लोकसंवाद संवाददाता | समाचार | मंसिर २४, २०७७
तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच चुनावी तालमेलसङै पार्टी एकता गर्ने सहमतिमा हस्ताक्षर भएको भोलिपल्टैबाट माओवादी केन्द्रबिच आन्तरिक विवादले उग्र रूप लियो । उग्र रूप लिएको मात्र होइन गोपाल किराँती लगायतका नेताहरुले यो गठबन्धन उपयुक्त नभएको भन्दै बखेडा निकालेका थिए । किराँती भन्दा अघि लोकेन्द्र विष्ट मगर तथा विश्वभक्त दुवाल ‘आहुती’हरू पार्टीबाट अलग भई स्वतन्त्र जीवन बाँच्ने प्रण गर्न पुगे ।
माओवादी केन्द्रभित्र नेतृत्वले पार्टीभित्र पर्याप्त छलफल नै नगरी एमालेसँग चुनावी तालमेल र पार्टी एकताका लागि कार्यदल गठन गर्ने निर्णय गरेको भन्दै उनीहरूले सार्वजनिक रुपमै असन्तुष्ट व्यक्त गरेका थिए । पुष्पकमल दाहाल प्रचण्डको निकट मानिएका किराँती नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणपछि प्रचण्डको कटु आलोचकका रुपमा प्रकट हुन थाले । नेकपा माओवादी केन्द्रभित्र प्रचण्डको आलोचना सुरु गर्ने उनी लगायतका केही नेताहरू अलग्गै बसे । फलतः उनी पार्टी एकीकरण प्रक्रियामा सामेल भएनन् र छुट्टै पार्टी गठनको प्रक्रियामा लागे । त्यसपछि गोपाल किराँतीले पुरानै माओवादी केन्द्र पुनर्गठन गरे । माओवादी केन्द्रले एमालेसँग एकीकरण गर्ने घोषणा गरे पश्चात् नेपालमा पहिचानको मुद्दा ओजेलमा परेको उनको ठहरसहित माओवादी केन्द्र पुनर्गठन गरेका थिए । पहिचान विरोधी एमालेसँग माओवादी केन्द्र मिल्नुले पनि पहिचानको मुद्दा ओझेलमा परेपछि पहिचानवादीहरूलाई अन्याय परेको उनको ठम्याइ थियो ।
किराँतीले नेपालमा नाम मात्रको कम्युनिस्ट पार्टी बाँकी रहेको, मार्क्सवाद र माओवादका विचारधारा बोकेका विचारकहरू नभएका र सर्वहारा, गरिब, मजदुर, आदिवासी जनजातिका नामबाट सत्तामा पुग्ने मात्र ध्यान भएका पार्टी भएको ठहर गदै उनले माओवादी केन्द्र पुनर्गठन गर्नु परेको कुरा उल्लेख गरिएको तियो ।
देशभक्तिपूर्ण राष्ट्रिय स्वाधीनता, पहिचान आधारित जनवाद र समाजवादी सुविधाको जनजीविका सुनिश्चित गर्न, एमसीसी र भूमि अतिक्रमण जस्ता इण्डो–अमेरिकन आतङ्क विरुद्ध जनप्रतिरोध आन्दोलन सशक्त बनाउन, डवल नेकपा सरकारका भ्रष्टाचारी, फासिवादी, राष्ट्रघाती हर्कतको विरोध गर्न, एकल रुपमा देशभक्त समाजवादी आन्दोलनको तयारी गर्दै साझा कार्यसूचीमा संयुक्त आन्दोलनबारे सक्रिय सहभागी हुने निर्णय गरियो ,’ किराँतीको माओवादी केन्द्रको नाममा जारी भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
दुई वर्ष यता उनीको नेतृत्वमा रहेको अर्थात् अध्यक्ष रहेको माओवादी केन्द्रले गत हप्ता एउटा निर्णय गर्यो । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) राज्यद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबिच पार्टी एकता गर्ने निर्णयले सो पार्टीभित्र मात्र होइन् अहिले सुरक्षा निकायमा सनसनी मच्चिएको छ । विगतको माओवादी सशस्त्र बिद्रोह बिस्तार हुन नसिकरहेको समयमा खुम्वुवान मुक्ति मोर्चा हुँदै किराँत वर्कस पार्टीसँगको एकता पश्चात पूर्व क्षेत्रमा विस्तार गरेको ‘ह्याङ’ देखाएर माओवादी केन्द्र नेपाल कम्युनिस्ट पार्टीसँग एकताको प्रस्ताव गरेको बताइन्छ । त्यति मात्र होइन विप्लव समूहले पनि त्यसलाई आश्चर्यका रुपमा लिएको र त्यसबारे कुनै धारणा सार्वजनिक गरिसकेको छैन ।
अर्धभूमिगत रुपमा आफ्ना गतिविधि गरिरहेको सो समूहले किराँती समूहलाई पूर्णतया भूमिगत पार्टीमा कसरी भित्र्याउने भन्ने बारेमा कुनै रणनीति तय गरि नसकेको बताएको छ । किराँती पार्टीको निर्णयलाई स्वीकार गर्ने कि नगर्ने भन्ने बारेमा विप्लव समूहको कुनै धारणा बाहिर नआएसम्म केही भन्ने अवस्था देखिएको छैन । विप्लव समूहबाट प्रभावशाली नेता मोहन कार्की बर्हिगमनलाई हेर्ने हो भने किराँती समूहलाई विप्लव समूह स्वीकार गर्ने अवस्थामा देखिदैन् । कार्की जसरी बाहिरिए त्यो विषयमा पार्टीभित्र ठुलै छलफल समेत भएको बताइन्छ । कार्की बाहिरिएपछि विप्लव समूहको सङ्गठनमा ठुलो धक्का लागेको महसुस गरिएको थियो । एक जना परिपक्व संगठनक गुमाएको भन्दै विप्लव समूहले कार्कीलाई फेरी पार्टीमा फर्काउने कोसिस गरे पनि हालसम्म असफल भइरहेको बताइन्छ ।
तर किराँती समूहले हचुवाकै भरमा केन्द्रीय समितिको छैटौँ बैठकले विप्लव समूहसँग समाहित हुने निर्णय गरेको पुगेको छ । ‘यही मङ्सिर ८ गतेदेखि मङ्सिर १० गतेसम्म काठमाडौँमा सम्पन्न भएको बैठकले विप्लवसँग एकता गर्ने निर्णय गरेको हो । बैठकले मुख्यतः रूपान्तरणमा जोड एवं महाध्रुवीकरण पहल को निर्णय गरेको छ । माओवादी केन्द्रले देशभक्त समाजवादी आन्दोलनको तयारी गर्दै साझा कार्यसूचीमा संयुक्त आन्दोलनबारे सक्रिय सहभागी हुने पनि निर्णय गरेको छ ।
देशभक्तिपूर्ण राष्ट्रिय स्वाधीनता, पहिचान आधारित जनवाद र समाजवादी सुविधाको जनजीविका सुनिश्चित गर्न, एमसीसी र भूमि अतिक्रमण जस्ता इण्डो–अमेरिकन आतङ्क विरुद्ध जनप्रतिरोध आन्दोलन सशक्त बनाउन, डवल नेकपा सरकारका भ्रष्टाचारी, फासिवादी, राष्ट्रघाती हर्कतको विरोध गर्न, एकल रुपमा देशभक्त समाजवादी आन्दोलनको तयारी गर्दै साझा कार्यसूचीमा संयुक्त आन्दोलनबारे सक्रिय सहभागी हुने निर्णय गरियो ,’ किराँतीको माओवादी केन्द्रको नाममा जारी भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘एकताको लागि नेत्रविक्रम चन्द ‘विप्लवसँग’ छलफल भइरहेको समेत जानकारी दिँदै आगामी वैशाखमा राष्ट्रिय सम्मेलन हुँदै छ, त्यति वेलासम्म वातावरण बन्छ । त्यस लगत्तै विप्लप नेकपा र नेकपा (माओवादी केन्द्र)को एकता हुने दुई पक्षबीच छलफलका साथ तयारी भइरहेको छ’, किराँतीको दावी छ । यद्यपि यो विषयलाई विप्लव पक्षले गम्भीरतापूर्वक नलिएको र किराँती समूहलाई धोकेबाजको संज्ञा दिइरहेको बेला एकता गर्ने भनेर एकतर्फी प्रचारबाजी गर्ने किराँती समूहको भोलिको अवस्था के होला भन्ने प्रशन पनि उत्तिकै उठेको छ । उनले यो घोषणा गरेपछि विप्लव समूहचाहिँ पहिचानवादी पार्टी भयो कि भएन भन्ने प्रश्नको उत्तर भने दिएका छैनन् । उनले माओवादी केन्द्र पुनर्गठन गर्दा उठाएको पहिचान सम्बन्धी मुद्दा ओझेलमा पारेर विप्लवको शरणमा जान लागेको बताइन्छ ।