लोकसंवाद संवाददाता | समाज | मंसिर १५, २०७७
बागलुङ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिकामा सडक कालोपत्र गर्न थालिएको छ । जिल्लाका अधिकांश स्थानीय तहले पालिकाको केन्द्रदेखि वडा कार्यालय पुग्ने सडक कालोपत्र गर्ने योजनाअनुसार सडक स्तरोन्नति गर्दै आएका छन् । सो गाउँपालिकाको केन्द्रबाट वडा नं ७ रेश पुग्ने सडक पहिलोपटक कालोपत्र गर्न थालिएकोे होे ।
यही मङ्सिर मसान्तसम्म गाउँपालिकाको कार्यालयदेखि एक्लेखेतसम्मको ४०० मिटर सडक कालोपत्र भइसक्ने र वडा कार्यालयसम्म पुग्ने चार किलोमिटर कालोपत्रका लागि धमाधम पूर्वाधार निर्माण भइरहेको गाउँपालिकाका अध्यक्ष अमर थापाले जानकारी दिनुभयो । 'दुई हप्ता भित्रै गाउँपालिकामा पहिलोपटक सडक कालोपत्र हुनेछ, उहाँले भन्नुभयो, 'सोही सडकको थप चार किमी सडक कालोपत्रका लागि तीन महिनादेखि पूर्वाधारको काम भइरहेको छ ।' गण्डकी प्रदेश सरकारको ८० लाख रुपैयाँमा पहिलो चरणमा कालोपत्र थालिएको छ ।
सङ्घीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत बजेटमा रेश पुग्ने सडक कालोपत्रका लागि धमाधम पूर्वाधार निर्माण भइरहको काठेखोला–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो । उहाँले गाउँपालिकामा नै पहिलोपटक रेश पुग्ने सडकबाट कालोपत्रको काम थालिएको बताउनुभयो । 'गाउँपालिकाभित्र पहिलोपटक समपूरक बजेटको रकमले रेश जाने सडक कालोपत्र हुन थालेको छ', उहाँले भन्नुभयो, 'कम्तीमा वडा कार्यालयसम्म कालोपत्र पुर्याउने योजना साकार हुने देखिएको छ ।'
चार महिना अगाडि जोशी÷निसान÷आचार्य जेभी निर्माण सेवासँग रु छ करोड ७१ लाख ४५ हजार ५९८ लागतमा ठेक्का सम्झौता गरी निर्माण अगाडि बढाइएको छ । उक्त सडक २०७९ जेठ २६ सम्म कालोपत्र भइसक्नुपर्नेछ । अहिले एक्लेखेतदेखि जिरेदीसम्म सडक चौडा पार्ने तथा ज्याविन भर्ने काम भइरहेको छ । रेश जाने सडक रेश खोलामा पक्की पुल नहुँदा वर्षात्का यातायातका साधन चल्न नसक्ने समस्यालाई मध्यनजर गर्दै गत वर्षदेखि मोटरेबल पुलसमेत निर्माण थालिएको छ ।
गाउँपालिकाका अनुसार उक्त सडकलाई गाउँपालिकाको गौरवको सडकका रुपमा लिइएको छ । चार किमी, ड्रेन, कल्र्भट तथा पर्खाललगायतका संरचना निर्माण भइरहेको छ । उक्त सडक छ मिटरको चौडाइ हुनेछ । कालोपत्र हुने र खोलामा मोटरेबल पुल जस्ता विकास निर्माण हुँदा स्थानीय उत्साहित भएका छन् ।