हरिविनोद अधिकारी | साहित्य | मंसिर २०, २०७७
पुराना यादहरूको सम्झाइ पनि एउटा तरङ्ग जस्तै हो । कहिले के कुराको सम्झना बढी हुन्छ त कहिले कहिलेको कुरा मनमा खेल्न थाल्छ । सायद यो सबैलाई हुँदो होला या मलाई मात्र भएको हो । तर सम्झनाको तरेलीहरू खातका खात छन् मनमा अनि कुनचाहिँ कति बेर सम्झन थालिन्छ , आफैँलाई थाहा नहुने रहेछ ।
अहिलेका अमेरिकी महामहिम राजदूत र्यान्डी बेरीको अनुहार जब जब सामाजिक सञ्जाल या टेलिभिजनको पर्दामा देख्छु, त्यस बेलामा मलाई महाइस्कुलमा हामीलाई स्वयंसेवीका रुपमा अङ्ग्रेजी पढाउने एक जना अमेरिकी स्वयंसेवक मार्क स्वकोनको सम्झना आउँछ । त्यो बेला भनेको आजभन्दा ५० वर्ष अघिको कुरो हो । २०२५- २६ सालमा हो ।
सायद उनी कृषिका लागि सिन्धुलीमा अमेरिकी स्वयंसेवी भएर आएका थिए । पिसकोरको सन्दर्भमा । संसारभर अमेरिकाले पिसकोर अर्थात् शान्ति सेनाको रुपमा आफ्ना विज्ञहरूलाई विश्वका विकासशील तथा अविकसित देशहरूमा पठाउँथ्यो । त्यसको दोहोरो अर्थ रहन्थ्यो किनभने अमेरिकी सहयोगको कसरी परिचालन र सदुपयोग भएको छ भनेर अमेरिकी युवाहरूले आफ्नो करबाट दिएको सहयोगको बारेमा जानकारी राख्थे एकातिर भने नेपाल जस्तो देशमा कतिपय पिसकोर स्वयंसेवकले अङ्ग्रेजी, विज्ञान र गणितमा राम्रोसँग सिकाएको पनि पाइन्थ्यो । ती स्वयंसेवकहरू नेपालको दुर्गम गाउँमा गएर पनि नेपाली जनताको सेवा गरेका थिए ।त्यस्तै कृषिमा सहयोग गर्नका लागि भनेर मार्क स्कोन पनि सिन्धुली आएका थिए । उनको कार्यक्षेत्र कता थियो, कहिले कहाँ जान्थे हामीले थाहा पाएका थिएनौँ तर विद्यालयको अनुमतिले उनले हामीलाई अङ्ग्रेजीको दोस्रो पत्र अर्थात् अङ्ग्रेजी साहित्यतर्फको कविता र गद्य सिकाउँथे । बडो मज्जाले । उनी नेपाली राम्रोसँग बोल्न थालेका थिए र नेपाली राम्रोसँग बोल्न र दोहोरो संवादका लागि पनि उनले विद्यालयका कोठालाई छानेका हुन सक्छन् तर थिए दिलदार र रमाइला ।
सबैभन्दा पहिले त उनी नेपाली पोसाक लगाएर मात्र हिँड्थे । दौरा सुरुवाल, जवारीकोट, काँधमा गलबन्दी अनि ढाकाको टोपी , कपडाको जुत्ता । अनि अङ्ग्रेजी पढाउँदा उनले पहिले आफूले त्यो कविता या अनुच्छेद पढेर सुनाउँथे अनि हामीलाई किताब नहेरीकन भन्न लगाउँथे । अनि किताब हेर्न लगाउँथे र उनले जस्तै गरी भन्न लगाउँथे । यो क्रम धेरै महिना त चलेन तर जति बेलासम्म चल्यो , मज्जाले चल्यो, नियमितरुपमा । रमाइलो त के थियो भने उनको नाम मकरबहादुर थापा राखेका थिए आफूलाई र हामीलाई उनले सर नभन्ने अनि मकरबहादुर दाइ भन्नका लागि सुझाएका थिए ।
अहिले पठन संस्कृति एक प्रकारले पुस्तकाकारमा भन्दा विद्युतीय स्वरूपमा सहज भएको छ । तर हामी पुस्तक पढेर हुर्केकाहरूलाई अहिले पनि अनलाइनमा उपलब्ध समाचारभन्दा प्रकाशित पुस्तक तथा पत्रिकाका अक्षरहरू हातमा समाएर पढ्न मज्जा लाग्छ । झन् यो कोरोना कहरमा पत्रकारिताको अर्थ नै फरक भएको छ र कागजका पानामा छापिने पत्रिकाहरूको माग पनि छैन र त्यस्ता पत्रिकाहरूको माग पनि नभएजस्तै आपूर्तिमा पनि समस्या देखिएको छ । पुस्तक प्रकाशनभन्दा अनलाइन संस्करणमा नै प्रकाशकहरूले आफ्ना सामग्रीहरूको सञ्चित गर्ने बानी बसाउन थालेका देखिन्छन् ।
उनको कक्षा यस कारणले हामीलाई रमाइलो र मज्जाको लाग्थ्यो कि उनले कक्षामा बाहिर जान र भित्र आउन नेपालीमा नै भन्नुपर्थ्यो तर कुरा गर्न हात उठाएपछि तत्काल पालो आउँथ्यो । उनीसँग कुरा गर्नका लागि खासै धेरै औपचारिकता पूरा गर्नु पर्दैनथ्यो । अनि किन तपाईँले आफ्नाे थर थापा राखेको भन्दा उनको जबाफ थियो- नेपालका प्रधानमन्त्री थापा रहेछन् अनि थापा थर राखेँ अनि मकरबहादुरचाहिँ मार्क स्कोनको जस्तै मबाट नाम राखेको भन्थे ।
सिन्धुलीका बजारमा पनि उनी गफिएका हुन्थे जोसँग पनि । नेपालमा गोरो मानिस सबै अमेरिकन भन्ने चलन पनि थियो र उनले पढाउँदा सधैँ विद्यार्थीहरूलाई हिजो हामीले के पढेका थियौँ भनेर सोध्ने चलन थियो । मैले भनेँ नि, सुरुमा किताब हेर्न पाइँदैन थियो तर उनले गरेको उच्चारणलाई जस्ताको तस्तै समूहगतरुपमा भन्नुपर्थ्यो । एक दिन मकर बहादुर सरले कविता पढाउन थाल्दा भनेको सम्झन्छु- हाप्पोलिक हाप्पोलिक हाप्पोलिक अनअट । बारम्बार त्यही हरफ दोहोरिएको थियो हाप्पोलिक हाप्पोलिक हाप्पोलिक अनअट । हामी कक्षा दशका विद्यार्थीहरू अनुशासितरुपमा ठुलो स्वरले चिच्याउँदै भन्दै थियौँ- हाप्पोलिक हाप्पोलिक हाप्पोलिक अनअट ।
त्यसपछि किताब खोलेर पढ्ने बेला आयो , त्यहाँ त लेखिएको थियो हाफ ए(अ) लिग हाफ ए(अ) लिग हाफ ए(अ) लिग अन वार्ड । हामीले गर्ने उच्चारण हुन्थ्यो हाफ ए(अ) लिग तर मकरबहादुर दाइले त हामीलाई हाप्पोलिक भन्न सिकाएको बेला थियो । अनि हामी किशोरहरूले मकरबहादुर दाइ अर्थात् मार्क स्कोन सरको नाम हाप्पोलिक सर । यो पटक्कै राम्रो त होइन तर प्रत्येक कक्षामा सामान्यतया गुरुको वा गुरुआमाको कुनै खास नाम राखिएको हुन्छ जुन साथीहरूका लागि सङ्केत हुन्छ । तर हामीले उहाँलाई नै सोधेर भन्यौँ, अब हामी तपाईँलाई हाप्पोलिक सर भन्छौँ है । उनले खुसी भएर भनेको सम्झन्छु-मेरो उच्चारणका लागि यो नाम राखेकोमा मलाई खुसी लागेको छ तर तिमीहरूले पनि अङ्ग्रेजी उच्चारण गर्दा जस्तो अङ्ग्रेजी मातृभाषाले उच्चारण गर्छन्, त्यस्तै गर्ने बानी बसाल्नु पर्छ । अनि हामीले भन्यौँ -अङ्ग्रेजी पनि बेलायतको बेग्लै उच्चारण हुन्छ रे ! अमेरिकाको बेग्लै उच्चारण हुन्छ रे ! अनि हामीले कुनचाहिँलाई मान्ने त ? सायद यसको उत्तर मकर दाइलाई पहिल्यै थाहा थियो होला- त्यसैले त अङ्ग्रेजीको शब्दकोश अर्थात् डिस्नरी हेरेर पत्ता लगाउनु पर्छ कुन शब्दको के उच्चारण हुन्छ भनेर । हामीले देखेको अङ्ग्रेजी शब्दकोश भनेको अजन्ताको सानो अङ्ग्रेजी नेपाली शब्दकोश थियो जसमा अङ्ग्रेजीको शब्दको उच्चारण नेपालीमा दिइएको हुन्थ्यो ।
हामीले भनेका थियौँ मिल्ने साथीहरू- म, नयनध्वज गिरी, टेकबहादुर थापा, नवराज बराल, रेवतीमान श्रेष्ठ, जगदीश बराल,पुष्पराज श्रेष्ठ आदि । हुन त कक्षाका सबै साथीहरुमा सम्बन्ध साह्रै राम्रो थियो तर मकरबहादुर दाइको सम्झना पछिसम्म हामी भेट्दा गर्थ्यौँ । एक दिन उनले हामीलाई गहना अर्थात् अर्नामेन्टका बारेमा पढाउँदा हाम्रै कक्षाकी एक जना राई थरकी साथीको कानमा देखाउँदै भने - जस्तै मेरो छिमेकी स्वास्नीको कानमा छ नि ! हो त्यही हो ओनामेन्ठ । उनी धुरा बजारको पुछारमा रहेको समीको बोटनिर बस्थे र हाम्री साथीको पिताजीको खाना र चियाको पसल पनि त्यहीँ थियो । उनले भनेका थिए होलान् - मेरी छिमेकी स्वास्नीमान्छेको गहना हेर त भने - छिमेकी स्वास्नीको गहना हेर । एक छिनसम्म हामी हाँस्यौँ ।उनी पनि हाँसे तर उनले हामी किन हाँस्यौँ भन्ने बुझेनन् र उनी हामी हाँसेकाले मस्तसँग हाँसे । हाम्री साथीलाई भने लाज मर्नु भयो र रातो मुख लगाएर घोसे मुन्टो लगाएर बसिन् ।
अनि मकर दाइ नजिकै आएर सोधे ती साथीलाई- तिमी किन नहाँसेको ? सायद उनलाई लागेको थियो होला, हाँस्ने कुरा मैले भनेँ अनि सबै हाँसे उनी किन नहाँसेको होला ? कक्षाबाट बाहिर गएपछि म , रेवती र नवराजसँगै गएर कारण बतायौँ । अनि तत्कालै कक्षामा फर्केर आएर माफी मागे साथीसँग र भने- म नेपाली सिक्दै छु, गल्ती भएछ । यस्तै हुन्छ अरु भाषामा कुरा गर्दा । मलाई यो अपमानको शब्दका लागि माफी देऊ । अनि हामीले भन्यौँ - मकर दाइ, तपाईँको गल्ती होइन, हामीले पो हाँसेर तपाईँलाई अपमान गर्यौँ । तर मकर दाइले आफूले गल्ती सुधार्न पाएकोमा खुसी लागेकोले हामी तीन जनाले धन्यवाद पायौँ । कुरो ५१ वर्ष अघिको हो, कति साथीले सम्झनु भएको होला, कतिले विस्मृतिमा मात्र कतै लुकाएर राखेका होलान् ।
मैले बारम्बार मकर दाइ भनेँ र सम्बोधनमा तिमी शब्दको प्रयोग गरेको छु । वास्तवमा मैले एक दिन भने पनि पढाएको गुरुलाई अपमान त गर्ने कुरै आउँदैन तर तिमी सम्बोधन र मकर दाइ उहाँकै इच्छा थियो । मलाई तपाईँ भन्नु पर्दैन र सर पनि नभन्नू । सर भनेको पदवी हो र म त्यो सर हुन लायक भइसकेको छैन ।
त्यो नेपाली सिक्ने, अङ्ग्रेजी सिकाउने ताक नै मकर दाइलाई अमेरिकाबाट बोलावट आएछ । अनि हाम्रो कक्षामा आएर उनले बिदाइ हुने कुरा गर्दा के पनि भन्न छुटाएनन् भने मलाई पक्कै भियतनामको लडाइँमा पठाउलान् । अनि हाम्रो अङ्ग्रेजी कविताको पुस्तकमा क्यासाबियङ्का भन्ने अनुशासित पात्रको भूमिका थियो, त्यही पात्रको भूमिकाका बारेमा लामो व्याख्या गरेर पढाएको सम्झन्छु र भनेको सम्झन्छु - यदि म भियतनामको युद्धबाट बाँचेर आएँ भने पक्कै नेपाल फर्केर आउने छु र यहाँका न्यानो माया दिने नेपालीहरूका लागि केही राम्रो काम गर्न सकिन्छ कि भनेर कोसिस गर्नेछु । मकर दाइ पक्कै नै भियतनाम गएका थिए तर फर्केर कहिल्यै नआउने बाटो लागेको दुःखद खबर भने हाम्रो कानमा केही समय पछि पर्यो जुनबेलामा हामीले विद्यालय तह पास गरिसकेका थियौँ ।
अर्को प्रसङ्ग हो गुरुहरूले दिने संस्कृतिको । अहिलेसम्मको लामो जीवन यात्रामा धेरै गुरुहरूको शिक्षा प्राप्त भयो । तर केही गुरुहरूले मात्र जीवनको लामो यात्रामा प्रभाव छोड्नु भयो । अझै कति सिक्नु छ र कति गुरुहरू थपिनु हुन्छ, थाहा छैन । जस्तो कि भनिन्छ दत्तात्रयेका २४ओटा गुरुहरू थिए जसमा कमिला, मौरी पनि पर्छन् । अर्थात् जसका कारणले जीवन बाँच्ने हौसला र कसरी बाँच्ने भन्ने कलाको ज्ञान पाइएको हुन्छ । बाल्यावस्थादेखि किशोरावस्थासम्मका प्रभाव पार्ने गुरुहरूमध्ये पठन संस्कृतिलाई जीवनको अभिन्न अङ्ग मान्न सिकाउने गुरु पण्डित साम्वभक्त सुवेदी र पढ्ने मात्र होइन पढेको कुरालाई सहज तरिकाले सम्प्रेषण गर्न सिकाउने गुरु उमानाथ शास्त्री । एउटै समयका गुरुहरूमा दुई ओटा फरक फरक गुरुगुणहरु थिए- एउटा साम्व गुरुले पढ्नका लागि प्रेरित गर्नुभयो , जे पनि पढ्नु पर्छ अनि त्यसबाट प्राप्त ज्ञानलाई मौरीले मह तयार गरेजस्तै गरी जीवनमा प्रयोग गर्नुपर्छ ।
त्यस्तै शास्त्री गुरुले चाहिँ पढेर मात्रै हुँदैन, चित्त बुझेका कुराहरूलाई, त्यस ज्ञानलाई अरूसमक्ष पुर्याउनु पनि पर्छ , त्यसका लागि सुन्ने र भन्ने गुणको विकास गर्नुपर्छ । साम्ब गुरु पुस्तक दिनुहुन्थ्यो खोजेर पनि अनि मजबुन सोध्नुहुन्थ्यो पढिसकेपछि । पढ्ने समय दिनु हुन्थ्यो । उहाँ साह्रै छिटो पढ्नु हुन्थ्यो , हामीलाई लाग्थ्यो मात्र उहाँ पाना पल्टाइरहनु भएको छ, होइन रहेछ , त्यो पुस्तक त उहाँले पढिसक्नु भएको हुँदो रहेछ र कतिपय त भनिएका कुराहरु पृष्ठसहित नै बताउन सक्नुहुन्थ्यो । उहाँको ज्ञानको सीमा संस्कृत साहित्यमा मात्र सीमित थिएन , हिन्दी नेपालीमा पनि उत्तिकै विस्तारित थियो । उहाँले नै हामीलाई हेन्री राइडर ह्यागर्डको सी उपन्यासको नेपाली अनुवाद पढ्न लगाउनु भएको थियो । इब्ने सफी बीएका जासुसी उपन्यास देखि बाबु देवकी नन्दन खत्रीका चन्द्रकान्ता, चन्द्रकान्ता सन्तति, भूतनाथ जस्ता तिलस्मी उपन्यासका थुप्रै भागहरु पढ्न उत्प्रेरित गर्नु भएको थियो । गुरु भन्नुहुन्थ्यो- भारतको पुरातन साहित्य पढ्न पश्चिमाहरुले संस्कृत सिके अनि बाबु देवकी नन्दन खत्रीको विभिन्न भागका रहस्यमय तिलस्मी साहित्य पढ्न पश्चिमाहरुले हिन्दी सिके । त्यही ताक हो हामीले आचार्य चतुर सेन, राहुल साँकृत्यायन जस्ता भारतीय लेखकहरूका उपन्यास तथा कथाहरू पढेका थियौँ । मैले साम्ब गुरुसँग ग्वाल्टारमा पढ्न सिकेँ जुन बेला म माध्यमिक विद्यालयमा टेकेकै थिइन । त्यो क्रम अहिलेसम्म कायम छ नयाँ पुस्तक देखेपछि पढ्न मन लाग्ने तर आजभोलि पुस्तकको मूल्यका कारणले पनि किन्न सकिँदैन र पढ्ने इच्छाचाहिँ हुन्छ ।
अनि उमानाथ शास्त्री गुरुले हामीलाई नेपाली पढाउनु हुन्थ्यो । पढाउने भन्दा पनि उहाँ हामीलाई जीवन बाँच्ने कलामा बारेमा सिकाउनु हुन्थ्यो । उहाँ हामीलाई पुस्तक पढ्न भन्दा आफैँले पढेर सुनाउनु हुन्थ्यो । उहाँका संस्कृत, नेपाली तथा हिन्दी साहित्यको खजाना आफैँमा दबाएर राख्नु भएको थियो जुन कुरा जत्ति बेर पनि हामीलाई दिन सक्नुहुन्थ्यो । दन्त्यकथा पढाउनु हुन्थ्यो कक्षाका लागि तर त्यस्ता दन्त्यकथा सहियौँ सुनाउनु भएको थियो । पछि गुरुको मकवानी-बाला महाकाव्य प्रकाशित भयो सायद गुरुको जीवनकाल पछि साझा प्रकाशनबाट ।
साम्ब गुरु पढेर जान्नका लागि प्रेरित गर्नुहुन्थ्यो भने शास्त्री गुरु पढेको कुराहरू सुनाएर र जानेका कुराहरू अरूलाई सुनाएर त्यसको रस लिनु पर्छ भन्नु हुन्थ्यो । गुरुहरूसँगका सम्झना पनि अब धमिलो हुन लाग्यो तर जब सम्झन थालिन्छ, म आफूमा त्यही समयमा बाँचिरहेको र गुरुको पछि पछि लागेर कथा भन्ने ठाउँमा पुगेको अनुभूति हुन्छ । साम्ब गुरुले पुराण भनेको सम्झना हुने नै भयो किनभने मेरो बाको अनुरोधमा उहाँले अठार पुराणको वाचन र अर्थ दुवै सुनाउनु भएको थियो करिब ३वर्ष लगाएर । गुरुको मान्यता के थियो भने श्रीमद्भागवतलाई सात दिनमा सुनाउनु पर्ने कारण थियो , परीक्षित महाराजको दिन नै सात दिन बाँकी थियो । अब अहिले पनि सात दिन नै हो त भन्न मिल्दैन तर चलन के चल्यो भने श्रीमद्भागवतको वाचन र अर्थलाई सात दिनमा समाप्त गरेर साङ्गे सहित विसर्जन गरिन्छ । श्री देवी पुराणलाई नौ दिनको नवाहको रुपमा लगाइन्छ । गुरुले भन्नुहुन्थ्यो- व्यास भन्ने एउटा पदवी हो र त्यो व्यासको पदवी पाउने पछिल्लो व्यक्ति सत्यवतीपुत्र श्रीकृष्ण द्वैपायन अर्थात् वेद व्यास थिए र पालो थियो अश्वस्थामाको तर उनको मस्तिष्कबाट मणि अर्थात् बुद्धि नै निकालेकाले उनी हुन सकेनन् । गुरुको वचनमा के पनि स्पष्ट थियो भने वेद व्यास जीवित नै हुनुपर्छ किनभने उनी चिरञ्जीवी हुन् , अश्वत्थामा पनि जीवित नै होलान् किनभने उनी पनि चिरञ्जीवी नै हुन् । भनिन्छ, द्रोणी अहिले पनि पशुपति क्षेत्रमा बेला मौकामा दर्शनका लागि आउँछन् रे ।
मैले यो लेखिरहेको समय भनेको २०७७ सालको मङ्सिर महिनाको मध्यतिरको बेला हो । अर्थात् अहिले पठन संस्कृति एक प्रकारले पुस्तकाकारमा भन्दा विद्युतीय स्वरूपमा सहज भएको छ । तर हामी पुस्तक पढेर हुर्केकाहरूलाई अहिले पनि अनलाइनमा उपलब्ध समाचारभन्दा प्रकाशित पुस्तक तथा पत्रिकाका अक्षरहरू हातमा समाएर पढ्न मज्जा लाग्छ । झन् यो कोरोना कहरमा पत्रकारिताको अर्थ नै फरक भएको छ र कागजका पानामा छापिने पत्रिकाहरूको माग पनि छैन र त्यस्ता पत्रिकाहरूको माग पनि नभएजस्तै आपूर्तिमा पनि समस्या देखिएको छ । पुस्तक प्रकाशनभन्दा अनलाइन संस्करणमा नै प्रकाशकहरूले आफ्ना सामग्रीहरूको सञ्चित गर्ने बानी बसाउन थालेका देखिन्छन् । कारण हो , प्रकाशित पुस्तक तथा पत्रपत्रिकाहरूलाई पसलसम्म गएर किनेर ल्याउने र घरमा बसेर पढ्ने संस्कृतिको परिवर्तन भएको छ । तर पनि डिजिटल प्रणालीको भर पर्न नसकिने अवस्था र कुनै पनि बेला त्यो भाइरसबाट वा ह्याकरबाट मेटिने डर भएकाले पुस्तकको रुपमा वा प्रकाशित रुपमा रहनु पर्ने आवश्यकता अहिलेसम्म अनुभव गरिएको छ।
यो कोरोना कहरमा पढाइको मोडेल पनि परिवर्तन गर्न बाध्य हुनु परेको छ । पहिले पहिले रमाइलो र अड्को पड्को परेको बेलामा पढाउने अनलाइन चलन यो पटक शिशु कक्षादेखि विद्यावारिधिसम्मका लागि प्रयोग गरिएको छ । सूचना प्रविधिको विकाससँगै त्यसबाट आउने चुनौती र त्यसमा देखिएको कमीसमेतको यो आपत्कालमा महसुस गरिएको छ । डिजिटल डिभाइडर अर्थात् कसैसँग सूचना प्रविधिको पहुँच हुने अनि कसैसँग पहुँच सम्भव नहुने अवस्था अझै पनि विद्यमान रहेछ । सायद त्यसैले होला, विश्वभर नै अनलाइन कक्षाको विश्वसनीयता र पहुँचमा एकरूपता हुन सकेन । कोहीसँग इन्टरनेटको राम्रो व्यवस्था नहुनु, कोहीसँग आवश्यक र अनलाइन कक्षाका लागि सुहाउँदो श्रव्य दृश्य भएका साधनहरूको आवश्यक सामग्रीमा पहुँच नहुनु अनि कतिमा त्यसको प्रविधिको ज्ञान नहुनु जस्ता कुराहरूले अनलाइन कक्षाको विश्वसनीयतामा र उपलब्धिमाथि प्रश्न चिन्ह लागेको बेला छ ।
कहिलेदेखि यो समस्याको समाधान होला भन्ने कुराको अझै कुनै प्रत्याभूति दिन सक्ने अवस्था त छैन तर कोरोनाको विश्वसनीय खोपको विकास भएसँगै आशा पनि जगाएको छ । तर खोपको पहुँचको पनि त कुरा छ । विश्वका करिब ७ अर्ब मानिसहरूका लागि ती खोपहरू कसरी सहजताका साथ उपलब्ध होला? १९६०को दशकमा विकसित खोपहरू अझै विश्वका कतिपय विकासोन्मुख देशहरूमा पुग्न नसकेको तितो यथार्थ अझै छ । अझै एड्सको सङ्क्रमणको कुनै खास ओखती या खोपको विकास हुन नसकेको अवस्था छ ।
पुराना कुराहरू सम्झँदा लाग्छ, हामी विकासको धेरै बाटो हिँडिसकेका छौँ र जीवन धेरै सहज भइसकेको हुनुपर्ने हो तर अझै जीवनको सहजताले भने त्यस्तो विकासको लक्षण दिन सकेको पाइँदैन । कतिपय कुराहरूमा भने विकासको रफ्तार बढेकै हो । एउटा नमिठो सम्झना आयो । मेरो आमालाई पेटको बिरामी थियो । अनि आमाले हामी घरमा नभएको बेलामा भाइ साहिँलो शम्भुलाई रामेछापबाट जुकाको ओखती ल्याउन भन्नु भएछ । सँगै बस्तुको लागि नाम्लेको ओखती पनि ल्याउन भन्नु भएछ । रामेछापको अस्पतालमा ग्वाल्टारका लागि सहज थियो । सँगै भेटेरिनरी पनि थियो । भाइले आमका लागि जुकाको ओखती र भैँसीका लागि नाम्लेको ओखती दुई ओटा सिसीमा लिएर आएछ । कागज काटेर मात्राको व्यवस्था गरेको रहेछ । कति दिनमा कति मात्र खाने ? या बिहान र बेलुका खानका लागि सिसीको बाहिरबाट मात्रा देखाएको रहेछ । बिहीबारका दिन रामेछापमा हाट लाग्ने भएकाले हाटमा जाने मानिसहरू धेरै हुन्थे सामान किन्नका लागि ।
तरकारी किन्नका लागि र कतिपयले आफ्ना उत्पादन विक्री गर्नका लागि पनि । हाटबाट भाइ आयो र आमालाई दुई ओटा सिसी दियो र भन्यो- आमा एउटा नाम्लेको ओखती हो र अर्को तपाईँका लागि जुकाको ओखती हो । मात्रा कागजले देखाएको छ । ऊ तत्कालै खेल्न गयो । आमाले बेलुका जुकाको ओखतीको पहिलो मात्रा खानु भएछ , भोलिपल्ट फेरि जुकाको अर्को मात्रा खानु भएछ । बिसेक हुनुभन्दा पखाला लाग्न थालेछ, पेट पोल्न थालेछ र भुँडी फुलेछ । अनि पो थाहा भयो, आमाले त भैँसीको लागि ल्याएको नाम्लेको ओखती पो उस्तै सिसी हुनाले खानु भएछ । भाइले भनेछ, आमाले त जुकाको ओखती खानु नै भएको छैन त ? अनि थाहा भयो, आमाले जुकाको भनेर भैँसीको नाम्लेको ओखती पो खानु भएछ । अनि आमालाई बोकाएर काठमाडौँ ल्याइयो, अनि डाक्टर ध्रुव शर्मा मुडभरी र डाक्टर सुन्दर मणि दीक्षितले गरेको ओखतीले बिसेक भयो । अदम्भ के भयो भने त्यसपछि आमाको ग्यास्ट्रिकको समस्या आफैँ हरायो ।
अहिले कम्तीमा पनि त्यस्तो अवस्था छैन मुलुकभरि । स्वास्थ्यका लागि प्रत्येक गाउँमा या गाउँ वरिपरि स्वास्थ्य केन्द्रहरू छन् । पढ्नका लागि विद्यालयहरू छन् । तर पनि अहिलेको कोरोना कहर जस्ता प्राकृतिक तथा समय सिर्जित आपत्कालको कसरी समाधान गर्ने भन्नेबारेमा संसार नै अन्यौलता छ र समस्या परेपछि त ढिलो चाँडो समाधान त आउला तर समय धेरै गए जस्तो लाग्न थालेको छ । क्रमशः