तेजविलास अधिकारी | साहित्य | मंसिर २७, २०७७
कवि विजय हितानको जन्म वि.सं. २०२४ मंसिर गुल्मी जिल्लाको पौंदी अमराईमा भएको हो । ब्रिगेड अफ गोर्खाज हङकङमा काम गरी सेवा निवृत्त हितान समाज सेवाका अतिरिक्त साहित्यमा रमाएका देखिन्छन् । जब एउटा भोक्ता जीवनलाई अनुभूत गर्न थाल्छ उसको कलम चलाउने इच्छा हुन्छ । कलम कुन विधामा चलाउने भन्ने उसको शैली र रोजाइको विषय हो । लेख्दा लेख्दै, सोच्दा सोच्दै, अभ्यास जेमा गर्दै जान्छ त्यसैमा कल्पनाको मनोरम पक्ष र कला भरेर अगाडि बढि नै हाल्छ । सोही समुदायमा घुलमिल हुन्छ । यस्तै इच्छाशक्ति भएका कवि सम्प्रदाय निर्माण गरिसकेका कृतिगत उपस्थिति देखाइसकेका स्रष्टा हुन्; विजय हितान ।
माध्यमिक विद्यालयमा ‘बन्दुक ठूलो कि कलम ठूलो’ भन्ने विषयमा भएको बहसमा ‘कलम ठूलो’ भन्ने पक्षमा मैले बहस गरेको भए पनि त्यसपछि लाहुरे विजय हितान बोल्दै गए पनि अन्ततः उनी कलम ठूलो, प्यारो भन्ने ठाउँमै आइपुगेका छन् । यो साह्रै सुन्दर विषय हो । अन्ततः मान्छे आफ्नो रुचि कुनै न कुनै ढाँचामा जीवनभित्र घुसाउँछ नै । कवि विजय हितानको ‘विछोड अघिको रात’ कवितासङ्ग्रह प्रकाशित छ । कवि विजय हितानको यस कवितासङ्ग्रहमा जम्मा ३७ (सैंतिस) थान कविता छन् । कवितासङ्ग्रह भित्र लाहुरे शृङ्खला पाँच र जिन्दगी शृङ्खला चार ओटा रहेका छन् । यसरी हेर्दा यस्तो शृङ्खलालाई एकै हिसाबले वा शृङ्खलाकै रूपमा हेर्ने हो भने ३० ओटा कविता शीर्षकभित्र कविले आफूलाई स्वतःस्फूर्त रूपमा पोखेको देखिन्छ ।
कविताहरूभित्र स्वीकारोक्ति छ । अरू कवि मानिसलाई प्रकृतिसँग तुलना गर्दछन् यिनी प्रकृतिभित्र नै मान्छे छ भन्ने मीठो अनुभूति दिलाउँछन्;
रूखका पातहरू हुन्छन्
हाँगाबिँगा अनि
जराहरू पनि
पातहरू प्रकाश खोज्दै
आकाशतिर आकासिन्छन्
जराहरू जल खोज्दै
जमिनमुनि भासिन्छन्
म एउटा मान्छेको
जीवन जस्तै (रूखजस्तै म, पृ.२३)
सिङ्गो कविता यति हो । यहाँ सिङ्गो जीवन अटाएको छ । जीवन सङ्घर्ष बोलेको छ । जीवनका बाध्यता र विवशताको प्रकटित स्थितिबोध हुन्छ । कवि नबोलेरै धेरै कुरा भनिरहेका छन् । आखिर मान्छेको जीवनले प्रकृतिको अनुकरण त गरिरहेको छ त । कवि बेलायतको बसाईलाई अमनचैनको बसाई मान्दैनन् । मान्छे जे र जहाँबाट अस्तित्वको लडाई लडिरहे पनि ऊ त्यहाँबाट मुक्त हुन खोज्दो रहेछ त्यही अनुभूति ‘बसाई बेलायतको’ शीर्षकको कवितामा अभिव्यक्त भएको छ ।
एउटा कवितासङ्ग्रहबाट नै लेखक वा कविको सबै टुङ्गो त लगाउन सकिन्न र सकिन्न गर्न मूल्याङ्कन उसको साहित्यिक अभियान र अभिप्रायको । तथापि भन्न के सकिन्छ भने कविताको पाठकका लागि अत्यन्तै प्राकृतिक स्वादले भरिएको स्वदेशको मायाले छपक्कै भिजेको, प्रणय प्रेमको रमरम भएको अनि आफ्नो जिम्मेवारीप्रति कहिल्यै बिमुख हुन नहुने विषय बोधले भरिएको कविताको शृङ्खला हो ‘बिछोडअघिको रात’ ।
भाइ भान्जाहरू
आतङ्ककारी विरुद्ध लडिरहेका छन्
म यहाँ
मानवअधिकार खोज्दै
गोर्खालीप्रतिको भेदभाव विरुद्धमा
सङ्घर्ष गरिरहेको छु
त्यसैले मेरो बसाई बेलायतको अशान्त छ । (पृ.२५)
विषय प्रस्तुतिमा कतै ढाँटछल छैन । योजना लुकाएको छैन । शैली सरल छ । यतिमा पनि भयो त कविता । आफूलाई कवि भन्ने तर १/२ जना बाहेकले नबुझ्ने कविता लेख्नेहरूलाई कति राम्रो जवाफ छ यो कवितामा । वर्णन छ बेलायतभित्रको बसाई सङ्घर्षको र जहाँ जहाँ डटे पनि अन्यायको, असमानताको विपक्षमा न्याय र समानताको निम्ति नै लाग्ने प्रण कवितामा छ । बाध्यतामा पो मान्छे घर छोड्छ त । सधैं बस्नु परेपछि उसको बाल्यकालदेखिको यादले कहाँ एकै ठाउँमा बस्न दिन्छ र ! त्यतिमात्र होइन मनलाई डुल्न, घुम्न, अनेक विषयमा रमाउन वा दुःखी हुन कसले छेक्न सक्छ र !
कसैको यादमा बित्यो
मातृभूमि, बा र आमाको
गहिरो सम्झनामा बित्यो ।
म लाहुरेको
परदेशको पहिलो दशैं
घरको सम्झनामै बित्यो । (पृ. २८)
कविको काव्ययात्राको प्रारम्भिक चरणको कविताहरूमा कतै खोट लगायने ठाउँ नै छैन । एक्कैचोटि सांस्कृतिक पर्व कोही उसै अर्थात् प्रेमिका (?) जन्मदिने बा र आमा र सिङ्गो जन्मभूमि । यत्ति त हो सम्झनुपर्ने अनि त सम्झिएको कुरा सङ्केत गर्ने त हो साहित्यमा । कविता सहजै सुन्दर बनेको छ । मान्छे बाँच्ने क्रियाभित्र मरेको पनि त हुन्छ । त्यो मर्नुको जिन्दगीले मान्छेलाई सिर्जनामा बचाउँछ । साथीभाइमा चिनाउँछ र जीवन र जगत्लाई सङ्घर्षको पाठ समेत सिकाउँछ ।
जतिसुकै जोखिम भएको काममा खट्नु परे पनि फेरि मान्छे अरूसँगको तुलनामा आफूलाई माथि पाएर मख्ख पनि त पर्छ ।
कटेरामा जन्मे पनि
बारीका कान्लामा हुर्के पनि
तिमीले जस्तो यातना त सहनु परेन
कठै बरा ! गाजाका बालबालिकाहरू
सम्झन्छु मजस्तै तिमी तिमीजस्तै म । (पृ.३०)
आफ्नो सहानुभूतिमात्र छैन गाजाका बालबालिकाप्रति सहानुभूति सर्वत्र प्रस्फुटित भएको छ । दुःख पाएकाहरूको दुःखमा मिसिएको छ मन । प्रकृतिमा अनेक रूप देखिन्छन् । नारी पनि त प्रकृतिको सच्चा स्वरूप हो । पुरुष र प्रकृतिको भेट नहुँदाको छटपटी कविताभित्रै प्रस्तुत छ । कलात्मक छ ।
मैले छोडेर आएपछि
तिमी
मौसम परिवर्तनजस्तै
परिवर्तित भएको छौ रे !
चैतमास गराफाँट जस्तै
हाम्रो मायाको दुरी काटेको छ रे !
गर्मी भएर पृथ्वी तातिए जस्तै
अँगालोमा हाल्न नपाउँदा । (पृ. ३४)
के–के बिम्ब र प्रतीक खोज्ने हो खोज्न सकिन्छ कविताभित्र । मानवको प्रकृतिसँगको तुलना र प्रकृतिको मानवीरण दुवै भएको छ ।
अब त फ्याँकेर बन्दुक
आए हुन्न र !
एकचोटि यो अँगालोमा (पृ. ३६)
कता युद्धप्रेमी कता प्रणयप्रेमी । विरोधाभाष मज्जाको छ । यही विरोधाभाषको बीचबाटै एउटा अनौठो कवित्व प्रस्फुटित भएको छ । आखिर मान्छे बन्दुक बोकिरहँदा पनि परिवारको मायाले, देशको मायाले, भावनात्मक हुन्छ हुन्छ भन्ने भावाभिव्यक्ति यहाँ आएको छ ।
कवितासङ्ग्रहभित्र २०३९ सालदेखि २०६६ सालसम्मका सम्झनाका बिस्कुनहरू छरप्रष्ट छ । विवश जीवनका कटु सत्यहरू बोलिरहेका छन् । बन्दुक र बन्दुक भिरेका बेलाका सुदूर सम्झनाहरू झङ्कृत भइरहेका छन् । कवि वीर गोर्खालीको गान कवितामै गर्छन् र कविताभित्रै पुर्खाको इतिहास अङ्कन समेत गरिदिन्छन् । झण्डै दुई सय वर्ष पुरानो वीरताको लेखन कविता माध्यम नै प्रकट भएको एउटा कविता अंश
शान्तिको सन्देश गुञ्जाउने छ
पुर्खाले लेखेको इतिहासमा
अर्को पाना थप्ने
तिमी वीर गोर्खाली हौं
वीर गोर्खाली रही नै रहनेछौं (पृ.३९)
कवि सपनामा पनि र विपनामा पनि सचेत रहेको सन्दर्भलाई यहाँ राम्ररी झल्काउँछन् । तीव्र कल्पना गर्न सक्ने मान्छे न कवि हुन्छ त्यो कल्पनाको तीव्रता यहाँ आएको छ ।
फेरि ऊ बोल्न थाल्छे
तिमी त बेचिएको मान्छे
रणभूमिमा मारिएको मान्छे
यत्तिकैमा म झल्याँस्स बिउँझिन्छु
आज रातिको सपनामा । (पृ. ४१)
यहाँ एकैचोटि देश बोलेको छ, परिवारको पीडा बोलेको छ र युद्धको छायाँले मडारिएको स्वप्न मन बोलेको छ । सबै फौजमा रहेकाहरू कहाँ घर फर्कन पाउँछन् त । कति मार्मिक प्रश्न छ । ताता आँशुले नुहाएर परिवार बसेको जन सामान्यले पनि देखेकै छ नि लाहुरेको जीवन यात्राले ।
बिछोडका घाउहरूले
मायाका कथाहरू बनाउने छन्
ती कथाका पात्रहरू
सम्झनामा तिमी र म हुनेछौं । (पृ. ५२)
कवितासङ्ग्रहको नाम रहेको शीर्ष कविता ‘बिछोडअघिको रात’ कविताको कवितांश हो यो । त्यतिकै मार्मिक छ । कविताभित्र झट्ट हेर्दा प्रणय प्रेमभाव शक्तिशाली छ । भित्र यसले वर्गीय प्रेमको उद्घाटन गरेको छ । समान पीडामा बिछोडले सम्झनाबाट एकै खालको अनुभूति दिलाउँछ तथापि कसैले कविता लेख्लान् कसैले हाल्लान् दुःखको सुस्केरा । लाहुरे शृङ्खला भित्रका कविताहरूमा लाहुरे–३ बढी नै बलशाली कविता छ । थोरैमा धेरै भनेको छ कविताले । विश्वमा शान्ति स्थापना गर्ने सेना कति अशान्त हुन्छ । मनको उथलपुथल प्रकट भएको छ । विश्व इतिहासलाई नै स्मरण गराउने दृष्टान्तको प्रयोग यहाँ भएको छ;
अनुशासनले थिच्नसम्म थिचेको
हिटलरको बुटलेझै बेसमारी किचेको
लेफ्टराइट लेफ्ट गर्दै हिँड्नुपर्ने
बन्दुकलाई सिरानी हालेर
लाहुरे जीवन बाँच्नु पर्ने । (पृ. ६०)
नेपाली साहित्यका एक प्रतिभाशाली कवि हरिभक्त कटुवालको ‘यो जिन्दगी खै ! के जिन्दगी’ को जस्तो बेजोड भाव छ माथिको कवितामा । पूरै कविता त्यति नै हो जम्मा छ पङ्तिको तर ६० पेजको लामो कविता किन चाहिँदो रहेछ त !
रोटी–मकै खाँदै
कम्मरको खुर्पेटोमा हँसिया भिरी
घाँस काट्न बन जान्थ्यौं
दूध–मही पिउँदै
कालो पाटी र खरी बोकेर
पढ्न हामी पाठशाला लाग्थ्यौं । (पृ. ६३)
‘बाल्यअवस्था’ शीर्षकको कविता अंश हो यो । ग्रामीण भेगमा हुर्केको हाम्रो पुस्ता र भोगेको अनुभूतिले पनि समवयी पाठकहरूलाई राम्ररी तान्न सक्छ । आजको सामाजिक सञ्जालको जन्जालमा फसेको हाम्रो पछिल्लो पुस्ता अनि कृषि र तत्सम्बन्धित श्रम छाडेको युवा पुस्ता के सोच्ला ? कविताले पुनः हुर्कदै गरेको युवालाई सम्झाएको छ । जिन्दगी –१ मा कवि कति मजाले आफूलाई पोख्न पुग्छन् र आमाको मायालाई झलझली छातीमा टाँसेर हिँडिरहन्छन् बयान गर्न सजिलो छैन । कविले कवितामा सजिलोसँग व्यक्त गरेका कुरा विश्लेषणमा सजिलो नहुने रहेछ;
कहिले एकछाक मात्र खाएर
कति चोटि बिचरा
कठाङ्ग्रिए होला चिसो हिमाली बतासले
एकसरो दौरामा बेरिएको यो शरीर
कतिचोटि बिचरा
रोएँ होला
बन गएको आमालाई पर्खिदा
यो मन धेरैचोटि दुखाएँ । (पृ. ७६)
प्रत्येक कवितामा जीवन र प्रत्येक जीवनका मोड कविता बनेर आएका छन् । कविताहरू विदेशमा लेखिएका होलान् तर देश नै विदेशमा झल्झली झल्कन्छ र विदेश पनि देशमय बन्छ ।
निष्कर्ष
एउटा कवितासङ्ग्रहबाट नै लेखक वा कविको सबै टुङ्गो त लगाउन सकिन्न र सकिन्न गर्न मूल्याङ्कन उसको साहित्यिक अभियान र अभिप्रायको । तथापि भन्न के सकिन्छ भने कविताको पाठकका लागि अत्यन्तै प्राकृतिक स्वादले भरिएको स्वदेशको मायाले छपक्कै भिजेको, प्रणय प्रेमको रमरम भएको अनि आफ्नो जिम्मेवारीप्रति कहिल्यै बिमुख हुन नहुने विषय बोधले भरिएको कविताको शृङ्खला हो ‘बिछोडअघिको रात’ । लाग्छ बिछोडपछि पनि के भयो सबै यहाँ खोलिएको छ । ग्रामीण जीवन सम्झनामा बोलेको छ । बाल्यकालको लोभले पुनः गाउँ नै फर्काएको छ । युद्धको पीडामा शान्तिको चाहनाले आतुर मनलाई कता–कता राहत पुर्याएको छ ।
आखिर कविता पढ्ने पाठक कविभन्दा धेरै वर्णन गर्न त कहाँ सक्छ र ! पाठक बनेर प्रतिक्रिया स्वरूप लागेका विषयमा गन्थन गर्ने लेखक न हो समीक्षक पनि । ऊ त केवल यस्ता कविता अझ फरक फरक स्वादमा पढ्न पाए मात्र ठान्दो रहेछ । एउटा पाठकको हैसियतमा समीक्षकको पनि विषय विविधता प्राप्त गर्ने धोको अझै नमेटिएको अनुभव गर्नु र त्यसलाई एउटा लयमा ढाल्नु नै समालोचना हो ।