बाबुहरि ज्ञवाली | जीवनदर्शन | मंसिर २०, २०७७
तपाभ्यहमहं वर्षं निगृह्णाम्युत्सृजामि च ।
अमृतञ्चैव मृत्युश्च सदसच्चाहामर्जुन ।। १९ ।।
अन्वय र अर्थ – अर्जुन = हे अर्जुन ! अहं = मैले, तपामि = सूर्य रूपले संसारलाई ताप दिन्छु, अहं = म, वर्षं = वर्षा, उत्सृजामि = उत्पन्न गर्दछु, (मुक्त गर्छु), निगृह्णामि = ग्रहण पनि गर्दछु, अमृतं च = अमृत पनि, मृत्युः च = मृत्यु पनि, सत् = सत् (कार्य) र, असत् च = असत् (कारण) पनि, अहं एव = म नै हुँ ।
भावार्थ – हे अर्जुन ! मैलेनै संसारलाई ताप प्रदान गर्छु, मैले नै वर्षा उत्पन्न गर्छु, त्यस वर्षालाई आकर्षण पनि गर्दछु, म नै अमृत, मृत्यु, सत् र असत् हुँ ।
विशिष्टार्थ – तप = तापने । सृष्टिकर्ता ब्रम्हा प्रतिको प्रथम अशरीरी वाणी ‘तप’ हो । साधक जब क्रिया विशेषद्वारा नादमा पुग्दछन् तब उनीहरूका लागि ज्योति प्रत्यक्ष हुन्छ । त्यस ज्योतिको शक्ति यति धेरै छ कि त्यसको दर्शन मात्रले मन संकल्प विकल्पलाई अलग्गै छोडेर त्यस ज्योतिभित्र प्रवेश गर्दछ, किन कि ज्योतिले मनलाई ढाकिदिन्छ र मन पनि आफ्नो धर्मका साथ मेटिन्छ ।
मनको अभाव भएपछि शरीर वाक्यादि सबै विस्मृतिमा प्राप्त हुन्छन् । त्यसकारण जगद् व्यापार मेटिनाले अन्तःकरणको आवरण खुल्दछ । अनि ‘म’ बाहेक अरू बोध्यबोधन रहँदैन ।
यो नै समाधि स्थिति, क्रियाको पराअवस्था वा प्रश्वासको शेष हो । यो नै आकर्षण वा तापन हो – जस्तै–सूर्य किरणले समुद्रका जलकणहरू आहरण हुन्छन् । ‘वर्ष’ – विकर्षण वा स्राव हो । त्यो जुन समाधिस्थ चित्तलय अवस्था हो, उसमा संसार बीज रहन्छ, किन कि शरीरको शेष निश्वास नभएर नै यो अवस्था हुन्छ । अतः फेरि संसार अवस्थामा आउनु पर्दछ । त्यो आगमनलाई नै विकर्षण वा वर्षण भन्दछन् । यो प्रकृतिको संसारमुखी गति वा निश्वास हो ।
जसै जसै त्यस अवस्थाको शेष भैरहन्छ अर्थात् त्यो गर्भस्थ संसार बीज समाधि भङ्गका लागि संसार रस ग्रहण गरिरहन्छ, तब तब बिस्तारै बिस्तारै मर जगत्को देहाभिमान पनि आइरहन्छ र त्यो स्वरूप स्थितिको स्थिरत्व कम भएर चन्चलताको बृद्धि भइरहन्छ ।
‘निग्रह’ – निः = नास्ति, ग्रह = ग्रहण, अर्थात् जहाँ ग्रहण छैन, फेरि त्याग पनि छैन, यस्तो जुन ग्रहण–त्याग शून्य अवस्था छ त्यसैलाई नै निग्रह अर्थात् प्रलय भन्दछन् ।
प्रकृति विलयको नाम प्रलय हो, सृष्टिलाई उत्सृजन भन्दछन्, प्रकृतिको स्फुरण सृष्टि हो । यी दुबै नै ‘म’ बाट हुन्छन् । संसार जाललाई समेटेर प्रकृति जब ‘म’ मा विश्राम गर्दछे, तब नै अमरत्व अनि सत् अवस्था हुन्छ ।
फेरि जब ‘म’ बाट खस्केर जगत् जालको विस्तार गर्छे, तब मर वा असत् अवस्था हुन्छ, असत् उसलाई भन्दछन् जसको तीनै कालमा विद्यमानताको अभाव छ, अर्थात् केवल भ्रम ।
साधक ! हेर, यी सबैमा एकमात्र ‘म’ नै ‘म’ विद्यमान छु, केवल वाणीको दाउपेच मात्र हो । जब तिमीले मलाई ग्रहण गर्दछौ, त्यसैलाई निग्रह भनिन्छ । यदि तिमी मबाट ओर्लेनौ भने तिम्रो ‘त्वं’ त्व हराएर जान्छ, अनि तिमी ‘म’ हुन्छौ । यदि तिमी ओल्र्यौ भने तब नै उत्सृजन हुन्छ, अर्थात् माथि जो तिमी ‘म’ भएका थियौै, ओर्लेर फेरि उही ‘म’ लाई तिमीले सृष्टि गर । अब माथिको ‘म’ तिम्रो लागि ‘त्वं’ भयो र तलको ‘म’ जुन तिमी थियौ त्यसै ‘त्वं’ लाई तिमीले ‘म’ गरिदियौ । अतएव सबै दिशामा म नै म वर्तमान छु ।
त्रैविद्या मां सोमपाः पूतपापा
यज्ञैरिष्व्टा स्वर्गतिं प्रार्थयन्ते ।
ते पुण्यमासाद्य सुरेन्द्रलोक
मश्नन्ति दिव्यान् दिवि देवभोगान् ।। २० ।।
अन्वय र अर्थ – त्रैविद्या = ऋक यजु–साम यी तीन वेद जान्नेहरू, यज्ञैः = अग्निष्टोमादि यज्ञानुष्ठानद्वारा, मां = मलाई, इष्व्टा = पूजा गरेर, सोमपाः = सोमरस पान गर्ने, पूतपापाः (सन्तः) = निष्पाप भएका छँदा, स्वर्गतिं = स्वर्ग गमनका लागि, प्रार्थयन्ते = प्रार्थना गर्दछन्, ते = तिनीहरू, पुण्यं = पवित्र, सुरेन्द्रलोकं = सुरेन्द्रलोकलाई, आसाद्य = प्राप्त गरेर, दिवि = स्वर्गमा, दिव्यान् = अप्राकृतिक, देवभोगान् = देवताहरूद्वारा गरिने भोगहरू, अश्नन्ति = भोग गर्दछन् ।
भावार्थ – त्रिवेदवेत्तागण यज्ञानुष्ठानद्वारा मेरो पूजा गरेर सोमपायी तथा निष्पाप भएर स्वर्गगतिको प्रार्थना गर्दछन्, तिनीहरू पवित्र सुरेन्द्रलोकमा प्राप्त भएर स्वर्गमा दिव्य देवभोग सबै भोग गर्दछन् ।
विशिष्टार्थ – सत्व रजः तमः गुणहरूका अधिष्ठाता ब्रम्हा, विष्णु, महेश यी तीन देवताहरूलाई ‘त्रै’ भन्दछन् । जब क्रियामा बस्नाले साधकमा यी तीनै गुणहरूको समता प्राप्त हुन्छ, तबमात्र यी तीन देवताहरूको पृथकता नष्ट हुन्छ । प्रकृति तब साम्यभावले सत्व, रज, तम गुणमयी हुन्छे अर्थात् धर्म–अर्थ–कामलाई गर्भमा लिएर मुक्तिको आकांक्षाले अपेक्षा गर्दछे । सत्वको प्रकाश, रजको क्रिया, तमको स्थिति एक भएर क्रियाशून्य अधिष्ठान मात्र भएर रहन्छे । मायाको यो अति उच्च अवस्थालाई त्रैविद्या भन्दछन् । यस अवस्था पछि मात्र माया ममा परेर ‘म’ बन्दछे । साधकमा जब यो अवस्था आउँछ, तब सहस्रारबाट सुधा (सोमरस) को क्षरण हुन्छ । त्यस सुधाले आपादमस्तकको पोषण गर्दछ, त्यसकारण अनि साधक सोमपायी हुन्छ । यस अवस्थामा साधकको चन्चलता कत्ति पनि हुँदैन, अतएव निष्पाप हुन्छ । यो जुन सुधाको प्लावन (बहिर्गमन) हो यही यज्ञ हो । यो अवस्था भने साधकको निर्जीव समाधि हैन । त्यसकारण अवसर मिल्नाले ब्रम्हत्व सुखभोग गर्दछन् । यो सुख मत्र्य जगत्को केही संग पनि सादृश्य छैन, त्यसैले ‘देवभोग’ भनिएको हो । ‘आठै प्रहर जो लड्छ त्यो सूर’ अर्थात् अष्ट प्रहर जसले क्रिया गर्न सक्छ त्यही सुर हो । जसको एक निश्वास पनि खेर जाँदैन त्यही सुरेन्द्र हो ।
ते तं भुक्त्वा स्वर्गलोकं विशालं
क्षीणे पुण्ये मत्र्यलोकं विशन्ति ।
एवं त्रयीधर्ममनुप्रपन्ना
गतागतं कामकामा लभन्ते ।। २१ ।।
अन्वय र अर्थ – ते = तिनीहरू, तं = त्यो, विशालं = विशाल, स्वर्गलोकं = स्वर्गलोकलाई, भुकत्वा = भोग गरेर, पुण्ये = पुण्य, क्षीणे (सति) = क्षय भएका छँदा, मत्र्यलोकं = मत्र्यलोकमा, विशन्ति = प्रवेश गर्दछन्, भोगकामाः = विषय वासना युक्त भएका छँदा, त्रयीधर्मं = वेदत्रयीविहित धर्म, अनुप्रपन्नाः (जनाः) = अनुष्ठान गर्ने जनहरू, एवं = यस प्रकार, गतागतं = आवागमन, लभन्ते = प्राप्त गर्छन् ।
भावार्थ – ती मानिसहरू विशाल स्वर्गलोकको भोग गरेर पुण्यक्षय हुनाले मत्र्यलोकमा प्रवेश गर्छन् । भोग कामनाका साथ वेदत्रयविहित धर्मको अनुष्ठान गर्नाले यस प्रकारको आवागमनमा प्राप्त हुन्छन् ।
विशिष्टार्थ – पुण्य पु =पुंज्+ (देह) + ण = निर्वाण, स्व. स्वरूप अर्थात् मलमूत्रमय देहलाई त्यागेर स्व–स्वरूपमा अवस्थान हुनुको नाम पुण्य हो, अर्थात् जब मैले देहामिमान छोडेर आफ्नाे स्वस्वरूपमा स्थित भएँ, तब मेरो चंचलता नष्ट भयो, सोही चंचलता शून्य अवस्थालाई पुण्य भन्दछन् । यसको व्यक्तिक्रम नै पाप हो । जबसम्म स्वस्वरूपमा अवस्थान छ तवसम्म मात्र अनन्तत्व वा ब्रम्हत्व छ ।
यो विशाल, निस्तरंग, अवधिरहित छ । जबसम्म साधक सजीव समाधिमा पनि यस विशाल ब्रम्हको संस्पर्श सुखको अनुभव गर्दछ, तबसम्म,साधकमा माया विकारको केही पनि स्फुरण हुँदैन ।
जसै जसै त्यस अवस्थाको शेष भैरहन्छ अर्थात् त्यो गर्भस्थ संसार बीज समाधि भङ्गका लागि संसार रस ग्रहण गरिरहन्छ, तब तब बिस्तारै बिस्तारै मर जगत्को देहाभिमान पनि आइरहन्छ र त्यो स्वरूप स्थितिको स्थिरत्व कम भएर चन्चलताको बृद्धि भइरहन्छ ।
यो जुन स्थिरत्व र चंचलत्व छ यो दोस्रो स्तर वा स्वर्ग हो । यी दुबै नै त्रिगुणमयी मायाको लीला हो ।
यसमा आवागमन अर्थात् आउनु जानु सिद्ध गर्दछ, किन कि क्रिया गरेर क्रियाको परावस्थामा रहने जुन अभिलाषा हो, त्यो पनि काम हो ।
८ -निर्वाण – निर् = रहित, वाण = भेदकारक पदार्थ ।) वायुको सहायता विना केहीले कसैले कसैलाई भेदन गर्न सक्दैन, अतः वायु भेदक वा वाण हो । यो वायु जब निः हुन्छ (रहँदैन) अर्थात् समतामा प्राप्त हुन्छ सोही अवस्थाको नाम निर्वाण हो ।
देहाभिमान तबसम्म रहन्छ जबसम्म वायु बाहिर निस्कँदैन अथवा देहको भित्री आकाशमा सूक्ष्मरूपले विश्राम लिएको अवस्थालाई ‘ण’ भन्दछन् ।
क्रमश:
यो पनि
सत्त्व, सत्वरजः, रजस्तमको उच्च स्थानमा वास र बन्धन
साधनाको शेष : ज्ञानाग्निमा अज्ञानता आफै आहुतिमा जलेर चिरकालका लागि भस्म हुन्छ
काठभित्रकाे अग्नि : उत्पत्ति हुने स्थानलाई नै खान्छ अनि पछि आफूले पनि विश्राम लिन्छ
धर्म संकल्प र विकल्प :मनको त्राण जसले गर्छ त्यही मन्त्र हो
जगतको मतमा मत : बाँच्नुको नाम कल्याण हो र मृत्युको नाम अकल्याण