लोकसंवाद संवाददाता | समाज | मंसिर १८, २०७७
दैलेख । पुष्पलाल मध्यपहाडी राजमार्गको दैलेख खण्डको काम कछुवा गतिमा सीमित रहेको छ । काम शुरु भएदेखिनै ट्र्याक खोल्ने, ग्राभेल गर्ने र पिच गर्ने चरणबद्धरूपमा हुँदै आएको भए पनि गतिमा ढिलाइ भएको छ । आयोजनाले सडकको सबै पूर्वाधारको तयारीपश्चात् विसं २०७३ देखि मात्रै कालोपत्रेका लागि ठेक्का खोलिएको दैलेख खण्डमा पर्ने १२५ किलोमिटर सडकमध्ये २५ किलोमिटर मात्र कालोपत्रे भएको छ । अब काम धमाधम अगाडि बढिरहेको मध्यपहाडी आयोजना कार्यालय दैलेख प्रमुख डा अर्जुनकुमार बमले बताउनुभयो ।
दुई वटा पक्की पुलसहित १२ वटा ठेक्का अहिले सञ्चालनमा आएका छन् । काम शुरु भएदेखि यो वर्षसम्मको ठेक्कामा कूल चार अरब २७ करोड रुपैयाँको लागतमा विभिन्न स्थानमा काम शुरु गरिएको छ । अहिलेसम्म एक अरब ३४ करोड रुपैयाँ भुक्तानी भइसकेको आयोजनाले जनाएको छ ।
मध्यपहाडी राजमार्ग आयोजना कार्यालय दैलेखका प्रमुख बमका अनुसार रुकुम पूर्व र अछामसम्म १० अरब ८८ करोड ५९ लाख रुपैयाँ बराबरको विभिन्न ठेक्कामार्फत सडक कालोपत्रेका लागि काम शुरु भइरहेकोे छ ।