लोकसंवाद संवाददाता | समाचार | मंसिर १८, २०७७
बागलुङ । न्यायपालिकामा हुनसक्ने विकृति विसङ्गति अनियमितता तथा बिचौलियाबाट हुने प्रभाव कम गर्न गठित अध्ययन कार्यदलले बागलुङका सरोकारवालासँग छलफल गरेको छ ।
सर्वोच्च अदालतले गठन गरेको उक्त समितिका सदस्य तथा सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतले बुधबार उच्च अदालत बागलुङसहित पर्वत, बागलुङ र म्याग्दीका जिल्ला न्यायाधीश, बार, सुरक्षा अधिकारी, कर्मचारी, पत्रकारलगायतसँग भेट्नुभएको हो ।
अदालतमा हुने ढिलासुस्ती अन्त्य गर्ने, बिचौलियाका कारण न्याय सम्पादनमा असर परे नपरेको बुझ्ने तथा अन्य विकृति विसङ्गति के हुन सक्छन् भनेर छलफल गरेको उहाँले बताउनुभयो । न्यायाधीश राउतले न्यायपालिकाको आस्था जोगाउन र आम जनतामा न्यायपालिकामाथिको विश्वास कायम राख्न समितिले अध्ययन, छलफल र देशव्यापीरूपमा सुझाव सङ्कलन गरेको बताउनुभयो ।
'आम नागरिकको न्यायमा पहुँच बढाउन के गर्न सकिन्छ भनेर छलफल गर्दैछौँ', राउतले भन्नुभयो, 'नागरिकको सही दृष्टिकोणअनुसारको सुझाव पेश गर्छौँ ।' उक्त सुझावबारे सर्वोच्चको पूर्ण इजलासले छलफल गर्ने र देशभरका न्यायालयमा सुधार ल्याउने उहाँले बताउनुभयो ।
बुधबारै उहाँले कर्मचारीको बैठकमा न्यायालयमा अनियमितता रोक्न आग्रह गर्नुभयोे । उहाँले कानूनअनुसारको न्यायसम्पादनको काम सफल पार्न कर्मचारीले खेल्नुपर्ने भूमिकाबारे पनि प्रष्ट पार्नुभएको थियो । अभियानका क्रममा रजिष्ट्रार लालबहादुर कुँवरले पनि देशभरको सुझावबाट निस्कने निष्कर्षको आधारमा अदालतको सुधारको कार्ययोजना बनाउने बताउनुभयो । न्यायाधीश राउतले पत्रकारसँग पनि छलफल गर्नुभएको थियो ।