‘मुठ्ठीदान’ अभियानबाट ५० लाखको बालोद्यान

‘मुठ्ठीदान’ अभियानबाट ५० लाखको बालोद्यान

लोकसंवाद संवाददाता  |  समाज  |  मंसिर २८, २०७७

बर्दिवास । कोरोना कहर जारी रहँदा बर्दिवास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक बिद्यालय पशुपतिनाथ बनरझुल्लामा बालउद्यान सम्पन्न भएको छ । जनसहयोगी युवा सञ्जालमा आवद्ध उत्साही युवाको परिश्रमले सो उद्यान निर्धारित समयअगावै सम्पन्न भएको हो । करिब सात महिना लगाएर युवाले बनाएका मनोरम उद्यानमा विभिन्न प्रकारका फूल र अन्य बिरुवा रोपिएका छन् ।

विद्यालय, बन्दव्यापार र सामाजिक गतिविधिसमेत ठप्प भएका बेला  रचनात्मक काम गर्ने लहडले सञ्जालआबद्ध युवाले गत जेठमा बालउद्यान निर्माण शुरुआत गरेका थिए । 'हामीले त चाँडै सक्ने भनेर काम थालेका थियौँ । अर्थाभावले चाहेको गतिमा काम बढ्दैनथ्यो । यसैले काम सक्न करिब सात महिना लाग्यो', सञ्जालका अध्यक्ष परमेश्वर महतोले भन्नुभयो ।

आफ्नो काममा सबैतर्फबाट सकारात्मक चासो र सहयोग पाइँदै गइएपछि उद्यान निर्माणले साकार रूप लिएको उहाँको भनाइ छ ।

बर्दिवास–९ का बासिन्दा इञ्जिनीयर मनोजकुमार महतोले तयार गर्नुभएको लागत इष्टिमेटसहितको उद्यानको प्रस्तावित नक्सा विद्यालय व्यवस्थापन समितिले स्वीकृत गरेपछि गत जेठमा काम थालिएको हो । सञ्जालआबद्ध युवा र केही उत्साही स्थानीय युवा (बर्दिवास–९ का) ले दिनरात नभनी गरेका मेहेनतले विद्यालय परिसरको सौन्दर्य झलमलाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामजतन महतो बताउनुहुन्छ ।

उद्यानको प्लटप्लटका पक्की काम सम्पन्न गरेर माटो भरिएपछि बिरुवा रोपण गरिएको हो । उद्यानमा बिरुवा रोपणमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, प्रदेशसभा–२ सदस्य शारदा थापा, बर्दिवास नगरप्रमुख बिदुरकुमार कार्कीसहित विभिन्न व्यक्तित्वको सहभागिता भएको पशुपतिनगरकै बासिन्दा विद्यालय सुधार अभियानका सहभागी अमृतकुमार महतो बताउनुहुन्छ ।

अब विद्यालय परिसरको चारैतिरका पर्खालसँगै जोडेर निर्माण भएका उद्यानमा रोपिएका बिरुवा हुर्काउने नयाँ जिम्मेवारी आएको छ । विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन, स्थानीय अभिभावक, नगरपालिकाको वडा समिति र  विद्यार्थीले नवनिर्मित उद्यानबारे देखाएका सकारात्मक चासोले यस जिम्मेवारी सजिलै निर्वाह हुने सञ्जालआबद्ध युवा बताउँछन् ।

जम्मा ५० लाखको लागतमा  उद्यान निर्माण सम्पन्न भएको हो । 'हामी आफैँ कुटो, कोदालो बोकेर काममा लाग्यौँ', सञ्जाल अध्यक्ष महतोले भन्नुभयो, 'कार्यस्थलमै आएर सहयोगी मनहरुले नगद, इँटा, सिमेण्ट, छडलगायतका निर्माण सामग्री सहयोग गर्नुभयो, सबैको स्नेह र सद्भावले काम सम्पन्न गरिँदा मन हलुको हुनुसँगै खुशी लागेको छ ।'