लोकसंवाद संवाददाता | समाचार | मंसिर २८, २०७७
कुनै समय थियो, कम्युनिस्ट पार्टीका नेताहरूको गल्तीलाई कार्यकर्ताले मज्जैले ढाकछोप गर्थे । सामाजिक सञ्जालको व्यापकता नभएको र सीमित सञ्चारमाध्यम भएकाले नेताहरूको स–साना कमजोरीहरू प्रायः जसो सार्वजनिक हुँदैन थिए अर्थात् ढाकछोप गरिन्थ्यो । कम्युनिस्ट पार्टी स्थापनाको केही समयदेखि नै पार्टीभित्र विभिन्न प्रकारका अन्तर सङ्घर्षहरू चले । राजनीतिक रुपमा मात्र होइन भौतिक रुपमा एकले एकलाई अर्को सिद्ध्याउने हदसम्म काम हुँदा पनि पार्टी कार्यकर्ताले ढाकछोप गर्ने गरिन्थ्यो । विगतका अन्तर सङ्घर्षमा राजनीतिक । वैचारिक पक्ष सबैभन्दा बलियो हुने गर्दथ्यो । यति बेला कम्युनिस्ट पार्टीभित्र देखिने विवाद भने गज्जबको भिन्नता देखिन थालेको छ ।
प्रसङ्ग हो, नारायणकाजी श्रेष्ठसँग जोडिएको अडियो प्रकरणको । हालै मात्रै कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएका नेकपा नेता तथा पूर्व राजदूत कमानसिंह लामाको । २५ मङ्सिर मा उनको निधनपछि नेकपाका प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठको एउटा अडियो एक एक बाहिरिएको छ । जसमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक जलविद्युत् आयोजनामा लामा परिवार र श्रेष्ठको सचिवालयमा कार्यरत सुन कर्माचार्यबिचको सेयर विवादमा श्रेष्ठले मध्यस्थता गर्न खोजेको सुनिन्छ । स्वयं नारायणकाजी श्रेष्ठले लामा परिवारको अनुरोधमा मध्यस्थता गरेको त्यसमा कुनै कमजोरी भएको भए छानबिन गर्न र कारबाही गर्न सामाजिक सञ्जालमा माग गरेका भनेका छन् । यही विषय यति बेला नेकपाभित्र चलिरहेको लामो समयको आन्तरिक विवादको लागि भने राम्रो मसला बन्नु स्वभाविक तियो, बनिरेहेकाे छ ।
नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षीय नेता कार्यकर्ताहरू श्रेष्ठलाई ‘बदनाम’ गर्न न्वारानदेखिको बल लगाएर लागिरहेका छन् । सामान्य कार्यकर्तादेखि जनताले समेत प्रस्टसँग बुझ्ने गरी उपप्रधानमन्त्री ईश्वर पोखरेलले ट्विट गरे, ‘कमरेड कमानसिंह लामा अब हामीबिच रहनुभएन ! हार्दिक श्रद्धाञ्जली ! तर, उहाँले आफू सम्बद्ध कम्युनिस्ट पार्टीलाई–अझ यसमा आबद्ध ‘कम्युनिस्ट आदर्श’ को कुरा गरेर नथाक्नेहरूका लागि चुनौतीपूर्ण प्रश्न गरेर जानुभएको छ । अलबिदा कमरेड कमानसिंह लामा !’
कम्युनिस्ट आन्दोलनमा विचार प्रमुख, नेता गौण हुनुपर्ने हो तर अहिलेका कम्युनिस्ट पार्टीमा विचारभन्दा नेता धेरै माथि छन् । नेतैपिच्छे गुट–उपगुट छन् । एउटा गुटमा कुनै कमजोरी भयो भने अर्को गुट तत्कालै त्यसलाई फाइदा उठाउन तम्तयार भएर अर्थात् कुरेरै बसेको अवस्था छ । हिजो जे रोपे त्यही फल पाउँदै छन् अर्थात् त्यसैको सजाय भोग्दै छन् नारायणकाजी श्रेष्ठ र भन्नै पर्ने भएको कुरी कुरी काजी सा’ब !
प्रवक्ता श्रेष्ठले मध्यस्थता गर्न खोजेको भनिएको जलविद्युतको शेयर विवादको अडियो अनुसार त्यसमा करिब २ करोडको लेनदेन विवाद देखिन्छ र त्यसमा उनी जोडिएका छन् । यो विवादबारे श्रेष्ठले औपचारिक रुपमा कुनै प्रस्टीकरण दिइसकेका छैनन् । तर उनको सामाजिक सञ्चालनदेखि नेता कार्यकर्ताहरूका चिया गफमा समेत चर्को आलोचनाका पत्र बनी रहेका छन् ।
कतिपय नेता कार्यकर्ताले त उनले नैतिकताका आधारमा प्रवक्ताबाट राजीनामा दिनुपर्ने आवाज समेत उठाइरहेका छन् । तर यो विवादले नेकपाभित्र ‘लहरो तान्दा पहरो गर्जिने खतरा’ भने देखिन थालेको छ ।
कम्युनिस्ट पार्टीका सर्वहारा नेताको जीवनशैलीलाई हेर्ने हो भने यहाँ सबैका बारेमा औला उठ्नु स्वाभाविक देखिन्छ । गोरखामा बाबुराम भट्टराईसँग चुनाव हारे पनि चोर बाटोबाट राष्ट्रिय सभामा छिरेका श्रेष्ठले यसअघि आफूले तलब भत्ता नलिने घोषणा गरेका थिए । तर उनले आफूले तलब भत्ता नलिँदा पनि वैभवपूर्ण जीवन बिताउने आर्थिक स्रोत खुलाएका छैनन् । सायद यसैलाई अधिकांश नेता तथा कार्यकर्तादेखि संसद्सम्मले आक्रोश पोखिरहेका त छैनन् ? अथवा भनाई विगतमा 'सादगी' र 'कम्युनिस्ट आदर्श' का नाममा जुन ढोँग प्रस्तुत गरे त्यसको पर्दाफास भइरहेको छ ।
एक सरो कपडा र चप्पल लगाएर कम्युनिस्ट पार्टीको राजनीतिक सुरु गरेका सर्वहारा वर्गका नेताहरू केही वर्षमा नै वैभवपूर्ण जीवन बिताउने हैसियतमा कसरी पुग्छन् र यसको वैध स्रोत कार्यकर्ताले मात्रै होइन आम जनताले पनि खोज्नु स्वाभाविक हो ।
केही समयअघि बालुवाटार जग्गा काण्डमा मुछिएका नेकपा महासचिव विष्णु पौडेल यति बेला अर्थमन्त्रीको जिम्मेवारी छन् । उनी बालुवाटार काण्डमा जोडिदा पनि यसरी नै विरोध भएको थियो । तर उनी समय क्रमसँगै पखालिँदै गए । गत वर्ष मात्रै नेकपा नेता तथा पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटा ७० करोडभन्दा बढीको कमिसन बार्गेनिङमा गर्दै गरेको अडियो बाहिर आएको थियो । त्यही अडियो का कारण सञ्चार मन्त्रीबाट राजीनामा दिन बाध्य भए । उनी अहिले आफ्नो त्यसमा कुनै संलग्नता नभएको भन्दै छाती फुलाउँदै हिँडिरहेका भए पनि आधिकारिक निकायबाट ‘क्लिनिक चिट’ लिने काममा भने सफलता पाउन सकेका छैन । ढिलो चाँडो ‘क्लिनिक चिट’ त पाउने नै छन् तर राजनीतिक जीवनमा नै ‘७० करोड’ बार्गेनिङ गर्ने छविबाट मुक्त हुने अवस्था छैन ।
विगतमा पौडेल र बास्कोटा ओलीनिकट नेताको बारेमा प्रचण्ड र माधवकुमार नेपाल पक्षीय नेताहरू ठुलै कसरतका साथ ‘भ्रष्ट’ भनी पार्टी भित्र र बाहरि स्थापित गर्न लागेको ग जाहेर छ । प्रधानमन्त्री ओलीको गुटमा रहेकै भए पनि तत्कालीन सञ्चार मन्त्रीलाई राजीनामा दिन बाध्य पार्ने काममा प्रचण्ड र माधवकुमार नेपाल पक्षीय नेताहरू स्वयं नारायणजी श्रेष्ठको सक्रियता रहेको अनेकौँ दृष्टान्त दिन सकिन्छ । यही मेसोमा चोर बाटोबाट राष्ट्रिय सभा (नारायणकाजी श्रेष्ठ र बामदेव गौतम) गएर आफूले बालुवाटार जग्गा काण्डमा दोषी भनी आरोपित विष्णु पौडेललाई अर्थमन्त्री बनाउने विषयमा सहमति श्रेष्ठ लगायत प्रचण्ड–माधव गुट नै पुरस्कृत गर्ने ठाउँमा पुगेको थियो ।
नेपाली समा जाम मा एउटा भनाइ छ ‘जे रोपिन्छ त्यसैको मात्र फलको आसा गर्न सकिन्छ’ श्रेष्ठ भने प्रचण्ड र माधवकुमार नेपाल पक्षीय नेता भएका कारण पनि यति बेला ओली पक्षका नेता कार्यकर्ताहरूबाट ‘विगतको पैँचो’ तिराइमा सामाजिक सञ्जालमा परिरहेका छन् ।यस्ता कुनै पनि विषयमा अहिले नेकपाभित्रको अन्तर सङ्घर्षमा एकले अर्का विरुद्ध प्रहार गर्ने विषय समाने हुने गरेका छन् ।
कम्युनिस्ट पार्टीभित्र सबैले राम्रो गर्नुपर्छ र जनताको समस्याको समाधान, पार्टीभित्रको आन्तरिक समस्या हल गर्दै राजनीतिक वैचारिक रुपमा अघि बढ्ने होइन कि कसरी हुन्छ अर्को पक्षलाई माटोमा मिलाउने परिपाटी अहिले नेकपाभित्र देखिन्छ । रोचक कुरा त के छ भने आफ्नो पक्षको नेताले जस्तोसुकै गल्ती गरे पनि त्यो क्षम्य हुन्छ । जसरी आज विष्णु पौडेलले क्षमा पाइसकेका छन् भने गोकुल बास्कोटा क्षमा पाउने क्रममा छन् । तत्कालीन सभामुख कृष्णबहादुर महरा एकाएक गुमनाम जिन्दगी जिउन बाध्य भए अर्थात् राजनीतिक जीवन कहिल्यै उठ्न नसक्ने गरी थलिएको छन् ।
त्यस बेला पौडेल र बास्कोटालाई फसाएको आरोप ओली पक्षका नेता कार्यकर्ताले लगाउँथे । अहिले श्रेष्ठलाई पनि बदनाम गर्न खोजेको आरोप प्रचण्ड–माधव गुटले लागा रहेका छन् । यसलाई जवाफ दिँदै नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले फेसबुकमा लेखेका छन्, ‘नारायणकाजी श्रेष्ठसँग जे कुरामा रिस उठेको छ, त्यसैमा आलोचना गरे भइहाल्छ, कसैले रोकेको छैन । नेकपामा माथिल्लै तहबाट नेताहरूको नामै तोकेर गाली–गलौच गर्ने चलन चलेकै छ । तर, सार्वजनिक अडिओ/भिडिओअनुसार उहाँले आफूनिकट दुई कार्यकर्ता (कमानसिंह र सुशन) बिचको शेयर विवाद सुल्झाउन खोजेको देखिन्छ, जुन कुनै अपराध नभएर अभिभावकी जिम्मेवारी हो । यसमा आपत्ति गर्नुपर्ने केही कारण छैन ।’
त्यसो त कमानसिंह लामाकी श्रीमती इन्द्रमाया तामाङले नारायणकाजी श्रेष्ठ निर्दोष रहेको बताएकी छन् । याम्बलिङ जलविद्युत आयोजनाको शेयरका विषयमा लामा र सुशनबिच रहेको विवादमा श्रेष्ठले मध्यस्थता मात्रै गरेको विज्ञप्ति नै जारी भएको छ ।
नेकपाभित्र नेता बचाउने खेल चलिरहँदा एक जना कार्यकर्ताले फेसबुकमा लेखेकी छन्,‘नेता इमानदार छन् भनेर कार्यकर्ताले फेसबुकमा स्ट्याटस राखेर पुष्टि गरिदिनुपर्ने गज्जब छ दुनियाँ ।’
पार्टीभित्रको अन्तर सङ्घर्षलाई गलत तरिकाले र प्राविधिक विषयहरूमा अल्झाउने, बदला लिने र बदनाम गर्ने संस्कृति सामान्य छ । अर्को गुटको नेता आफूभन्दा जिम्मेवारीका हिसाबले जतिसुकै माथिल्लो स्तरको भए पनि गुट स्वार्थमा लागेका तल्लो तहका कार्यकर्ताले बदनाम हुने गरी गालीगलौज गरिरहेका हुन्छन् । त्यसरी पार्टी पद्धतिविरुद्ध या नेताविरुद्ध जाने कुनै कार्यकर्तालाई कारबाही गर्ने संयन्त्र विकास नै हुन सकेको देखिँदैन । किनकि त्यसरी गाली गर्ने कार्यकर्तालाई उसको गुटले सजिलै बचाइहाल्छ । यसबारे बुझ्न धेरै टाढा जानै पर्दैन, प्रधानमन्त्रीको सचिवालयकै वरिपरि फर्किने हो भने प्रस्ट भइजान्छ ।
२८ कात्तिकको सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठसँग आक्रोशित रुपमा प्रस्तुत भएपछि ओली पक्षीय नेताहरुले सामाजिक सञ्जालमा नै उनलाई गुटको प्रवक्ता भएको आरोप सजिलै लगाएकै थिए । त्यसै कारण पनि नारायणकाजीमाथि जोडिएको घटना सार्वजनिक भए पनि ओली पक्षले भने यो विषयलाई सङ्गठित रुपमा अघि बढाइरहेको छ । नेकपाभित्र तीव्र विवाद भइरहेका बेला आएको यो विवादले अब आइतबार बस्ने स्थायी समिति बैठकमा समेत प्रवेश पाउने सम्भावना छ ।
नेताहरूको आचरणको प्रश्न उठाउने कार्यकर्ता सधैँ अराजक ठहर्छ । यसैको परिणाम हो, आज नेताले गरेका जस्तोसुकै कमजोरीलाई पनि ढाकछोप गर्नुपर्ने या पार्टी नै छाडेर अलग्गिनुपर्ने । भविष्यमा कुनै पनि पदमा पुग्ने, राजनीतिक नियुक्ति खाने र जिम्मेवारी पाउने मापदण्ड बने सम्म यस्तो स्वाभाविक हो । यसले कम्युनिस्ट आन्दोलन नै बदनाम बन्दै गइरहेको छ । कम्युनिस्ट आन्दोलनमा विचार प्रमुख, नेता गौण हुनुपर्ने हो तर अहिलेका कम्युनिस्ट पार्टीमा विचारभन्दा नेता धेरै माथि छन् । नेतैपिच्छे गुट–उपगुट छन् । एउटा गुटमा कुनै कमजोरी भयो भने अर्को गुट तत्कालै त्यसलाई फाइदा उठाउन तम्तयार भएर अर्थात् कुरेरै बसेको अवस्था छ । हिजो जे रोपे त्यही फल पाउँदै छन् अर्थात् त्यसैको सजाय भोग्दै छन् नारायणकाजी श्रेष्ठ र भन्नै पर्ने भएको कुरी कुरी काजी सा’ब !
याे पनि