कृत्रिम बास्ना राखी कृत्रिमरुपमा तयार गरिएको अखाद्य चुक अमिलो नष्ट

कृत्रिम बास्ना राखी कृत्रिमरुपमा तयार गरिएको अखाद्य चुक अमिलो नष्ट

लोकसंवाद संवाददाता  |  समाज  |  मंसिर २८, २०७७

कावासोती । यहाँ कृत्रिमरुपमा अमिलो (चुक) बनाउने काम बढ्दै गएको छ ।  कर्न फ्लोर, साइटिक एसिड, क्यारामेल रङ, सोडियम बेन्जोएट र कृत्रिम बास्ना राखी चुक तयार गरिएको पाइएको छ । 
 
नवलपरासी पूर्व नवलपुरको कावासोतीमा अखाद्य चुक नष्ट गरिएको छ । प्रहरीले कावासोतीबाट बरामद गरेको एक हजार २६० लिटर चुक घरेलु तथा साना उद्योग कार्यालयमार्फत नष्ट गरिएको हो । बरामद गरिएको चुक अमिलोको गुणस्तर परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा पठाइएको थियो । परीक्षणका क्रममा प्राकृतिक अमिलोबाट चुक बनाएको नपाइपछि नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख विक्रम सुवेदीले बताउनुभयो । 

कावासोती नपा–१३ निवासी टेकबहादुर विकले प्रदेश २–०३–००१–च ०५०० को गाडीमा दाङको तुलसीपुरका लागि गोरखा कालिका चुक उद्योग गैँडाकोट नपा–५ बाट उत्पादित चुक लैजाने क्रममा बरामद गरिएको थियो । ठूलोमात्रामा चुक बरामद भएपछि गुणस्तरमा शङ्का लागि परीक्षणका लागि भैरहवा पठाइएको थियो । 

गुणस्तर परीक्षण गर्दा विभिन्न रसायनबाट चुक बनाएको पाइएपछि नष्ट गरिएको कार्यालय प्रमुख सुवेदीले बताउनुभयो । गुणस्तर परीक्षण गर्दा उक्त खाद्य पदार्थ प्रचलनमा रहेको चुक अमिलो नभई कुनै खानयोग्य अमिलो, स्टार्च पाउडर र क्यारामेल रङ राखी तयार पारिएको चुक अमिलो जस्तै देखिने कृत्रिम वस्तु रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विमलकुमार दाहालले जानकारी दिनुभयो ।

उद्योगको अनुगमन गर्दासमेत कर्न फ्लोर, साइटिक एसिड, क्यारामेल रङ, सोडियम बेञ्जोएट र कृत्रिम बास्ना राखी उक्त चुक अमिलो तयार गरिएको पाइएको दाहालले बताउनुभयो । निबुवाको चुक भनी कृत्रिम चुक झुक्याएर बेच्ने गरेको पाइएको उहाँले बताउनुभयो । चुकमा कुनै लेबल नभएको, कमसल वस्तुको प्रयोग गरी उत्पादन गरेकाले नष्ट गरिएको अनुसन्धान अधिकृत दाहालले बताउनुभयो ।