चियाको गुणस्तर बढाउन सीप विकास परियोजना सञ्चालन गरिने

चियाको गुणस्तर बढाउन सीप विकास परियोजना सञ्चालन गरिने

लोकसंवाद संवाददाता  |  समाज  |  मंसिर २८, २०७७

इलाम । चियाको गुणस्तर बढाउन इलामसहित १२ जिल्लामा सीप विकास परियोजना सञ्चालन गरिने भएको छ । केन्द्रीय चिया सहकारी सङ्घको आयोजनामा उद्योगी, किसान र श्रमिकलाई दक्ष बनाउन ‘गुणस्तरीय चिया उत्पादनका लागि सीप विकास परियोजना’ शुरु हुने भएको हो । सो परियोजना युरोपेली सङ्घको लगानी र ब्रिटिस काउन्सिलको व्यवस्थापनमा सञ्चालन हुनेछ ।
   
कार्यक्रम चिया उत्पादन हुने इलामसहित पाँचथर, झापा, ताप्लेजुङ, मोरङ, धनकुटा, तेह्रथुम, उदयपुर, भोजपुर, सङ्खुवासभा, रामेछाप, ललितपुरका जनशक्तिलाई दिइनेछ । परियोजनाद्वारा सञ्चालित तालीममा इलाम पाँच, पाँचथर दुई, झापा, धनकुटा, तेह्रथुम, ललितपुर, सङ्खुवासभामा एक÷एक वटा तालीम स्थान रहनेछ ।
    
तालीम १५ महिना अवधिको रहनेछ । सीप विकास तालीमबाट तीन सय दक्ष युवा जनशक्ति उत्पादन गरिनेछ । गुणस्तरीय चिया उत्पादनका लागि आवश्यक पर्ने टोली नेता, वित्त अधिकृत, सञ्चार तथा तथ्याङ्क अधिकृत, तालीम तथा तथ्याङ्क अधिकृत, प्रशासन तथा परियोजना सहायक, मुख्य, सहायक प्रशिक्षक र स्थानीय व्यवस्थापन सहयोग सहायक (तह १) को सीप तालीममा सिकाइने छ ।
   
छनोटमा परेका सबैलाई परियोजनाको स्थानीय साझेदार रत्नकुमार वान्तवा पोलिटेक्निकल इन्स्टिच्युटले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) मापदण्डको तालीम गराउने परियोजनाका डा सुमित अधिकारीले बताउनुभयो । डा अधिकारीका अनुसार २० प्रतिशत सैद्धान्तिक र ८० प्रतिशत प्रयोगात्मक तालीम हुनेछ ।

परियोजनाअन्तर्गत एक पटकमा २० जनालाई तालीम गराइनेछ । विभिन्न ठाउँमा गरेर परियोजनाअन्तर्गत तीन करोड ११ लाख ५६ हजार ४६३ रुपैयाँ  खर्च गरिनेछ । कूल लागतमा दुई करोड १५ लाख ५० हजार तीन सय रुपैयाँ कार्यक्रममा खर्च गरिनेछ ।

यस्तै पाँच लाख १० हजार छ सय रुपैयाँ सञ्चालन खर्च गरिनेछ । १८ लाख ६५ हजार ५६३ रुपैयाँ प्रत्यक्ष खर्च गरिनेछ ।  दुई करोड ८५ लाख १६ हजार ४६३ द रुपैयाँ क्षताको कोष सहयोग, कार्यक्रम कार्यन्वयन गर्ने संस्था केन्द्रीय चिया सहकारी सङ्घ लिमिटेडको रु २६ लाख ४० हजार योगदान रहने सङ्घका अध्यक्ष गोविन्द दाहालले जानकारी दिनुभयो ।