कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले छिट्टै चिकित्सा विषयको स्नातक तहको पढाइ शुरुआत गर्ने

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले छिट्टै चिकित्सा विषयको स्नातक तहको पढाइ शुरुआत गर्ने

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  मंसिर २३, २०७७

जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले छिट्टै चिकित्सा विषयको स्नातक तहको पढाइ शुरुआत गर्ने भएको छ । यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक सहयोग गर्ने जनाएको छ । हालसम्म सरकारले प्रतिष्ठानलाई सो तहको अध्ययन अध्यापन गराउन अनुमति दिएको छैन । 

जिल्लाका स्वास्थ्य अवस्थाका बारेमा अनुगमन गर्न यहाँ आउनुभएका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रतिष्ठानले सो तहको अध्ययनका लागि माग गरेको र मन्त्रालयले सहजीकरण गरिरहेको बताउनुभयो । उहाँले प्रतिष्ठानको भौतिक पूर्वाधार, जनशक्ति विकास तथा उपकरणको थप व्यवस्था गर्न मन्त्रालयले आवश्यक सहयोग गर्ने जानकारी दिनुभयो । 

प्रतिष्ठानका उपकुलपति प्राडा राजेन्द्रराज बाग्लेका अनुसार प्रतिष्ठानले एमबिबिएस तहको अध्ययन अध्यापनका लागि आवश्यक पूर्वाधार, पाठ्यक्रम तथा जनशक्तिको आवश्यक तयारी लगभग पुरा गरिसकेको छ । उहाँले भन्नुभयो, 'प्रतिष्ठान एमबिबिएस तहको पठन पाठन गर्न अनुमतिको प्रतिक्षामा छ । यस तहको पठन पाठनले दुर्गम क्षेत्रमा चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव हुने छैन ।जनताले  घर आगनमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने छन् । '
 
कार्यक्रममा प्रतिष्ठानका शिक्षाध्यक्ष डा निरेश थापाले ६ अरब रुपैयाँको बहुवर्षीय योजना  पारित भइसकेको जानकारी दिँदै यसलाई कार्यान्वयन गर्न मन्त्रालयको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले प्रतिष्ठानले स्वास्थ्य सेवा घरघरमा पु¥याउन उच्च प्राथमिता दिइ काम गरिरहेको जानकारी दिनुभयो । प्रतिष्ठानका वरिष्ठ प्रशासकीय अधिकृत अमृत भण्डारीका अनुसार प्रतिष्ठानले कर्णालीमा कोरोना परीक्षण तथा उपचारमा उल्लेखनीय सफलता प्राप्त गर्दै आएको छ ।  
 
कर्णाली प्रदेशका ४२ स्थानीय तहमा पाँचदेखि १५ श्ययाका अस्पतालको शिलान्यास समेत भएको छ ।  कार्यक्रममा पूर्वराज्यमन्त्री बलबहादुर महतले प्रतिष्ठानको पूर्वाधार र एमबिबिएसको लागि सहयोग गर्न सरकारसँग अनुरोध गर्नुभयो ।