प्राविधिक शिक्षाको अध्ययन अध्यापनमा  जोड : डा कँडेल

प्राविधिक शिक्षाको अध्ययन अध्यापनमा  जोड : डा कँडेल

लोकसंवाद संवाददाता  |  समाज  |  मंसिर १४, २०७७

धादिङ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले  प्राविधिक शिक्षाको अध्ययन अध्यापनमा  जोड दिन नीलकण्ठ क्याम्पसलाई आग्रह गर्नुभएको छ । 

नीलकण्ठ बहुमुखी क्याम्पसको क्याम्पससभाको दोस्रो बैठकलाई शनिबार सम्बोधन गर्दै उहाँले प्राविधिक विषय इञ्जिनीयरिङ र चिकित्सक विषयको अध्ययन थप गर्नुपर्छ भन्नुभयो ।  बजारमा प्राविधिक विषयको अध्ययन गर्ने जनशक्तिको माग धेरै भए पनि पढाइ नभएका कारण मागसमेत परा गर्न नसकेको यसतर्फ लाग्नुपर्ने उपाध्यक्ष डा कँडेलको भनाइ छ । 

कार्यक्रममा सांसद खेमप्रसाद लोहनीले जिल्लाको शिक्षाको विकास क्याम्पसले गरेकोले यसलाई सबैको पहुँचमा हुनेगरी उपयोगी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।  सञ्चालक समितिका अध्यक्ष रामनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न क्याम्पससभामा क्याम्पस प्रमुख नवराज शर्माले रणनीतिक योजना र शैक्षिक गतिविधिबारे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

नीलकण्ठ क्याम्पसमा ९८९ विद्यार्थी रहेका छन् । प्राविधिक शिक्षा शुरुआतका लागि आवश्यक प्रक्रिया अघि बढाउने र  सहकारीसम्बन्धी नयाँ पाठ्यक्रम निर्माण गर्र्ने आधार तय गर्ने क्याम्पससभाले निर्णय गरेको छ । 
       
जिल्लाको पहिलो सामुदायिक सो क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा शम्भुुकुमार श्रेष्ठ चयन हुनुभएको छ । आगामी चार वर्षका लागि उहाँलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । उहाँ क्याम्पस स्थापनाकालका क्याम्पस प्रमुख हुनुुहुन्थ्यो । क्याम्पस सञ्चालक समितिको बैठकले क्याम्पस प्रमुखमा नवराज शर्मालाई निरन्तरता दिने निर्णय गरेको छ ।