बुद्ध राजमहल फर्किएका भए...

बुद्ध राजमहल फर्किएका भए...

ज्ञानमित्र  |  जीवनदर्शन  |  चैत २६, २०७५

मलाई मेरो अध्यात्मिक यात्रामा बौद्ध धर्मको एउटा वाक्यले जति ‘क्लियरटी’ प्रदान गर्यो, त्यति स्पष्टता अन्य कुनै पनि ग्रन्थले उपलब्ध गराएनन् । 

मेरो प्रकृति र प्रवृत्ति धेरै अध्ययनशीलको कोटिमा आउँदैन । कसैको कुरा मान्नु, कसैबाट ज्ञान लिनु, शास्त्रानुसार आचरण गर्नु, अनुशासन पालना गर्नुलगायत आदि यावतका श्रेष्ठ गुण शायद ‘जीन म्युटेसन’ भएर मभित्र जन्मजात नै थिएनन् । लहडी, सनकी, हठी, क्रोधी, अभिमानी, शंकालु, छिद्रान्वेषी, निन्दक र मनमौजी मेरा स्वभावका जन्मजात नैसर्गिक वृत्ति थिए र अझै पनि छन् । 

संसारमा जसलाई श्रेष्ठ गुण भनिन्छ, जस्तै : प्रेम, दया, करुणा, अहिंसा, अचौर्य, दान, अनुशासन, यम, नियम, सहिष्णुता, धर्मपरायणता, मानवता आदि । यसबारे मेरो आफ्नै व्याख्या र परिशीलन छ । यिनका पालनमा म कुनै परम्पराले बाँधिएको छैन । 

नानकको जीवनको एउटा घटनाको उल्लेख गर्नु शायद यहाँ सान्दर्भिक होला । नानक आफ्ना ‘फ्लोअर्स’सँग मक्काको यात्रामा थिए । यो यात्रा अवधिमा उनले उपवास गर्ने निधो गरे । पूरा ‘ग्रुप’ उपवास गर्दै यात्रा गरिरहेको थियो । ‘ग्रुप’ एकदिन कुनै गाउँमा रात्रि विश्रामका लागि बास बस्यो । गाउँलेले नानक एवम् ‘ग्रुप’को सम्मानका खातिर नाना पकवान तयार गरे । नानकलाई भोजन ग्रहण गरिदिनका लागि निवेदन आयो, नानकले सहर्ष स्वीकार गरे र आफ्ना चेला चपेटालाई भोजन गर्न जाउँ भने । 

एउटा चेलाले प्रतिवाद गर्दै भन्यो, ‘शायद, तपाईले बिर्सनुभयो, हामी उपवासमा छौं, भोजन कसरी गर्न सक्छौं ? हाम्रो उपवास खण्डित हुन्छ ।’ 

नानकले त्यस शिष्यलाई सम्बोधित गर्दै भने, ‘भन त, हामीले उपवास केका लागि गरिरहेका छौं ? हाम्र्रो उपवासको लक्ष्य धर्म होइन ! उपवास त हामी भोलिदेखि फेरि गर्न सक्छौं । तर, गाउँलेको स्नेह, प्रेम  र सत्कारलाई स्वीकार नगरेर हामीबाट जुन अधर्म हुन्छ, त्यसको पूर्ति गर्ने उपाय के ?’ 

यो कथा पढेको दिन मैले बुझेको थिएँ, ‘शास्त्र, धर्म र परम्परा पालना गर्ने व्यक्तिले जीवनमा धर्म निर्वाह गर्न सक्दैन ! कुनै गुरुले दिएको प्रज्ञाले कुनै पनि व्यक्तिको चेतना ऊध्र्वगामी हुन 
सक्दैन । निरन्तरको अभ्यासले तत् तत् कार्यमा कुशलता र प्रवीणता त आउन सक्छ । तर, जतिसुकै अभ्यास गरे पनि सृजनात्मकता (क्रियटिभिटी)को बीजारोपण गर्न सकिन्न । 

माथि उल्लेख भएको प्रसंगको सन्दर्भमा मैले धेरै अध्ययन नगरे पनि सामान्य अध्ययनबाट भने म वञ्चित रहिनँ । अनेकौं धर्मशास्त्र (प्रायश : हिन्दू धर्मका) पढेँ । दर्शन पढेँ । सबैले मलाई आफू अन्तर्गतको पथिक बनाउने मायाजाल रचेको पाएँ, जुन मभित्रको चेतनालाई जन्मदेखि स्वीकार थिएन । 

आध्यात्मिक यात्रामा अनेकौ गुरु भेटें, संंगत गरे । कुनै कुनै गुरुसँग लामो संगत भयो, अझै पनि सम्बन्ध छ, भेटघाट हुन्छ । तर, कसैलाई गुरु थाप्न सकिएन । कारण– मैले कुनै पनि गुरुलाई मुक्त त के मुक्ताकांक्षीसम्म रहेको पाइनँ । भयो, योभन्दा बढी यस विषयमा चर्चा नगरौं । 

मलाई थाहा छ तपाईंहरूलाई लेखको प्रारम्भमा चर्चा गरिएको वाक्य जान्नेबारे तीव्र उत्कण्ठा छ र म भने यता उतिको चर्चा गरेर तपाईंहरूलाई अल्झाइरहेको छु । मलाई जीवनमा ‘क्लियरिटी’ प्रदान गर्ने त्यो वाक्य हो । 

Where there is samsara,

There is nirvana

Where there is nirvana

There is samsara.


संक्षेप सार– जहाँ संसार छ, निर्वाण त्यहीँ छ र जहाँ निर्वाण छ त्यहीँ संसार छ । 

यस पंक्तिबाट मैले जे बुझेँ, त्यो म कसैलाई पनि बुझाउन सक्दिनँ । तपाईंले यसको जे अर्थ लगाउनुभयो, यो पंक्ति पढेर जे बुझ्नुभयो, त्यो तपाईंको सत्य हो । पंक्ति कसले लेख्यो, तपाईंसम्म कसले पुर्यायो, यी सबै गौण कुरा हुन् । 

यस पंक्तिलाई आत्मसात गरेपछि मेरो जीवन जिउने शैली, बाँच्ने पद्धति, संसार र निर्वाणलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आयो भन्नु बडो स्तरहीन अभिव्यक्ति हुन्छ । 

Simply i drop choices.

धार्मिक–अधार्मिक र अध्यात्मिक–संसारिकको भेद विलीन भयो । म एक किसिमको धार्मिक–अध्यात्मिक हुन सक्छु । पुष्पकमलजी आफ्नो किसिमको धार्मिक–अध्यात्मिक हुन सक्छन् । उनी मजस्तो नहुँदैमा मैले उनको निन्दा गर्ने अधिकार मलाई कसले दियो ? 

स्वामी चन्द्रेश र मेरो धर्म अध्यात्मसम्बन्धी धारणा तथा दृष्टिकोणमा भिन्नता छ भने मसँग अन्य व्यक्तिको भिन्नता हुनु प्रकृतिप्रदत्त होइन र ? 

संसारका प्रत्येक व्यक्ति धार्मिक हुन्, अध्यात्मिक हुन् । मजस्तो गेरुवा लगाएर हिँड्ने मानिस मात्रै धार्मिक हुन्छन्, यो सोच्नु सर्वथा अनुचित र अज्ञानताको सूचक हो । धार्मिक हुनलाई मन्दिर मन्दिर धाउनु वा यज्ञ, पुराण, होम तथा सप्ताह लगाउनु आवश्यक छैन । आजको युगमा त यस्ता समस्त कार्य अर्थ उपार्जनको माध्यम बन्न पुगेका छन् । 

संसारिक–अध्यात्मिक, बन्धन–मुक्ति, मोक्ष–निर्वाण, कैवल्य आदिबारे चर्चा गर्नुपूर्व कृपया एकपटक धम्मपदको पहिलो श्लोक पढ्नुहोला । हुनत यस्तै आशय कतिपय उपनिषद्मा पनि संग्रहित छन् ।
मलाई अचम्म त के लाग्छ भने यस पहिलो श्लोकपछि धम्मपदका बाँकी समस्त श्लोक संग्रहित गर्नुपर्ने आवश्यकता नै के थियो ? 

मनोपुब्बङ्गमा धम्मा, मनोसेट्टा मनोमया । 
मनसा चे पदुट्टेन, भासति वा क रोति वा ।। 
ततो नं. दुक्खमन्वेति, चक्कं वा वहतो पदं ।।।

मन नै सर्ब धर्म (प्रवृतिको) को मूल हो, मन नै प्रधान हो, 
सबै धर्म मनोमय हुन्÷छन् ।

बुद्धले बुझे उनको दुःख पनि मन हो, सुख पनि मन हो । संसार नै मनोमय छ । 

बुद्धले यति बुझेपछि राजमहल फर्केर राज्य संचालन गरेको भए मेरो मनमा उहाँप्रतिको श्रद्धा अझै प्रगाढ हुन्थ्यो । उनले राज्य संचालन गर्नु वा ज्ञान बाँड्दै हिँड्नु दुवै मनकै क्रियाकलाप न थिए । उनले ज्ञान बाँड्ने क्रियाकलाप रोजे ।