लोकसंवाद संवाददाता | समाचार | चैत २६, २०७५
बर्दिया । मुलुकका सरकारी चिकित्सकहरू आकस्मिकबाहेकका सेवा बहिष्कार गर्दै आन्दोलनमा लागिरहेका बेला बर्दियाका चिकित्सकले भने अवज्ञा गरेका छन् । जिल्लाको ५० शय्याको एक मात्र अस्पताल उपचारका लागि आएका बिरामीले भरिभराउ छ ।
बहिरंग सेवा (ओपीडी) बिहान १० देखि ४ बजेसम्म नियमित सञ्चालन हुँदै आएकामा बिरामीको चाप बढेपछि साँझ ५ बजेसम्म खुला राखिएको छ । राजापुर तथा छिमेकी जिल्लाका बिरामी उपचारका लागि आएको डा. नेपोलियन दासले बताए ।
जिल्ला अस्पतालमा आईसीयू नभएका कारण सेफसिसका एक बिरामीलाई अन्यत्र रिफर गरिएको उनले जनाए । आईसीयू कक्ष भए जटिल बिरामीलाई अन्यत्र पठाउने अवस्था नरहेको चिकित्सक बताउँछन् । बिरामीको अवस्था र चापलाई मध्यनजर राख्दै अस्पताल सञ्चालनमा ल्याएको चिकित्सकले बताए ।
गर्मीयाम सुरु भएयता ओपीडीमा दैनिक २ सय ५० मौसमी बिरामी आउने गरेको अस्पतालले जनाएको छ । सुत्केरी गराउनेदेखि लिएर ठूलासाना शल्यक्रिया र इमर्जेन्सी सेवासमेत करिब ३० देखि ४० बिरामीको उपचार भइरहेको छ । एक चिकित्सकले बिरामीको अवस्था देखेपछि मनले नमानेर बाध्य भई सबै सेवा सञ्चालन गरेको जनाए । आजको कान्तिपुर दैनिकमा खबर छ ।