लोकसंवाद संवाददाता | समाचार | पुस ०१, २०७७
ललितपुर । सातदोवाटो–गोदावरी सडक खण्डअन्तर्गतको ठैव–बाडेगाउँ मूल सडक यही पुस ५ देखि २० गतेसम्म अवरुद्ध हुने भएको छ । सो सडक स्तरोन्नतिलगायत कालोपत्रका लागि नाली तथा ढल व्यवस्थापनको कार्य गरिने भएकाले आउँदो आइतबारदेखि अर्को हप्ता सोमबारसम्मका लागि बन्द हुने भएको हो ।
सो सडकअन्तर्गत ठाउँठाउँमा प्वाल खन्ने काम भइरहेको छ । आवश्यक प्वाल खन्न र पाइप हाल्न अनि यसलाई सुकाउन समय लाग्ने भएकाले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न गोदावरी नगरपालिका–१४ का वडाध्यक्ष जगनाथ महर्जनले अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, 'तीस मिटर अन्तरमा सडक खनेर नाली तथा ढलका सामग्री हालिने भएको छ । यो काम हुँदा यस सडक यात्रा नगरिदिएर सहयोग पुर्याउन साविकका गोदावरी, बडिखेल, हाँडेगाउँ र बाडेगाउँवासीलाई विशेष आग्रह गर्दछु ।'
ती दिनमा गोदावरी र बडिखेलवासीले झरुवारासी अनि हाडेगाउँ तथा बाडेगाउँवासीले दमैटारको सडक प्रयोग गरिदिँदा दिनभरिको कामलाई निरन्तर अघि बढाउन सकिने महर्जनको बुझाइ छ । 'यदि मौसम परिवर्तन तथा प्राविधिक समस्या हुन गएमा कार्यको मिति तथा समय पनि हेरफेर हुन सक्नेछ', उहाँले थप्नुभयो ।