तराई–मधेश सडक पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत २१ करोड ६० लाख बजेट विनियोजन

तराई–मधेश सडक पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत २१ करोड ६० लाख बजेट विनियोजन

लोकसंवाद संवाददाता  |  समाज  |  मंसिर १९, २०७७

विराटनगर । बन्दाबन्दीको समयमा सङ्घीय सरकारअन्तर्गतको डिभिजन सडक कार्यालय विराटनगरले ४६ किलोमिटर सडक कालोपत्र एवं मर्मतसम्भार गर्ने कार्य सम्पन्न गरेको छ । तराई–मधेश सडक पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत मोरङ र सुुनसरी जिल्लामा गत आर्थिक वर्ष २०७६/७७ मा  ५० करोड रुपैयाँको लागतमा सडक विस्तार एवं कालोपत्र गर्ने काम सम्पन्न गरेको सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय इटहरी सडक डिभिजन कार्यालय विराटनगरका  प्रमुुख पशुुपति ज्ञवालीले जानकारी दिनुभयो ।
   
सुनसरी र मोरङ जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले सुनसरीको कोशी व्यारेज–इनरुवा, साहेवगञ्ज बर्जु गाउँ, चिमडी, कप्तानगञ्जदेखि नयाँ हटिया, देवानगञ्ज, इनरुवा चौधरी टोलदेखि मधेशा, झक्कन झोडादेखि मधेशासम्मको सडक कालोपत्र एवं विस्तार गरेको हो ।

सुनसरी जिल्लाको धरान बजार, वरगाछी, भोटेपुल क्षेत्रमा कालोपत्र एवं सडक विस्तार गरिएको छ । कार्यालयले इटहरीदेखि कोशी व्यारेज तथा धरानदेखि भेडेटारसम्मको १९ किलोमिटर सडकखण्डको मर्मतसम्भारको काम सम्पन्न गरेको छ । मोरङ सुनसरीको पूर्व–पश्चिम राजमार्ग तथा सहायक मार्गको स्तरोन्नति पुुल पुुलेसाको मर्मतसम्भार गरेको कार्यालयका इञ्जिनीयर एवं सूचना अधिकारी नितिष झाले बताउनुभयो । 

मोरङको रामचोक, वरडङ्गा, आमबारी, उर्लाबारी, भाउन्ने, आमतोला, पूर्वपश्चिम राजमार्गअन्तर्गत विराट चोकलगायत क्षेत्रमा कालोपत्र एवं सडक विस्तार गरेको छ । कोरोना महामारीको समयमा स्वास्थ्य सुरक्षा एवं सामाजिक दूरी कायम निर्माणको कामलाई निरन्तरता दिइएको कार्यालय प्रमुख ज्ञवालीले बताउनुभयो ।

यसैगरी कार्यालयले ३७ करोड रुपैयाँको लागतमा तीन वटा मोटरेवल पुलको निर्माण कार्य सम्पन्न गरेको सूचना अधिकारी झाले जानकारी दिनुभयो । कार्यालयले मोरङ र सुनसरीको भित्री सडकअन्तर्गत जुडी खोला, थलहा र धमना खोलामा पुल निर्माणबाट स्थानीय जनतालाई सहज आवतजावतमा सुविधा पुगेको छ ।
 
स्थानीय नागरिकलाई लामो समयदेखि सो खोलामा पुुल नभएका कारण वर्षात्मा सदरमुकामलगायत बजार क्षेत्रमा आफ्नो उत्पादन बिक्रीवितरण र घरेलु सामग्री खरिदका लागि कठिनाइ भोग्दै आएकामा पुल निर्माणबाट सहज भएको छ । पुल निर्माणबाट उक्त क्षेत्रका करिब एक लाख जनतालाई आवतजावत एवं ढुवानीमा सहज भएको छ । लकडाउनका समयमा मुुख्य राजमार्गसँग सीमा जोडिएका सडकको स्तरोन्नति गर्नुुका साथै लामो समयदेखि जग निर्माण भएर छुुटेका तथा ढलान गर्न बाँकी रहेका पुुलको निर्माण सम्पन्न गरेकाले अहिले वर्षाको समयमा आवतजावत गर्न सहज भएको कार्यालय प्रमुुख ज्ञवालीको भनाइ छ ।  

यस वर्ष राजमार्ग मर्मत एवं कालोपत्र एवं पुलका लागि ६३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको सूचना अधिकारी झाले बताउनुभयो । उहाँले यस वर्ष कार्यालयले मोरङ र सुनसरी जिल्लामा २५ वटा मोटरेबल पुल निर्माण गर्ने लक्ष्य लिएको बताउनुभयो । यस वर्ष निर्माण गर्ने पुलमा जुडी, धमना, बूढी खोला, बक्राहा, मधुमल्ला, ज्वाला पुल, दत्तकिश्चा पुल, टेङ्ग्रा, डाँस खोला, सिंघिया, बूढीखोलालगायतका २० देखि १०० मिटरसम्मका रहेको कार्यालयले जनाएको छ ।

यसैगरी तराई–मधेश सडक पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत २१ करोड ६० लाख बजेट विनियोजन भएको सूचना अधिकारी झाले जानकारी दिनुभयो । कोरोना महामारीले सीमानाका बन्दका कारण पुल निर्माणका लागि आवश्यक सामग्रीको दक्ष जनशक्तिको कमीका कारण निर्माण कार्यमा ढिलाइ हुने प्रमुख ज्ञवालीले बताउनुभयो ।

उहाँले कोरोनाका कारण निर्माण गर्नुपर्ने काममा ५० प्रतिशत कमी भएको छ भन्नुभयो । नाका बन्दको कारण पुल निर्माण आवश्यक पाइपलगायतका कच्चापदार्थको कमी हुनुका साथै ढुवानीमा समेत समस्या रहेको प्रमुख ज्ञवालीले जनाउनुभएको छ ।