हरिविनोद अधिकारी | साहित्य | मंसिर २७, २०७७
भनिन्छ, अतीतका दिनहरूमा रमाउनु हुँदैन किनभने ती दिनहरू अब फेरि फर्कँदैनन् । भविष्यलाई कसले पो देखेको छ र ? अनि वर्तमानमा जे भइरहेको छ, त्यसैमा रमाउनु पर्छ, त्यसैमा धक्कम धक्का लगाएर चलिरहनु पर्छ । वर्तमानको पनि के टुङ्गो र ? कहिले के हुन्छ अनि कहिले के हुन्छ ? सोचेजस्तो कहाँ पो हुने रहेछ र जीवन ? भन्छन् नि, आफू ताक्छु मुढो, बन्चरो ताक्छ घुँडो भनेजस्तै । तर बालापनका कुराहरू अब सम्झनामा मात्र हुने भए । बालापन सम्झँदा सम्झने भनेको बा, आमा, घर, त्यो बेलाका परिवारका मानिसहरू र त्यो बेलाको रहन सहन । धेरै परिवर्तन भइसकेको छ समाज पनि, जीवन पनि । जीवन चलाउने चलनमा व्यापक परिवर्तन आएको छ । जीवन यान्त्रिकीकरण बढी नै भएको छ ।
जीवन सहज र सरलतासँग बित्नुमा चाहिँ विज्ञानको विकासले या ज्ञानको विकासले हो भन्नुपर्छ । रहन सहनमा परिवर्तन माने परिवर्तन भएको छ, नमान्दा सोचमा परिवर्तन आएको छ । फेरि जब जब अतीतको प्राङ्गणमा प्रवेश गरिन्छ, कतिपय कुराहरूले अहिले पनि कुत्कुुत्याउँछन् त कतिले ती दिनहरूको पुनरावृत्तिको अपेक्षा गर्दछन् जुन अब सम्भव पनि छैन र कल्पनामा मात्र या सपनामा कहिलेकाहीँ सम्भव हुन सक्ला, नत्र भने हुँदैन ।
सपनाको कुरा गर्दा भनिन्छ, बिपनाका कतिपय अतृप्ति, कुण्ठा, अति महत्त्वाकाङ्क्षा, असम्भवजस्तै देखिने अपेक्षा, यौन अतृप्ति, ईर्ष्या, प्रतिशोध, जस्ताकुराहरुमा नपुग भएका या गर्न नसकिएका कुराहरूको पुष्टीकरणका लागि त्यो भोगिन्छ सपनामा । सपना कतिपय त, त्यो स्वप्निल संसारबाट ब्युँझँदा नै विस्मृतिमा स्वतः जान्छ । यदि सम्झियो नै भने पनि हामी त्यसको अर्थ बिपनामा खोज्न थाल्छौँ ।सपनामा देखिएका कुराहरूसँग सम्बन्धित व्यक्ति र ठाउँका बारेमा अनावश्यक चिन्ता वा सम्भावित कल्पना गर्न थाल्छौँ त्यसको परिणामका बारेमा । परामनोविज्ञानलाई पनि मनोवैज्ञानिकहरूले अध्ययनको विषय बनाएका छन् ।
सपनालाई पनि संस्कृतिले डोर्याउने रहेछ । यदि हाम्रो हिन्दु समाजमा कसैले सपनामा हाँस चढेकी महिला देख्यो भने पक्कै ती सरस्वती देवी नै हुन् भनिन्छ र हात्तीको टाउको भएको बालक देखेमा गणेश नै भनिन्छ । त्यस्तै सांस्कृतिक पहिचानले देखाउने कुराहरूका आधारमा सपनालाई पनि निर्देशित गरेको हुन्छ । अहिले पनि तर्साउने भूत प्रेत र पिसाच छन् कि छैनन् भन्यो भने मानिस डराएकै छन् एकातिर भने अर्कोतिर छैन पनि भनिरहेका छन् । सँस्कृतिको छाप जीवनमा परिरहेको हुन्छ । धर्म र संस्कृति एकर्काका परिपूरक विषय रहेछन् । धर्म एउटा सामाजिक र व्यक्तिगत जीवनमा मानिने सिद्धान्त हो भने संस्कृति जीवनको एउटा महिमा हो जसले व्यक्तिको जीवनलाई समाजसँग समन्वय गरेको हुन्छ । धर्म र संस्कृति व्यक्तिका लागि त्यो ऐच्छिक हुन्छ तर समाजका लागि त्यो बाध्यकारी हुन्छ । आखिर यो सबै सिकाउँछ कसले ? परिवारको पहिलो गुरु आमाले । त्यसपछि बाले । त्यसपछि परिवारले अनि समाजले । राज्यले । राज्यको संविधानले । राज्यको कानुनले । राज्यको नियमले । समाजको अलिखित नियमले । समाजका अग्रजहरूका अनुभवले ।
दत्तात्रयेले यदु राजालाई भनेछन् , त्यसैले मलाई केही कुराको न त डर छ, न त कुनै लोभ छ , न त कुनै मोह छ , न कुनै चीजको आवश्यकताले सङ्ग्रह गर्नु छ । जे भेटिन्छ खाने हो , जे पर्छ त्यही कुरासँग सामना गर्ने हो । मलाई त्यसले निर्भयताका साथ घुम्ने मात्र रहर छ र ईश्वरप्रतिको चिन्तन मात्र छ । अनि आमाले भन्नुभयो- त्यसैले पढाउनु हुने, सिकाउनु हुने गुरु त देखिनु हुन्छ तर जीवनमा पर्ने प्रभावलाई पनि गुरुको रुपमा मान्नुपर्छ । मैले बुझेसम्म यो कुरा श्रीकृष्णले उद्धवलाई दिएको ज्ञान हुनुपर्छ, आमाले त्यसै भन्नुहुन्थ्यो ।
गुरुको कुरा आउँदा मैले पहिले पनि कुनै बेलामा उल्लेख गरेको थिएँ आफ्ना महान् गुरुहरूका बारेमा । गुरु त एक अक्षर या कुनै कुरा सिकाए पनि गुरु नै हुनुहुन्छ । तर पहिलो गुरु त आमा नै हो जसले कोखमा राखेर यो संसारमा जन्माउँछ, आफ्नो शरीरको रस चुसाएर बचाउँछ अनि जीवन कसरी बाँच्ने भन्ने कुरा त्यो अबोध बालकलाई उसको आवश्यकता पूरा गर्दै कुनै स्वार्थविना बचाएर मानिस बनाउनु हुन्छ र जीवनको समुद्रमा सहजताका साथ पार पाउने कला केही नभनी मौनताका साथ सिकाउनु हुन्छ ।
त्यस्ती गुरु मेरा आमाले अठार पुराण सुनेर धेरै कुराहरूको ज्ञान लिनु भएको थियो र गुरुहरूलाई सम्मान गर्ने कुरा सधैँ सिकाउनु हुन्थ्यो ।
भन्नुहुन्थ्यो- जोबाट जीवनमा बाँच्ने कला र शिक्षा प्राप्त हुन्छ ती सबै गुरु हुन् । अनि श्रीमद्भागवतको एघारौँ स्कन्धमा छ रे, त्यो कथा भन्नुहुन्थ्यो । मलाई मेरो आमाले भन्नुहुन्थ्यो पौराणिक पात्र दत्तात्रयेका २४ गुरु थिए रे ! आमाले भनेको कुरा जति मैले सम्झेको छु, त्यो यहाँ बाँड्न चाहन्छु । आमा भन्नुहुन्थ्यो !- एक दिन राजा यदु घुम्दै घुम्दै कतै जाँदै थिए अनि अनि एक जना त्रिकालदर्शी युवा अवधूत या योगी तर मोटोघाटो अनि प्रसन्न चित्त तर निर्भयताका साथ वनमा घुमेको देखेर राजाले सोधेछन्-हे युवा ऋषि, मनुष्यहरूलाई कुनै न कुनै अभिलाषाले गाँजेको हुन्छ, तर तपाईँमा कुनै अभिलाषाहरू कतै देखिँदैनन् । युवा हुनुहुन्छ । संसारका मानिसहरू काम क्रोध लोभ मोहको आगोमा जलिरहेका हुन्छन् या भनौँ त्यसैमा फसेका हुन्छन् तर यो लाउन् लाऊँ, खाउन् खाउँको उमेरमा तपाईँ ती सबै कुराबाट मुक्त भएर निर्भयताका साथ घुमिरहनु भएको छ । यसरी आनन्द लिने त्यस्तो के रहस्य छ र युवा मुनिवर ? अनि दत्तात्रयेले भनेछन् रे ! मैले धेरै गुरुहरूको ज्ञानहरू सँगालेर प्राप्त ज्ञानहरूको व्यावहारिक प्रयोग गरिरहेको छु र यसरी निर्भयताका साथ विमोहित हुँदै यस जगतमा आनन्दका साथ घुमिरहेको छु ।
आमा त पुराणमा सुनेका भरमा नै श्लोक नै भन्नुहुन्थ्यो दत्तात्रयेका गुरुहरूको तर मैले त्यो श्लोक सम्झन सकिन तर त्यो श्लोकले देखाएका २४ ओटा गुरुहरूको नाम भने सम्झेको छु , ती हुन्—पृथ्वी, वायु , आकाश, जल, अग्नि, चन्द्रमा, सूर्य, परेवा, अजिङ्गर, समुद्र, पुतली , माहुरी, हात्ती, मह काढ्ने मानिस, हरिण, माछा, पिङ्गला वेश्या, गरुड चरा(बाज), बालक, कुमारी कन्या, वाण बनाउने मानिस, सर्प , माकुरा, कुमाल कोटी ।
अनि राजा यदुले सोधे रे ! ती कसरी युवा ऋषिका गुरुहरू भए त? अनि ती युवा दत्तात्रयेले भनेछन् रे ! पृथ्वीबाट धैर्य र क्षमाको शिक्षा लिएँ, वायुबाट कसैको सङ्गतबाट राम्रो वा नराम्रो गुण लिने तर सधैँ आफूसँग नराख्ने, आकाशबाट व्यापकताको शिक्षा लिएँ जहाँ पनि आकाश त छ नै , ईश्वर पनि त्यसै गरी व्यापक हुनुहुन्छ भनेर । पानीबाट आफ्नो हृदय सधैँ स्वच्छ राख्नुपर्छ भन्ने शिक्षा लिएको छु । अग्निबाट साधकले आफ्ना दुर्गुणहरू ज्ञान रुपी अग्निमा डढाएर खरानी बनाउनु पर्छ , चन्द्रमाबाट कला घटबढ भएको देखिए पनि आफूमा कुनै घटबढ नहुने कला सङ्ग्रह गर्ने जुन कुरामा मानिसहरूले जीवनमा त्यसको स्वतः प्रयोग गरिरहेको हुन्छ ।
मानिस पनि जन्मन्छ, मर्छ , मोटाउँछ, दुब्लाउँछ , त्यो त शरीरको धर्म हो तर आत्मा त न जन्मन्छ, न मर्छ , न मोटाउँछ , न दुब्लाउँछ । अनि सूर्यबाट सिकेको के हो भने सूर्यले समुद्रबाट गर्मीको बेलामा पानी खिचेर आफूमा सङ्ग्रह गर्ने अनि पृथ्वीलाई पानीको आवश्यकता भए पनि त्यही सञ्चित बादलबाट पानी दिएर संसारको भलो गर्ने, उज्यालो दिने , ऊर्जा दिने । सूर्यबाट आफूले सक्दो सेवा गर्ने बेलैमा उदाउने र निस्स्वार्थ सेवा गरिरहने, समयको परिपालन एकदम ठिक बेलामा गर्ने , सबैको परिपालन गरे पनि कसैसँग केही पनि आशा नगर्ने तर आफूसँग भएको गुण सबैलाई बाँड्ने ।
अनि परेवालाई गुरु मान्नु पर्ने कारणमा राजा यदुलाई दत्तात्रयेले भनेछन्-—एउटा परेवले एउटी परेवीसँग घरजम गरेर बच्चा कोरल्यो । बच्चा भए । बाबु आमा, बच्चा बडा आनन्दसँग बसेका थिए । बचेराहरू गुँडमा बस्थे ।बाबु आमा चारो खोजेर ल्याउँथे । एक दिन व्याधाले ती बचेराहरूलाई जालमा पारेछ । बाबुआमा चारो लिएर गुँडमा आउँदा बचेरा जालमा परेको देखेर परेवीले छुटाउन सकिन्छ कि भनेर जालको नजिक जाँदा ऊ पनि जालमा परिछे, परेवा पनि जालबाट छुटाउन सकिन्छ कि भनेर जाललाई चुच्चाले खोल्न खोज्दा ऊ पनि व्याधाको जालमा परेछ । एक छिन पछि व्याधाले आएर हेर्छ त बचेराहरू, परेवा, परेवी सबै नै जालमा परेका रहेछन् । व्याधा खुसी भएर सबै गुटमुट्याएर लिएर गएछ । जब त्यो देखेँ , मलाई लाग्यो संसारमा परिवारको लोभले कतिसम्म हुँदो रहेछ भन्ने लाग्यो अनि ती परेवा परेवीलाई मैले गुरु मानेँ ।
अजिङ्गरलाई गुरु मान्ने कारण हो मिले खाने, नमिले नखाने । सन्तुष्टिका लागि अजिङ्गरलाई गुरु मानेँ किनभने त्यो कतै जाँदैन तर उसको आहारा त कतैबाट पनि उसको मुखमा आउँछ आउँछ । समुद्रलाई मान्ने कारण हो,सधैँ प्रसन्न भएर रहने अनि आफ्नो सीमामा रहने, आकर्षक कुरामा लागेर आफूलाई मार्ने पुतलीहरूबाट सुन्दर वस्तुप्रति आकर्षक नहुने बानी बसालेँ । जसरी धेरै दुःख गरेर माहुरीले मह जम्मा गर्छ तर एक दिन त त्यो आफ्ना लागि नहुने तर एक दिन त कसैले लैजाने रहेछ भन्ने लाग्यो । साधकले आशक्तिबाट अलग रहनु पर्ने शिक्षा माहुतेले ल्याएकी हत्तिनीलाई देखेर बन्धनमा परेको जङ्गली हात्तीबाट पाएँ । मौरीबाट सिके जस्तै मौरी काढेर ल्याउने मह काढ्नेको पनि मह त परिवारका मानिसहरूले खाइदिन्छन् । बिचराले कत्रो मुस्किलले मौरी काढेर मह ल्याउँछ तर अरूले नै खाइदिन्छन् । त्यसपछि मैले मह काढ्नेलाई पनि गुरु मानेँ । मीठो सङ्गीतको मोहमा पारेर हरिणलाई एउटा व्याधाले मारेको देखे पछि मीठो शब्द जालमा पर्नु हुँदैन भनेर हरिण पनि मेरो गुरु हुन पुग्यो ।
सानो मासुको टुक्राको लोभमा बल्छीमा माछा परेको देखेपछि लोभले त्यही माछाको जस्तै गति हुने कुराको शिक्षा लिएर माछा पनि मेरो गुरु हुन पुग्यो । अनि पिङ्गला वेश्यालाई किन गुरु मानेको हो भने एक दिन ग्राहको खोजीमा रहेकी पिङ्गलले आधारातसम्म पनि कुनै ग्राहक पाइन, दिक्दार मानेर बसेको बेलामा उसलाई एउटा ज्ञान प्राप्त भयो - भगवान् त मसँगै छन्, सबैलाई खान लाउन पुर्याएकै छन् अनि म कसको खोजीमा रातरातभर बसेकी हुँला ? अनि अव देखि भगवानको भरोसामा नै बाँच्ने निर्णय गरेर उसले वेश्यावृत्ति छोडी । त्यस दिनदेखि मैले पिंङ्गलालाई गुरु मानेँ । उसबाट सिकेको ज्ञान के हो भने संसारमा सबैभन्दा ठुलो दुःख भनेको आशा गर्नु रहेछ अनि आशा नगर्नु नै सबैभन्दा ठुलो सुख रहेछ । ग्राहक आउने आशालाई पिंगलाले दुःखको आधार मानी र त्यसप्रति कुनै आग्रह नराखेर भगवान् भक्तिमा लाग्नुलाई उसले सुखको आधार मानी ।
अनि राजा यदुले सोधेछन् रे !- बाज कसरी गुरु भयो त ? अनि दत्तात्रयेले भनेछन् -एउटा बाजले कतै मासुको टुक्रा फेला पारेछ । त्यो लिएर उडिरहेको बेलामा अरु बाजले जब उसले मासुको टुक्रा लिएर उडेको देखे, अरु बलिया बाजहरूले, ठुला बाजहरूले झम्टँदै ठुङ्न थाले । जति छले पनि बलियाले झम्टेको झम्टेकै गरे । अनि उसले त्यो टुक्रा छोडेपछि अरु बाजहरू त्यसैका लागि छिनाझपटी गनै थाले । त्यो देखेर लाग्यो, सन्यासीहरुले धन जम्मा गर्नु हुँदैन रहेछ र गरियो भने त्यही बाजको जस्तै गति हुनेछ । धनको लोभमा सबैतिरबाट आक्रमण हुने रहेछ भन्ने ज्ञान त्यो बाजको हालतबाट थाहा पाएँ, त्यही शिक्षाका लागि गुरु मानेँ । अनि मान अपमान भुलेर सबै कुरा एकै छिनमा भुलेर पहिलेकै धुनमा लागिरहने गुण बालकमा हुने भएकाले बालकलाई पनि गुरु मानेँ ।
अनि कुमारी केटीलाई कसरी गुरु मानेँ भने कुमारी केटीलाई हेर्न केटा पक्षका मानिसहरू आएका थिए । उसले घरमा उनीहरूलाई खुवाउन चामल नभएकाले धान कुट्न थालिन् । हातभरि चुरा लगाएकाले चुरा बज्न थाले । धेरै चुराहरू बजेपछि मानिसहरूले ऊ त्यहाँ रहेको थाहा पाउने भए भनेर चुरा फुकालिन् र दुई दुईओटामात्र लगाइन् । फेरि पनि बज्यो अनि एउटा मात्र चुरा लगाएर धान कुट्दा चुरा बजेन । अनि मलाई लाग्यो एक्लै बस्यो भने हल्ला पनि हुँदैन र आफ्नो काम गर्दा अरूले थाहा पनि पाउँदैनन् । शान्तिसँग बस्न सकिन्छ । धेरै हुँदा हल्ला, दुईजना हुँदा गफ हुने अनि एक्लै भयो भने शान्तिसँग बस्न सकिने भएकाले कुमारी कन्यालाई गुरु मानेँ ।
वाण बनाउने सिकारीले एकाग्रतापूर्वक वाण बनाएको देखेँ । त्यही बाटो राजाको लावा लस्कर जाँदा पनि उसलाई कुनै वाधा भएको देखिएन, उसलाई त्यो लाबा लस्कर गएको पनि थाहा नै भएन । त्यो एकाग्रता देखे पछि त्यो वाण बनाउने सिकारीलाई पनि गुरु मानेँ । अनि मैले पनि भगवानप्रति त्यसैगरी एकाग्र भएर लाग्न पाए मुक्ति पाइन्थ्यो भनेर एकाग्रताका लागि उसलाई गुरु मानेको हुँ ।
अनि सर्पलाई गुरु मान्ने कारण हो सर्पले आफूले कुनै प्वाल बनाउँदैन तर अरूले बनाएको प्वालमा नै जीवन निर्वाह गर्छ । त्यसैका लागि मैले सर्पलाई गुरु मानेँ किनभने मनमा आशक्ति पैदा गराउने मठ मन्दिर बनाएर लोभमा पर्नु हुँदैन, भगवानले बनाएको यो संसारमा बाँच्ने आधार छ भन्ने शिक्षा पाएकोले सर्पलाई पनि गुरु मानेँ ।
अनि माकुरालाई गुरु मान्ने कारण हो माकुरोको जाल आफैँ बनाउँछ अनि त्यही जालमा जेलिएर रमाएर बस्छ , संसार पनि त्यस्तै रहेछ । आफैँले बनाएको जालोमा आफैँ हराएर रमाउने देखे पछि त्यस्तो जालो नबनाउने विचारले त्यो माकुरोलाई गुरु मानेर सांसारिक जालोबाट फुत्कने ज्ञान पाएँ । कमलकोटीलाई गुरु बनाउने कारण हो कमलकोटीको डरले त्यस्तै हुन पाए हुन्थ्यो भन्ने अर्को कीरो पछि कमलकोटी भएर जन्मने हुनाले । कमलकोटी जस्तै हुने कीराको इच्छाबमोजिम अर्को जुनीमा कमलकोटी भएको देखे पछि लाग्यो, यदि मैले भगवानको सेवा गरेँ र अर्को जुनी नै नहोस् भनेर भगवानको सेवा गरेँ भने यो संसारबाट मुक्त हुने थिएँ । अन्तिम अवस्थामा जे चाह्यो त्यही हुने भएकाले कुनै अपेक्षा र कामना नराखे पछि अर्को जुनी नै नहुने रहेछ ।
अनि आमाले अन्तमा भन्नुभयो - दत्तात्रयेले यदु राजालाई भनेछन् , त्यसैले मलाई केही कुराको न त डर छ, न त कुनै लोभ छ , न त कुनै मोह छ , न कुनै चीजको आवश्यकताले सङ्ग्रह गर्नु छ । जे भेटिन्छ खाने हो , जे पर्छ त्यही कुरासँग सामना गर्ने हो । मलाई त्यसले निर्भयताका साथ घुम्ने मात्र रहर छ र ईश्वरप्रतिको चिन्तन मात्र छ । अनि आमाले भन्नुभयो- त्यसैले पढाउनु हुने, सिकाउनु हुने गुरु त देखिनु हुन्छ तर जीवनमा पर्ने प्रभावलाई पनि गुरुको रुपमा मान्नुपर्छ । मैले बुझेसम्म यो कुरा श्रीकृष्णले उद्धवलाई दिएको ज्ञान हुनुपर्छ, आमाले त्यसै भन्नुहुन्थ्यो । पछि महाराज यदु पनि सन्यासाश्रममा गए रे दत्तात्रयेको उपदेशका कारणले । उनैको वंश परम्परामा वासुदेव जन्मनु भएको हो ।
त्यस्ता धेरै सम्झनाहरू छन् पुराना । मैले ठुलो हुँदासम्म पनि गाई र भैँसी दुहुन जानेको थिइन । घरमा सहयोगीहरूको ठुलै जमघट घरमा भएकाले पनि होला अनि बाले नसिकाएकोले पनि होला ।
घरमा भएका सहयोगीहरूले गाई दुहुने भन्दा पनि भैँसी दुहुने कुरामा घरमा गम्भीरता देखिन्थ्यो किनभने जुन भैँसी थियो नक्कली भन्ने , त्यसको दूध दिने समय निश्चित जस्तै थियो । यदि तोकिएको समयमा दूध दुहिएन भने त्यो दिन दूध दिँदैनथ्यो तर दाम्लो चुँडाएर भाग्थ्यो । भेट्न पनि गाह्रो हुने गरी भाग्थ्यो सायद आफ्नो पाडो या पाडी खोज्न हिँडेको होला । तर पाडो या पाडी त गोठको एउटा कुनामा नै बाँधिएको हुन्थ्यो । त्यसैले त्यो भैँसी दुहुन सजिलो पनि थियो, गाह्रो पनि थियो किनभने १५ मिनेटमा दुहुनु पथ्र्यो नत्र बुरुक्क उफ्रन्थ्यो, दूध दुहुनेलाई पनि लडाइदिन्थ्यो ।
जसलाई पनि दूध दुहुन त दिन्थ्यो तर निश्चित समयमा उठेन भने सबै दूध पोखिने डर हुन्थ्यो । करिब १० माना दूध दिन्थ्यो एकपटकमा । बिहान र बेलुका १०-१० माना । ठुलो फाम वा ढुङ्ग्रो थियो करिब १५ माना जाने किनभने भर्खर ब्याएको बेलामा दिनमा तीन पटकसम्म दूध दुहुनु पर्थ्याे । नक्कलीकी आमा किनेर ल्याउँदा त्यो बेलामा अर्थात् २०२० सालतिर होला, ९२५ रुपँयामा घोक्सिलाका सीताराम बराल हजुरबाको घरबाट किनेर ल्याएको हो । त्यो भैँसी यही नक्कली पाडी काखमा हुँदै बौलाहा कुकुरले टोकेर मरेकीले नक्कलीको महत्त्व हाम्रो घरमा धेरै थियो किनभने त्यति महँगोमा ल्याएको भैँसीको चिनो त्यही पाडी थिई । त्यो लाहुरी भैँसीको सन्तानले कस्तो गर्ला ? सबैले माया गर्दा गर्दा मायाको चिनोजस्तै भयो, दूध पनि धेरै दिने, घिउ पनि धेरै लाग्ने । सायद हाम्रै घरमा त्यो भैँसीका पाडा पाडीले भरिएको थियो पछिसम्म । तर मानिसहरूले त्यसका सन्तान किनेर लगेका थिए ।
एक पटक त्यो भैँसी ब्याएको थियो भर्खरै । आमा बिरामी हुनुहुन्थ्यो । बिहान बेलुका दुहुनका लागि एउटा मानिस ठडिएर बस्नै पर्थ्यो समयमा दुहुन र त्यो भैँसीलाई कुँडो र घाँस दिनका लागि पनि । आमा दुहुन त दुहुनु हुन्थ्यो तर उहाँका हात गल्थे किनभने भैँसीको दूध नै धेरै दिन्थ्यो । अनि बिरामी पनि हुनाले बालाई भैँसी दुहुने मानिस खोजेर मात्र बाहिर जान भन्नुभयो । बा सायद मधेसतिर जान लाग्नु भएको थियो । त्यो बेलामा हाम्रो जमिन झार्लाङ्टार र पाटुमा पनि थियो । म सानै थिएँ भन्नुपर्यो , त्यस्तै १३ या १४ वर्षको जस्तो लाग्छ । विद्यालय बिदा थियो होला र त म घरमा थिएँ । बाले भानिजबालाई भन्नुभयो - दाइ, केही दिन भैँसी दुहुने सहयोग गर्नुपर्यो । भानिज बाले हुन्छ त भन्नुभयो तर बा हिँड्ने बित्तिकै उहाँ घर जानु पर्ने थियो भनेर हिँड्नु भयो ।
आमाले जेठाजुलाई केही भन्नु भएन तर मलाई भन्नुभयो- यस्तो नामर्द छोरो पनि जन्माएँछु मैले, एउटा भैँसी पनि दुहुन नसक्ने, गाई पनि दुहुन नसक्ने । मैले आमालाई भनेँ - अहिलेसम्म दुहुन लाउन भएन, अब आजबाट जसरी पनि दुहुन्छु । वास्तवमा मैले अरूले दुहेको मात्र देखेको थिएँ, आफैँले भैँसीको थुन समाएर दूध दाेएको थिइँन । फाँचो पखाल्ने, थुनमा नौनी लगाएर दूध दुहुने भन्ने कुरा अरूले गरेको मात्र देखेको थिएँ जस्तो कि मोटर साइकल अरूले चलाएको देखेर जानेजस्तो मात्र । आफूले नचलाएसम्म कसरी थाहा पाउने र चलाउन ?
त्यस्तै भयो त्यो दिन । आमा अघिल्तिर बस्नुभयो, भैँसीको फाँचो पानीले सफा गरेँ किनभने भैँसी त आफ्नो गोबरमा नै बस्छ । जब त्यो नक्कली भैँसीलाई दुहुन बसियो, मलाई डर केमा लाग्यो भने कहीँ थुनमा नङ पो गाडिने हो कि ? यदि नङ गाडियो र घाउ भयो भने थुनिलो हुन्छ र भैँसीको त्यो थुनबाट दूध नआउने पनि हुन्छ । त्यसैले आमाले सिकाउनु भयो, मुठी पारेर दूध दुहुनू । एकातिर नयाँ प्रयास, अर्कोतिर समयभित्र दुहुन नसके भैँसी उफ्रने, उफ्रँदा आफूलाई पनि गोबरमा लडाउने, दूध पनि पोखिने । डर डरमा पहिलो दिनको साँझ कट्यो । अब भोलि बिहानै दुहुनु पर्छ । मलाई त्यो सगरमाथा चढेभन्दा कौतूहल र चुनौतीपूर्ण लाग्यो तर भोलि बिहान म सम्पूर्ण दूध दुहुन्छु भन्ने पनि लाग्यो । अलिकति हिम्मत पनि आयो किनभने भैँसी सानै देखि आफ्नै गोठको हो, हान्दैन , चिनेको छ , देख्ने बित्तिकै कराउँछ । दिएको कुँडोको पहिले अन्नको भाग मुख गाडेर खान्छ अनि मात्र पानीको भाग खान्छ ।
तीन दिनसम्म मेरो परीक्षण काल नै रह्यो । नङ नगाडियोस् भन्ने कुरामा म सजग रहेँ र १० माना दूध पुरै दुहुनु मेरालागि चुनौती नै भएको थियो किनभने तोकिएको समयभन्दा पहिले नै म डरले उठ्थेँ र पाडी छोड्थेँ । पाडीले अघि पछिभन्दा धेरै दूध खान पाएको अवस्था थियो किनभने समयको पाबन्दीमा मैले आफूलाई बाँध्नुभन्दा बरु दूध नै पाडीलाई खुवाउने विचार गरेको थिएँ । आमा पनि खुसी नै हुनुहुन्थ्यो किनभने कम्तीमा छोराले भैँसी त दुहुन थाल्यो । त्यसपछि त मैले गाई पनि दुहुन थालेँ ।
हाम्रो घरमा चलन थियो, गाईको दूध घाम डुबेपछि नदुहुने । यदि लैनो गाई छन् भने घरैमा बाँधेर राख्ने । आइतबाको दूध खावा बनाउने चलन थियो किनभने आइतबारको दूधलाई भैँसीको दूधमा मिसाएर ठेकीमा हालिँदैनथ्यो । आइतबारको गाईको दूधले या त खावा खाइन्थ्यो, या त हामी केटाकेटीहरूका लागि खिर बन्थ्यो । हाम्रो घरमा गाई किनेर मात्र ल्याउने हो, बेच्ने चलन थिएन र अझै पनि हामी गाई बेच्दैनौँ किनभने बाले के मान्यता राख्नु भएको थियो भने बाहुनले गाई बेच्नु हुँदैन, गाईको दूध र घिउ पनि बेच्नु हुँदैन ।
अहिले बाहुन वा क्षत्रीको कुराले होइन कि अहिले हामीसँग त्यति धेरै गाई र भैँसी पनि छैनन् । मधेसको सीतापुरमा केही गाई छन् र एउटा भैँसी छ, केही पाडा पाडी छन् । दूध बेच्ने त कुरै भएन । तर अचेल धेरै वर्ष भयो मैले दूध दोएको पनि छैन । मोही पारेको पनि छैन । मोही पारेपछि नौनी निकाल्ने अनि त्यो नौनी घिउ बनाउनु भन्दा पहिले स्थानीय देवदेवताकलाई धूप हाल्ने चलन थियो । घरका कुल देवता, गोलन्जोर ठाकुर, ल्यान्द्र्याङ ठाकुर, जिर्गाहा, चँदाहा, रातु , कमला माइ, स्थानीय देवी देवता, इन्द्र आदिलाई धूप दिएरमात्र त्यो नौनी राखिन्थ्यो । घरका कुल देवतालाई नयाँ कुरा केही पकायो भने पनि चढाउने चलन थियो । कुल देवताको अर्को डर मर्नु नाम हो वायु । वायुको पूजा गर्नु जरुरी ठानिन्थ्यो । खोइ अचेल त्यस्तो केही पनि गरिएको छैन । त्यसो त रोटी पकाउँदा, खिर पकाउँदा, नयाँ कुनै फलफूल घरमा आउँदा अहिले पनि श्रीकृष्णलाई चढाएर खाने चलन छँदै छ ।
हाम्रो घरमा सोमवार बार्ने चलन थियो । नयाँ कपडा नकिन्ने, कसैलाई ऋण नदिने, कसैसँग ऋण पनि नलिने, नयाँ लुगा नलगाउने चलन थियो । कोही आफन्तले धान लानु परे पनि , पैसा लैजानु परे पनि धितोजस्तो केही राखेर मात्र दिइन्थ्यो बारको वारमा । बिहीबार पनि बारिन्थ्यो तर सोमवार जत्तिको होइन । सहर पसेपछि ती सबै चलन हराए । पढ्न आएपछि त्यो साद्धे चल्ने कुरा पनि भएन । पसलमा किनेर खानु पर्ने ठाउँमा खर्च नगर्ने वार कुन पो हुने भयो र ? क्रमशः