लोकसंवाद संवाददाता | समाज | मंसिर २५, २०७७
काठमाडौँ । सडक विभागले वर्षाका कारण क्षतिग्रस्त भएका सडक मर्मतका लागि सरकारसँग एक अरब ५० करोड रुपैयाँ माग गरेको छ ।
वर्षाका कारण आएको बाढी र पहिरोले क्षतिग्रस्त भएका राष्ट्रिय राजमार्ग मर्मतका लागि सरकारसँग एक अरब ५० करोड रुपैयाँ माग गरिएको विभागले जनाएको छ । यो वर्ष गत वर्षभन्दा बढी वर्षा भएका कारण सडकमा बढी क्षति पुगेको विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार अरनिको राजमार्गका विभिन्न खण्ड, बेनी जोमसोम सडक र साँफेबगर मार्तडी सडकमा बढी क्षति पुगेको छ । यी सडक पूरै बिग्रिएकाले सामान्य मर्मतले नपुग्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, 'सामान्य मर्मतले मात्रै नहुने हुँदा हामीले थप रकम माग गरिएको हो ।'
सडक र पुलनै बगाएको स्थानमा मर्मतले नहुने भएकाले त्यहाँ पुनर्निर्माण नै गर्नुपर्ने उपमहानिर्देशक अधिकारीको भनाइ छ । पुल बगाएका स्थानमा बेलिब्रिज राखेर आवतजावतलाई नियमित गरिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, 'साँफेबगर–मार्तडी सडकमा एउटा बेलिब्रिज राख्न लागिएको छ ।'
उत्तर दक्षिण करिडोरअन्तर्गत कालीगण्डकी करिडोर निर्माणाधीन सडक हो । निर्माणाधीन सडकमा कम क्षति भए चालु ठेक्काबाट काम गराउन सकिने भए पनि धेरै क्षति पुगेकाले थप रकम आवश्यक भएको उपमहानिर्देशक अधिकारीले बताउनुभयो । अरनिको राजमार्गको बाह्बिसेदेखि भन्सारसम्मको सडक पुनःस्थापना गर्नुपर्ने छ ।
सडक विभागले सडक बोर्ड नेपालले छुट्ट्याएको बजेटमार्फत वर्षेनी नियमित रुपमा सडकको मर्मत गर्दै आएको छ । धेरै राजमार्गमा यस वर्ष पनि मर्मतको योजना गरिएको विभागले जनाएको छ । कतिपय सडकमा यस वर्षदेखि विश्व बैंकको आर्थिक सहयोगमा समेतमर्मत हुँदैछ ।