लोकसंवाद संवाददाता | समाचार | मंसिर २८, २०७७
काठमाडौँ । नेपाल र जर्मनीबीचको आर्थिक सम्बन्धलाई फराकिलो बनाउँदै लैजानुपर्नेमा दुवै देशका सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुले जोड दिएका छन् । जर्मन नेपाल मैत्री सङ्घको आयोजनामा हालै भएको ३१ औँ नेपाल दिवस ‘मेरो नेपाल’ विषयक वेबिनारमा सहभागी वक्ताहरुले कोभिड–१९ पछिको अवस्थामा नेपालको आर्थिक समृद्धिका लागि बाह्य सहयोग अभिवृद्धिको खाँचो अझ बढेर गएको बताएका हुन् ।
कार्यक्रममा जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले कोरोना महामारीका कारण नेपालको आर्थिक वृद्धि दर ८.५ बाट झण्डै दुई प्रतिशतमा झरेको उल्लेख गर्दै यसका कारण धेरैको रोजगारी गुमेको, जीविकोपार्जनमा झन कठिनाइ भएको र उपभोगको अवस्था खस्किएको बताउनुभयो । उहाँले सन् २०२२ सम्म अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रको स्तरमा उक्लने र सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गरी समृद्ध नेपाल बनाउने अभियानलाई पूरा गर्न दातृ राष्ट्र तथा सङ्घसंस्थाहरुको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्नुभयो ।
राजदूत खड्काले नेपालको शिक्षा, स्वास्थ्य, ऊर्जा, पुनर्निर्माणलगायत विकासमा जर्मनी सरकारको योगदान उच्च रहेको बताउँदै कोभिड–१९ बाट सिर्जित स्वास्थ्य सुधार, रोजगारी सिर्जना र आर्थिक उन्नतिमा पनि जर्मनीस्थित गैरसरकारी संस्थाहरुले ठूलो सहयोग गर्नसक्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपालका लागि जर्मनीका राजदूत रोल्याण्ड सेफरले कोभिड–१९ ले पारेको असर न्यून गर्न र आर्थिक एवं मानवीय सहयोगका क्षेत्रमा जर्मनीमा रहेका गैरसरकारी संस्थाले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले जर्मनी सरकारका तर्फबाट नेपालको विकासमा लामो समयदेखि सहयोग रहँदै आएको उल्लेख गर्दै पछिल्लोपटक नेपालको वर्तमान स्वास्थ्य सेवाका लागि एक करोड यूरो र आर्थिक विकासका लागि ३४ करोड यूरो सहयोग गरेको जानकारी दिनुभयो । राजदूत सेफरले हरित क्रान्ति नभएसम्म दिगो विकास सम्भव नहुने भन्दै आफूले प्राविधिक शिक्षालाई विशेष जोड दिएको बताउनुभयो ।
मैत्री सङ्घका अध्यक्ष तथा महावाणिज्यदूत रामप्रताप थापाले बर्सेनि आयोजना हुने नेपाल दिवस कोरोना महामारीका कारण केही ढिला भएको बताउँदै यसपटक मेरो नेपाल विषयमा आयोजना गरिएको दिवसले नेपालप्रति सद्भाव राख्ने जर्मनीमा रहेका गैरसरकारी संस्थाहरुबाट थप सहयोग जुटाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।