लोकसंवाद संवाददाता | समाचार | मंसिर २५, २०७७
सत्तारुढ नेकपा पछिल्लो ८ महिनादेखि चरम आन्तरिक विवादमा फसिरहेको छ । पछिल्लो समयमा सचिवालयमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठसहितका नेताहरू एकजुट भएर लागेका छन् । २८ कात्तिकमा बसेको सचिवालय बैठकमा ५ जना नेताका तर्फबाट अध्यक्ष प्रचण्डले लिखित प्रस्ताव ल्याएपछि ओली असन्तुष्ट र रुष्ट बन्दै आएका छन् ।
१३ मङ्सिरमा उनले पनि सचिवालयमा आफ्नो प्रस्ताव पेस गरे पनि प्रचण्डको प्रस्तावमा छलफल नै हुन नसक्ने भन्दै ओली २१ मङ्सिर मा बसेको स्थायी समिति बैठकमा नै गएनन् । तर स्थायी समिति बैठकमा नगएका ओलीले बुधवार एकाएक अर्का अध्यक्ष प्रचण्डलाई बालुवाटारमा भेट गरेर माधवकुमार नेपालको साथ छाड्न र आफूसँग हात मिलाउन आग्रह गर्ने अवस्थामा पुगे । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष प्रचण्डलाई सहकार्यको प्रस्ताव राखेपछि नेकपाभित्रको विवादमा कुनै न कुनै खिचडी पाकिरहेको त छैन ? भन्ने अनुमान गर्न थालिएको छ ।
बालुवाटारमा ओलीले दुई अध्यक्ष मिल्दा पार्टीमा देखिएको सङ्कट तत्काल टर्ने हुने र त्यसका लागि वरिष्ठ नेता माधवकुमार नेपालसहित बहुमत नेताहरूको गठबन्धन तोडिनुपर्ने उनको सर्त छ । ओली त्यतिमा मात्रै रोकिएनन् । उनले माधवकुमार नेपाललाई 'धोकेबाज' भएको समेत आरोप लगाउन थालेका छन् ।
प्रचण्डले भने दुई अध्यक्षबिच भन्दा पनि पार्टी कमिटीबाटै निर्णय लिनु उपयुक्त हुने जवाफ दिइएको बताइन्छ । दुई अध्यक्षबिच करिब एक महिनादेखि रहेको तिक्ततापूर्ण सम्बन्ध अन्त्य गरेर सहकार्यका लागि प्रस्ताव आउनु सकारात्मक रुपमा लिन सकिए पनि नेकपाभित्र दुई अध्यक्षले एक अर्कामाथि लगाएको आरोप चाहिँ के हुन्छ अथवा त्यसको व्यवस्थापन राजनीतिक तवरले गरिन्छ कि लेनदेनबाट फासफुस पारिन्छ भन्ने कुरा चाहिँ रोचक हुनेछ ।
ओली–प्रचण्डका आरोप कस्ता ?
नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले २८ कात्तिकमा बसेको सचिवालयमा लिखित रुपमा नै आफ्नो प्रस्ताव राखे । १९ पृष्ठ लामो प्रतिवेदनमा प्रचण्डले अध्यक्ष ओलीलाई गम्भीर आत्म समीक्षा र आत्मालोचना गरेर पार्टी एकता र संविधानको रक्षाका लागि आवश्यक त्याग गर्न सुझाव दिएका थिए । प्रचण्डको प्रतिवेदनमा भनिएको छ, ‘म आशा गर्दछु कि कमरेड केपी ओलीले प्रमुख रूपमा गम्भीर आत्म समीक्षा र आत्मालोचना गर्दै पार्टी एकता, संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा एवं देश निर्माणमा आवश्यक त्यागसहित पहल लिई समुचित योगदान गर्नुहुनेछ ।’
प्रचण्डले पेस गरेको प्रतिवेदन
प्रचण्डले प्रधानमन्त्री ओलीमाथि स्वतन्त्र न्यायपालिकाका प्रमुख प्रधानन्यायाधीश चन्द्रशमशेर जबरालाई बोलाएर संसद् भङ्ग गर्नेबारे छलफल गरेको, सङ्कटकाल लागू गर्ने प्रयास गरेको, द्वन्द्वकालीन मुद्दालाई निहित स्वार्थ र उद्देश्यका लागि दुरुपयोग गर्न खोजेको, आफूसँग विमति राख्नेहरूसँग प्रतिशोध साँध्न अख्तियारको दुरुपयोग गर्न खोजेको आरोप आरोप लगाएका छन् ।
अहिले नेकपाको दुई तिहाइ नजिकको बहुमत आउनुमा केपी शर्मा ओलीले भारतीय नाकाबन्दीको समयमा लिएको अडानलाई पनि एक कारक मानिन्छ । तर ओलीको राष्ट्रवाद नक्कली भएको र त्यसले पार्टीलाई ठुलो क्षति पुर्याएको प्रचण्डले आरोप लगाएका छन् । एमसीसीदेखि सीमा विवाद हुँदै भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलसँगको भेटलाई समेत आधार मान्दै ओलीको राष्ट्रवाद नक्कली भएको सन्देश जनतामा गएको उनको भनाई थियो ।
ओलीले पनि प्रचण्डको प्रतिवेदनलाई ‘आरोप पत्र’ भन्दै अर्को प्रतिउत्तर लेखे । प्रचण्डको १९ पेज लामो प्रतिवेदनको ओलीले ३८ पेजमा उत्तर दिए । जसमा उनले प्रचण्डको प्रस्ताव बैठकमा छलफल या परामर्श गर्न रीतसमेत नपुगेको, नितान्त व्यक्तिगत असन्तुष्टि, सीमाहीन कुण्ठा र निहित स्वार्थ लुकेको कृत्रिम आरोपको सँगालो मात्रै भएको भन्दै यो प्रथम दृष्टिमै खारेज योग्य रहेको उल्लेख गरेका छन् । यस्तै आफ्ना एकतर्फी लिखतमार्फत पार्टीभित्रका असहमतिहरूलाई शत्रुतापूर्ण अन्तर्विरोधमा बदलेको र कम्युनिस्ट आन्दोलनलाई गम्भीर सङ्कटमा धकेलेको, संविधानको पूर्ण कार्यान्वयनमार्फत अपेक्षित परिणाम निकाल्ने भन्दा पनि संशोधनको नाममा निरन्तर प्रयोग एवम् परीक्षण र विभिन्न बहानामा अस्थिरतामै रम्न खोजेको पनि आरोप लगाएका छन् ।
केपी ओलीले पेस गरेको प्रतिवेदन
आफ्नै दलको सरकारलाई गठन हुँदादेखि नै असहयोग गर्न नियोजित रुपमा सरकारविरुद्ध षड्यन्त्र गर्ने, राज्यका संयन्त्रमाथि अनधिकृत हस्तक्षेप गर्ने र दबाब दिन खोजेको, सरकारमा मात्रै ध्यान दृष्टि र प्रधानमन्त्री र सरकारको स्थायित्वविरुद्ध निरन्तर लागेको र राजनीतिक स्थिरताविरुद्ध लागेको आरोप लगाएका थिए ।
यति मात्रै होइन उनले सरकारमा नभएका नेताहरूको नियमित र वैध आम्दानीको स्रोत नभए पनि कतिपय नेताहरूको जीवनशैली एकदमै विलासी भएको, कतिपय नेताहरूको वर्ग उत्थान भएको, बसाइ उठाइ अपारदर्शी भएकोजस्ता आरोप लगाएका छन् । ओलीले घुमाउरो भाषामा प्रचण्डले जनयुद्धका क्रममा मारिएका ‘पाँच हजार मान्छेको हत्याको जिम्मा लिन्छु’ भन्नुको अर्थ खोज्दै यस्ता अभिव्यक्तिले समस्या निम्त्याउने चेतावनी प्रचण्डलाई दिएका छन् ।
ओलीको बोली किन फेरियो ?
प्रचण्डले २८ कात्तिकमा ओलीमाथि केही गम्भीर आरोपसहित प्रस्ताव ल्याएपछि ओली मात्रै होइन नेकपाभित्र ओली समूह निकै उत्तेजित रुपमा खनियो । ओलीदेखि ईश्वर पोखरेल, शङ्कर पोखरेल हुँदै सूर्य थापासम्मले प्रचण्डको प्रस्ताव फिर्ता नभएसम्म बैठक नै बस्न नसक्ने बताए । त्यसपछि ओलीले अर्को प्रस्तावबाट नै प्रचण्डको प्रस्तावको खण्डन गर्ने उपाय निकाले । यसैबीचमा ओलीले पूर्व एमाले एक हुने भन्दै माधवकुमार नेपालसहितका नेताहरूलाई फकाउने कोसिस गरेका थिए । तर ओलीको यो आइडिया सफल हुन सकेन र उनले पूर्व एमालेलाई एकजुट गराउन सकेनन् । बरु सचिवालय बैठकमा नै माधव नेपालले ओलीलाई पूर्व एमाले ओलीको पक्षमा एकजुट नहुने स्पष्ट सन्देश दिए र दिलाउने अन्तिम प्रयास भयो । त्यसपछि पनि हरेक कमिटीमा बहुमतमा रहेका प्रचण्ड र नेपालसहितका नेताहरुले निरन्तर सचिवालय हुँदै स्थायी समिति र केन्द्रीय समितिको बैठकको तयारी गरेपछि ओली अब प्रचण्डलाई नै फकाउने रणनीतिमा लागेका छन् ।
पछिल्लो एक महिनामा ओली र प्रचण्डबिच भेट भएको यो तेस्रो अवसर हो । २१ मङ्सिर मा स्थायी कमिटी बैठकअघिको भेटपछि यो पहिलो भेट हो । त्यस बेला २५ दिनपछि ओली–प्रचण्डको भेट भएको थियो । स्थायी कमिटी बैठक एक सातालाई स्थगित गरिएपछि ओली आफैँ प्रचण्डसँग सहमतिका लागि अघि सरेका छन् । २१ मङ्सिर को स्थायी कमिटी बैठकमा ओलीबाहेक सबै नेता सहभागी भएका थिए ।
पार्टी कमिटीको बैठकमा आफू अनुकूल सहभागी हुँदै आएका ओलीले माधव नेपाललाई फकाउन गत साता लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई पठाएका थिए । जबज मान्नेहरु एक हुनुपर्ने भन्दै पुरानो राजनीतिक कार्ड फाल्दा समेत नेपाल ओलीसँग सहमतिका लागि तयार नभएपछि ओली पुनः प्रचण्डलाई नै फकाउने रणनीतिमा लागेको देखिन्छ । विगतमा प्रचण्डसँग दरिलो साथका कारण पार्टी र सरकारको नेतृत्वमा सहज रुपमा काम गरिरहेका ओलीले अब पुनः प्रचण्डलाई नै आफूतिर तान्ने प्रयास गरेका हुन् । ओली पार्टीमा एक्लिएका मात्रै छैनन् उनका कार्यशैली र व्यवहारले धेरै नेताहरू रुष्ट रहँदै आएका छन् । ओली पार्टीमा बिस्तारै अल्पमतमा पर्दै गएपछि पार्टीमा देखिएको सङ्कट तत्कालका लागि हल गर्ने एक मात्र उपाय प्रचण्डसँगकाे सहकार्य बाँकी रहेकाे बताउन थालिएको छ ।