लोकसंवाद संवाददाता | समाज | मंसिर २३, २०७७
म्याग्दी । मुहान विवादका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ औलामा निर्माण गर्न लागिएको सिँचाइ आयोजना अन्योलमा परेको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले गत असारमा औला सिँचाइ आयोजना निर्माण गर्न ५६ लाख ७१ हजार १४२ रुपैयाँमा भगवति मालिका कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो ।
विसं २०७८ जेठ ३० गतेभित्र सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का लिएको कम्पनीका सञ्चालक गोपालप्रसाद भट्टचनले साउनदेखिनै काम शुरु गर्न खोजे पनि मुहान विवादले नपाएको बताउनुभयो । औलाको छिमेकी रिमा गाउँका केही स्थानीयवासीले अवरोध गरेका कारण सम्झौता भएको पाँच महिनासम्म पनि सिँचाइ आयोजना निर्माण शुरु हुन नसकेको हो ।
दुई गाउँका टोल सुधार समितिको सम्झौताअनुसार रिमाको पुछारमा रहेको खोला काईको मुहानबाट औलामा पानी ल्याउन आयोजनाको सर्वेक्षण भएको थियो । औला सिँचाइ आयोजनाको उपभोक्ता समितिका अध्यक्ष कुमबहादुर पुर्जाले बुझ्नै नसकिने माग अघि सारेर अवरोध गरिएको दुखेसो पोख्नुभयो । 'खोला सुक्ने, खेतमा पाइप गाड्दा भत्किने, आरिदह सुक्ने बहाना बनाइएको', उहाँले भन्नुभयो, 'वातावरणीय र जैविक विविधतामा असर नपर्ने गरी कर तिरेर पानी लैजान्छौँ भन्दा पनि दिइएन । वास्तविक कुरा के हो बुझ्नै सकिएन ।'
खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका इञ्जिनीयर बालकृष्ण बुढाथोकीले औला सिँचाइ आयोजना निर्माण भएमा ५० हेक्टर जमिनमा सिँचाइ सुबिधा पुग्ने बताउनुभयो । उहाँका अनुसार दुई हजार ४५० मिटर मुख्य पाइपलाइन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । पाँच वटा शाखा पाइपलाइन बनाएर सिँचाइका लागि पानी वितरण गर्ने योजना छ ।
चालु आर्थिक वर्षमा यो आयोजनाका लागि प्रदेश सरकारले ५० लाख रुपैयाँ विनियोजन गरेको छ । अन्नपूर्ण–७ का वडाध्यक्ष गमप्रसाद फगामीले रिमावासीलाई मनाएर सिँचाइ आयोजना निर्माणमा भएको अवरोध हटाउने बताउनुभयो । 'औलामा कृषिको विकासका लागि सिँचाइ प्रमुख आवश्यकता हो', उहाँले भन्नुभयो, 'वडा र पालिकाको तर्फबाट तत्कालै छलफल गरेर काम गर्ने वातावरण बनाउछौँ ।'
औलाका डेढ सय घरधुरी कृषकले सिँचाइ सुविधा नहुँदा खेतीयोग्य जमिन बाँझै राख्नुपरेको गुनासो गरेका छन् । 'गाउँ नजिकै बग्ने संसारे खोलाको पानी खेर गइरहेको छ', स्थानीय दिपक पाइजाले भन्नुभयो, 'सिँचाइ नभएर हाम्रा खेतबारी बाँझै छन् ।' यहाँका स्थानीयवासील बर्खामा आकाशे पानी र मूलको पानीको भरमा धान खेती गर्छन् । खेती हुने जमिन पनि हिउँदमा बाँझै हुन्छ । गहुँ, मकै लगाए पनि आकाशबाट पानी नपरे न्यून मात्रामा उत्पादन हुन्छ ।