धनगढी क्षेत्रका सबै सडक स्तरोन्नति हुनसकेमा नगर क्षेत्रको मुहारनै फेरिने

धनगढी क्षेत्रका सबै सडक स्तरोन्नति हुनसकेमा नगर क्षेत्रको मुहारनै फेरिने

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर २६, २०७७

धनगढी  । धनगढी उपमहानरपालिका क्षेत्रका भित्रका सडक स्तरोन्नतिको गर्न थालिएको छ । 

क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत पहिलो चरणमा धनगढीको ट्राफिक चोकदेखि कैलाली नालासम्म एक हजार ३८० मिटर र चटकपुरदेखि क्याम्पस रोडसम्म तीन हजार ६५० मिटर सडक स्तरोन्नति गर्न थालिएको उपमहानगरपालिकाले जनाएको छ । यसबाहेक गुल्म–चर्च, क्याम्पस रोड–जाखौर ताल, मालपोत रोड र हसनपुर रोडलगायत सडक पनि स्तरोन्नति गर्न लागिएको छ ।
   
आयोजनाअन्तर्गत नाली, फुटपाथ र कतिपय ठाउँमा साइकल लेनसहित झण्डै दश किलोमिटर सडक स्तरोन्नति गर्न लागिएको उपमहानगरपालिकाका इञ्जिीनयर व्दिजराज भट्टले बताउनुभयो । 'दोस्रो चरणमा नगर क्षेत्रका थप ३० किलोमिटर सडक निर्माण तथा स्तरोन्नति गर्नका लागि पहल भइरहेको छ', इञ्जिनीयर भट्टले भन्नुभयो, 'सबै सडक स्तरोन्नति हुनसकेमा नगर क्षेत्रको मुहारनै फेरिने छ ।'

उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड तथा उपप्रमुख सुशीला मिश्र भट्टले संयुक्तरुपमा सडक स्तरोन्नति तथा विस्तार कार्यको बुधबार शिलान्यास गर्नुभयो । धनगढीलाई व्यवस्थित र आकर्षक शहरको रुपमा विकास गर्न सडक स्तरोन्नतिका साथै ढल निर्माण, फोहरमैला व्यवस्थापन, दिसाजन्य पदार्थको व्यवस्थापनलगायत काम गर्न लागिएको जनाइएको छ । 
 
उपमहानगरपालिकाले फोहरमैलाको व्यवस्थापनका लागि आवश्यक पर्ने जग्गा वर्षौंदेखि खोजी गरिरहेको भए पनि अझँै टुङ्गो लाग्न सकेको छैन । इञ्जिनीयर भट्टका अनुसार उपमहानगरको ठूलो समस्याका रुपमा रहेको फोहरमैला व्यवस्थापनका लागि झण्डै ४० बिघा जग्गा आवश्यक पर्नेमा वडा–७ को खुटिया नदी छेउमा जग्गाको खोजी भइरहेको बताउनुभयो ।   
  
एशियाली विकास बैंकको सहयोगमा सञ्चालन भइरहेको क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत पाँच वर्षअघि नै धनगढी उपमहानगरपालिकामा ४१ किलोमिटर सडक स्तरोन्नति तथा विस्तार गर्ने भनिएको थियो । त्यति बेला गरिएको लागत अनुमान र डिजाइनअनुसार छुट्याइएको बजेट अहिले अपुग हुने देखिएको छ । 
  
क्षेत्रीय शहरी विकास आयोजनाका उपव्यवस्थापक श्यामचन्द्र बुढाथोकीले ठेक्का प्रक्रियामा देखिएको केही समस्याका कारण निर्माणको काम थाल्न ढिलाइ भएको बताउनुभयो । 'पाँच वर्ष अघि गरिएको लागत अनुमान डिजाइनअनुसार ‘फिडर’ समेत गरी जम्मा ४१ किमी सडक स्तरोन्नति गर्ने भनिएको थियो', उहाँले भन्नुभयोे', 'त्यतिबेला छुट्याइएको बजेट र सडकको गुणस्तरलाई समेत ध्यानमा राखेर उपमहानगरपालिकासँग भएको समझदारीअनुसार स्तरोन्नति हुने सडकको लम्बाइ घटाएर काम अघि बढाउनु परेको हो ।'

सम्झौता हुँदाको समयमा छुट्याइएको बजेट एक अरब ३५ करोड रहेको थियो । नगर प्रमुख नृपबहादुर वडले यो काम अब चरणबद्धरुपमा गरिने बताउनुभयो । उपमहानगरपालिकाले यो आयोजनाको सफल कार्यान्वयनका लागि सडक क्षेत्र अधिकारभित्र पर्ने संरचना भत्काउने घरधनीलाई सम्मानित गर्ने, करमा छुट दिने, भत्काइएको घर नक्सामा छुट दिनेलगायत कार्यक्रम पनि अघि बढाएको छ ।
  
क्षेत्रीय शहरी विकास आयोजनाले कञ्चनपुरको भीमदत्त नगरपालिका, शुक्लाफाँटा नगरपालिका र कैलालीको गोदावरी नगरपालिकामा पनि शहरी पूर्वाधारसम्वन्धी काम गर्न लागेको जनाइएको छ ।