्तिको रुपमा त्यस परमात्मालाई चिन्नु पर्दछ जसले उसलाई यस संसारमा आश्रय दिएको छ र सृष्टिको आरम्भ देखिनै मानव जातिको संरक्षण गर्दै आएको छ ।
प्राणीका शरीर भित्र रहेको त्यस अदृश्य शक्तिस्वरुप परमात्मालाई साक्षात्कार गर्ने उपाय केही छ कि भन्ने प्रश्नमा प्राचीन ऋषि मनिहरु तथा अनेक विद्वान योगी सन्तहरुले वताएका अनेकौं उपाय छन् – जप, तप, भक्ति, ध्यान तथा प्रतिक्षण उसको उपस्थितिको अनुभूति । ईश्वरले हामीलाई काम गर्नको लागि यो मानव शरीर दिएको छ, केही सोच विचार गर्नको लागि बृद्धि दिएको छ, यद्यपि मानिस समाजबाट अलग रहन सक्दैन, समाज भित्र रहेर उसले निर्वाहा गर्नुपर्ने अनेक दायित्वहरु पनि छन् तर पनि ती दायित्वहरुको निर्वाहा गर्दा गर्दै पनि आफ्नो मन मन्दिरमा उसले प्रभुलाई सर्वोपरि स्थान दिन सक्नुपर्दछ ।
मानव मनका चित्तवृत्तहरु अत्यन्त चंचल हुन्छन् । ती चित्तवृत्तिहरुमा उठ्ने तरंग हाम्रो शरीरमा रहेको प्राणऊर्जाद्धारा अभिप्रेरित हुन्छन् । जुनसुकै अवस्थामा पनि आध्यात्मिक आदर्शका विरोधी प्रभोभनहरुको सामना गर्दै ईश्वर प्रति अविचलित निःस्वार्थ भक्तिभावको विकास गर्नु जरुरी हुन्छ । यसको लागि उपासकले आफ्नो प्रभुप्रतिको तादात्म्य सम्बन्धको आकांक्षालाई तीव्र पार्नु पर्दछ र ‘म प्रभुको सनातन अंश हुँ, प्रभुको शक्ति ममा निहित’ छ भन्ने पूर्ण विश्वास लिएर ध्यान गर्नुपर्छ ।
राग द्वेष, आलस्य, अशान्ति, शंका, सन्देह आदि । वास्तवमा शरीरभित्रको मेरुदण्डीय चक्रहरुमा के भइरहेको हुन्छ भन्ने कुराको अनुभव नभएर नै यस्तो स्थिति उत्पन्न भएको हुन्छ । यही स्वभावमा परिवर्तन ल्याउन ध्यान गर्नु आवश्यक छ ।
परमात्माका अनेक स्वरुप छन्, कुन स्वरुपको ध्यान गर्ने भन्ने प्रश्नमा परमात्माका मुख्य दुई दिव्य स्वरुप छन् – एक व्यक्त अर्को अव्यक्त । अव्यक्तका पनि दुई भेद छन् – एक अव्यक्त निर्गुण र अर्को व्यक्त सगुण । सगुण नियामक रुपमा ईश्वर हो, निर्गुण परमात्मा रुपमा । निर्गुण अवस्थामा शक्तिको क्रिया शक्तिमानमा नै विलीन हुन्छ त्यसैलाई परब्रहम भन्दछन् । शक्ति क्रियाशील भएको अवस्थामा ऊ सगुण रुपमा रहन्छ । यस रुपमा विष्णु, शिव, ब्रहमा देवी, सूर्य, इन्द्र आदि र राम, कृष्ण आदि अनेक अवतार उसका दिव्यस्वरुप हुन् । सगुण स्वरुपमा होस् बा निर्गुण रुपमा, केही फरक पर्दैन । प्रभुको सेवा भक्ति ध्यान स्वकर्मद्वारा नै हुनसक्छ, त्यसको लागि ध्यानयोगको मार्ग अवलम्बन गर्नु सरल उपाय हो ।
ध्यानका अनेक प्रविधिहरु छन् – हंस प्रविधि, ऊँ प्रविधि, प्राणयाम प्रविधि आदि । जुन सुकै कार्य गर्दा पनि त्यस कार्यमा सफलता पाउन एकाग्र्रताका सम्पूर्ण शक्तिहरुलाई एक विन्दुमा केन्द्रित गर्ने कला जान्नु आवश्यक हुन्छ । ध्यान गर्नु कुनै गाह्रो कुरा होइन, केवल तटस्थभावले सीधा रहेर सुखाशनमा बसी ईश्वरको चिन्तन गर्नुपर्दछ । स्वास प्रस्वास प्रक्रियाबाट शुरु गरी स्वासलाई नियन्त्रण नगरी जसरी आइरहेको छ, गइरहेको छ, त्यसलाई द्रष्टाभावले साक्षीभावले विना कुनै इच्छा, केवल थाहा पाइराख्नु पर्दछ । यस कार्यमा अनेक अवरोधहरु पनि आउन सक्छन् – राग द्वेष, आलस्य, अशान्ति, शंका, सन्देह आदि । वास्तवमा शरीरभित्रको मेरुदण्डीय चक्रहरुमा के भइरहेको हुन्छ भन्ने कुराको अनुभव नभएर नै यस्तो स्थिति उत्पन्न भएको हुन्छ । यही स्वभावमा परिवर्तन ल्याउन ध्यान गर्नु आवश्यक छ ।
ध्यान गर्नुको महत्वपूर्ण कुरा स्वयंमलाई ईश्वरप्रति निःशर्त समर्पण गर्नु हो । उपासकले घण्टौ लगाएर ध्यान गर्नसक्छ परन्तु यदि ऊ भौतिक वस्तुहरुको आकांक्षामा अल्मलिएको छ भने आफूलाई पूर्ण रुपले ईश्वरप्रति समर्पित गर्न सक्दैन । समर्पणको अर्थ सामान्य बुद्धिको प्रयोग गर्न छाड्नु भन्ने होइन । ईस्वर सार्वभौमिक दैवी तत्व हो । उसको सृष्टि मायाद्वारा निर्मित छ, अतः व्यवहारमा सामान्य वृद्धिको प्रयोग पनि आवश्यक हुन्छ ।
जसले यी सबै कुरा बुझेर पूर्णरुपले आफ्नो हृृदयमा ईश्वर प्राप्तिको आकांक्षा राख्दछ उसले परमेश्वरको दिव्य उपस्थितिको अनुभव गर्नसक्छ । जति जति भक्तले हृदयमा ईश्वरसँगको गहिरो सम्बन्ध स्थापित गर्दै जान्छ त्यति त्यति उसमा भक्ति भाव बढ्दै जान्छ र अन्तमा ईश्वरसंगको उसको अटल प्रेम र भक्तिले ईश्वरको सान्निध्य प्राप्त गर्न ऊ सफल हुन्छ ।
याे पनि
मनलाई नियन्त्रण गर्नु सजिलो नभएपनि असम्भव होइन
ध्यान त तपाई पनि गर्नुहुन्छ, केही कमी छ कि तपाईँको ध्यानमा !