नन्दु उप्रेती | साहित्य | मंसिर २०, २०७७
भर्खरै सय बर्ष पुरा गर्नुभएका
मेरा बुबालाई
हातमा आफ्नो देशको नक्सा बोकेर सोधेँ मैले
बुबा तपाईँहरूका पालामा
हाम्रो देशको नक्सा कस्तो बनाउनु हुन्थ्यो ?
बुबा बोल्नु भएन
अग्लो सिरानीमा टाउको सुताएर
कताकता हेरिरहनु मात्र भयो
मैले फेरि सोधेँ
हजुरबुबाले तपाईँहरूलाई
आफ्नो देशको नक्सा देखाउनु भएन ?
बुबाले बिस्तारै मलाई आफ्नो छेउमा बोलाउनु भयो
र भन्नुभयो
'गन्धर्वहरू गीत गाउँदै
हाम्रा गाँउघरतिर आइपुग्थे
समरका गीत गाउँदै
विर विरङ्गनाका गीत गाउँदै
देशका सिमानाका गीत गाउँदै
राजा, महाराजा, खोलानाला र गाँउबेसीका गीत गाउँदै
माया प्रिती, बिछोड र विरहका गीत गाउँदै'
बुबाको आवज रोकियो त्यसपछि
र फेरि कताकता हेर्न थाल्नुभयो
सायद सम्झदै हुनुहोला देशको नक्सा ।
मैले फेरि सोधेँ
बुबा गीत याद छैन ?
मधुरा आँखामा उज्यालो भर्दै
बुबाले सुनाउनु भयो
'हे बरै
पूर्वमा पुगे है टिष्टा किनारा
पश्चिममा पुगे काङ्गरा
उत्तरका सबै हिमाल हाम्रा
सम्म मैदान दक्षिण
नेपालैको नामै ठूलो
गोर्खालीको बादुरी
गोला र बारुद बन्दुक फाली
भागे है सबै फिरिङ्गी
हे बरै ........'
बुबाले सिधा पार्नुभयो आफ्नो छाती
सायद त्यो गन्धर्वको गीतले
उहाँको छातीभित्र
ठूलो देशको नक्सा बनाइदिएको थियो
त्यसपछि
आफ्नो सारा बल लगाएर
जोडले समात्नुभयो मेरा हात
र भन्नुभयो
'हामी सानै छँदा
हजुरबुबा र बुबाहरूका पालामा
हातमा बोक्ने देशको नक्सा थिएन
देश थियो देश
उहाँको छातीभित्र थियो देश
हाम्रो पनि छातीभित्रै थियो देश
बाबू,
तिम्रो हातको नक्साको देशभन्दा
छातीभित्रको हाम्रो देश धेरैे ठूलो थियो ।'